22nd November 2017, Wednesday

E-budhabar

नेपाली कांग्रेसका १० चरित्र



नेपाली कांग्रेसका १० चरित्र

१. कांग्रेसीहरूको विपन्न वर्गका सामान्य मान्छेलाई मान्छे नगन्ने, हेप्ने जन्मजात चरित्र छ । उनीहरूमा ठालु हुने, आफूलाई मै हुँ भनी ठान्ने प्रवृत्ति छ । उनीहरू सामान्य मानिसभन्दा आफूलाई अलग्गै र विशेष देखाउन चाहन्छन् । सामान्य मानिसहरूसँग घुलमिल हुन आफ्नो जातै जाला जस्तों गर्दछन् । यो उनीहरूको जन्मजात वर्गीय चरित्र हो । त्यसैले सामान्य मानिसहरू कांग्रेसीहरूको नजिकै पर्न चाहँदैनन् । सामान्य मानिसहरूमा कांग्रेस हुँ भन्नेहरूबाट एक किसिमको डर त्रास हुन्छ । त्यसैले यस्ता सामान्य मानिसहरू कांग्रेसीहरूबाट टाढै रहन चाहन्छन् ।
२. केही अपवादबाहेक बहुसंख्यक कांग्रेसीहरूमा इमानदारी नामको चिज नै हँुदैन । आफ्ना निकटस्थहरूसँग समेत ढाँटछल, छलकपट, तिकडम, जालझेल, प्रपञ्च रच्ने उनीहरूको खास विशेषता हो । कांग्रेसहरू आफन्तहरूसँग पनि कहिल्यै सोझो बोल्दैनन् । झूटा मुद्दा लगाएर विरोधीलाई दुःख दिने, फँसाउने, होच्याउने उनीहरूको खास प्रवृत्तिहो । झूटा मुद्दाको प्रसंग चल्दा कांग्रेसको नाम सँगसँगै जोडिएर आउँछ । त्यसैले सामान्य मानिस सकेसम्म कांग्रेसीहरूसँग तर्केर हिँड्दछन् ।
३. कांग्रेस भ्रष्टाचार, आर्थिक अनियमितता, घुस, कमिसन आदिप्रति अत्यन्त नरम दृष्टिकोण राख्दछ । ऊ जसरी र जे गरेर भए पनि सम्पत्ति थुपार्नुपर्दछ भन्ने मान्यता राख्दछ । त्यसैले ठग्ने, लुट्न,े धोखा दिने, बेइमानी गर्ने, घुस, कमिसन खाने उसका लागि सामान्य कुरा हुन्छन् ।
त्यसैले त भनिन्छ, गरिब कांग्रेस हुँदैन, कांग्रेस गरिब हँुदैन । कोही गरिब परिबन्दमा परेर वा कुरा नबुझी कांग्रेसी भयो भने पनि उसलाई अरु कांग्रेसीले दासलाई झैं हेयको दृष्टिले हेर्ने र व्यवहार गर्ने गर्दछन् । जसरी कमाएको भए पनि एउटा कांग्रेसीले अर्को कांग्रेसीको खोजीनिती र नकारात्मक टीकाटिप्पणी गर्दैन । कहाँ मौका पाएछ मात्र भनेर छोडिदिन्छ । बरु भ्रष्टाचार गर्नेलाई अप्ठ्यारो प¥यो भने उल्टै सहयोग गर्न पुग्दछ ।
किनभने, कुनै दिन ऊ आफंै पनि त्यस्तो अप्ठ्यारोमा पर्न सक्ने सम्भावना उसले देखिरहेको हुन्छ । नेपाली कांग्रेसले लोकमान सिंह कार्कीलाई यही कारणले संरक्षण गरेको हो । एकाध अपवादबाहेक धेरैजसो कांग्रेसीहरू यस्तै हुन्छन् । २०४८ सालको चुनावपछि ३० वर्षमा गठन भएको पहिलो कांग्रेसी सरकारका कतिपय वरिष्ठ मन्त्रीहरूलाई त्यतिखेर नै कमाउ धन्दामा लागेको आरोप लागेको थियो । धमिजा काण्ड त्यतिखेर नै घटेको काण्ड हो, जसमा स्वयं गिरिजाप्रसाद कोइराला संलग्न थिए । कांग्रेस सत्तामा रहँदा यस्ता अनगिन्ती काण्ड भएका छन् ।
भर्खरै उजागर भएको कर फस्र्योट आयोग काण्ड त्यो क्रमको पछिल्लो कडी हो । कांग्रेसका वरिष्ठ मन्त्रीहरू भ्रष्टाचार मुद्दामा दोषी ठहरिनु यस कुराको अर्को ज्वलन्त उदाहरण हो । यसरी ३० वर्षसम्मको संघर्षपछिको पहिलो सरकारको सुरुदेखि नै नेपाली कांग्रेसले यस्तो परम्परा बसाल्यो ।
४. नेपाली कांग्रेस आधारभूत रूपमा सामन्ती संस्कार र प्रवृत्ति भएको शोषक वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । गाउँका यस्तै प्रवृत्ति भएका मानिसहरू सबै त्यहाँ कांग्रेस भएका छन् । उनीहरूको सामाजिक र धार्मिक रीतिरिवाजमा यही संस्कार र प्रवृत्ति प्रस्ट रूपमा झल्किन्छ । तिनले गाउँका सीधासाधा मानिसलाई, सताउने, विरोध गर्नेलाई झूटा मुद्दा लगाई फसाउने, दुःख दिने गर्दछन् । कांग्रेसले देशभरिका यस्तै मानिसहरूको प्रतिनिधित्व गर्दछ । विरोधीलाई झूटा मुद्दा लगाउने नेपाली कांग्रेसको पहिचान नै भएको छ ।
५. नेपाली कांग्रेस हामीले बिर्ता र जमिनदारी प्रथा उन्मूलन ग¥यौ भनेर गर्व गर्दछ । तर, त्यो २०१६ सालमा बीपीको सरकारले गरेको काम हो । के अहिले शेरबहादुरको कांग्रेस बीपीको कांग्रेसजस्तो छ ? बीपी प्रजातान्त्रिक समाजवाद भन्दथे । तर, देउवा कांग्रेस समाजवादको नाम सुन्दैमा मुन्टो बटार्छ । अहिलेको कांग्रेस राजनीतिक र सामाजिक रूपमा सही अर्थमा यथास्थितिवादी र कतिपय सन्दर्भमा अझ प्रतिगामी पार्टी भइसकेको छ ।
ऊ कुनै पनि विषयमा प्रगतिशील परिवर्तनको विरोधी छ । कमैया र कम्लरी मुक्ति, हलियामुक्ति, सुकुम्बासी समस्याको समाधान, छुवाछूत प्रथाको उन्मूलन आदिको घोषणा गर्न नेकपा (एमाले) ले कांग्रेससँग कत्रो लडाइँ लड्नुप¥यो भन्ने कुरा दुनियाँलाई थाहा छ । उल्टै यी काम हामीले गरेका हौं भन्दा उसलाई रत्तिभर लज्जाबोध हुँदैन ।
यसले पनि उसको प्रवृत्ति जाहेर गर्दछ । संसदीय प्रणालीको कारणले देशमा राजनीतिक स्थिरता नभएको कुरा महसुस गरेर पनि त्यही यथास्थिति र सामन्तवादी संस्कारका कारण संविधान निर्माणका क्रममा कांग्रेसले यो प्रणालीको पक्षमा अडान लिइरह्यो, त्यसको विकल्पमा जान मानेन । र, नयाँ संविधान आइसकेपछि पनि राजनीतिक अस्थिरताले निरन्तरता पायो । त्यसैले, विगतमा झैं यसपटक पनि नेपालको राजनीतिक अस्थिरताको कारक नेपाली कांग्रेस नै भएको छ ।
६. नेपाली कांग्रेस विदेशीहरूप्रति दास मानसिकता भएको, विदेशीहरूको दलाली गर्ने प्रवृत्ति भएको पार्टी हो ।
जनतालाई भन्दा विदेशी शक्तिलाई रिझाएर सत्तामा जान खोज्ने र सत्तामा टिक्न खोज्ने पार्टी हो । यही भएर त त्यस पार्टीका हालका सभापति ‘हामीलाई विदेशीले पत्याउँछन्’ भन्दछन् । कोसी र गण्डक योजना, टनकपुर सन्धि उसको यही नीतिअन्तर्गत भएका सम्झौता हुन् । कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिने काम पनि उसले यही नीतिअन्तर्गत गरिएको हो ।
सत्तामा जानका लागि उसले विदेशी शक्तिलाई जे मागे पनि दिने गर्दछ । विगतमा पटकपटक उसले गरेका यस्ता कामबाट यस कुराको पुष्टि हुन्छ । यसरी नेपाली कांग्रेस राष्ट्रियताको सवालमा अत्यन्त कमजोर अडान भएको पार्टी हो । यसबाट उसको नेतृत्वमा नेपालको स्वाभिमान र सार्वभौमिकता सुरक्षित हुँदैन भन्न हच्किनुपर्दैन ।
७. नेपाली कांग्रेस आफू लोकतन्त्रको मसिहा भएको दाबी गर्दछ, तर उसको लोकतन्त्र सतहमा मात्र हुन्छ । केन्द्रीय स्तरमा मात्र हुन्छ, जनस्तरमा हँुदैन, जनताको घरदैलोसम्म पुग्दैन । किनभने, जनस्तरमा लोकतन्त्र पुगेमा जनताको चेतनाको स्तर माथि उठ्छ र गाउँठाउँमा उसको शोषण, दमन र उत्पीडन चल्न छोड्छ । उसले भ्रम छरेर हैकम चलाउन पाउँदैन । उसको लोकतन्त्र जनताको आर्थिक, सामाजिक अवस्थासँग सरोकार राख्दैन । उसको लोकतन्त्रमा केन्द्रीय स्तरका नेताहरूले भाषण गर्न पाए पुग्छ । जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, शोषण, उत्पीडन आदि समस्यालाई सम्बोधन गर्नु उसको लोकतन्त्रको परिभाषाभित्र पर्दैन । जनतालाई अधिकार दिने कुरा सुन्नेबित्तिकै कांग्रेसलाई कामज्वरो आउँछ । तर, मुखले चाहिँ उत्पीडित जनताको मुक्तिदाता आफंै भएको दाबी गर्न बेर लगाउँदैन ।
८. नेपाली कांग्रेस विकासको सन्दर्भमा मौलिक सोच र चिन्तनको मरुभूमि भएको पार्टी हो । उसले जानेको कुरा केवल उदारीकरण, निजीकरण र विश्वव्यापीकरण, बजार र निजी क्षेत्र मात्र हो । यी कुरा पनि उसका आफ्ना होइनन् र हुने पनि कुरै भएन ।
उसले यी कुरा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व व्यापार संगठन र एसियाली विकास बैंकबाट सिकेको हो । त्यसैले, देशका विपन्न र सीमान्तकृत वर्ग, पछाडि परेको क्षेत्र, भूमिहीन किसान, सुकुम्बासी, मजदुर, दलित आदिको आर्थिक तथा सामाजिक उत्थान गर्ने उससँग न कुनै दृष्टिकोण छ, न चाहना नै । साँच्चै भन्ने हो भने यदि नेपालमा नेकपा (एमाले) नउदाएको भए उसले अहिलेसम्म पनि ती वर्ग र तप्काका जनताको उत्थानको निमित्त अहिले भनिएजति कुरा भन्नसम्म पनि सक्ने थिएन ।
उसले यी सबै कुरा विगतमा एमालेले बजेटमार्फत ल्याएका कुरा सुनेर, जानेर, सिकेर भन्न र लेख्न थालेको हो । यदि यसो हँुदैनथ्यो भने २५ वर्षमा २० वर्षभन्दा बढी सत्तामा रहेको र त्यति नै संख्यामा बजेट पेस गरेको कांग्रेसले गरिबसँग विश्वेश्वर भन्नेबाहेक अरू कुनै नयाँ जनमुखी कार्यक्रम ल्याएको भए कांग्रेसीहरूले भनून् । कांगे्रसमा विकासको सोच, दृष्टिकोण र चिन्तनको यस्तो अभाव छ ।
९. नेपाली कांग्रेसले जनताको सेवा गर्ने भन्ने कुरा जानेकै छैन । ऊ त समाजको ठालु हो । ठालुले त जनताबाट सेवा लिन्छ । आफूभन्दा तल्लो वर्गका निम्सरा जनताको सेवा गर्न उसलाई कहाँ सुहाउँछ ? त्यसैले, चुनाव नआइन्जेल कांग्रेस गाउँ फर्कंदैन, जनताकहाँ जाँदैन, सहरबजारतिर सदरमुकामतिर गफ हाँकेर, मोजमस्ती र ऐस गरेर बस्छ ।
जब चुनाव घोषणा भई उम्मेदवारी दर्ता हुन्छ, तब साम, दाम, दण्ड, भेदको नीति अँगाल्दै, पैसा बाँडेर, प्रहरी प्रशासन र गुन्डाहरूको सहयोगमा बुथ कब्जा गरेर चुनाव जित्न खोज्दछ । उसले अहिलेसम्म जितेका चुनावमा यस्ता करतुतको निर्णायक भूमिका रहेको कुरामा कांग्रेसीजनले मात्र विमति जनाउलान् । जनता यस कुराका भलीभाँती जानकार छन् ।
१०. नेपाली कांग्रेसको अर्को चरित्र कस्तो छ भने उसले देशमा प्रचलित ऐनकानुन मान्ने होइन, त्यसलाई छल्ने, त्यसको अवज्ञा गर्ने कुरा हो भन्ने ठान्दछ । अर्थात्, आफू कानुनभन्दा माथि रहेको र कदाचित कानुनको नजर परिहाल्यो भने पनि त्यसलाई भनसुन गरेर, अनेक तरिकाले दबाब दिएर, पैसा खुवाएर, धम्की दिएर तर्काउने कोसिस गर्दछ र धेरैजसो घटनामा ऊ सफल पनि हुन्छ ।
नेपालमा लामो समयदेखि कायम रहेको र बढ्दै गएको दण्डहीनताकोे कारण त्यही हो । ऊ जतिसुकै ठूलो अपराधी, कानुनविपरीत काम गर्ने वा भ्रष्टाचारी भए तापनि म कांग्रेसी हुँ वा अब हुन्छु भन्दै कांग्रेसको जुनसुकै नेताको शरणमा गयो भने पनि उसले त्यस्तो व्यक्तिलाई जोगाउने, बचाउने र संरक्षण गर्ने काम गर्दछ । र, त्यस्तो व्यक्ति अझ अगाडि बढेर कानुनलाई आफ्नो हातमा लिने काम गर्दछ ।
यी सबै कुराहरूको आधारमा ढुक्कसँग के निष्कर्ष निकाल्न सकिन्छ भने नेपाली कांग्रेसको लोकतन्त्रबाट जनता लाभान्वित हुन पाउँदैनन्, उसबाट सामाजिक भेदभाव हट्दैन, आमजनता शोषण र उत्पीडनमा परिरहन्छन् । कुशासनमा कमी आउनुको सट्टा झन् बढ्दै जान्छ, भ्रष्टाचार बढ्दै जान्छ र देशको अस्मिता लुटिँदै जान्छ, आदि इत्यादि ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा