उहालाईर् सिसाको घरमा’ राखेर पार्टी कसरी चल्छ

० संसदीय दलमा संयोजनकारी भूमिका तपाईंले नै गरिरहनुभएको छ ?
– हो, मैले नै गरिरहेको छु । दलको नेता कमरेड केपी ओली निर्वाचित हुनुभयो । निर्वाचित भएको केही समयपछि नै उहाँ विरामी पर्नुभयो । उहाँ भारत उपचार गर्न जानुभयो । त्यसपछि फेरि आउनुभयो । फेरि विमारी पर्नुभयो, थाइल्याण्ड जानुभयो । दलको नेता भएपछि उहाँले नै प्रमुख सचेतक, सचतेक नियुक्ति गर्नुपर्ने हुन्छ । हाम्रो संसदीय दलको विधानअनुसार उपनेता निर्वाचित हुने हुन्छ । त्यो सबै केही हुन पाएको छैन । त्यसो हुनाले मलाई पार्टी अध्यक्षले अहिले अरु कसैले हेर्न नसकेको अवस्थामा तपाईं सिनियर पनि हो, पहिल्यै प्रमुख सचेतक, सचेतकको भूमिका पनि निभाइसक्नुभएको छ, संसदसम्बन्धी सम्पूर्ण गतिविधिमा अनुभवी पनि हुनुहुन्छ, तपाईंले नै हेरिदिनुस् भन्नुभयो । म त्यही ढंगले भूमिका निर्वाह गरिरहेको छु । लिखित अधिकार नपाएको, मौखिक अधिकार पाएको अवस्थामा छु ।
० संसदीय दल त अस्तव्यस्त भएको गुनासो सभासद्हरूबाटै आएको सुनिन्छ नि ?
– अफिसियल सिस्टम भएन भन्ने कुरालाई नै अस्तव्यस्त भनिएको हो । जस्तो, सत्तापक्षको प्रमुख सचेतक चिनकाजी श्रेष्ठ भनिन्छ, प्रमुख प्रतिपक्षको प्रमुख सचेतक गिरीराजमणि पोखरेल भनिन्छ अनि हाम्रो चाहिँ नेकपा (एमाले)को तर्फबाट राजेन्द्र पाण्डे भनिन्छ । मैले कुनै पोष्ट भन्न मिलेन । दोस्रो, संसद सदस्यहरूलाई के–के सिकाउनुपर्छ, काम गर्न के–के तरिका पुर्याउनुपर्छ, मन्त्रालयसँग संयोजन गर्नेदेखि धेरै कुराहरू छन्, ती सबै कुरामा मैले कतिसम्म भूमिका निभाउन मिल्ने हो, मलाई पनि भन्न अप्ठ्यारो भएको छ । म सबै कुरामा अधिकारप्राप्त अधिकारी हुँ भनेर म प्रस्तुत हुन सक्तिन । कसैले तँ कहाँबाट प्रस्तुत भइस् भनेर प्रश्न गर्यो भने मसँग उत्तर हुँदैन । त्यसो हुनाले म ति कुरालाई पनि सम्झदै जति मिल्छ, गर्न मिल्ने कामचाहिँ गरिरहेको छु ।
० दलको नेता उपचार गरेर फर्केर आइसक्नुभएको छ, अहिले पनि किन यो अस्तव्यस्तता चिर्ने काम भइरहेको छैन ?
– म स्वस्थ भएर फर्केको छु भनेर विमानस्थलमा उहाँले घोषणा गर्दा मलाई पनि खुशी लागेको थियो । मैले मेरो दलको नेता संसद भवनमै पाउने भएँ, मैले उहाँकै अभिभावकत्वमा काम गर्ने अवसर पाउने भएँ भन्ने आशा गरेको थिएँ । केही दिन अगाडि केन्द्रीय कमिटीको बैठकमा उहाँ बोल्न आउनुभयो । त्यो दिन पनि मैले उहाँसँग भनें– ‘केपी कमरेड दलको बैठक बोलाउँ ।’ यसबीचमा हामीले चारपटक संसदीय दलको बैठक बसायौं …।
० तर दलको नेताले दल बैठकको अध्यक्षता गर्न पाउनुभएको छैन, हैन ?
– एकचोटी गर्नुभयो । पछिल्लो पटक दुईपटक दलको बैठक सञ्चालन गर्ने मामिलामा म आफैंले उद्घोषण गरेँ । ती बैठक पार्टी अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा सञ्चालन गर्यौं । यी सबैबाट के देखिन्छ भने दलको नेता नहुँदा त्यो दलमा जुन खालको रौनक आउँथ्यो, त्यो नआउने रहेछ । अन्तिममा दलको नेताले तपाईंले उठाएका हरेक प्रश्नको जवाफ दिनुहुन्छ भन्न पनि पाइएन । सबैको उत्तर यो हो भनेर सबै अधिकार आफैंले पाए जस्तै गरी बोल्न पनि पाइएन । त्यो खालको समस्याचाहिँ भएको छ । यसैलाई अस्तव्यस्तता भन्ने कि के भन्ने ?
० महाधिवेशन प्रभावित हुने डरले अझैसम्म संसदीय दललाई चुस्तदुरुस्त बनाउन ढिला गरिएको हो ?
– पहिलो कुरा त राजेन्द्र पाण्डेले प्रमुख सचेतक, सचेतकजस्ता पदहरू मागेकै छैन । त्यसो हुनाले मेरो बारेमा कसैले केही आरोप नलगाए हुन्छ । म न त्यहाँको सुविधाप्रति नै लालायित छु । गाडी सुविधा पाइएला, तेल सुविधा पाइएला आदि भन्ने कुराप्रति मलाई कुनै लालशा छैन, चासो पनि छैन । दोस्रो कुरा, मैले आजभन्दा १६/१७ वर्ष अगाडि यी पदको जिम्मेवार निभाइसकेको छु । त्यसपछि म मन्त्री भइसकेको मान्छे अब अहिले आएर केही नपाएको झैं गरी त्यही पदमा पुग्ने कुनै चाहना छैन । अरु कोही साथीलाई ती कामको जिम्मेवारी दिँदा राम्रो हुन्छ । पछिल्लो पटक २०५६ सालमा भरतमोहन अधिकारी प्रमुख सचेतक भएपछि नेताहरूले मलाई सचेतक बसिदिनुस् भन्नुभयो । मैले भनें– ‘म पहिल्यै प्रमुख सचेतक भइसकेको मान्छे, किन सचेतकका बस्ने ?’ सिनियर नेता हुनुहुन्छ, उहाँको अधिनमा बस्न भइहाल्छ नि भन्नुभयो । मैले फेरि भनें– ‘हुँदैन । मलाई गाडी चढ्नको लागि सचेतक पद चाहिँदैन ।’
० अबको रहर के उपनेता हुने हो ?
– उपनेताकै कुरा गर्ने हो भने त्यो मलाई सुहाउँछ । चुनाव उपयोगको नीति लिएर चुनाव लड्ने मान्छे अहिले संसदभित्र जम्मा २ जना छौं । म र पुरुषोत्तम पौडेल । तर म ०६४ मा एकपटक ग्याप रहेँ । नत्र ०४८ देखि लगातार संसदमा छु । र, संसदभित्रको सम्पूर्ण गतिविधिबारे जानकारी राख्छु । ऐन निर्माण गर्नेदेखि संसद सञ्चालनका सम्पूर्ण विधि, सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध, सरकार र सांसदहरूबीचको सम्बन्धजस्ता सबै कुरामा जानकारी राख्छु । यी सबै हिसाबले हेर्दा म उपनेताका निम्ति योग्य मान्छे भइसकेको छु भन्ने लाग्छ ।
० पार्टीले त सचिव विष्णु पौडेलको नाममा निर्णय नै गरिसकेको छ क्यारे ?
– त्यो गर्नुभयो अरे । मलाई पनि आश्चर्य लाग्यो । दलको नेताको चाहिँ केन्द्रीय कमिटीले निर्णय गरेन, चुनाव नै भयो । पार्टी अध्यक्षलाई केन्द्रीय कमिटीले दलको नेता बनाउने पहिलाको परम्पराको पनि पालना भएन । उपनेतामा चाहिँ विष्णु पौडेललाई सिफारिस गर्ने उहाँहरूले निर्णय गरेर अपानि पनि जारी गर्नुभएको रहेछ । तपाईंहरूले जारी गर्दैमा हुन्छ त भनेर धेरै साथीहरूले कुरा उठाउनुभयो । जसरी नेता चुनियो, त्यसैगरी उपनेता पनि चुनिनुपर्छ भनेर धेरै साथीले कुरा उठाएपछि यो कुरा त्यत्तिकै भासभुस भयो ।
० महाधिवेशन अघिसम्म यी सबै कुरा त्यत्तिकै भासभुसै भइरहन्छन् त ?
– महाधिवेशन अघिसम्म दललाई सुधार्ने कुरामा कसैको ध्यान जान्छ जस्तो मलाई लाग्दैन । सबैको ध्यान महाधिवेशनतिरै छ । महाधिवेशनको फैसलापछि मात्रै यसमा केही नयाँ कुरा आउनसक्छ ।
० महाधिवेशनको रापले चाहिँ कत्तिको छोएको छ ?
– म पार्टीको पोलिट्ब्युरो सदस्य पनि भइसकेको, ती कार्यकाल केन्द्रीय कमिटीमा रहेको आदि कारणले महाधिवेशनको सन्दर्भमा चासो हुने कुरा स्वाभाविक हो । एउटा असल नेताले आजको परिस्थितिअनुसार सक्रिय नेतृत्व निभाउन सक्ने नेताले यो पार्टी हाँकिदिए हुन्थ्यो भन्ने दिमागमा बोकेर बसिरहँदा महाधिवेशनप्रति चासो त हुने नै भयो ।
० को हो तपार्इंले दिमागमा बोकेको त्यस्तो नेता ?
– यो पार्टीमा यतिबेला दुईजना नेताहरू चुनावी मैदानमा हुनुहुन्छ । एकजना पूर्व महासचिव, अहिलेको बरिष्ठ नेता माधवकुमार नेपाल, अर्का पार्टीको अहिलेको मर्यादाक्रमका हिसाबले तेस्रो तहमा रहनुभएका स्थायी सदस्य केपी शर्मा ओली …।
० उहाँलाई त प्रभावशाली नेता पनि भनिन्छ नि ?
– साथीहरूले प्रभावशाली आदि–आदि विभिन्न शब्दहरू जुराउने गर्छन् । यस्तो धेरै शब्द जुराउने काम उत्तर कोरियनहरूले धेरै गर्छन् । यो जुराउँदा जुराउँदा कहिलेकाहीँ वाक्कलाग्दो पनि हुन्छ ।
० अँ, को त तपाईंंले बोकेको नेता माधव कि केपी ?
– एक किसिमले भन्ने हो भने यी दुवै नभएर तेस्रो व्यक्तिले भूमिका खेले, अझै नयाँ पुस्तामा आइदिए धेरै राम्रो हुन्छ । तर त्यस्तो हुने सम्भावना रहेन । अहिले हामीले यिनै दुईवटा नेतामध्येबाट छान्नुपर्ने अवस्था छ । छान्दाखेरी १५ वर्ष अवधि पूरा गरिसक्नुभएका माधव नेपालले अब फेरि किन खाने ? अब त नयाँ मान्छेलाई दिनुपर्छ भन्ने कुरा आएको छ । विशेषगरी केपी ओलीलाई अध्यक्ष बनाउनुपर्छ भन्ने कोणबाट यस्ता कुरा आएको छ । मैले विद्यार्थी आन्दोलनका क्रममा जेल पर्दा २०३२ सालमा केपी ओलीलाई पहिलोचोटि सेन्ट्रल जेलमा भेटेको हुँ । अहिले भएका सबै नेतामध्ये मेरो पहिलो चिनारु नै उहाँ हो । त्यो पुरानो चिनजान आदिको हिसाबले म उहाँलाई पनि असलै नेताको रूपमा मान्छु । माधव नेपाल लामो समय महासचिव रहनुभयो । सो समयमा उहाँले गरेका काम कारवाही, उहाँको सक्रियता आदिलाई पनि मैले नजिकबाट हेरेको छु । यी दुवै नेतालाई दजाएर हेर्नुपर्दा मैले अनुहार हेरेर उहाँहरूको शरीरको उचाई हेरेर, उहाँहरूको टाक्कटुक्क कुरा सुनेर निर्णय गर्ने होइन । मैले निर्णय गर्दा यो पार्टीलाई अगाडि बढाउन, आजको संक्रमणकालीन अवस्थामा नेपाली जनताको सही ढंगले नेतृत्व गर्न सक्ने भूमिका खेल्न सक्ने नेतृत्व आवश्यकता छ । विवाद नगर्ने हो भने, पार्टीलाई एकताबद्ध बनाएर लैजाने हो भने पार्टीका तीन शीर्ष नेतालाई तीन ठूला जिम्मेवारी अहिले पनि सर्लक्क छ । एकजना अध्यक्ष हुने, एकजना राष्ट्रपति हुने र एकजना प्रधानमन्त्री हुने । यो सबै हाम्रा लागि किस्तीमा राखेर ठीक पारिएको चिजजस्तै हो ।
० तर यहाँ त माधव नेपाललाई पनि केपी ओलीलाई पनि एकचोटी पार्टी अध्यक्ष हुनु छ नि ?
– हो, त्यस्तै देखिएको छ । केपी ओलीलाई एकचोटि अध्यक्ष भएर ‘उहाँ त अध्यक्ष भइसकेको मान्छे हो नि †’ भन्ने कुरा उहाँ स्वयम् र उहाँलाई सहयोग गर्नेहरूलाई भन्ने मन छ, देखाउने मन छ । अर्कोतिर १५ वर्षसम्म काम गरिसकेको नाताले माधव नेपालले छाडिदिँदा पनि हुन्थ्यो भन्ने पनि मान्छेहरू छन् । छाड्ने सिलसिलामा पनि हामीले हेर्दा देख्ने कुरा के हो भने अब यो पार्टीको राजनीतिक भविष्य कस्तो बनाउने ? कसरी जाने ? अहिले हामी दुईवटा प्रवित्तिभित्र छौं । एउटा, पार्टी पोष्टमा पुग्नको लागि जस्तोसुकै अवस्थामा जस्तोसुकै तत्वसँग, जस्तोसुकै सम्झौता गरेर पनि जाने प्रवृत्ति छ । त्यस्तो प्रवृत्तिको झुन्ड अहिले केपी ओलीको वरपर छ । एक समय यो एक नम्बरको भ्रष्टाचारी हो भनेर प्रदीप नेपालले वामदेव गौतमको नाम खुल्लामञ्चबाट घोषणा गरे । आज तिनै वामदेव उपप्रधानमन्त्री तथा गृहमन्त्री, घोषणा गर्ने प्रदीप नेपालचाहिँ वामदेवको सल्लाहकार । एक समय कमरेड केपीले वामदेवलाई यो मकैबारीमा लागेको ‘कालोपोके’ हो भन्नुभयो । अहिले ती मित्रहरू एउटै समूहमा छन् । वामदेव गौतम अहिले केपी ओली नै अध्यक्ष हुनुपर्छ भनेर लागिरहनुभएको छ । भन्दाभन्दै उहाँले कतिसम्म भन्नुभयो भने ‘कमरेड केपी ओलीलाई सीसाको घरमा राखेर भए पनि पार्टी त मैले नै चलाउने हो ।’
० सिन्डीकेटका कुरा पनि त आएका छन् ?
– केपी ओली हुने, त्यसपछि वामदेव हुने, त्यसपछि विद्या भण्डारी हुने, त्यसपछि ईश्वर पोखरेल हुने अनि विष्णु पौडेल हुने कुरा सुनिएको छ । यो राणा प्रधानमन्त्रीहरूले आफ्नो भाइछोराहरूलाई रोलक्रम बाँडिदिए जसरी बाँडिएको पनि सुनियो । यस्तै रोलक्रम बाँधेको भए कमरेड मदन भण्डारी हाम्रो पार्टीको महासचिव बन्न सक्नुहुन्थ्यो ? त्यतिबेलाका नेतामा जीवराज आश्रित सबैभन्दा अगुवा हुनुहुन्थ्यो । त्यसपछि मोदनाथ प्रश्रित, वामदेव गौतम, सिद्धिनाथ ज्ञवाली । यी सबैलाई उछिनेर मदन भण्डारी ४१ वर्ष पनि नपुगेकै अवस्थामा महासचिव बन्नुभयो ।
० यी सबै कुराको अर्थ तपाईं पनि माधव नेपाल नै अध्यक्ष हुनुुपर्छ भनेर लागिरहनुभएको छ ?
– एकपटकका लागि बनाउन ठिकै हो भन्ने मलाई लागेको छ ।
० त्यसको पनि त कारण होला नि ?
– केही कारणहरू छन् । उहाँ सर्वगुण सम्पन्न भन्नेखालको कुरा मेरो होइन । तर दुईजनालाई तुलना गर्दा मैले कमरेड माधव नै अहिलेको अवस्थामा पार्टीमा त्यो भूमिका खेल्न सक्नुहुन्छ भनेर भनेको छु । पहिलो कुरा, वामदेव गौतमकै शब्द सापटी लिने हो भने पनि ‘सीसाको घरमा राखेर’ पार्टी चलाउने अध्यक्ष अहिले कसरी बनाउन सकिन्छ ? सीसाको घरमा राख्ने भनेको त सुरक्षितसाथ कसैले छुन नमिल्ने गरी राख्ने हो । स्वास्थ्य क्षेत्रमा यसलाई ‘इन्कुभेटर’ भन्छन् । उमेर नपुगेको बच्चालाई जोगाएर राख्ने एकप्रकारको भाँडा हो यो । त्यस्तो ढंगको अध्यक्ष कमरेड केपीलाई बनाउन खोजिएको हो भने त्यो पार्टी चलाउने कुरो होइन । त्यो व्यक्तिपूजा गर्ने कुरा हो । विचारले होइन, यस्तै प्राविधिक कुराले पार्टी कब्जा गर्ने यो तरिका बेठीक हो । अर्को कुरा, अहिले दिनको १६ घण्टा खट्ने अध्यक्ष हामीलाई चाहिन्छ । नेपालमा १० वर्ष अगाडिदेखिको जुन उग्रवामपन्थी गतिविधि थियो, त्यो अब एकढंगले साइजमा आएको छ । अझै त्यसको भ्रम चिर्न बाँकी छ । त्यो चिर्नेक्रममा त्यसको पछि लागेका थुप्रै मान्छे एमालेको पक्षमा आउनसक्छन् । तिनीहरूलाई ल्याउनु पनि पर्छ । यस्तो अवस्था सक्रिय अध्यक्षको आवश्यकता पर्छ । प्रत्येक ठाउँमा मान्छेले एमालेमा आउँछु भन्नुअगाडि त्यो पार्टीको प्रमुखले के भन्छ भन्ने कुरा पनि विचार गर्छ । आइज भन्यो भने जान्छ, पार्टी प्रमुखलाई हामी जाने कुरा चित्त बुझेको छैन भने जाँदैन । त्यसैले सक्रिय जीवन भएको पार्टी अध्यक्ष चाहिन्छ । जुन, कमरेड केपी ओलीको स्वास्थ्य हेर्दा मैले देखिरहेको छैन ।
० अजम्बरी कोही पनि हुँदैन भनेर त उहाँले भन्नुभएको छ नि ?
– त्यो कुरा मैले पनि सुनें । उहाँले मलाई दु:ख लागेको छ पनि भन्नुभयो । तर अहिले मैले जे कुराहरू टिप्पणी गरिरहेको छु, यो मैले नकरात्मक टिप्पणी गर्न खोजेकै होइन । यो भनेको केपी ओलीप्रतिको पनि माया हो र पार्टीप्रतिको पनि माया हो । जबर्जस्ती उहाँको स्वास्थ्यले नधानी–नधानी तानेर लतारेर लिएर हिँड्दा उहाँको जीवनमाथि नै खेलवाड हुनसक्छ । त्यो अपराधपूर्ण काम हामीले किन गर्ने ?
० ओली समूहले अहिले विचारमा पनि हामी हारेका छैनौं भनेर प्रचार गर्दैछन् नि ?
– विचारमा हारेका छैनौं भन्नु नै आफैंमा डिफेन्सीभ शब्द हो । नत्र हामीले जितेका छौं भन्न सकिन्थ्यो नि †
० केन्द्रीय कमिटी र पदाधिकारी त जम्बो बनाउनुभयो नि ?
– पार्टी पनि ठूलो हुँदै गयो । जिम्मेवारीका क्षेत्र पनि बढ्दै गए । अबको राज्यको पुन:संरचना हुन्छ । त्यो बेला एउटा नयाँ संरचना सुरु हुन्छ । आज हामीसँग केन्द्र छ, संविधानसभा व्यवस्थापिका संसद छ । सिधै जिविस, नगरपालिका वा गाविस छ, बीचमा कुनै संयन्त्र छैन । भोलि बीचमा कुनै नयाँ लेयर निस्किन्छ । प्रदेशहरू होलान् । त्यसपछि तिनलाई पनि नेतृत्व गर्नुपर्ने निकायहरू चाहिन्छ । आर्थिक, व्यवसायिक, सामाजिक थुप्रै क्षेत्रहरू पनि थपिदै गए । हिजो पाँचजना सदस्य नभएको ठाउँमा आज हाम्रो पाँच हजार सदस्य भएका छन् । यी सबैलाई नेतृत्व गर्नुपर्यो, संगठित गर्नुपर्यो, परिचालित गर्नुपर्यो । यी सबै हिसाबले केन्द्रीय कमिटी अलि ठूलो बनाउन लागिएको हो । अर्को कुरा, यो विभिन्न जात, जाति, भाषाभाषीको देश हो । उनीहरू सबैलाई समेट्नुपर्ने हुनाले पनि केन्द्रीय कमिटीको आकार बढेको हो ।
Comments are closed.
सम्बन्धित समाचार
-
एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
-
राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
-
सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
-
एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
-
लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
-
नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
-
देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
-
उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
-
प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
-
प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
-
प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
-
यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास