25th April 2019, Thursday

E-budhabar

यस्तो बेलामा पनि नबोले मरे–बाँचेको के पत्तो ?



यस्तो बेलामा पनि नबोले मरे–बाँचेको के पत्तो ?

० भेनेजुयलाको राजनीतिक घटनाक्रमलाई लिएर नेकपा अध्यक्ष प्रचण्डले जारी गरेको वक्तव्यको सन्दर्भमा धेरै विवाद भयो, यसलाई तपाईंले कसरी लिनुभएको छ ?
यो विवाद गर्नुपर्ने खालको वक्तव्य होइन । किनकि, यो वक्तव्य कसैको विरोधमा छैन । केवल प्रजातन्त्र, विधिको शासनको पक्षमा छ । यो संसारमा जजसले आफूलाई यसको रखवाला भन्छन्, ती पश्चिमा शक्तिहरू, त्यहाँ त्यही चिजमाथि पाशविक प्रकारको दमन भइरहेको छ । एकदमै स्पष्ट कुरा के छ भने भेनेजुयलामा जस्तो प्रकारको सरकार छ, त्यो सरकारका कतिपय नीतिसँग व्यक्तिगत रूपमा म सहमत छैन । र, भेनेजुयलामा सावेजको पालामा भन्दा मडुरोको पालामा आइसकेपछि यसै पनि नवउदारवादी ढाँचा नै सुधार ल्याउन खाजेको हो । तर सावेजले संविधान संशोधनमार्फत त्यो ढाँचामा केही परिवर्तन गर्न खोजेका थिए । तसर्थ, त्यहाँ जनताको सरकार गठन भएपछि त्यसलाई हटाउने, उल्टाउने त लगातार प्रयत्न हुँदै आएको छ । सावेजको व्यक्तिगत करिश्मा बढी नै थियो । भेनेजुयलाको सामाजिक आन्दोलन र वामपन्थलाई एक ठाउँ लिएर जाने अभियानका उनी मुख्य योजनाकार भएको हुनाले स्वाभाविक रूपमा उनको उचाइ माथि थियो । उनले जसरी निर्मम भएर जनपक्षीय कार्यक्रमलाई लागू गर्दै थिए र पछिल्लो कालमा धेरै ठाउँमा सम्झौता भएको थियो । त्यसैले त्यहीभित्रको एउटा वामपन्थी धार जो बढी नै क्रान्तिकारी, बढी नै क्रान्तिकारी सिद्धान्तबाट मिश्रित राजनीति गर्न खोज्छ, मारिया सोसलिस्ट भन्ने त्यो बाहिर निस्किएको थियो । र, उसले लगातार सरकारको वामपन्थी कोणबाट आलोचना गरिरहेको थियो । अमेरिकाको लगातारको नाकाबन्दीले उसलाई असर परिरहेको थियो । किनभने, उसको सबैभन्दा बढी तेलको व्यापार अमेरिकासँग नै हुने हो । भेनेजुयलामा तेल उत्खनन गर्ने अधिकांश कम्पनीको कार्यालय अमेरिकामै छ । अमेरिकाले त्यहाँबाट तेल पनि लिने अनि लगातार नाकाबन्दी पनि गर्ने गरिरहेको छ । लगातारको यसप्रकारको गैरकानुनी र अमानवीय खालका्े जुन नाकाबन्दी लगाउँदै आएको थियो, त्यसको परिणाम त्यहाँ आर्थिक अप्ठ्यारो पर्दै आएको छ ।
० दुई देशबीचको मामिलामा चुपचाप बस्दा के हुन्थ्यो ? ‘बेला न कुबेला भेनेजुएला’ भन्न थालिएको छ नि ?
यस्तो न्यायपूर्ण कुरामा बोल्नुपर्छ । नत्र मान्छे मरेको–बाँचेको थाहा हुँदैन । नेपालको कम्युनिस्ट आन्दोलन धेरै दिनदेखि अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनबाट अत्यन्तै कटेको अवस्थामा थियो । नेपाल कतिपय महŒवपूर्ण घटनाहरूमा पनि मौन रहँदै आएको थियो । अन्तराष्ट्रिय भाइचारा सम्बन्धले पार्टीलाई नैतिक बनिरहन बाध्य पार्छ ।
० ठीक छ, बोल्नुपर्छ भन्ने कुरामा विमति रहेन तर कूटनीतिक क्षेत्रमा बोल्दा प्रयोग गरिने भाषाशैली परिपक्व भएन भन्ने कोणबाट पनि प्रश्न उठाइएको छ नि ? वक्तव्यको भाषा युद्धकालीनजस्तो भयो भनिन्छ नि ?
धेरै दिनपछाडि अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा कमसेकम हाम्रो पार्टी बोलेकोमा म अससाध्यै खुसी छु । नेताहरूप्रति धेरै नै आक्रोश हुँदाहुँदै पनि कमसेकम यतिबेला भने हाम्रा नेताहरूले बुद्धि पु¥याए भन्ने मलाई लाग्छ । स्वाभाविक रूपमा नेपालका कम्युनिस्टहरू बन्दुकको पृष्ठभूमिबाट हिंसात्मक संघर्षको पृष्ठभूमिबाट आएका छन् । त्यतिमात्र होइन, नेपाली कांग्रेस स्वयं पनि हिंसात्मक पृष्ठभूमिबाट आएको छ । त्यसैले, यहाँ कसैले हिजो हिंसात्मक संघर्षको वकालत गरेको थियो, त्यसको बोलीमा आज पनि हिंसा मिसिएको छ भनेर सोच्नु अर्घेलो कुरा मात्र हो । हिजो हिंसाको कालखण्ड थियो होला तर आज राजनीतिक पार्टीको भाषा हाम्रो अध्यक्षले बोल्नुभएको छ ।
सरकारले कूटनीतिक भाषा बोलेको छ । यसमा नेपाली कांग्रेसलाई पो बरु सोध्नुपर्ने कि उहाँहरू बिपी कोइराला सधैं पुँजीवादको खिलाफमा हुनुहुन्थ्यो । प्रजातान्त्रिक समाजवादको पक्षमा हुनुहुन्थ्यो । अब के उहाँहरू अमेरिकी साम्राज्यवादको पक्षमा हो ? अमेरिकाको ढाँचा र ढर्राको जुन नीति छ, त्यसैको पक्षपोषण गर्न थालेको हो ?
० हो भनेर त उहाँहरूले हिजो विज्ञप्ति नै जारी गरिसक्नुभयो नि ?
त्यसो हो भने सबैभन्दा ठूलो सिद्धान्तच्यूत त उहाँहरू नै भएको देखिन्छ । जसका नेता बीपी कोइराला, उहाँहरू जसको नाम लिइरहनुहुन्छ, ती बीपी कोइराला जिन्दगीभर पुँजीवादविरुद्ध लडे र प्रजातान्त्रिक समाजवादका वकालत गरे, पुँजीवाद अमानवीय छ, हिंस्रक छ भन्ने कुराहरू गरे, आज पनि समाजवादी आन्दोलनमा संलग्न धेरै मान्छे लोहियाका चेलाहरू, जयप्रकाश नारायणनका शिष्यहरू, किसन पटनायकका सहयोगीहरू अहिले पनि अमेरिकी साम्राज्यवादको विरोध गर्छन् । तर, नेपाली कांग्रेसले यसपटक नांगो वकालत गर्ने काम ग¥यो । त्यो पो अचम्म लाग्दो कुरा भएको छ ।
० कम्युनिस्ट भाइचारा त एउटा कुरा भयो, तर सम्बन्धका अरू आयाम पनि त छन् । १४ वर्षपछि परराष्ट्रमन्त्रीस्तरीय भेटघाट भएको यो समय, त्यस्तै नेपालको प्रसारण लाइन निर्माणका लागि करिब ५४ अर्ब सहयोग दिने भनेको यो समयमा अमेरिकाको विरोधले केही असर पार्ला नि ?
दुई पक्षीय सम्बन्धचाहिँ आपसमा लडिरहेका कतिपय शक्तिबीच पनि हुन्छ । युद्धले पनि एउटा नियमको माग गर्छ । अमेरिकासँग र अरू देशसँग पनि हाम्रो सम्वन्ध बराबरी छ । ऊसँग सम्बन्ध छ भन्दैमा एउटा देशको सार्वभौमसत्तामाथि कसैले कुल्चन्छ भने त्यो स्थितिमा चुप लागेर बस्नुहुँदैन । त्यसमाथि पनि हाम्रो जस्तो देश रणनीतिक रूपमा दुई ठूला देशहरूका बीचमा भएकाले हामीले अहिले बोलेर ठीक गरेका छौं । अमेरिकासँग हाम्रो सम्बन्ध पनि छ र सहायता पनि छ । संसारमा कसैले पनि दान दिएर कुनै देश धनी भएको अहिलेसम्म सुनिएको छैन । कुनै देशले अर्को देशलाई दिने भनेको दिने–लिने कुरा हो । यो आपसी सहयोगको कुरा हो । हाम्रो इतिहास हेर्दा हामीले देख्छौं कि चीनमा जनवादी क्रान्ति सम्पन्न भएपछि हाम्रो देशमा मुस्ताङमा खम्पा विद्रोह भयो । त्यसलाई अमेरिकाले हतियार दिएर उक्साएको थियो भन्ने कुरा जगजाहेर छ । अर्थात्, अमेरिकाले दिने मात्र होइन, हामीसँग लिने काम पनि भएको छ । त्यसैले, अहिले आएका पैसा रोकिने कुरा पनि होइन र हाम्रो मायादयाले दिएको पनि होइन । उसको आफ्नो रणनीतिक महŒवको कारणले दिएको हो ।
० अध्यक्ष प्रचण्डले व्यक्तिगत सम्बन्ध यो प्रकरणसँग उपयोग गरेर चीनसँग सम्बन्ध सुधार्न लागेको कतिपयकोे टिप्पणी छ नि ?
टिप्पणी त असाध्यै लाजमर्दो छ । ती मान्छेहरू जसले यस्तो टिप्पणी गरिरहेका छन्, उहाँहरूलाई विद्वान् भन्ने कि ज्ञानी ? विवेकबिनाको ज्ञानको त अर्थ छैन । विवेक नै रहँदैन भने त्यो ज्ञान अर्थात् सूचनाको के अर्थ ? यहाँ त्यस प्रकारको टिप्पणी नै नआउनुपथ्र्यो भन्ने लाग्छ । नेपाल भन्ने देश जहाँ जुनबेला गन्जालोललाई समातेको बेला यही देश थियो जहाँका ७०–८० जना सांसदहरूले हस्ताक्षर गरेर त्यसको विरोध गरेका थिए । सानो देशमा चाहिँ ज्ञान हुँदैन, उसले बोल्नुहुँदैन भन्ने मनोविज्ञान कहाँबाट आयो ? यति सानो देशबाट बुद्ध संसारमा उपदेश दिँदै कसरी गए ? न्यायका निम्ति जो पनि बोल्न सक्छ । यो कुरा बोलेर सही भएको छ । धेरै दिनपछाडि पहिलोपटक हामी नेताहरूले अझै पनि केही न केही बाँकी राखेका रहेछन् त भन्ने निष्कर्षमा पुगेका छौं ।
० त्यसो भए यो प्रकरणले नेकपा र सरकारलाई केही अप्ठ्यारो पार्दैन ?
यो केही होइन । यसबाट हामीले कसैलाई पिन्च गरेका होइनौं, आफ्नो कर्तव्य पूरा गरेका मात्र हौं । मान्छेले आफ्नो मान्छेको अस्थित्व बोध गर्दा कसैलाई किन अफ्ठ्यारो पर्छ ? त्यसैले पत्रपत्रिकामा रमाइला कुराहरू आइरहन्छन् । यसबाट हामी विचलित हुनुहुँदैन । यसले आन्तरिक रूपमा पनि हामीलाई समाजवादी मूल्य–मान्यताहरू, जनपक्षीय मूल्य–मान्यताहरूतिर फर्कन दबाब पर्दै जान्छ ।
० अलिक फरक प्रसंग, पार्टी एकता भएको लामो समयसम्म पनि गति लिन सकेन नि, किन हलो अड्किरहेको होला ?
यसमा हामी सबै क्षुब्ध र असन्तुष्ट छौं । तर, पार्टीमा जुनप्रकारको कार्यशैली विकास भएको छ, त्यसमा कहीँ न कहीँ हाम्रो नीतिमै दोष छ । हामीमा लामो राजनीतिक सोच छैन । तदर्थतावाद हाबी छ । राजनीतिले त रणनीतिको माग गर्छ । कार्यक्रमको माग गर्छ । कार्यनीतिको माग गर्छ । तर, दैनिक राजनीति सुविधाको राजनीतिमा केन्द्रित हुँदो रहेछ । जे सुविधा हुन्छ, त्यही बोलीदिने । त्यतातिर हाम्रो आन्दोलन खस्किँदै गएको छ ।
० यस्तो समस्या त एकता भएपछि मात्रको समस्या होइन नि ?
होइन । यो र्दुइवटै पार्टीमा यही समान समस्या भएर नै एकता सम्भव भएको हो । यसमध्ये एउटा गतिलो भएको भए त एकता नै हुँदैनथ्यो । १२–१५ वर्षदेखि नअर्जापेको हतियार लिएर हामी मार हान्न गयौं भने वा लडाइँ गर्न गयौं भने हाम्रो हालत के हुन्छ ? हाम्रा दिमाग पनि १०–१५ वर्षदेखि अर्जापिएको छैन । एउटा समाजलाई नष्ट हुनबाट जोगाउन दयाहीन शल्यक्रिया गर्नुपर्ने हुन्छ । यो हिंसात्मक क्रान्ति भनेको त्यो हो । त्यस्तै पार्टीलाई पतन हुनबाट जोगाउने भनेको वैचारिक संघर्षले हो । अस्ति स्थायी समितिको बैठक भयो तर त्यहाँ बढी कचकचे कुरा मात्र भइरहेको छ । ७ गतेको सट्टा १७ गते बैठक गर्छौं भन्छन् माथिका नेताहरू, १३ गते गर्नुस् भन्छन् तलका नेताहरू । त्यसको के अर्थ छ ? यस्ता प्रवृत्ति र बहसले समस्याको समाधान हुँदैन । त्यसैले म आजकाल धेरै त्यतातिर वास्ता पनि गर्दिनँ । पहिले मैले हाम्रो पार्टीमा भनेको पनि थिए कि ब्रह्माण्डकै महासचिव भए पनि उसले राम्रो काम गर्दैन भने के अर्थ ? फेटा जत्रो बाँधे पनि के भो ? त्यसैले मुख्य कुरा राजनीतिक कार्यदिशा यो हुनुपर्छ भनेर बहस ल्याउनुप¥यो । वित्त पुँजीलाई औद्योगिक पुँजीमा फेर्ने हाम्रो कार्यनीति हुनुप¥यो पश्चिमी देशको नागरिकता पाउँदा घरमा भोज खुवाउने, सबैलाई बोलाउने सांस्कृतिक अधोपतन भइराखेको छ । त्यसलाई रोक्नु जरुरी छ । देशभक्त नागरिक पैदा गर्न जरुरी छ । जसका लागि शिक्षा नीति परिवर्तन गर्न जरुरी छ । जसमा बजेट पनि थप गर्नुपर्छ । राजनीतिका नेताहरू मौका प¥यो कि विदेश कुद्छन् । उपसचिवभन्दा माथिका कर्मचारी २५ प्रतिशतभन्दा बढी जहिले पनि विदेश गाको देखिन्छ । शिक्षकलाई खोइ पठाएको ? उनीहरूले सिकेर आएपछि समाजलाई पढाउँछन् ।
० तर अचेल त शिक्षक पनि नेता भएका छन् नि ?
त्यो त रोक्नुपर्छ । ट्रेड युनियनहरू पनि खारेज गरिदिए हुन्छ । त्यसलाई ठीक ठाउँमा ल्याउने भनेको राजनीति नै हो । शिक्षा र कृषिलाई सही ढंगले उपयोग गरिनुपर्छ ।
० यतातिर नेकपा नेतृत्व नेतृत्वको ध्यान छैन त ?
मनमनमा होला तर व्यवहारमा भने छैन । भेनेजुयलाको वक्तव्य आउँदा कहीँ कुनाकन्दरामा यस्ता कुराहरू पनि रहेछन् भन्ने लागेको छ । तर बाहिर देखिएको छैन ।
० महाधिवेशन आएपछि न विचारको कुरा आउला ?
महाधिवेशनमा त आउँछ नै, तर त्यसअघि पनि ठाउँठाउँमा विचारहरू जानुपर्छ । सबै ठाँउमा सबैजना सबै विचारसँग त सहमत नहुन पनि सक्छन् । तर, नेपाललाई आजको २०–२५ वर्षमा कहाँ लैजाने भन्ने खालको विकास रणनीति ल्याउनुप¥यो । पार्टीको कार्यदिशा पनि अगाडि ल्याउनुप¥यो । कार्यदिशाले नै संगठन कस्तो बनाउने भन्ने कुराको निधो हुन्छ । अहिले संगठन किन यस्तो फितलो छ भने हाम्रो दिशा नै स्पष्ट छैन । घाउ छ, बेलामा सर्जरी भएन भने पाक्दै जान्छ । शरीर नै खतम हुन्छ । पार्टीलाई वैचारिक संघर्षतिर हुत्याउन सकेनौं भने पार्टी नै विघटन हुन थाल्छ । सेलहरू मर्न थाल्छन् ।
० तर वैचारिक धरातलमा लैजाने प्रयत्न पनि त भएका छैनन् नि ?
हुन्छ, लैजानुपर्छ । यी नेताको अतीत हेर्दा उहाँहरूले जीवनमा लामो संघर्ष गरेको हुनाले ठूलो संख्यामा जनता आशावादी छन् । हाम्रा कार्यकर्ताहरू पनि लामो लडाइँ लडेका नेताले यसै कहाँ छाड्छन्, क्रान्ति गर्छन् भन्नेमा ढुक्क छन् । यस्तो कुराले बिगार्छ । नेतामाथिको अत्यधिक भरोसा नै गलत हो । हामी नेताप्रति आलोचनात्मक बन्नेभन्दा पनि कति बढी समर्थक बन्ने भन्नेमा प्रतिस्पर्धा गरिरहेका छौं । हामी आफैं आत्मप्रशंसा गरिदियो भने खुसी हुन्छौं । अलिकति आलोचना ग¥यो भने बेखुस हुने गछौं । तलको पंति अझै राम्रो छ, तर माथिका हामी सुविधाभोगी भइदियौं ।
० व्यक्तिमा समस्या हो भने यो आन्दोलन गन्तव्यमा पु¥याउन एउटा पुस्तालाई बिदा गरेर नयाँ, युवा पुस्ता ल्याए हुँदैन ?
यहाँ उमेरको फरक होइन विचारको फरकको खाँचो छ । अहिले दुर्भाग्य युवापंक्ति असाध्यै अर्थवादी, उपभोक्तावादी भएर गएको छ, बरु पुरानो पुस्ता नै बरु अहिले पनि आदर्शको कुरा गर्छ । ६० काटिसकेको थुप्रै विश्वका नेताहरूले ठूलाठूला सफलता आफ्नो नेतृत्वमा हात पारेका छन् । रकेट उड्दा तल विस्फोट हुँदै जान्छ र त्यसको अंश टुट्दै जाने हुन्छ । हरेक विस्फोटनले त्यसलाई माथिमाथि सार्दै लान्छ र अन्त्यमा अन्तरिक्षमा अड्याइन्छ । विस्फोट नहुने हो भने त न उँभो जान सक्छ, न उँधो जान सक्छ गुरुत्वाकर्षणका कारणले । त्यसैले, विस्फोटले नै लक्ष्यमा पुग्न सहज हुन्छ भन्ने प्रस्ट छ । त्यसैले हामीलाई पुस्तामा होइन विचारमा नयाँ पुस्ता चाहिएको छ । नेपालमा निःशस्त्र तर जुझारु संघर्षको जरुरी छ ।
० कम्युनिस्ट सरकार छ, तर जनताको अपेक्षा केही पनि पुरा भएको छैन, तपाईं यो सरकाको कार्यशैलीलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
जेठा मामाको त भांग्राको धोती कान्छा मामाको कुन गति भनेजस्तै पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकाको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन । असफल हुनु त एउटा कुरा हो, तर मैले केही नवीनतम काम गर्नुपर्छ भनेर सोच्नुपर्ने हो । हामीजस्ताले त चारपाँच दिन लगातार फोन गर्ने प्रयास गर्दा कुनै मन्त्रीसँग कुरा हुन सक्दैन भने सामान्य कार्यकर्ता र जनताको पहुँचको त के कुरा गर्नु ? जुन देशमा राजा महेन्द्रजस्ता कराँतिला राजाका छोरा ज्ञानेन्द्रलाई त पाँच वर्ष सन्चोले बस्न दिएनन्, त्यो देशमा हामीजस्ता जनताका छोराछोरीले आफूलाई राजा बनेको स्वाङ गर्दा के होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब टाउको कमै दुख्ला

ShareTweet केही दिनपूर्व एकजना साथी प्रफुल्ल मुद्रामा देखिए । उनी प्रफुल्ल हुनुका एउटै कारण थियो– ‘पब्जी’ माथि प्रतिबन्ध । पब्जी–पीडित अभिभावकको लहरमा उनी पनि आबद्ध- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

श्रमप्रति समर्पित

ShareTweet कविता लेख्नुको अर्थ सत्यको अन्वेषण गर्नु हो । जुन कविता सत्यको अन्वेषण गर्न चुकेका हुन्छन्, मानवीय गरिमा र संवेदनालाई टिप्न असक्षम ठहरिन्छन्, त्यस्ता कविता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा