हामी सानदार मतका साथ चुनाव जित्छौं
० धनगढी उपमहानगरपालिकामा तपाईंको उम्मेदवारी किन ?
– धनगढी उपमहानगरपालिकाको समग्र विकाससँगै यहाँको समस्यालाई समाधानका लागि मैले प्रमुख पदमा उम्मेदवारी दिएको छु । म र मेरो पार्टीसँग धनगढीलाई सुन्दर तथा विकासको मूलप्रवाहमा ल्याउने आँट र भिजन छ । मतदाताहरूले विकास चाहन्छन् । त्यो भिजन नेकपा (एमाले) सँग मात्रै छ भन्ने कुरा बुझेका छन् । त्यसकारण यहाँका जनता एमालेलाई जिताउन चुनावको मिति कुरेर बसेका छन् ।
० धनगढीको विकासका लागि तपार्इंका एजेन्डाहरू के छन् ?
– कतिपय भौतिक पूर्वाधार अहिले नै बनेकाले धनगढीलाई प्रदेश ७ को राजधानी बनाउन पहल गर्नेछु । सहरी विकास तथा व्यवस्थापन क्षेत्रका विज्ञहरूसँग त्यसका लागि छलफल गर्नेछु । त्यस्तै नौवटै जिल्लाका राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने काम पनि मेरो प्राथमिकता हुनेछ । धनगढी उपमहानगरपालिकालाई महानगरपालिका बनाउन पहल हुनेछ । धनगढी उपमहानगरपालिकाको १५ वर्षीय गुरुयोजना तयार गरिनेछ । यही योजनाअन्तर्गत अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना बनाइनेछ ।
यसका लागि आवश्यक लगानीसँगै आवश्यक स्रोतको खोजी गर्नेछु । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सडक सञ्जाल विस्तार गर्नेछु । धनगढी उपमहानगरपालिकाका १९ वटै वडाहरूलाई छुने गरी चक्रपथ निर्माणका लागि पहल गर्ने मेरो योजना छ ।
यस्तै, ढल निकास, फोहर व्यवस्थापन, सडक सञ्जाल विस्तार तथा सुरक्षित धनगढी सहर निर्माणको लागि पहल गर्नेछु । यस क्षेत्रलाई लोडसेडिङ्ग मुक्त बनाउँदै विशेष आर्थिक एवं औद्योगिक क्षेत्र निर्माणमार्फत रोजगारीको सिर्जना गर्दै आर्थिक रूपमा समृद्ध धनगढीको परिकल्पना गरेको छु । जुन कुरा मेरो पार्टीको घोषणापत्र र प्रतिबद्धतापत्रमा पनि सार्वजनिक गरको छौं ।
० युवालक्षित योजना के छन् ?
– युवाहरूलाई स्वदेशमा नै रोजगारी दिन प्राविधिक शिक्षालयको स्थापनाका लागि जोड दिनेछु । धनगढीलाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गरिनेछ । उनीहरूलाई प्रत्येक वडामा सीपमूलक कार्यक्रमहरूलाई मैले प्राथमिकतामा राखेको छु । युवाहरूको नेतृत्व विकासका लागि पहल गरिनेछ ।
यसैगरी युवा लक्षित शारीरिक स्वास्थ्यका लागि प्रत्येक वडाहरूमा खेलकुद र व्यायामशालाहरूको निर्माण गर्नेछु । खेलकुद क्षेत्रको विकासका लागि धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको निर्माण गर्नेछु । फूलबारी र जुगेडा क्षेत्रमा खेलकुद विकासका लागि आवश्यक विशेष पूर्वाधारहरूको निर्माण गरिनेछ ।
० उपमहानगरपालिकामा मुख्य समस्याका रूपमा रहेको खोलानाला अतिक्रमण, कटान र डुबानको समस्यालाई कसरी समाधान गर्नुहुन्छ ?
– जनताको तटबन्धको कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ । स्थानीय तह स्वायत्त सरकार भएका कारण कटान र डुबानको समस्या पहिल्याउँदै त्रिवर्षीय योजना बनाइनेछ । यसका लागि दातृ निकायहरूबाट सहयोग लिँदै तीन वर्षभित्र यस क्षेत्रमा मोहना, खुटिया, शिवगंगालगायतका नदीहरूका कारण बर्सेनि हुने नदी कटान तथा डुबानको समस्यालाई नियन्त्रण गरिनेछ । धनगढी उपमहानगरपालिकाको जोखिम पहिचान गरी विपद् व्यवस्थापनको योजना कार्यान्वयनमा ल्याइनेछ ।
यस्तै जथाभावी अनधिकृत रूपमा नदीनाला तथा अन्य सार्वजनिक जमिनहरू मिच्ने कार्यलाई कडाइका साथ बन्द गर्नेछु । कानुन हातमा लिने जुनसुकै व्यक्तिलाई कानुनको दायरमा ल्याइनेछ । व्यवस्थित ढल निकास, वृक्षरोपण एवं नदी नालाहरूको नियन्त्रणमार्फत डुबानको अन्त्य गरिनेछ । त्यस्तै खुटिया–दीपालय मार्गलाई द्रुत मार्गका रूपमा विकास गर्दै आधुनिक मार्गका रूपमा निर्माण गर्न पहल गरिनेछ । यो सपना र आवश्यकता हो । यसको चाँडो निर्माणका लागि ती क्षेत्रमा पर्ने अन्य स्थानीय सरकार, प्रादेशिक तथा केन्द्रीय सरकारसँग पहल गर्नेछु ।
० समुदायका हिसाबले यहाँ थारू समुदाय पनि छ, थारू समुदायलाई कसरी समेट्नुहुन्छ ?
– यस उपमहानगरपालिकाभित्र राना थारू र डंगौरा थारू समुदायको सघन बसोबास रहेका स्थानमा राना थारू र डंगौरा थारू संस्कृतिको अध्ययन स्थालका रूपमा विकास गरिनेछ । साथै ती स्थानहरूमा सम्बन्धित समुदायको सांस्कृतिक संग्रहालयको निर्माण गरिनेछ । सिंहदरबार रहेको सरकार वडाहरूमा जाने भएकाले थारू समुदायको बाहुल्य रहेको स्थानहरूमा थारू समुदायकै सरकार हो भन्ने अनुभूति गराइनेछ । यस्तै दलित, मुक्त कमैया, सुकुम्बासीलगायतका सीमान्तकृत समुदायको सशक्तीकरणमा जोड दिने मेरो योजना रहेको छ । जीविकोपार्जन तथा जीवनस्तर अभिवृद्धिका लागि सीप तथा रोजगारीमूलक विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ । यस्तै सामाजिक सुरक्षा भत्तालाई बढाउने योजना रहेको छ ।
० चुनाव जित्नेमा कतिको विश्वस्त हुुनुहुन्छ ?
– एमालेको राष्ट्रियताप्रतिको अडान र एमालेले जनताका लागि विकासप्रेमी कामहरू गरेको छ । यसलाई जनताले बिर्सेका छैनन् । पहिलो चरणमा एमालेप्रतिको जनलहरले देखाइसकेको छ । एमाले चुनाव हार्दैन । अहिले यसअघि अर्को पार्टीमा उम्मेदवार भएका साथीहरू, लामो समय अर्को पार्टीप्रति आस्था राखेर बसेका साथीहरू नेकपा (एमाले) लाई विश्वास गरी हाम्रो पार्टीमा प्रवेश गरिरहनुभएको छ त्यसैले हामीले चुनाव जित्छौं यसमा कुनै शंका नै छैन । मजस्तो कुनै उम्मेदवारलाई जिताउन मात्र होइन, हाम्रा वडाको विकास, उपमहानगरको विकास र देश निर्माणका लागि एमालेलाई जिताउनुपर्ने हो । हामी हाम्रा लागि कसैसँग लडिरहेका छैनौं, देश बनाउन एमालेलाई भोट मागिरहेका छौं । तर पनि धनगढीमा नेकपा (एमाले) को प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुन्छ । प्रतिस्पर्धा भए पनि हामी सहजै चुनाव जित्छौं । संविधानसभामा राप्रपा नेपालका उम्मेदवार रहनुभएका राजेश भण्डारी अहिले एमाले प्रवेश गर्नुभएको छ । भण्डारीले ४,३०० मत ल्याउनुभएको थियो । यस्तै मालेका धेरै साथी हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ । त्यति मात्र होइन, माओवादीका केन्द्रीय सदस्य ऋषि बिनाडी पनि हाम्रै पार्टीमा प्रवेश गर्नुभएको छ । संविधान सभाको उपचुनावमा हामी जम्मा २८ सय मतले मात्र हारेका हौं । अहिले त्योभन्दा बढी मत हासिल हुने स्थिति छ । यसैले विजय सुनिश्चित छ । हामी सानदार मतका साथ चुनाव जित्छौं ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply