24th September 2017, Sunday

E-budhabar

मधेशी दलबाट मधेशीहरुलाइ बली चढाउने मात्र काम भएको छ



मधेशी दलबाट मधेशीहरुलाइ बली चढाउने मात्र काम भएको छ

० तपाईं तमलोपाको माथिल्लो जिम्मेवारीमा रहेको मान्छे, किन त्यता छाडेर एमालेमा आउनुभयो ?

– म त्यहाँ बसेर सन्तुष्ट हुन सकिनँ । असन्तुष्ट हुनुका कारण धेरै छन् । अहिले मधेसी दलहरूमा एकरूपता देखिएन । उनीहरूको सुरुदेखि नै एकै खालको एजेन्डा छैन । कहिले उनीहरू एक मधेस एक प्रदेश भन्छन् त कहिले दुई मधेस भन्छन् । यस्ता विरोधाभासका कारण उहाँहरू आफ्नो एजेन्डामा एकमत हुनुहुन्न । अडिग हुनुहुन्न । अहिले मधेसी जनताको हितका तहमा उहाँहरू एकमत हुनुहुन्न । अहिले पनि छ पार्टी मिलेको छ तर उनीहरू ६ वटै पार्टीका अध्यक्ष मण्डलहरूका बीचमा अलगअलग धारणा छ ।

० धारणा जे जे भएपनि उधेश्य त मधेशकै हित त थियो होला नि ?

–उहाँहरूले मधेसी जनताको हकअधिकारबारे जति नै कुरा गरे पनि वास्तवमा त्यो देखावटी हो । पहिलो चरणको निर्वाचनका लागि पनि सबै मधेसी दलबीच एकरूपता आएन । मधेसी जनताका हकअधिकारका कुराहरू बिल्कुलै उनीहरूको स्वार्थका कुराहरू मात्र हुन् । उनीहरूले आफ्नो स्वार्थ छोडेको देखिन्न । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको म अहिले पनि राष्ट्रिय अध्यक्ष हुँ । दोस्रो चरणको निर्वाचनको मिति तोकिएपछि मैले निर्वाचन आयोगका प्रमुखलगायत विभिन्न दलका शीर्ष नेताहरूलाई रमजानको समयमा निर्वाचन नगरौं, सारौं भनेर आग्रह गरेको थिएँ । अन्तर्राष्ट्रिय स्तरमै संसारभरिका मुस्लिमहरूको यो महŒवपूर्ण चाड हो । मेरो यो आग्रहका सन्दर्भमा उहाँहरूले खासै पहल पनि गर्नुभएन । मुस्लिमका मुद्दामा उहाँहरूको गम्भीरता देखिएन । सबैभन्दा दुःखलाग्दो कुरा यो हो । मधेसमा मुस्लिमहरूको जुन दुर्दशा छ, त्यसमा उहाँहरूले कहिल्यै पनि ध्यान दिनुभएन । यी कुराहरूका कारण मलाई त्यहाँ बस्न विकर्षण भएको हो । अर्को कुरा देश टुक्र्याउने कुरामा पनि मुस्लिम समुदायले साथ दिनेवाला छैनन् ।

० मधेसीभित्र पछिल्लो समय देश टुक्र्याउनेसम्मका कुरा उठेको छ नि, यसलाई कुन रूपमा लिनुहुन्छ ?

– हामी नेपालभरि विभिन्न जिल्ला र क्षेत्रमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ जो छौं, सबै मिलेर देशलाई एक ढिक्का बनाएर अघि बढाउनुपर्छ । देश टुक्र्याउनेसम्मका कुरा र आफ्नो मधेस हामी आफैं बनाउने भन्नेजस्ता कुरामा म सहमत हुन सकिनँ ।

० यो पार्टी छोडेर नेकपा (एमाले) नै चाहिँ किन रोज्नुभयो त ?

– एमालेको राष्ट्रवादी कुरा मलाई असाध्यै चित्त बुझ्यो । अर्को कुरा सबैको भावनालाई समेटेर यो पार्टी अघि बढेको छ । उत्पीडित समुदायको विषय पनि यही पार्टीले अघि सारिरहेको छ । त्यति मात्र होइन, राष्ट्रनिर्माण गर्दै राष्ट्रलाई कसरी बलियो र समृद्ध पार्ने र अन्तराष्ट्रिय जगतमा चिनाउने भन्ने चिन्ता बोकेको पार्टी एमाले हो । राष्ट्र निर्माणमा हामी अगाडि बढ्नुपर्छ भन्ने नाराका कारण म एमालेबाट प्रभावित भएको हुँ । देश र जनताका लागि हामी कहीँ न कहीँ अगाडि बढिरहेका थियौं । कमसेकम एमालेभित्र बसेर पनि त्यो काम गर्ने पाऊँ भन्ने मेरो चाहना थियो । त्योअनुसार नै म एमालेमा समावेश भएको हुँ ।

० मधेसीहरूले एकपछि अर्को माग राख्दै, सरकारले पूरा गर्दै, फेरि अर्को माग राख्दै आइरहेका छन्, यस हिसाबले यिनीहरू कतैबाट परिचालित पो छन् कि भन्ने आशंका गरिन्छ, तपाईंलाई के लाग्छ ?

– प्रथमतः कुरा एउटै किसिमका एजेन्डामा उहाँहरू अडिग हुनुहुन्न । समय अनुसार उहाँहरूको एजेण्डा परिवर्तन हुँदै जाने गरेको छ । जुन राष्ट्र निर्माणको कुरा छ, मधेसी जनताको हक अधिकारको सुनिश्चित गराउने पटकपटक समय आँउदा पनि उनीहरूले आफ्नो नारा मात्र बनाउने र मधेसीहरूलाई बलि मात्र चढाउने काम उहाँहरूबाट भइरहेको छ । विगतको उदाहरण हेर्दा बाबुराम भट्टराईको सरकार हुँदा पनि सबैभन्दा शक्तिशाली मन्त्रालयहरू गृह, भौतिक पूर्वाधर, स्वास्थ्य, सिँचाइ, रक्षा लगायतका महŒवपूर्ण मन्त्रालय मधेसीहरूकै हातमा थियो । बाबुराम स्वयंले नै मधेसीलाई तर्पांइहरूले मन्त्रालय आफूलाई छान्नुस् र त्योबाहेकको हामीलाई दिनुस् भनेर त्यो सहमतिमा सत्ता गठवन्धन गरिएको हो । त्यो बेलामा पनि उहाँहरूले मधेसका विकासको कुरामा, मधेसी जनताको हक अधिकारको कुरामा सरकारमा रहँदा खासै चासो राख्नुभएन । सरकारमा हुँदा उहाँहरूले केही पनि गर्न सक्नुभएन तर सरकारबाट बाहिरिएपछि तयो मधेसका मुद्दाहरू याद आउने हुँदो रहेछ । मधेसी जनताका हकअधिकार याद आउने हुँदो रहेछ । त्यो नै सबैभन्दा बढी दुख लाग्दो कुरा हो ।

० एकाथरी मधेसीहरू आफ्नो एजेन्डाभन्दा पनि सीमापारि भारतको एजेन्डा बोकिरहेका छन्, उनीहरू प्रयोग भइरहेका छन भन्छन् नी ?

– यो गलत कुरा हो । भारत भनेको हाम्रो असल छिमेकी र एउटा असल मित्र हो । भारत सदैव नेपाललाई उन्नति र विकासका लागि सदाश्यता राख्छ भन्ने मेरो बुझाइ छ । मेरो पनि भारतका वरिष्ठ तहकै नेताहरूसँग सम्पर्क छ । जुन किसिमको भारतको सोचाइ छ, त्यो सधैं राम्रो होस्, देश विकासमा जाओस् भन्ने कुरा नै भारतको चाहना हो । किनभने सबैभन्दा असल मित्र मात्र होइन की सबैभन्दा नजिकको छिमेकी हो । छिमेकी पनि भाषा, संस्कृतिलगायतका हरेक कुरा मेल खाने छिमेकी हो । त्यसले गर्दा भारत नेपाललाई आफ्नो इशारामा नचाउ भनेर कहिल्यै पनि चाँहदैन । नेपाललाई बर्बादीको दिशातिर लैजाऊँ भन्ने उसको चाहना पक्कै हुँदैन । यस्ता यस्ता मधेसी दलका क्रियाकलापले गर्दा भारत पनि बदनाम भएको अवस्था छ ।

० दोस्रो चरणको निर्वाचनमा तराई–मधेसबाट एमाले बढारिने भन्ने हल्ला छ नि, तपार्इंको के बुझाइ छ ?

– यो बिल्कुलै गलत कुरा हो । अहिले पनि हेर्नुहुन्छ भने मधेसबाट धेरै सांसद एमालेकै जितेर आएका छन् । अहिले पनि मधेसमा एमाले कमजोर छैन । त्यहाँबाट राम्रो सिट आउने देखिन्छ ।
अहिले मैले पार्टी प्रवेश गर्ने क्रममा पनि बारा, पर्सा, रौतहट, मकवानपुरलगायतका क्षेत्रबाट जुन विभिन्न पार्टीमा रहेका साथीहरूले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । जिल्ला तहका नेताहरू प्रवेश गरेका छन् । त्यतिखेर उपस्थित हजारौं मासले पनि एमाले कस्तो र कत्रो बन्छ भनेर देखाउँछ । अहिलेको बसैको चाहना एमालेले जुन ढंगले काम गरिरहेको छ, देश विकासका लागि र राष्ट्र निर्माणका अभियानमा एमालेलाई सबैले साथ दिनुपर्छ भन्ने छ । सबैके रोजाइ अहिले एमाले भएको छ । त्यसले गर्दा पनि जुन एउटा भ्रम छ, एमाले त्यहाँबाट बढारिन्छ भन्ने त्यो गलत साबित हुनेछ । धरै टाढा नभएकाले हामीले यो चुनाव तत्काल पाउँछौं । यसपछि सबैको हैसियत थाहा भइहाल्छ । जनता पहिलाजस्तो होइन, सुझबुझपूर्ण छन्, उनीहरू हरेक किसिमले मूल्याङ्कन गर्ने क्षमता राख्छन् । यसको मुल्याङ्कन गरेर एमालेको जुन अभियान छ, यो अभियानमा जनताले साथ दिन्छन् भन्नेमा म विश्वस्त छु ।

० मधेसीलाई समेटेर मात्र निर्वाचन गर्ने भन्दै सार्ने कुरा उठेको छ, यसलाई कुन रूपमा लिनुभएको छ ?

– पहिला पनि मधेसीलाई समेट्ने भनेरै एउटै मितिमा नगरी दोस्रो चरणको मिति तय गरिएको हो । अहिले पनि सार्ने कुरा आएको छ । यदी सबैलाई समेटेर सबैलाई चुनावमा सहभागी गराउने हो भने राम्रो पनि हो । यसले सबैलाई राम्रौ गर्छ । तर यदि फेरि सारेर पनि उहाँहरूले अर्को बहाना देखाएर चुनावमा भाग लिनुहुन्न भने यो साह्रै दुखलाग्दो कुरा हुन जान्छ । त्यसले गर्दा यो सार्ने कुरामा बृहत् छलफल गरेर साच्चै नै अबको मितिलाई चाहिँ कुनै तलमाथिी नगरी निर्वाचन गर्नुपर्छ । यद िसार्ने नै हो भने सबैको भावनालाई समेटेर यदी उहाँहरूले पनि ठिक छ, हामी आँउछौं भनेर निश्चीत गर्नुहुन्छ भने कुनै ठुलो कुरा होइन । तर विगतमा जस्तो फेरी सारियो अनि फेरी पनि अन्य माग राखेर चुनाव नगर्ने नियत राख्नुभयो भने यो नकारात्मक पक्ष हुन जान्छ ।

० तराईमा मधेसीहरूले हामी मात्र भूमिपुत्र हुन्, यहाँसम्म पहाडियाहरू आएर थिचोमिचो गरेको गरेको छ भनेर आरोप लगाइरहेका छन्, वाश्तवमा निर्वाचन भएमा मधेसीको हैसियत कस्तो बन्ला मधेसमा ?

– स्थानीय तहको निर्वाचनमा मान्छेहरूले पार्टीभन्दा पनि व्यक्ति हेरेर मत दिन्छन् । मधेसमा बसेका पहाडी मूलका पनि धेरै मान्छेहरू छन्, जो लोकप्रिय पनि छन् । मधेसमा मधेसी बसे भन्दैमा यो उनीहरूको मात्र वपौती पक्कै होइन । त्यो भूमि भनेको सबैको हो । भूगोलमा कस्तो प्रकारको नेताहरू छन् ति मध्येबाट राम्रोलाई छानिन्छन् । मूल्यांकन जनताले नै गर्छन् । मधेसमा मधेसीले मात्र जित्छन् भन्ने कुनै निश्चीत छैन । पहाडीले पनि जित्न सक्छन् । जनतालो आफ्नो सम्मान गर्ने र स्वाभिमान बचाउने नेता नै खोज्छन् । पहिलो चरणमा एमालेप्रति जसरी लोकप्रियता झल्किरहेको छ, त्यस आधारले हेर्दा मधेसमा पनि एमाले राम्रै पोजिसनमा आँउछ ।

० चुनाव असार ९ गते सार्ने निर्णयलाई के भन्नुहुन्छ ?

– यो गलत भयो । मिति सार्ने नै भए हप्तादिन होइन हाम्रो रमजानपछि सारिया्स् । हाम्रो महान पर्व रमजानको व्रत सुरु भयो । सार्ने नै भए असार १५ पछि सानुपर्छ भन्ने हाम्रो माग छ । सबै मुस्लीम दाजुभाइ मजाले सहभागी हुन सक्ने मिति भनेको असार १५ पछिको मिति हो । अहिले गर्मी पनि छ । व्रतको बेला अधिकांश हाम्रा मुस्लिम दाजुभाइहरू भोकोपेटमा ३–४ घण्टा लाइन बसेर भोट हाल्न सम्भव छैन । बिहान साढे ३ बजेदेखि बेलुका ७ बजेसम्म पानी पनि नखाई गर्ने व्रत छ । उहाँहरूलाई निक्कै समस्या पर्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा