हामीलाई त टोकरीमा फ्याँकिएको छ
मोहनचन्द्र अधिकारी० अहिले दिन कसरी बिताइरहनु भएको छ ?
– राम्रैसँग बितिरहेको छ । मकहाँ मानिसहरू पहिले जस्तो धेरै त होइन, तर बीचको समयको जस्तो आउँदै नआउने पनि होइनन् । प्रत्येक दिन एक–दुई जना साथीहरू पत्रकार मित्रहरू आई नै रहनुहुन्छ । कुराकानी गर्यो, यसरी नै बितिरहेको छ ।
० पार्टीका नेताहरू चाहिँ कहिलेकाहीँ केही कुराकानी गर्न आउनु हुन्न ?
– पार्टीका नेताहरू आउनुहुन्न, उहाँहरूलाई घर पनि थाहा छैन । यो मेरो ससुराली घर हो । सासू र सासूकी छोरी मिलेर बनाएको हो । गिरिजाबाबु र माधव कमरेडको पालामा दिएको जग्गामा मुद्दा परेको छ । घर बनाउने पैसा पनि दिएको छैन ।
० जग्गा कहाँ दिएको हो ?
– तीनकुनेमा आठ आना जग्गा दिएको छ । त्यो सरकारी स्वामित्वमा छ । मलाई भोग अधिकार मात्र दिएको हुनाले मैले लिएको छैन । आजसम्म मलाई मात्र यसो गरियो । कृष्णप्रसाद भट्टराईजीको निम्ति जस्तो भन्ने हो भने उहाँ घर परिवार केही थिएन । उहाँलाई घर त बनाइदिएको पनि हो । मैले चाहिँ आफैं बनाउनुपर्ने ?
० निजी स्वामित्वमा नआएसम्म त्यहाँ भोगचलन गर्नुहुन्न ?
– अरूको पालामा उनीहरूले बेचेर खाए भने त्यसको जिम्मेवारी म त लिन सक्दिनँ नि । मैले बेचेर खाएँ भने पो मलाई भन्ने हो त । कसैले भन्छन्– छोरा नातिको पालासम्म लाई नै दिन्छ भन्छन् । कसैले मेरो पालाका लागि मात्र हो भन्छन् । ४० लाख रुपियाँ घर बनाउन पनि दिने भनिएको थियो माधव कमरेडको पालामा । रुपियाँ त पाइएन पाइएन, जग्गाको स्वामित्व पनि पाइएन । अहिले त मुद्दा परेको छ । नेपाल सरकारले जित्छ कि नालिस दिने ले जित्छ, भन्न सकिन्न ।
० पार्टी कार्यालय त गइरहनु हुन्छ हैन ?
– महिना पन्ध्र दिनमा जान्छु । खास कुरा के हो भने, पार्टीले मलाई कुनै जिम्मेवारी पनि दिएको छैन । के–के कार्यक्रम हुन्छन् मलाई खबर पनि गरिँदैन ।
० ज्येष्ठ कम्युनिष्ट मञ्चमा त हुनुहुन्छ नि ?
– ज्येष्ठ कम्युनिस्ट मञ्च भनेर हामीलाई बन्देजमा राखिएको छ । टोकरीमा फ्याँकिएको जस्तो छ । आठांै महाधिवेशनले ज्येष्ठ कम्युनिस्ट मञ्चको अवधारणा ल्यायो । त्यो अवधारणा त पार्टी महाधिवेशनको हो नि । पार्टी केन्द्रीय कमिटी को त होइन । तर, यो–यो मान्छे राख्नु भनेर केन्द्रीय कमिटीले मान्छे चुन्यो । हामीलाई कुनै अधिकार छैन । लेखाजोखा नै छैन । अस्ति भर्खर महासचिव आएर महाधिवेशनलाई सुझाव माग्नुभएको थियो । पाँच जनाको सुझाव कमिटी बनाएका छौं ।
० ज्येष्ठ कम्युनिस्ट मञ्चको बैठक नै बसेको छैन त ?
– एकचोटी झलनाथ खनालले मञ्चकै कमरेडलाई जिम्मेवारी दिएर समानुपातिकका लागि नाम माग्नुभएको थियो । त्यसमा हामीले पाँच जनाको नाम दिएका थियौं, एक जना पनि पारिएन ।
० बूढाहरूलाई किन बनाउने भन्ने होला नि ?
– हामीभन्दा बूढाहरूलाई पनि सांसद बनाउनुभएको छ । स्थायी कमिटीदेखि लिएर अरू पुछारका कमिटीका मान्छे पनि सांसद छन् तर हाम्रो कमिटीको वास्ता नै गरिएन । हामी पनि बोल्नै नसक्ने, हिँड्न, डुल्न नै नसक्ने त थिएनौं नि । अराजनीतिक हिसाबले हामीसित व्यवहार भएको छ ।
० हामीलाई किन यस्तो व्यवहार गर्नुभयो भनेर नेतृत्वलाई प्रश्न गर्नुभएको छैन ?
– बारम्बार अध्यक्ष झलाथ खनाल, महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेललाई भनें । हामीलाई डम्पिङ साइट बनाइएको छ, काम गर्न दिनुस् भनें तर केही गर्नुभएन । अब कम से कम नवौं महाधिबेशनमा प्रतिनिधि हुने मौका चाहिँ दिनुपर्ने हो । कम्युनिस्ट पार्टीमा रहेबापत त्यो हाम्रो जन्मसिद्घ अधिकार हो । उहाँहरू एकदम बुर्जुवा मानवताको कुरा गर्नुहुन्छ तर आफूभित्रको मानवता चाहिँ के त ?
० आयोजक कमिटीमै राख्नुपर्छ भन्ने हो ?
– अरू केन्द्रीय निकाय जस्तै हामीलाई पनि आयोजक बनाएर राख्नुपर्छ भन्ने हाम्रो माग हो । अस्ति ईश्वर कमरेडले तपाईहरूलाई १० जना दिएको छ भन्नुभएको छ । न हाम्रो अरूको जस्तो भूगोल छ, न काठमाडौं उपत्यकाका कुनै कमिटीसँग सम्बन्ध छ ।
० अब १० छान्न पनि तपाईहरूलाई गाह्रो होला, हैन ?
– हामी ज्येष्ठ कम्युनिस्ट मञ्चमा पहिला ३४ जना थियौं । अहिले कतिपय अरू पार्टीतिर लागे, कति जनाको देवहासन नै भइसक्यो । तर, अहिले त्यसको पनि लेखाजोखा छैन ।
० तपाईंको आफ्नो घरसमेत छैन अरू कम्युनिस्ट पार्टीका नेताको जीवनशैली देख्दा कस्तो लाग्छ ?
– मैले त मेरो पिताश्रीलाई ००८ सालमै तपार्इं घुस नखानुस्, तपार्इंले घुस खाएको पैसाले म लाइट कार चढ्न सक्तिनँ भनेको थिएँ । म अझ पनि सार्वजनिक बसमै हिँड्छु । अहिलेका नेताले जनतालाई नढाँटी हामी कम्युनिस्ट पार्टीका नेता होइनौं बुर्जुवा पार्टीका नेता हौं भनेको भए हुने थियो । त्यसो भनेका भए हामी जस्ता सोझा कम्युनिस्ट पनि केही सोच्न सक्ने अवस्थामा हुने थियौं । सांसदको खरिद–बिक्री भएको छ । पैसा हुनेहरू सांसद भएका छन्, जेलनेल भोग्ने, आन्दोलनका मोर्चामा भिड्नेको केही महत्त्व छैन ।
० पार्टी चलाउन पैसा पनि त चाहिन्छ नि ?
– कम्युनिस्ट पार्टी त जनतामा गएर चलाउने हो । पार्टी पैसाले चल्ने होइन । अहिले त पार्टीभित्र हुने र खानेहरूको एउटा वर्ग निस्किएको छ । नहुने र खान नसक्नेहरूको अवस्था डामाडोल छ । मैले सुनेको, एक जना व्यापारीले सांसद बनाइदिनुपर्यो भनेर हाम्रो पार्टीसम्म कुरा पुर्याएछन् । पार्टीले १ करोड माग गरेछ । त्यति दिन नसकेर सांसद भएनछन् । मलाई अहिले तीनको नाम त थाहा भएन तर चाहिन्छ भने म सोधेर तपाईंलाई बताउँला । पार्टी चलाउने नाममा पार्टीलाई गैरसर्वहारा, गैरमजदुर किसान, शोषित पीडितहरूको पार्टी बनाइयो । तलबाट दुई चार जनालाई सांसद बनाउँदैमा उनीहरूको उत्पीडन सकिँदैन ।
० नवौं महाधिवेशन नजिकिँदै छ, यसले तपार्इंलाई तताएको छैन ?
– तातो–चिसो भन्ने कुरा नै बुर्जुवा कुरा हो । बर्जुवा दृष्टिकोणले चलेको पार्टीमा तातोपन आएर के गर्ने ? चिसोपन आएर के गर्ने ? हो, परिवर्तनका निम्ति लडेको मान्छेले मेरो गोरुको बाह्रै टक्का गर्नु हुँदैन । पाँचौं महाधिबेशनमा म नौलो जनवादको पक्षमा थिएँ । मदन भण्डारीको जनताको बहुदलीय जनवाद पास भयो । त्यो बेला मैले मनमोहन अधिकारीलाई बोलाएर ल्याएर अध्यक्ष बनाएको हो । नत्र मदनले मलाई ‘मोहनजी तपाईं अध्यक्ष हुनुभयो म महासचिव भएँ, हात मिलाऊँ’ भन्नुभएको थियो । मैले धैर्य गरें । मनमोहनजीलाई बोलाएँ । आफूले कदर गर्नुपर्ने ठाउँमा कदर पनि गर्नुपर्छ । यस्तै प्रवृत्ति भएको भए म कहाँ पुगिसक्थें । मलाई अध्यक्ष भनिएकै थियो, त्यसबेला म नाम चलेकै मान्छे थिएँ । मौका पाइयो भन्दैमा झम्टिहाल्नु हँुदैन ।
० अहिले त को केमा उठ्ने भन्ने छिनाझम्टी सुरु भइसक्यो नि ?
– अध्यक्षका निम्ति अहिले जुन रबैया सुरु भएको छ, त्यो ठीक होइन । आठौं महाधिवेशनमा पनि मैले माधव कमरेड, केपी ओली, झलनाथ खनाल तीनै जनालाई मिल्नुस् भनेको थिएँ । एक जनाले मात्र चल्ने भनेको बुर्जुवा पार्टी मात्र हो । पार्टीमा सामूहिक छलफल र सामूहिक निर्णय हुनुपर्छ । कुनै विशेष परिस्थितिमा बहुमत र अल्पमतमा नगई नहुने भयो भने मात्र नत्र कम्युनिस्ट पार्टीमा बहुमत अल्पमत गरेर नेतृत्व छान्नु नै गलत हो ।
० आठौं महाधिवेशनको चुनावी अभ्यास नै गलत थियो भन्न खोज्नुभएको हो ?
– अल्पमत र बहुमत भनेर कम्युनिस्ट पार्टी चल्ने भनेको मैले यही नेपालमा एमालेमा मात्र देखें । बहुमतले अल्पमतलाई हाँक्छ भन्ने कुरा हो तर अल्पमत पनि सही हुन्छ भन्ने समीक्षा त गर्नुपर्छ नि । अहिलेसम्म के समीक्षा भएको छ ? माधव कमरेडको समयमा उहाँ आफूले मात्र गल्ती नगर्दा नगर्दै पनि चुनावमा राम्रो नतिजा आउन सकेन भनेर राजीनामा दिनुभयो । त्यो बेला पनि मैले उहाँलाई भनेको थिएँ, ‘यो तपाईंको मात्र हार होइन । कि त पूरै स्थायी समिति सदस्यले राजीनामा दिनुपर्छ, नत्र तपाईंले मात्र महासचिव छाडेर हुँदैन ।’ म त सामूहिकतामा विश्वास गर्छु ।
० सामूहिकता नभएरै एमालेमा गुटबन्दी हावी भएको हो ?
– यो बहुदलीय जनवादको राजनीतिको कुरा हो । सिद्घान्त र लाइनले हरेक कुराको निर्धारण गर्छ । अहिलेको लाइन भनेको जसरी भए पनि कमाउ भन्ने छ । हिजोको कम्युनिस्ट आदर्श, आचरण बाँकी रहेको छैन । कम्युनिस्ट आदर्शलाई जोगाएर पनि त परवर्तन गर्न सकिन्छ ।
० नेतृत्व परिवर्तनको कुरा पनि आइरहेको छ नि ?
– नेतृत्व परिवर्तन आवश्यक छ तर उही–उही पुस्ताको के अर्थ ? क्रान्तिको पनि उही अनुभव, सांस्कृतिक, सामाजिक आर्थिक रूपान्तरणको पनि उही अनुभवमा को व्यक्ति जाने भन्ने कुरा महत्त्वपूर्ण होइन । कसले नेतृत्व गर्ने भन्ने मात्र छ । वैचारिक परिवर्तनको चााहिँ माग नै छैन । नेतृत्वलाई कसरी परिवर्तन गराउने भन्ने मूल दायित्व अध्यक्ष झलनाथ कमरेडको हो । परिवर्तन भनेको पुस्ताको परिवर्तन हो । जो योग्य छ, उसैले नेतृत्व गरेर गए त भइहाल्यो नि ?
० त्यो योग्यता कसमा देख्नुभएको छ ?
– अहिले देखिनुभएका तीनै जना नेता सर्वहारा वर्गीय चिन्तन मननबाट आउनुभएको होइन । त्यसैले तीनै जना समान हुनुहुन्छ । माधव कमरेडभन्दा केपी कमरेड, केपी कमरेडभन्दा जेएन कमरेड भनेर मैले हेर्ने गरेको छैन ।
आठौं महाधिवेशनमा पनि मैले माधव कमरेडको नेतृत्वमा केपी र जेएन एक जना उपाध्यक्ष र एक जना महासचिव बनेर पार्टी हाँक्नुस भनेको थिएँ । अहिले त तीनै जनाको अध्यक्षमा फाइटिङ छ ।
० झापा आन्दोलनका सहयात्रीहरूसँग कहिलेकाहीँ भेटघाट हुन्छ त ?
– राधाकृण्णसँग कहिलेकाहीँ भेटघाट हुन्थ्यो । उहाँ पनि एमाओवादीमा पस्नुभयो । कहिलेकाहीँ मैले टेलिफोन गरे भने बोलाउनुहुन्छ । जान म पनि भ्याएको छैन । तर, साँच्चै भन्ने हो भने राधाकृष्ण मैनाली जेन्टलमेन हुन् ।
० सीपी मैनाली नि ?
– सीपी पहिल्यैदेखि महत्त्वाकांक्षी मान्छे हुन् । माले कालमा पोखरामा हुँदा मैले यसरी ‘वामदेव कमरेडबाट माले पार्टी चल्दैन, सिरियस तरिकाले सोच्नुपर्यो’ भनें सीपीसँग । सीपीले अरू केही भन्नुभएन । एउटै कुरा के भन्नुभयो भने, ‘तपार्इंसँग पैसा छैन फर्केर एमालेमै जानुस्, म चाहिँ तपाईंको लाइन लिएर पार्टी चलाउँछु ।’ उहाँ कतिसम्म राजनीति जान्ने मान्छे हो त्यो तपाईंहरू नै मूल्यांकन गर्नुस् ।
० वामदेवबाट पार्टी चल्दैन भनेर चाहिँ त्यतिबेलै भन्नुभएको थियो ?
– मैले वामदेव कमरेडलाई सिधै भनेको थिएँ– एउटै मतले दुईटा पार्टी चल्न सक्दैनन् । बहुदलीय जनवाद एमालेको पनि, त्यसबाट छुट्टिएर गएको मालेको पनि बहुदलीय जनवाद नै भएपछि दुईटा पार्टीको किन आवश्यकता ?
० झापा आन्दोलनमा लागेका केहीलाई माओवादीले भित्र्यायो, तपाईंलाई चाहिँ बोलाएनन् ?
– झापा आन्दोलनका साथीहरूलाई एकीकृत गर्ने प्रयत्न एमाओवादीले गरेकै हो । कतिपय साथी माओवादी युद्धमा सहभागी पनि भए । कतिपय साथी चुनाव पनि लड्नुभयो । कतिपयलाई सांसद पनि बनाए । तर, मलाई अन्य हिसाबले कुरा ल्याएका थिए । म राजनीति गरेकै मान्छे भएँ । राजनीति माओवादीले भन्दा म धेरै जान्दछु म भन्दिनँ तर टाउको काट्ने काम हामीबाटै सुरु भएको हो । उनीहरूले बन्दुक चलाए, हामीले त्यो बेलाको परिवेशमा जे हतियार पाइन्थ्यो, त्यही बोकेर आमने–सामनेमा भिड्यौं । हामी नौलो जनवादी क्रान्तिका लागि हिँडेका थियौं तर माओवादीहरू त्यसका लागि हिँडेका थिएनन् । उनीहरू संशोधनवादी हुन् भन्ने मैले त्यसबेलै थाहा पाएको थिएँ ।
० बीचको एक समय कोटी होमतिर लाग्नुभयो, कम्युनिस्ट विचार छाडेको हल्ला थियो नि ?
– भक्ति भनेको एउटा कुरा हो । न मैले कम्युनिस्ट पार्टीको भक्ति गरें, न अरू कसैको । मलाई देख्नेबित्तिकै गोलीले उडाउनु भनिएको थियो । मेरो ज्यान मारेकै ज्यान हो, मैले त्यागेकै ज्यान हो । म जेलमा सेलमा पर्दा एक जनाले मलाई तपाईं मृत्यु हेर्ने हो भनेर सोधे । एक सेकेन्ड पनि नलगाई मैले हेर्छु भनें । त्यसपछि उनले भने अनुसार मैले अनुष्ठान गरें । मैले सत्य पत्ता लगाउन त्यसो गरेको थिएँ, कम्युनिस्ट पार्टी त्यागेर गरेको होइन । मैले गीता पनि पढेको छु । जहाँसम्म कोटीहोम को कुरा छ, एकातिर राजावादी र माओवादी दुवैले वार्ताका कुरा गरेका थिए । त्यही भएर लागेको हुँ । आफ्नो ५० वर्षको राजनीतिलाई थाती राखेर भए पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पहल गरेको थिएँ । बाबुरामको हत्या गर्ने कुरा आएपछि ‘हत्या रोकाइदिनुपर्यो’ भनेर मलाई भनेकै हुन् । मैले दरबारका सचिवसम्म कुरा पुर्याउने हो, पुर्याएकै थिएँ । राजाले त हामीलाई भेट दिए पो । मैले आफ्नो पक्षबाट गर्नुपर्ने काम गरेकै हो । त्यो कोटीहोमबाट मैले कुनै फाइदा लिएको छैन । बेकारमा मेरो बदनाम गरियो ।
० अहिले त कोठाभरि भगवानकै तस्बिर झन्ड्याउनुभएको रहेछ त ?
– एमालेले न केही काम दिएको छ, न केही गरेको छ, बहुलाएर त हिँड्नु भएन नि † १५ वर्ष भो काम नदिएको । मैले आफ्नो आनन्दका लागि यी फोटाहरू राखेको पनि होइन । तर के गर्ने, मान्छेहरू आउँछन्, जिज्ञासा राख्छन्, म जिज्ञासा शान्त गरिदिन्छु । एमालेकै कोही नेता तिरुपति जानुभयो । फर्केर आउँदा पत्रकारसँग त्यहाँको सफाइ हेर्न गएको भन्नुभयो । कत्रो झूट । कसैले पाकिस्तान जाँदा देवीको पूजा गरे पनि भनेका छन् । मन्त्री हुँदा बाउलाई लिएर मन्दिर जाने पनि हाम्रै पार्टीमा छन् । प्रधानमन्त्री हुँदा धोती फेरेर बोका काट्ने पनि छन् । यो चाहिँ के हो त ? मैले फोटा राख्दा चाहिँ म बिग्रेको सडेको हुने, अरूले गर्दा चाहिँ सज्जन हुने ?
Comments are closed.
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास