नेपाल भोलि घर फर्किंदै
जेठ ६, काठमाडौं । वीर अस्पतालमा उपचाररत नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पूर्ण स्वास्थ्यलाभपछि भोलि (बुधबार) डिस्चार्ज हुनुहुने भएको छ । ज्वरो र रुघाखोकी लागेपछि गत बुधबार साँझ उपचारका लागि अस्पताल पुग्नुभएका नेता नेपालको छातीमा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहमा अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
अस्पतालका निर्देशक डा. बुलन्द थापाको प्रत्यक्ष निगरानी तथा डा. एई अन्सारीको नेतृत्वमा डा. मधुरदेव भट्टराई, डा. वीरेन्द्रबहादुर सिंह, डा. भूपेन्द्र बस्नेत, डा. गणेश गुरुङ र डा. सञ्जय ठाकुरसहितको टोली उहाँको उपचारमा संलग्न छ । सुरुमा अस्पताल पुग्दा समान्यतया ४ हजारदेखि ११ हजारको बीचमा हुनुपर्ने डब्लूबीसीको मात्रा बढेर २७ हजार पुगेको थियो । सोही दिन राति २९ हजारसम्म पुगे पनि एन्टिबायोटिक चलाएपछि क्रमश: घट्दै गएको वरिष्ठ नेता नेपालले बताउनुभयो । उहाँका अनुसार, भोलिपल्ट घटेर २४ हजारमा आएको डब्लूबीसी क्रमश: तेस्रो दिन १६ हजार, चौथो दिन १२ हजार, पाँचौं दिन ११ हजार २ सय हुँदै ९ हजारसम्म झरेको छ । उहाँले भन्नुभयो– ‘निको भइसकेको छ, हात, खुट्टा सुनिने समस्या नदेखियोस् भनेर एक हप्ताको औषधिको मात्रा पूरा गरेर घर पठाउन लागिएको हो ।’
बुधबारसँग कुरा गर्दै डा. अन्सारीले सुरुमा अस्पताल भर्ना हुनासाथ परीक्षण गरेर हेर्दा निमोनियाको समस्या देखिएको र सोही साँझ ५ बजेबाट निमोनियाको एन्टिबायोटिक सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले अपेक्षा गरेभन्दा तीव्र गतिमा सुधार आयो ।’ चिसो, बाहिरको खानेकुरा र धूलोका कारण यस्तो भएको हुनसक्ने चिकित्सकले बताएका छन् ।
वरिष्ठ नेता नेपाललाई ‘हाई डिपिसेन्सी युनिट’ मा राखिएको थियो । उहाँलाई भेट्न एमाले नेता–कार्यकर्ताको पहिलो दिनदेखि नै भीड लागेको थियो । उपाध्यक्ष तथा गृहमन्त्री वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सभामुख सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री खगराज अधिकारी, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सरकारका मुख्य सचिव लीलामणि पौड्याल, एमाले पोलिटब्युरो सदस्य मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्यहरू कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराईलगायतका नेताहरू भोलिपल्ट बिहानै नेता नेपाललाई भेट्न पुगेका थिए ।
त्यसयता प्रधानमन्त्री सुशील कोइरालालगायत अन्य पार्टीका शीर्ष नेताले पनि उहाँलाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए । एमाले अध्यक्ष झलनाथ खनाल, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, भारतीय राजदूत रन्जित रेलगायतले अस्पताल पुगेर नेता नेपाललाई भेटेका थिए । दैनिक सरदर २ सय ५० देखि ३ सय नेता–कार्यकर्ता उहाँलाई भेट्न पुगेको बाहिर राखिएको आगन्तुक पुस्तिकामा रेकर्ड छ । संयोग के परेको छ भने उहाँलाई राखिएको उक्त नयाँ आईसीयूको उद्घाटन प्रधानमन्त्री भएका बेला उहाँले नै गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply