बाम गठबन्धनले ८० प्रतिशत स्थानमा जित्छ
श्याम श्रेष्ठ, विश्लेषक० वामपन्थी दलहरुको तालमेललाई कसरी लिनुभएको छ ?
– वामपन्थीबीच तालमेल हुनु धेरै राम्रो कुरा हो । यो धेरै अगाडि हुनुपर्नेमा अहिले ढिलो गरेर भए तापनि साह्रै राम्रो कुरा हो । नेपालमा सबैभन्दा धेरै मतदाता वामपन्थीकै पक्षमा छ । त्यो संविधानसभाको पहिलो र दोस्रो दुवै चुनावमा देखिएकै हो । आपसमा जुधेर लड्दा पनि पहिलोमा ६५ प्रतिशत र दोस्रोमा ५२ प्रतिशत मत वामपन्थीकै पक्षमा आएको थियो । स्थानीय निकायको चुनावमा पनि त्यस्तै देखिन्छ । यदि एमाले र माओवादीको प्राप्त भोट जोड्ने हो भने दुई तिहाइ हुन्छ । त्यसकारणले वामपन्थीप्रिय नेपालका मतदाताहरू यो गठबन्धन भएपछि उनीहरूको त्यो इच्छा अरू ज्यादा प्रखर रूपमा पूरा हुन्छ ।
० नेपालमा दुई ठूला वाम पार्टी र नयाँ शक्तिबीच चुनावी तालमेल र पार्टी एकीकरणसम्मको सहमतिहरू एकाएक बाहिर आएपछि आश्चर्य मानिएको छ, के यो एकाएक नै सम्भव भएको होला त ?
– यो बाहिर निर्णय आउने बेलामा त एकाएक नै आयो । तर, यो घटना एकाएक भएजस्तो मलाई लाग्दैन । किनभने, योभन्दा अगाडि माधवकुमार नेपाल महासचिव भएको बेलामा पनि झन्डैझन्डै तीनवटा सम्झौतामा हस्ताक्षर हुन तयार भइसकेको अवस्था थियो । माधव नेपाल राष्ट्रपति हुने, प्रचण्ड प्रधानमन्त्री हुने भन्ने ढंगले त्यो सहमति बनिसकेको थियो । धेरै कुरामा मिलेर जाने भन्ने ती सहमतिहरू अन्तिम अवस्थामा विदेशी शक्तिको दबाबका कारण तुहियो । दोस्रोपटक पनि एमाले र माओवादी एकता भएर सरकार बनेकै हो झलनाथ खनाल प्रधानमन्त्री हुने गरी । तेस्रोपटक केपी शर्मा ओली प्रधानमन्त्री हुने गरी पनि एकता भएकै हो । त्यतिखेर राष्ट्रपतिदेखि लिएर उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत सबै पद वामपन्थीहरूको हातमा आएको हो । त्यो परिप्रेक्ष्यमा यसलाई हेर्नुपर्छ । यो एकाएक त्यस कारणले आएको होइन । तीनपटकको विफलता पछाडि चौथोपटक सफलता आएको हो । मेरो विचारमा यो वामपन्थीहरूको गठबन्धन हुनु, चुनावमा उनीहरूको तालमेल हुनु धेरै राम्रो र स्वागत योग्य कुरा हो । अहिले मिल्नु भनेको जनमतको इच्छालाई प्रतिविम्बत गर्नु हो ।
० तर यही आधारमा पार्टी एकता नै भइहाल्छ भनेर पत्याउने आधार छ र ?
– पार्टी एकता हुन्छ कि हुँदैन भन्ने कुरा यदि गठबन्धन ठीकसँग गयो र कुनै पक्षले बेइमानी गरेन भने एकतातिर यो जाला । यदि गठबन्धन बेठीक ढंगले गयो भने एकतासम्म नपुग्ला ।
० नेपाली माटोमा माओवादी र एमालेको वैचारिक धारा बेग्लै भनिन्छ, एउटै पार्टी भइहाल्ने विश्वसनीय आधार छ ?
– अहिले खालि गणित मात्र अगाडि आएको छ । विषयवस्तु र एजेन्डा अगाडि आएको छैन । एजेन्डामा उनीहरूका बीच सहमति हुने हो भने यो एकता अगाडि नजाने स्थिति होइन । चुनावमै जाँदा प्रत्यक्ष रूपमा चुनिएको राष्ट्रपतिको कुरामा जान्छन् कि जाँदैनन्, जबकि एमालेको एजेन्डा थियो प्रत्यक्ष रूपमा चयन गरिएको प्रधानमन्त्री । दुबैलाई मिलाएर प्रत्यक्ष रूपमा चुनिएको कार्यकारी प्रमुख भनेर गयो भने दुइतिहाइभन्दा पनि ज्यादा नाघ्ने स्थिति म देख्छु । चुनावमा पनि त्यसले जनतामा एउटा उत्साह थप्ने काम गर्छ । आमजनताले त खोजेकै त्यही छ । त्यो दिशामा यदि गयो भने जनमत बिल्कुलै भिन्नै हुने म देख्छु । एजेन्डाअगाडि आउनुपर्नेमा आएको छैन । बहुदलीय जनवाद छ एमालेको । माओवादीको बहुदलीयता त छ तर बहुदलीय जनवाद छैन, समाजवादमुखी जनवाद उसको एजेन्डा देखिन्छ । यसका बीचमा कसरी मिल्ती होला भन्ने प्रश्न त छ तर मिल्न खोज्ने हो भनेदेखि नमिल्ने कुरा त छैन । त्यसकारण यो सम्बन्धमा दलहरू बसेर पहिले एजेन्डामा सहमति हुनुप¥यो । एजेन्डा आमूल परिवर्तनमुखी र क्रान्तिकारी हुनुप¥यो । रातोरातो मिलेर कैलोमा परिणत हुने, खैरो हुने भयो भने त यो एकता नोक्सानदायी एकता पनि हुन सक्छ । तर दुवै मिलेर नेपाली समाजलाई रूपान्तरण गर्ने खालको आमूल परिवर्तन गर्ने खालको एजेन्डा ल्यायो भनेदेखि यो एकता नेपालको राजनीतिक इतिहासमै उथलपुथलकारी एजेन्डा हुन सक्छ । त्यसो गर्न असम्भव पनि छैन ।
० अन्य वाम घटकलाई समेत छुट्ट्याएर त्यसबाहेक एमाले र माओवादीबीच ६०ः४० प्रतिशतको अनुपातमा आगामी चुनावमा तालमेल भएर गयो भने आगामी चुनावपछि मुलुकको राजनीतिले कस्तो रूप लेला ?
– यदि यस्तो भयो भने मुलुकको राजनीति उथलपुथलकारी हुन्छ । नेपालमा एउटा ब्रेक थ्रु हुन्छ । सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा आउँछन् । जसमा विप्लव, नेमकिपालगायतका एकदुई पार्टी नमिल्ने भए पनि अरू पक्कै मिल्छन् भन्ने लाग्छ । यसलाई मिल्ने दिशातिर लैजानुपर्छ । यदि त्यस्तो भयो भनेदेखि नेपालको राजनीतिको नक्सा नै बदलिन सक्छ । नेपाली राजनीति अहिलेसम्म दक्षिणपन्थी र वामपन्थीहरू मिसिएर भइरहेको छ । अब त्यस्तो हुँदैन । वामपन्थी नै वामपन्थीहरू एक ठाउँमा आउने हुन्छन् । त्यसो हुँदा वामपन्थीहरूले जुन एजेन्डा अघि सार्छन्, त्यो एजेन्डाका कारण दक्षिणपन्थीहरूले पनि क्रान्तिकारी एजेन्डा सानुपर्ने हुन्छ, नत्र जनमत उनीहरूको पक्षमा हुँदैन । राजनीतिमा एउटा ठूलो दबाब–परिवर्तन आउँछ कि दक्षिणपन्थीहरूले पनि नेपाली समाजलाई रूपान्तरण गर्ने खालको एजेन्डा ल्याएनन् भने भोट उनीहरूको साथमा रहँदैन । त्यसकारण, यसले नेपाली समाजमा निक्कै ठूलो अर्थ राख्छ । नेपाली समाजको अहिलेसम्मको इतिहासमा कोसे ढुङ्गा हुन सक्छ ।
० इमानदारीपूर्वक यो गठबन्धन कायम हुँदा आगामी चुनावमा वामपन्थीहरूको विजयको हिस्सा कति प्रतिशत हुन सक्ला ?
– प्रत्येक्ष रूपमा कार्यकारीको एजेन्डा यदि यो गठबन्धनले बोक्ने हो भने त यसको विजय प्रतिशत ८० नाघ्छ । जनताहरू त्यसैको खोजीमा छन् । नेपालमा राजनीतिक अस्थिरता भयो, त्यो अस्थिरतालाई समाप्त पार्न प्रत्यक्ष रूपमा निर्वाचित कार्यकारी चाहियो भन्ने उनीहरूको चाहना छ । त्यो एजेन्डा बोकेर जाने र नेपाली समाजलाई आर्थिक रूपले, सामाजिक रूपले व्यापक रूपमा बदल्ने खालको एजेन्डा बोकेर जाने हो भने यसले दुई तिहाइ मात्र होइन, तिन चौथाइ नाँघ्छ ।
० यो गठबन्धनमा बाबुराम भट्टराईसमेत मिसिएपछि सबैभन्दा फाइदा नयाँ शक्तिलाई हुने भयो, बाबुरामको गुम्दै गएको हैसियत सुुरक्षित हुने भयो भन्ने अनुमान गरेका छन्, तपाईं यसलाई सही ठान्नुहुन्छ ?
– बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी जुन ढंगले जुन समयमा फुट्यो त्यो समय ज्यादै प्रतिकूल थियो । उहाँले त्यो समयमा पार्टी फुटाउनुहुँदैनथ्यो । त्यो समयमा पार्टी फुटाएको हुनाले भारतले नाकाबन्दी लगाएको समयमा पार्टी फुटाएको हुनाले जनताले वाक्क मानेका हुन् । अहिले उहाँले त्यसलाई सकारेर रूपान्तरणको धारमा आउँछु भन्नुहुन्छ भने त्यसलाई स्विकानुपर्छ । कोही पनि गल्ती सकारेर आउन चाहन्छन् भने गल्ती सकार्ने अवसर हरेकलाई दिनुपर्छ । तर, उहाँ कुन उद्देश्यले अहिले आउनुभएको हो, अहिलेको चुनाव पछाडि त उहाँको अस्तित्वको संकट छ । त्यो संकटको स्थिति धान्नलाई मात्र उहाँ आउनुभएको हो भने अर्को कुरा हो । उहाँ अहिले आफूलाई समाजवादी वा वामपन्थी भन्नुहुन्छ कि हुन्न ? आफूलाई माक्र्सवादी भन्नुहुन्छ कि हुन्न ? यसमा चाहिँ स्पष्ट हुनु जरुरी छ । उहाँ मिलेर राजनीति रूपान्तरित हुने होइन कि उहाँचाहिँ यो समाजवादी राजनीतिमा रूपान्तरित हुनुपर्छ । त्यसरी आउने हो भने उहाँ आउनुलाई हामीले अन्यथा लिइराख्नुहुँदैन । हिजो के थियो भनेर हेर्नुभन्दा पनि आज के छ भनेर हेर्ने हो । आज उहाँ म परिवर्तित भएर आउँछु, समाजवादी राजनीति नै बोक्छु, म पनि अहिले कम्युनिस्ट दिशातिरै फेरि जान्छु भन्नुहुन्छ भने त्यो बाटो त खुला गरिदिनुपर्छ । कसैले हिजो बेठीक बाटो समात्दैमा आज ठीक बाटो समात्न रोक लगाउनु त हुँदैन ।
० यो बिन्दुमा नेपालका ठूला कम्युनिस्ट पार्टीहरू मिल्न देशीविदेशी अदृश्य शक्तिले पनि काम गरेको छ भन्छन् नि, तपाईंलाई के लाग्छ ?
– त्यस्तो त मलाई लाग्दैन । तैपनि दुईतीनवटा कुराले यसमा प्रभाव पारेको हुन सक्छ भन्ने मलाई लाग्छ । एउटा कुरा के भने एमालेले पनि के विचार ग¥यो भने माओवादीले ‘जित्न कम सक्छ तर हराउन ज्यादा सक्छ, त्यसकारण माओवादीलाई यदि दक्षिणपन्थीहरूसँग मिल्नतिर उत्प्रेरीत गर्ने हो भने उसले धेरै ठाउँमा हराउन सक्छ भन्ने खालको मूल्यांकन उसको भयो होला । त्यसै गरेर माओवादीको कांग्रेसले हँसिया–हथौडामा भोट दिने सम्भावना कम देख्यो होला । यो गएको चुनावबाटै उसले बुझ्यो होला । त्यसकारण, कांग्रेससँग एकता गर्नुभन्दा वामपन्थीसँग एकता गर्नु फाइदाजनक छ भन्ने बुझेको हुन सक्छ । तेस्रो कुरा अहिले जुन ढंगले नेपालको राजनीतिमा वामपन्थी–वामपन्थी मिल्दा नेपाली राजनीति रूपान्तरणकारी दिशामा जान्छ, वामपन्थी दक्षिणपन्थी मिल्दाखेरि रूपान्तरणकारी दिशामा जाँदैन राजनीति भन्ने कुरा पनि होला । अहिले कांग्रेससँग त माओवादी मिलिरहेकै भयो । तर, त्योभन्दा अगाडि एमालेसँग मिल्दाखेरि तयो एकता टुट्नुहुँदैनथ्यो भन्ने जनमत व्यापक थियो । जसरी टुट्यो गल्ती थियो, त्यो भन्ने जनमत व्यापक छ । त्यही जनमतलाई पनि याद गरेको होलाजस्तो लाग्छ मलाई । अब अहिले एकता हुनुको मेजर कारण के हो भने माओवादी हिजोको जस्तो क्रान्तिकारी नै भइराखेको भए पनि यो एकता हुने थिएन । एमाले पनि हिजोको जस्तै एकदमै आग्रहपूर्ण भइराखेको भए तापनि एकता हुुने थिएन । दुवैले आ–आफ्नो स्थान छोडेको हुनाले अलिकति उठेको पार्टी झुकेको हुनाले र झुकेको पार्टी उठेको हुनाले बीचको बिन्दु भेटिएको हो जस्तो लाग्छ । अहिलेको यो संविधानचाहिँ सोसल डेमोक्रेटिक संविधान छ । माओवादी पनि सामाजिक जनवादमा आइसकेको, बहहुदलीय प्रतिस्पर्धा स्वीकार गरिसकेको अनि एमालेले पनि माओवादीलाई त्यति धेरै छिर्के लगाइराख्नुपर्ने, त्यति धेरै बहिष्कृत गरिराख्नुपर्ने, उसलाई धेरै हानिराख्नुपर्ने आवश्यकता छैन, मिल्नुमा ज्यादा फाइदाजनक छ भन्ने हिसाबले यो आएको छ जस्तो मलाई लाग्छ । फेरि स्पेस दुईवटाको एउटै हो । माओवादीले मान्छे तान्यो भने एमालेकै तान्ने हो र एमालेले तान्यो भने पनि माओवादीकै तान्ने हो, दुवै मिल्यो भने कसैले कसैको तान्नैपर्दैन भन्ने हिसाबले पनि सोचियो होला । यी दुईतीनवटा कारणले गर्दा एकता भयो होला । बाहिरी कारणचाहिँ के हो भने भारतीय नाकाबन्दीले तथा नेपालप्रतिको दबाबले अप्रत्यक्ष रूपमा प्रेरित ग¥यो होला । तर, अरू शक्तिले मिलेर यो एकता गराएको जस्तो मलाई लाग्दैन ।
० सूर्य चिह्न लिएर चुनाव लड्न तयार छन्, आकर्षण त एमालेको सूर्य चिह्नप्रति बढी रहेछ नि हैन ?
– चिह्न भनेको एउटा प्रतीक हो । मान्छेहरूले त्यसलाई मनबाट स्वीकार गर्दाखेरि चिह्न एउटा संकेतका रूपमा जाने कुरा हो । चिह्नसँग मनोविज्ञान जोडिएको हुन्छ । अहिले जित्ने मान्छेले चुनावलाई केन्द्रमा राखेर हेरेका छन् । कुन सिम्बोलमा जित्ने सम्भावना ज्यादा हुन्छ, त्यो सिम्बोलमा मान्छेहरू जाने कुरा गरेको होला । तर, मान्छेले सिम्बोलभन्दा सिद्धान्त हेर्नुपर्ने हो । सिम्बोल त क्षणिक कुरा हो । सिम्बोलमा मान्छेहरूको मन मिलेपछि, मनोविज्ञान मिले पछाडि सिम्बोलमा मान्छे जान्छन् । मनोविज्ञान मिलेर गाको हुन सक्छ ।
० वामहरूको एकताको कुरा उठेपछि दक्षिणपन्थीहरू पनि एकीकृत भएका छन् , अब उनीहरूको हैसियत के हुन्छ ?
– यो एउटा ध्रुवीय प्रतिक्रियाजस्तो भएको छ । जसलाई अहिले कांग्रेसले लोकतान्त्रिक गठबन्धन भनेको छ तर त्यो त लोकतन्त्रविरुद्ध उभिएको शक्तिसँगको पनि एकता भएको छ । केहीकेही शक्ति त अहिले पनि संवैधानिक राजाको पक्षमा उभिएको पाइन्छ । त्यो कुनै लोकतान्त्रिक गठबन्धन हुन सक्दैन । गणतन्त्रलाई उल्ट्याउने एजेन्डा बोकेकाहरूसँग लोकतान्त्रिक गठबन्धन गरिराखेको छ नेपाल कांग्रेसले । त्यसैले, यो एउटा प्रश्नवाचक चिह्न बोकेको गठबन्धन हो । अलोकतान्त्रिक, गणतन्त्रको विरोध गर्ने, धर्मनिरपेक्षताको विरोध गर्ने, संघीयताको विरोध गर्ने यस्ता खालका शक्तिलाई बोकेर यही हो लोकतान्त्रिक गठबन्धन भन्दै अगाडि बढ्नु भनेको त हास्यास्पद कुरा हो ।
शन्तराम बिडारीसम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply