प्रदेशको राजधानी ललितपुर बनाउनुपर्छ
माधव पौडेल प्रदेशसभा उम्मेदवार, ललितपुर० चुनावी तयारी कत्तिको उत्साहपूर्ण छ ?
– केन्द्रमा वाम गठबन्धनको घोषणा भएदेखि नै आमकार्यकर्ता तथा नेताहरूमा साथै जनतामा पनि उत्साह पाएको छु । फुटेकोमा पीडा व्यक्त गर्ने जनतामा अहिले एकजुट हुन लागेकोमा खुसी छाएको छ । जुटेर जान लागेका कारण पार्टीका नेता–कार्यकर्ता मात्र नभएर आमनागरिक समुदायमा नै विशेष उत्साहसहित चुनावको तयारी भइरहेको छ । देशभरको आवश्यकताका आधारमा गठबन्धन भएको छ । सिद्धान्त, विचार र संगठन तथा आमरूपमा राष्ट्रिय राजनीतिको विश्लेषण गरेर गठबन्धन गरिएकाले एमाले–माओवादीभन्दा पनि अब हामी एउटै कम्युनिस्ट केन्द्र बन्ने कुरामा केन्द्रित भएर गठबन्धनको निर्णय कार्यान्वयनमा ल्याइरहेका छौं ।
० तपाईंको राजनीतिक जीवनका उतारचढाव त संघर्षपूर्ण छ, कसरी स्मरण गर्नुहुन्छ ?
– मैले ०२७ सालदेखि विद्यार्थी राजनीतिक जीवनबाट राजनीति सुरु गरें । ०२८ सालको जदुवा हत्याकाण्डमा रामेश्वर र कुशेश्वर दुई विद्यार्थी मारेको घटनामा हामीले न्युरोडमा प्रदर्शन गरेर पर्चा वितरण गरेका थियौं । पछि नयाँ शिक्षाको विरोध गरेकाले जेल परें । त्यतिबेला जेलमै कम्युनिस्ट आन्दोलनको विषयमा बुझ्ने मौका पाएँ । अनेरास्ववियुको आन्दोलन त्यतिबेला निकै गाह्रो थियो । भीम रावल, गोपाल शाक्यलगायत थियौं । बाहिर आएपछि राजेन्द्र पाण्डे र म सम्पर्क बिन्दुका रूपमा रहेर काठमाडौं उपत्यकामा तत्कालीन मालेको समर्थनमा गणतन्त्रको स्थापना र राजतन्त्रको अन्त्य हुनुपर्ने उद्घोषसहितको आन्दोलन घोषणा गर्दै संगठन विस्तारको अभियानमा लाग्यौं । त्यतिबेला नेपालविरुद्ध नाकाबन्दी थियो । नाकाबन्दीसँग घुँडा टेकेको विरोधमा आन्दोलन चर्काएका थियौं । पार्टी र विद्यार्थीको तर्फबाट ०३२ सालमा हामीले अलगअलग पर्चा छरेका थियौं । प्रहरीले पक्राउ ग¥यो । हामीलाई लामो जेल जीवनको बाटो या जेलब्रेक विकल्प थियो । हामीले जेलब्रेक गरेर ०३३ चैत १२ गते बाहिरियौं । त्यतिबेला सरकारले हामीलाई अवैधानिक गतिविधि र उग्रवादी कम्युनिस्ट गतिविधि गरेको आरोप थियो ।
० को–को हुनुहुन्थ्यो जेल ब्रेक गर्दा ?
– म (माधव पौडेल), सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, नरेश खरेल, घनेन्द्र बस्नेत, वीरबहादुर लामा, भीष्म धिमाल, धर्म घिमिरेलगायत थियौं । जेल ब्रेक गरेपछि भूमिगत भएर विभिन्न ठाउँमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरियो । ०४६ सालको जनआन्दोलनको पृष्ठभूमिदेखि जनआन्दोलन सफल भएपछिका पार्टीका विभिन्न जिम्मेवारीमा बसेर काम गरें । अहिलेको ३ नम्बर प्रदेशको अधिकांश जिल्लामा इन्चार्ज संयोजकलगायतका पदमा बसेर भूमिगत रूपमा संगठन गर्ने, कम्युनिस्टप्रतिको जागरण र विश्वास जगाउने काम गरियो ।
० लामो राजनीतिक इतिहास बोकेको मान्छे किन प्रदेशसभा सदस्यका रूपमा उम्मेदवार हुनुभयो ?
– म १० वर्ष स्थानीय तहको कार्यकारी नेतृत्वमा बसेर विकासको अनुभव गरें । जनताको समृद्धिको विषय र लोकतन्त्रको सुदृढीकरणको कोणबाट हेर्ने हो भने तल्ला निकायहरू बलिया हुनुपर्छ । केन्द्रको अधिकार तलसम्म आउनुपर्छ भनेर तीन तहको सरकारसहित करिब २५ वर्षदेखि अधिकारको वितरणका विषयमा आन्दोलन गरिरहेका छौं । यो विषयमा निरन्तर लाग्ने तीन जनाभित्र नै पर्छु म । अधिकार तल आउनुपर्छ, केन्द्रको तोक आदेशले ससाना योजना पनि तल जाने आदि परिपाटीले गर्दा स्थानीय तहहरू बलिया बनाउनुपर्छ । यसरी जिल्ला विकास समितिलाई कार्यकारी बनाउने, प्रदेशका निकायहरू बलिया बनाउनेलगायतका सोचका आधारमा माथिल्लोभन्दा तल्लो निकायको मुख्यमन्त्री वा अरू केही कार्यकारी भूमिकाकै लागि प्रदेशमा उम्मेदवार भएको हो ।
० माधव पौडेललाई जिताउँदा ललितपुरले मुख्यमन्त्री पाउँछ छ त ?
– को बनाउने भन्ने कुरा निर्णय अहिले हुने कुरा भएन । मैले निर्वाचन जित्छु । यहाँका जनतासँग दुःखसुख सबै अवस्थामा जनतासँगै रहेर जिन्दगीका यी दिनसम्म आइपुगें । मसँग नक्खु जेल ब्रेक र पिस्करको पीडादायी संघर्ष र इतिहास छ, तर त्यस्तो इतिहास मात्र नभएर सुन्दर भविष्य र सिर्जनशील सोच र सपनाहरू पनि छन् । पार्टीमा अहिलेको पदका रूपमा नभएर कामको अनुभव र राजनीतिक आन्दोलनका आधारमा सिनियरिटी हेर्ने हो भने म मुख्यमन्त्रीको स्वाभाविक दाबेदार हुँ । पार्टीले मलाई मुख्यमन्त्री बनाउँछ । मैले १० वर्ष जिल्ला विकास समितिको सभापति भएर विकासको कामको मोडल, आवश्यकता, सम्भावना र स्रोतहरू पहिचान गरेर अनुभवी छु । केवल यहाँका मतदाताले मत दिनुहोस्, पार्टीले ललितपुरलाई न्याय गरेरै छोड्छ । पदाधिकारी, पोलिटब्युरो भएका आधारमा भन्दा पनि अनुभव, कार्यदक्षताका आधारमा मुख्यमन्त्री बनाइयो भने पो सही ढंगले काम हुन सक्छ ।
० तपाईंलाई मत दिने मतदाताले के आधारमा मत दिने ?
– पहिलो कुरा ललितपुर जिल्लामा प्रदेश नम्बर ३ को सदरमुकाम बनाउनुपर्छ । हामी सबै भूगोलको हिसाबले केन्द्रमा नै छौं, कामको हिसावले पनि उत्तिकै महŒवपूर्ण, सबैलाई पहुँच र पायक पर्ने स्थान भएकाले प्रदेशको राजधानी ललितपुर बनाउनुपर्छ । अर्को यहाँका नागरिकको जीवनस्तर उकास्न पर्यटनमा आधारित उद्योगको स्थापना गरी स्वरोजगार बनाउन सकिन्छ । अरू ६ वटा प्रदेशभन्दा अब्बल प्रदेश पनि हो । अर्को यस क्षेत्रबाट तराई जोड्ने सबैभन्दा छोटो बाटो काभ्रे सुनकोसी हुँदै तराई जोड्न सकिन्छ । सिंगो काठमाडौं उपत्यकालाई खानेपानीको समस्या छ । खानेपानीको समस्या समाधान र तराई जोड्ने कामका लागि सुनकोसीसम्म सुरुङ मार्ग बनाउने र त्यसैबाट काठमाडौंलाई पुग्ने पानी ल्याउन सक्ने सम्भावना छ । अर्को मैले प्रतिनिधित्व गर्ने प्रदेशमै वनजंगलको हरियाली र लाँकुरीभन्ज्याङलगायतका थुम्काहरूमा पर्यटकीय सम्भावना विशाल छ । सम्भावनामा आधारित भएर यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको पर्यटन उद्योग भिœयाउने पहल हुनेछ । सामाजिक आर्थिक विकाससहित पौराणिक र धार्मिक हिसाबले पनि यो ठाउँ महŒवपूर्ण छ । सभ्यताको विकासको उद्गम थलोका रूपमा रहेको यस क्षेत्रलाई सामाजिक विकाससँग जोडेर लगिनेछ । महालक्ष्मी नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकास गरिनेछ । यहाँभित्रको सडक–ढल विकास गर्दै स्तरोन्नति गरिनेछ । यहाँका युवाहरूलाई रोजगारीका लागि बाहिर जाने कुराको अन्त्य गर्न शिक्षा र पर्यटनका विषयलाई जोडेर आत्मनिर्भर बनाउँछौं । हाम्रो जस्तो सुन्दर क्षेत्रमा विदेशीले आएर पढ्ने अवस्था बनाउँछौं । रोजगारीमूलक शिक्षाको परिकल्पनालाई प्रादेशिक नेतृत्व तहमै पुगेर समाधान गरिन्छ । फोहोरमैला व्यवस्थापनका लागि उपत्यकाकै नमुना कार्यक्रम सञ्चालन गरिनेछ । सुनकोसीको पानी ल्याएर ललितपुरलाई कायापलट गरिनेछ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply