16th July 2018, Monday

E-budhabar

प्रदेशको राजधानी काठमाडौंबाहिरै हुनुपर्छ



प्रदेशको राजधानी काठमाडौंबाहिरै हुनुपर्छ

० तपार्इं मुख्यमन्त्री हुनुभएको एक हप्ता पुगिसक्यो अझै सरकारलाई पूर्णता दिनुभएको छैन, सरकारले कहिले पूर्णता पाउँला ?
– पूर्णता पाउन हामी कहाँ कुनै समस्या छैन । प्रदेश प्रमुखको रोहवरमा उहाँले शपथग्रहण गराउनुपर्नेमा उहाँ आफ्नो उपचारका लागि भारत जानुभयो । १५ गते उहाँ फर्किनुहुन्छ । फर्किनेबित्तिकै कुनै बाधाअवरोधबिना हामी १७ गतेभित्रमा सरकार विस्तार गर्ने काम टुंंग्याउँछौं ।
० गठबन्धनमा भागबन्डा नमिलेर ढिलो भएको त होइन ?
– गठबन्धनमा हामीकहाँ त कुनै समस्या नै छैन । अहिले पनि गठबन्धनकै एकजना साथी आउनुभएकै छ । अबका दिनमा त झनै सहजै भइहाल्छ नि !
० समृद्ध प्रदेश निर्माणका लागि तपाईंको नेतृत्वको सरकारको प्राथमिकता के के छन् ?
– हामी पनि समृद्ध नेपाल निर्माणको नाराअन्तर्गत आफ्नो प्रदेश समृद्ध बनाउने अभियानमा छौं । हाम्रो पार्टीको मूल नारा नै त्यही हो । हाम्रो प्रदेश विविधतायुक्त छ । यहाँ तराई, पहाड र हिमाल तीनवटै चिज छ । यी सबै क्षेत्रमा आ–आफ्नै विशिष्टता छन् । यी सबै विशिष्टताबारे पहिले अध्ययन गरेर कहाँ, के हुन सक्छ भन्ने कुरा तय गर्छौं । नाराले मात्र समृद्धि हुने होइन । औद्योगिकीकरण गर्नुप¥यो, रोजगारीको सिर्जना गर्नुप¥यो । जब मान्छे सबैले गाँस, बास र कपासको अधिकार पाउँछ, तब मात्र हामीले समृद्धिको कल्पना गर्ने हो । त्यसैले, अहिले व्यापक रूपमा औद्योगिकीकरणका कुराहरू, निजी क्षेत्रलाई आकर्षित गर्ने कुराहरू, पर्यटनका क्षेत्रमा विकास गर्ने, कृषियोग्य जमिनहरूलाई जसरी पनि उपयोग गरी कृषिमा मानिसहरूलाई आकर्षित गर्ने, त्यसलाई व्यवसायीकरण र आधुनिकीकरण गर्ने नै समृद्धि ल्याउने हो । मूलतः अहिले हामीसँग ऐनकानुन केही पनि छैन । प्रदेशको ऐनकानुन नभएको हुनाले पहिलो प्राथमिकता ऐनकानुन बनाउन दिनुपर्छ ।
ऐनकानुन बनिसकेपछि हामीले प्राप्त गरेका अधिकार र हाम्रो स्रोतसाधनको पहिचान गरी काम गर्नुपर्छ । हामीले कति बजेट पेस गर्ने भन्ने पनि अहिलेसम्म थाहा छैन । त्यसले गर्दा केही समय त अवश्य लिन्छ । ऐनकानुनहरू निर्माण हुँदै गएपछि हाम्रो विकास प्रक्रियाले गति लिन्छ । मूलतः समृद्धिको दिशातर्फ जाने हो । त्यो समृद्धि प्राप्त गर्न के–के गर्ने भन्ने विषयमा हामी मसिनो ढंगले अघि बढ्दै छौं ।
० प्रदेश राजधानीलाई लिएर अझै विवाद देखिएको छ, प्रदेश नम्बर ३ को प्रदेश राजधानी हेटौंडा नै कायम गराउन सक्नुहुन्छ ?
– यो राजधानी सर्ने वा नसर्ने कुरा मेरो रुचिका आधारमा हुने होइन । मैले जे भन्यो त्यो हुने पनि होइन । त्यसका निश्चित विधि र प्रक्रिया संविधानले नै तोकेको छ । म हेटौंडाको नागरिकको हैसियतले मैले पनि र हरेक हेटौंडावासीले प्रदेशको राजधानी हेटौंडा नै होस् भन्ने चाहन्छन् । म पनि चाहन्छु । तर, यसको मतलब म एउटा मुख्यमन्त्रीको हैसियतले जबर्जस्ती ढंगले यहाँ राख्नुपर्छ भन्ने मान्यता मेरो होइन । विधिवित् र प्रक्रियागत रूपमा जहाँ पनि जान सक्छ ।
० दुई तिहाइ मत त प्रदेश राजधानी सार्नुपर्छ भन्नेमा छ रे होइन ?
– संविधानभन्दा बाहिर त हामी कोही पनि जान सक्दैनौं । त्यसैले, संविधानले जे कुरा भनेको छ, त्यसलाई हामीले स्वीकार गर्नुपर्छ । तर, व्यक्तिगत धारण भन्नुहुन्छ भने काठमाडौं उपत्यकाभित्र राजधानी जानुहुँदैन भन्ने मेरो दुईतीन वटा लजिक छन् ।
० किन नि ?
– राजधानी उपत्यकाबाहिर सार्नुपर्छ भनेर त मैले आज होइन, धेरै पहिलेदेखि नै भनेको हो । किनभने, हामी अर्बान सेक्टरमा काम गर्ने मान्छेहरू २०औं वर्षदेखि सहरी विकासका पक्षमा वकालत गर्दै आएका छौं । हाम्रो के भनाइ हो भने काठमाडौंमा यति धेरै जनघनत्व भयो कि थेग्न नसक्ने अवस्था छ । सहर अव्यवस्थित बनाउने काम भएको छ । प्रदूषणको कुरा गर्नुहुन्छ भने संसारकै सहरहरूमध्ये सातौं नम्बरमा काठमाडौं परिसकेको छ । वातावरणविद्हरूले बस्न अयोग्य छ भनेर घोषणा गरिसकेका छन् । यो अवस्थामा पुगेको काठमाडौंलाई झन् बोझ थप्ने काम गर्नुहुन्न । काठमाडौं आधा जनसंख्या उपत्यका बाहिर पठाउनुपर्छ । तब मात्र यसलाई व्यवस्थित गर्न सकिन्छ । सबै मान्छे काठमाडौं थुप्रिने र कष्टकर हालतमा काठमाडौंका मान्छे बाँच्नुपरिरहेको छ । यहाँका मान्छे त बाहिर हटाउनुपर्छ भनेर अभियान चलाइरहेको सन्दर्भमा बाहिर सेटेलाइट सिटीहरू बनाउने, काठमाडौं उपत्यकाबाट बाहिर विकास गर्ने गरियो भने मान्छेको आकर्षण नै त्यहाँ हँुदैन । विकासका अवसरहरू बिस्तारै विभाजन गर्नुप¥यो । तर, हाम्रो त्यो चरित्र रहेन । अहिलेसम्म शिक्षा, मेडिकल कलेज, रोजगारको अवसरदेखि सबै कुराको फोकस काठमाडौंमा गर्ने काम भयो । अहिले एउटा सन्दर्भमा प्रदेशको राजधानी हेटौंडा भएकोमा विभिन्न टीका टिप्पणी गरेर फेरि काठमाडौं लानुपर्छ भन्ने कुरा तर्कसंगत छैन ।
० काठमाडौं नभई भक्तपुर वा काभ्रेले माग गरेको छ नि ?
– काठमाडौं नलाँदाखेरि त्यसका भौतिक पूर्वाधार र अरू विभिन्न नम्र्सहरू हुन्छन् । ती समिट गर्न जरुरी छ । त्यो गर्ने भनेको हेटौंडाले नै हो । त्यसका धेरै लजिकहरू छन् । त्यसले गर्दा सम्भवत हामीले चाहेर–नचाहेर काठमाडौंको विकल्पको रूपमा रहेको नगर हेटौंडाको राजधानीलाई स्थायी गराउँदा नै सबैभन्दा उपयुक्त हुन्छ । किनकि, यहाँ भौतिक पूर्वाधारका सबै व्यवस्थापन तयार भइसक्यो । मन्त्रालयका सबै भवन तयार छन् । आवासहरू तयार छन् । डेकोरेसनहरू भइरहेका छन् । प्लोरिङ, फर्निसिङदेखि तमाम कुराहरू भइरहेका छन् । फेरि अहिले नै राजधानी सार्ने कुरा गर्ने हो भने हाम्रो समृद्धिको नारा नै ओझेलमा पर्छ । मैले यही नगर हुनुपर्छ भने तानेर जबर्जस्ती गर्ने कुरा त होइन । यसलाई प्रक्रियामा लगेर टुंग्याउने हो । तसर्थ, राजधानी यताउता सार्ने विषयको अहिले चर्चा गर्नु नै हतार हुन्छ, बेलै भएको छैन ।
० एकाथरीले त तपाईंले मुख्यमन्त्रीसँग प्रदेशको राजधानी साट्नुभयो भन्छन् नि ?
– यो बिल्कुल गलत, झूट र वाहियात कुरा हो । यस्ता कुरालाई मैले कल्पना पनि गर्दिन । मैले यो कुरामा बार्गेनिङ गरेर मुख्यमन्त्री पाउने पनि होइन । मुख्यमन्त्री पाउने कुरा त्यति सजिलो छैन नि । म त धेरै अगाडिदेखि सबै दलका प्रमुख नेताहरूलाई राजधानी हेटौंडा चाहिन्छ भनेर कन्भिन्स गराउँदै हिँडेको मान्छे । अहिले त्यस्ता कुरालाई तोडमोड गरेर राजधानीसँग सीएम साट्यो भन्ने कुरा आफैंमा एउटा कल्पना पनि गर्न नसकिने कुरा हुन् ।
० मुख्यमन्त्री हुन्छु भन्ने कुरामा तपाईं आफैं पनि विश्वस्त नभएको र अपेक्षा पनि नगरेको पद आइलाग्यो भन्ने चर्चा छ नि ?
– मुख्यमन्त्री हुने कुरामा म अहिले होइन, धेरै अगाडिदेखि विश्वस्त थिएँ । अष्टलक्ष्मी शाक्य भनेको हाम्रो आदरणीय नेता र पार्टीको उपाध्यक्ष हुनुहुन्छ । पार्टिको उपाध्यक्षले नै मुख्यमन्त्री हुन्छु भनेर मिडियामा गइसकेपछि सबै मिडियालाई स्वाभाविक रूपमा उहाँ नै हो भन्ने प¥यो । राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यको नामलाई बेजोडसँग मिडियाले उठायो । उहाँहरू दुईवटाको लडाइँ भएकाले दुईवटामध्ये एउटा हुने हो भन्ने स्वाभाविक रह्यो । मैले त्यतिबेला नै जे प्रोपोगान्डा भइरहेको छ, त्योभन्दा फरक हो, मुख्य मन्त्रीको उम्मेदवार म पनि हुँ, म जित्न पनि सक्छु अथवा मेरो नाममा सर्वसम्मत हुन पनि सक्छ भनेको थिएँ । पहिलेदेखि नै हामी चुनावको अभ्यासमा गएको हुनाले यो कुनै ठूलो कुरा पनि होइन । प्रतिस्पर्धामा गएपछि कोही हार्छ, कोही जित्छ, स्वाभाविक हो । त्यसैले, यो विषयलाई अब धेरै उचाल्नु जरुरी छैन । हामी समृद्धिको यात्रातर्फ अघि बढेकाले अब एकले अर्कोलाई सहयोग गरेर जानुपर्छ । वादविवाद केही छैन ।
० तपाईंलाई आफ्नो टिमबाट अघि सार्ने भनेर पार्टीका शीर्ष नेताहरूबाट पहिले नै सल्लाह भएको थियो ?
सकेसम्म पार्टीमा सर्वसम्मत नै हुन्छु होला भन्ने थियो । यो खालको विवाद आउला वा मेरो विरोधमा आउला भन्ने मैले सोचेकै थिइनँ । पछि पार्टी उपाध्यक्षले नै उम्मेदवारी दिने कुरा मिडियामा आयो । मैले त्यो बेलामा पनि मिडियामै भनेको थिएँ कि हुनेचाहिँ म नै हो, अहिले जे–जे भने पनि भोलिको उम्मेदवार र हुने मुख्यमन्त्री पनि म नै हुँ भनेको थिएँ । तर, मिडियाले चाहिँ उपाध्यक्षको मात्र चर्चा ग¥यो, तल हेर्दै हेरेन, मेरो साइज र हैसियत के हो भन्ने बुझेन । पार्टीको हैसियतमा त म केन्द्रीय कमिटी सदस्य पनि होइन, तर अरू हिसाबले म कमी होइन । पार्टी पोर्टफोलियोको आधारमा शाक्य र पाण्डेको जति मेरो नाम चर्चामा आएन । नआउँदानआउँदै पनि मलाई नै कुनै पनि बेला हुने निर्णयमा यो नै हुन्छ भन्ने थाहा थियो । त्यसैले, म ढुक्कै थिएँ । चुनावपछि आफूभन्दा तल्लो तहको कार्यकर्ताले जितेकोमा उहाँ केही आक्रोशित पनि हुनुभयो । उहाँलाई अलिकति अप्ठ्यारो पनि फिलिङ भयो । पहिले आक्रोश व्यक्ति गरे पनि अहिले त्यस्तो समस्या छैन ।
० प्रदेश इन्चार्जसँग कसरी समन्वय भइरहेको छ ?
– संसदीय दलको निर्वाचनपछि हामीले भेटघाट पनि ग¥यौं । छलफल पनि ग¥यौं । उहाँले मलाई सहयोग गर्ने वचन दिइसक्नुभएको छ । अगाडि बढ्ने कुरामा सरसल्लाह गरेरै जानुपर्छ भन्ने कुरा उहाँले पनि भन्नुभएको छ । अब समस्या छैन ।
० तपाईं पार्टीको लो प्रोफाइलको भएकाले तपार्इंको टिममा बस्न पनि उपल्लने नेतालाई नैतिक संकट छ भन्ने कुरा छ नि ?
त्यस्तो केही हुँदैन । जम्मा अहिले पाँच जनाको मन्त्रिपरिषद् बन्ने हो । एकदमै हाइली क्वालिफाइड, पुराना, अनुभवी साथीहरू हुनुहुन्छ यसमा । जिल्ला विकास समितिमा ५–१० वर्ष काम गरेका हुनुहुन्छ, कोही नगरपालिका चलाएको हुनुहुन्छ । आफूभन्दा जुनियरको नेतृत्वमा कसरी बस्ने भन्ने पनि थोरै फिलिङ उहाँहरूलाई पनि भएको होला । तर, त्यो पनि बिस्तारै हट्दै जान्छ । मन्त्रिपरिषद्मा त्यस्तो अनुभूति हुन्छ भने संसद्मा त्यस्ता धेरै ठाउँ पनि छन् सहयोग गर्ने र बस्ने ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

ललितपुरका यौन अखडामा प्रहरी रमिते

काठमाडौं । पछिल्लोपटक ललितपुर क्षेत्रमा प्रहरीको संरक्षणमै यौन धन्दा खुलेआम भइरहेको छ । तर, प्रहरीले भने थाहा नपाएझै गरेर कुनै कारबाही चलाएको छैन । काठमाडौं प्रहरीले केही दिनअघि- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

आत्मकथाको बाढी

स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्नेमा पर्थिन्, अमृता प्रितम । हिन्दीका गिनेचुनेका नारी स्रष्टा प्रितमले लेखेकी आत्मकथा ‘रसिदी टिकट’ आजपर्यन्त रुचिपूर्वक पढिने आत्मकथाको लहरमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सपनाहरूको कोमल दस्तावेज

सरल, बोधगम्य र शालीन शब्दहरू बिछ्याउँदै कविता लेख्नेमा पर्दछन्, बोधराज पौडेल । काठमाडौं वा अरू सहर–बजारमा बस्ने कविहरू कविताको खेतीभन्दा धेरै ‘पब्लिसिटी’ को धन्दामा निर्लिप्त- ...
पूरा पढ्नुहोस्

छोटकरीमा