13th December 2018, Thursday

E-budhabar

मापदण्ड मिचेर जिम्मेवारी दिईयो



मापदण्ड मिचेर जिम्मेवारी दिईयो

० नेकपाको स्थायी कमिटी सदस्य भएपछि त झन् ओझेलमा परेजस्तो हुनुभएको छ नि ?
हराउने र नहराउने भन्ने कुरै होइन । चर्चामा आउन भनेर जे पायो त्यही बोल्न पनि भएन । जे पायो त्यही गर्न पनि भएन । काम विशेषले चर्चामा आउने हो । राजनीतिमा कहिले अलि बढी चर्चामा आइने र कहिले अलि कम चर्चामा आइने स्वभाविकै हो । मैले यसलाई कुनै यन्यथा रुपमा लिएको छैन ।
० कुनै सक्रिय भुमिका र जिम्मेवारी नभएर पो हो की ?
मलाई दिएको जिम्मेवारी मैले भ्याएसम्म राम्रोसंग गरिरहेकै छु । कानुन क्षेत्रको मेरो कामको बारेमा अहिलेसम्म कसैले प्रश्न उठाउन सकेको अवस्था छैन । यद्यपि त्यो जिम्मेवारी मेरोे स्वभाव र जाँगर, क्षमता हेर्दा कम हो जस्तो लाग्छ । तर कम हो भनेर मैले कराउँदै हिँडेर पनि भएन । जिम्मेवारी दिने नदिने त पार्टीको कुरा हो ।
० नेकपा बन्दा दुई पार्टीबीचको एकता जुन गति र उत्साहका साथ भएको थियो, त्यसरी नै जनसंगठन एकता, तल्ला कमिटी एकता भने गति र उत्साहका साथ हुन सकेन नी किन होला ?
निर्वाचनाको कारणले पनि होला , त्यो बेला एकता अलि हठात् भएजस्तो पनि देखियो । कम्युनिष्ट पार्टीहरुबीचमा मात्र होइन, अरु पार्टीहरुबीचको पनि एकता भने कार्यक्रम, नीति सिद्धान्तका बारेमा व्यापक वहश र छलफल गरेर सैद्धान्तिक, वैचारिक र नीतिगत एकतापछि लामो छलफलको प्रक्रिया पछि गरेको भए अलि बढी परिपक्व हुन सक्थ्यो । तर निर्वाचन आइरहेको थियो र निर्वाचनलाई ध्यान राखेर एकता छिटो गर्नुपर्ने अवस्था देखियो । यसले गर्दा धेरै राजनीतिक, सैद्धान्तिक , संगठनात्मक विषयहरुम गहिरोगरी छलफल हुन सकेको जस्तो हामीलाई पनि अनुभ भएन । तैपनि एकता भयो, यो आफैंमा राम्रो कुरा हो । एकता भइसकेपछि पनि एकतालाई जसरी सैद्धान्तिक र वैचारिक रुपमा अगाडि बढाउनुपथ्र्यो र संगठनहरुको निर्माण तथा एकिकरणमा जे जस्ता कुराहरुलाई आधार बनाएर जानुपथ्र्यो, त्यस्ता कुराहरुमा प्रसस्त कमि रहेको देखिन्छ । संगठनात्मक रुपले नै त्यस्ता कुराहरुमा गहन छलफल हुने, पार्टीका कमिटीका बैठकहरु बस्ने, ति कमिटीका बैठकहरुमा व्यापक छलफल पछि नीति तथा आधरहरु निर्माण हुने जस्ता कुराहरु हुन सकेका देखिएनन्् । साँच्चै भन्ने हो भने बैठक नै एकदम कम बसेको छ । अहिलेसम्म बसेका बैठकहरु त केही नेताहरुले गरेका निर्णयहरुलाई औपचारिकता दिन मात्र सिमित छ । व्यापक ढंगले छलफल हुनेगरी बैठक नै भएको छैन ।
० कम्युनिष्ट पार्टीको सामुहिक नेतृत्व, सामुहिक निर्णय जस्ता कुराहरु खास व्यक्तिमा सिमित र केन्द्रीत भएको पो देखियो नी ?
हो, यो देखिन्छ । यस्तै खाले प्रक्रिया निरन्तर अगाडि बढ्नु त्यति राम्रो होइन । कम्युनिष्ट पार्टीमा मात्र होइन, जुनसुकै पार्टीहरुमा पनि संगठनात्मक रुपबाट व्यवस्थित ढंगले चल्न सकेन भने पार्टीहरु अगाडि बढ्न सक्दैनन् । जस्तो हाम्रो मात्र होइन, काँग्रेसकै हालत हेर्नुस् न । प्रतिपक्षमा बस्दा पनि त्यहाँ सामुहिक निर्णयमा पार्टी चलेन भनेर सभापति देउवाको व्यापक आलोचना भइरहेको हामी देख्छौं । आमी वामपन्थीहरुको त पार्टीलाई चलाउने एउटा निश्चीत, सैद्धान्तिक आधारहरु हुन्छन्, संगठनात्मक सिद्धान्तहरु हुन्छन् । रणनीतिहरु हुन्छ । कार्यनीति हुन्छ । ति सबैलाई व्यवस्थित ढंगले छलफल गरेर एक खालको ढाँचा पछि त्यसलाई अगाडि राखेर त्यसका आधारमा संगठन निर्माण गरिन्छ । ति कुराहरुमा प्रशस्त कमि रहेको छ ।
० विगत देखि नै तपाइहरुले पार्टीभित्र एउटा अलग विचार समूह चलाउदै आउनु भएको थियो, अब यो एकतापछि तपाँइहरुको त्यो विचार समूह कस्तो अवधारणका साथ अघि बढ्दैछ ?
यसमा अलिकति नयाँ ढंगले पाटीहरुले सोच्नै पर्ने छ । हामीहरु गुट निमिट्यान्न गर्न सक्दैनौं भने त्यसलाई नयाँ ढंगले सोच्नुपर्ने हो की भन्ने छलफल पनि हुन थालेको छ । जस्तै अरु पार्टीमा जापानमा पार्टीहरुभित्र गुट हुन्छन् र सबैभन्दा ठुलो गुटको नेता प्रधानमन्त्री हुन्छ । यात गुटलाई वैधानिकता दिन प¥यो, यात गुटलाई सकेसम्म मिलाएर लैजाने, एकतावद्ध बनाएर लैजाने प्रयत्न गर्नुप¥यो । अहिले हाम्रोमा गुटलाई वैधानिकता दिन संगठनात्म सिद्धान्तहरुले मिल्दैन । तर पार्टीभित्र रहेका विभिन्न गुट, उपगुट जे जस्तो देखिएको छ, त्यसलाई एकतावद्ध बनाएर लैजाने कुरामा मुल नेतृत्वले जति भुमिका खेल्नुपर्ने हो, जति व्यापकता देखाउनुपर्ने हो, जति फराकिलो छाति गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन । पार्टी युनिफाइड त्यसरी हुन्छ । हामीले संसारका कम्युनिष्ट पार्टीको इतिहास पढ्यौं भने पनि गुटै गुटमा विभाजित भएको पार्टीलाई पनि क्षमतावान् मान्छे प्रमुख नेतृत्वमा हुँदाखेरी उसले ति सबै गुटहरुसंग समन्वय गरेर, त्यसका योग्यता क्षमता भएका मान्छेहरुलाई अगाडि ल्याएर एकतामा परिणत गरेको पाइन्छ । किनभने क्रान्ति र जनताका लागि, परिवर्तनको पक्षमा, देशको समृद्धिको पक्षमा संघर्षशील मान्छेहरु सधैं कुनै गुट विशेषमा बाँधीराख्न चाँहदैनन् । उनीहरु अलि फरकमिलो ढंगले नै सोच्छन् । त्यो फराकिलो ढंगले सोच्ने कामलाई यदि लिडरशीपले अझ विस्तार गरेर आफ्नो तर्फबाट एकतावद्ध गर्ने प्रयत्न गर्ने हो भने त्यो एकतावद्ध हुन सक्छ । म हाम्रो पाटी अहिलेको नेकपामा पनि त्यो संभावना देख्छु । प्रमुख नेताहरुले अगाडि बस्ने, के गर्नुपर्ने हो, के आवश्यकता हो, कसरी पार्टीलाई अगाडि बढाउनु पर्ने छ भन्ने कुरा अलि खुला ढंगले आग्रह, पुर्वाग्रह मुक्त भएर छलफल गरेर अगाडि बढ्ने हो भने सबैलाई एकिकृत गरेर लान सक्ने अवस्था बन्न सक्छ । तर त्यो हाम्रो पार्टीमा बनिरहेको छैन ।
० तर यतिबेला नेकपामा सातवटा प्रदेशका २८ पदाधिकारीहरुको कार्यविभाजन गरेर जुन निर्णय बाहिर ल्याइयो यसले त तरंग नै ल्यायो नी ?
हो, यो सन्तुलित भएन । सन्तुलित भएन मात्र होइन, यो भन्दा अगाडि बनाएको मापदण्डकै विपरीत हुन गयो । संसदको जिम्मेवारी भित्र रहेका, राजकीय जिम्मेवारी भित्र रहेका हरुलाई इन्चार्ज नबनाउने, संगठनको प्रमुख पदहरु नदिने भन्ने एकप्रकारको समक्षदारी मात्र होइन निर्णय नै भएको थियो । त्यस भन्दा ठिक उल्टो ढंगले जिम्मेवारी दिएको देखिन्छ, त्यसैले मापदण्ड बनाइसकेपछि त्यो मापदण्डमा अड्नुप¥यो । दोस्रो कुरा सचिवालयले पनि दुइजना नेतालाई प्रश्ताव तयार गर्न मात्र जिम्मेवारी दिएको हो भनिएको थियो । सचिवालय भनेको कार्यान्वयन मात्र गर्ने संस्था हो । निर्णय गर्ने संस्था होइन । निर्णय त स्थायी कमिटी, पोलिट्व्इयुरो, केन्द्रीय कमिटीले गर्नुपर्छ । त्यसो भएकाले त्यो सचिवालयलाई यो अधिकार छ की छैन, विधानले यस्तो अधिकार दिएको, नियमावलीले यस्तो अधिकार दिएको त देखिँदैन । अनि सचिवालयको बैठकले पनि त्यो अधिकार दिएको भन्ने बुझिँदैन । त्यसैले यो निर्णयकै बारेमा पनि अलिकति अन्यौल छ ।
० वरिष्ठ नेता माधवकुमार नेपाल विदेश रहेका बेला निर्णय भनेर यि कुराहरु बाहिर आएको छ, तपाँइहरु के गर्नुहुन्छ त ?
यो स्थायी कमिटी बैठक बस्नुपर्छ । पहिले स्थायी कमिटी निर्णायक कुरा हो । सो बैठकले यि सबै विषयहरुमाथी छलफल गर्छ । यथाशिघ्र स्थायी कमिटीको बैठक बस्नुपर्छ । पार्टीमा मान्छेले न्याय पाउनुपर्छ । हामी आ आफ्नो तहका जिम्मेवारी लिएका नेताहरुले के बुझ्नुप¥यो भने हामी न्यायाधिश हौं भनेर बुझ्नुपर्छ । हामीले कार्यकर्ताहरुलाई न्याय दिन सक्नुपर्छ ।
० के कारणले यस्तो भइरहेको छ , कि तपाँइहरुले दवाव दिनु सक्नुभएन ?
दवाव नपुगेको होइन । मेरो भनाई के हो भने पार्टीमा प्रेसको आधारमा निर्णय गर्ने अवस्था आउन दिनु नै हुँदैनथ्यो । प्रेसरमा कुनै निर्णय गराउनुपर्ने परिस्थिति उत्पन्न हुनु नै आफैंमा पार्टी ठिक ढंगले चलेको छैन भन्ने कुराको प्रमाण हो । त्यसैले पार्टी त खुला, मुक्त र पारदर्शी ढंगले नीतिहरु बनिसकेपछि, मापदण्डहरु बनिसकेपछि त्यसलाई कार्यान्वयन गर्ने हो । त्यो नीति मापदण्ड बनाँउदा जति छलफल गर्ने हो, गर्ने हो । त्यसपछि त्यो मापदण्डमा पर्ने प¥यो, नपर्ने परेन ।
तर यस्तो कुराइहरु बारम्बार उठिरहेका पनि हुन्छन् तर लागू हुन किन सक्दैन ?
अहिले जे कुरा पार्टीभित्र असन्तुष्टीको रुपमा व्यक्ति भइरहेको छ, ति कुरालाई हामीले समयमै पार्टीभित्र त्यसको निदान खोज्नुपर्छ । त्यो भएन र बल्झिदै गयो भने पार्टीको नेताहरुबाट कार्यकर्तामा जान्छ र कार्यकर्ताहरुबाट जनतामा जान्छ । जनतामा गइसकेपछि त्यो एउटा इस्यु बन्दै आँउदाखेरी कुनै बेला त्यो विस्फोट हुन जान्छ । त्यसकारण हामीले जहिले पनि के ध्यान दिनुपर्छ भने मान्छेहरुलाई हाम्रो विरुद्धमा सकेसम्म इस्यु दिनुहुन्न । पार्टीको विरुद्धमा औंला उठाउने मौका दिनुहुन्न । हाम्रा निर्णयहरु पारदर्शी हुनुपर्छ, न्यायपुर्ण हुनुपर्छ । मापदण्डहरुमा आधारित हुनुपर्छ । त्यसो भयो भने मान्छेहरु चित्त बुझाउन वाध्य हुनछन् । त्यो नगरीकन हामी मनलागी ढंगले निर्णयहरु गर्छौ भने त त्यसमा स्वभाविक प्रश्न उठ्छ । तसर्थ मैले के भनेको भन्दाखेरी हाम्रो पार्टी सञ्चालनमा समस्या छ । समस्या छ भन्नेकुरा वारम्बार देखिन आइरहेको छ ।
हाम्रो अगाडि एउटा स्वर्णिम मौका छ । पार्टी एकिकरण भएको छ । यो पार्टीलाई साँचो अर्थमा वैचारिक रुपले, सैद्धान्तिक रुपले, संगठानत्मक रुपले एकतावद्ध बनाएर लैजाने दायित्व एकातिर छ भने झण्डै दुइतिहाइ बहुमतको सरकार हामीसंग छ । यत्रो ठुलो पार्टी र यत्रो ठुलो बहुमतको सरकार पनि हामीले ठिक ढंगले सञ्चालन गर्न सकेनौं र हाम्रा आफ्नै विवादहरुले सरकार पनि प्रभावहिन हुने र पार्टी पनि प्रभावहिन हुने अवस्था आयो भने त भोली जनताले हामीलाई माफी दिँदैनन् । त्यसैले यो जिम्मेवारी मुल नेतृत्व र शिर्ष नेताहरुले बुझ्नुप¥यो ।
० अहिलेसम्मको सरकारको कार्यशैलि कस्तो समिक्षा कसरी गर्नुभएको छ ?
सकार जति प्रभावकारी हुनुपर्ने हो त्यती प्रभावकारी हुन सकिरहेको छैन ।
० किन होला ?
त्यसमा त कतिपय मन्त्रीहरुको कार्यक्षमतामाथी प्रश्न छ । कतिपय नीतिगत कुराहरुमाथी प्रश्न उठेका छन् । कतिपय नियुक्तिहरुको बारेमा सञ्चारमाध्यमहरुमा व्यापक विरोध, आशंका, असन्तोषहरु व्यक्ति भएको छ । त्यस्तो कुराहरु सकेसम्म हुनुहुन्न ।
० प्रधानमन्त्री केपी ओलीले पछिल्लो समय अरिगाल बनेर सरकारको बचाउन गर्न निर्देशन दिनुभयो , के अब त्यस्तै गर्नुपर्ने हो ?
हाम्रा नेताहरुले सोच विचार गरेर लेखेर मन्तव्य दिने चलन छैन । बोल्दा कहिलेकाँही लागेको कुरा ठ्याक्कै निस्कन सक्छ । त्यसैलाई इस्यु बनाइराख्न पर्दैन । मेरो भनाई कार्यकर्तालाई नेतृत्वले सरकारको डिफेन्स गर भनेर भन्ने अवस्था आउनु नै आफैंमा दुखद कुरा हो । किन कार्यकर्ताले डिफेन्स गरिरहेका छैनन् भनेर प्रधानमन्त्री र नेतृत्वले त सोच्नु पो प¥यो ।
० सरकारले घोषणा पत्र अनुसार काम गरेन, प्रधानमन्त्रीको मुख मात्र धेरै चल्दो रहेछ, कम्युनिष्ट सरकार भएको अनुभुति नै भएन भन्ने व्यापक आलोचना छ नी बाहिर त ?
छ महिना कुनै एउटा सरकारका लागि पर्याप्त समय त होइन । सरकारका बारेमा जनताका गुनासा र आलोचना छन्, कतिपय मन्त्रीहरुको कार्यक्षमतामाथी प्रश्न उठेको छ, बोल्दा पनि प्रधानमन्त्री लगायत अरु मन्त्रीहरुले पनि कमै बोल्नु राम्रो हो । सरकारमा बस्नेहरुले कम बोल्ने, गरेर देखाउने हो । गरेर देखाएको कामलाइ हामी पार्टीका कार्यकर्ताहरुले जनतामा गएर भन्नु पर्ने हो । त्यतो अवसर अहिले उत्पन्न भएको छैन । हुनत भर्खर छ–सात महिना भएको छ । सरकारसंग समय पनि छ । तर हतार चाँही भैसक्यो । जुन ढंगले जनताको गुनासो, आलोचा र निराशा बढीरहेको छ त्यसलाई सरकारले बुझ्नुपर्छ । जनताको ढुकढुकीलाई सरकारले छाम्न सक्नुपर्छ । जनताको भावना बुझेर आफुलाई सच्याउन सक्ने अवसर हामीसंग छ । भएन भने लोकतन्त्रका जनताहरु कुनैपनि पार्टीका कामार होइनन् । जनताले कामका आधारमा हामीलाई परिणाम दिने हुन् । घोषणा पत्रकै कुरा गर्दा त त्यहाँ त सबैथोक भनिएको छ । भन्न बाँकी केही छैन । भनिएका सबैकुरा एकैचोटी पुरा हुँदैनन ।

० पार्टी एकता प्रक्रियाले कहिले पुर्णता पाउला ?

त्यो त म भन्न सक्दीन । कार्यदल नै विघटन गरियो भनिएको छ । कतिपय कामहरु नै नसकिएको अवस्थामा त्यो काम कसरी कसले गर्ने हो ? यि सबै विषयमा स्थायी कमिटीमा छलफल हुन जरुरी छ । अब कम्तीमा एक हप्ता स्थायी कमिटी बैठकका लागि समय छुट्याउनुपर्छ । पार्टीभित्र जे जस्ता समस्या छन् , त्यसमा अब खुला ढंगले त्यो बैठकमा छलफल गर्नुपर्छ । नेतृत्वले त आलोचनालाई प्रोत्साहीत गर्नुपर्छ । योग्य नेतृत्वले जहिले पनि यस्तै गर्छ । प्रशंसा मात्र खोज्दैन । पाटीभित्र आश र त्रासको स्थिति होइन लोकतान्त्रिक स्थिती बन्नुपर्छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

बुधबार २४औं वर्षमा

ShareTweet काठमाडौं । आजबाट बुधबार साप्ताहिक २३ वर्ष लामो यात्रा पूरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । मिसनसहितको जनपक्षीय पत्रकारिताको आवश्यकता पूरा गर्दै अघि बढेको- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जनाको मझेरीमा उपेक्षित किसान

ShareTweet – मधेस सदैव उर्वर भूमि रहँदै आयो । अन्नबालीको प्रचुरता रहेको मधेसका जनताले चिनी कारखाना खुल्न थालेपछि उखु खेतीलाई प्रश्रय दिए । नगदे बालीका रूपमा परिचित- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

उज्यालोको एउटा गीत

ShareTweet अक्सर कविहरूसामु विषयवस्तुको छनोट र बिम्बविन्यासको क्रममा उज्यालो या अँध्यारोमध्ये कुन पक्षलाई प्रधान मान्ने भन्ने विषयमा गम्भीर प्रश्न खडा भइदिन्छ ।- ...
पूरा पढ्नुहोस्

छोटकरीमा