रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
म्याग्दी : परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउँदै गएका छन्। पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए।
‘पहिले एक सय भेडाबाख्रासँगै आठ÷दश वटा गाईभैंसीको गोठ लिएर बुकी र बेशी गर्दथे। गाईभैंसी बेचेर सकिए। ४० भेडाबाख्रा छन,’ उनले भने, ‘छोराछोरीले यो पेशा रोजेनन्। विदेश तिर लागे। बढ्दो बुढ्यौलीसँगै हिडडुल गर्न गाहे हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु।’
ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैंसीहरू छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गरेका छन्। ‘छोराछोरी विदेश र सहर पसेपछि हामी बुढाबुढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,’ उनले भने, ‘घुम्ति गोठमा गाईभैंसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो।’
१५–२० वर्षअघि बर्खामा गाईभैंसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरू अहिले रित्ता हुदै गएका थापाले बताए। खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरुले धानेको घुम्ती गोठहरु उनिहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिदैनन्।
वैदेशिक रोजगारी प्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जिविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आएका धवलागिरी गाउँपालिका–७ ताकमका पूर्वप्रधानपञ्च बिष्णुबहादुर थापाले बताए।
८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन्। गर्मी बढेपछि हिमाली क्षेत्रको जडिवुटीयुक्त चरन क्षेत्रको पोषीलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ। बुकीमा चरेका पशुहरु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताए।
असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरु चिसोसँगै बेसीतर्फ झार्ने चलन छ। अस्थायी टहरामा महिनौसम्म घरपरिवारसँग सम्पर्क बिहिन भएर पशुहरुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन् । पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्यौली गोठाला पेशालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गएपनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेश भन्दा गोठनै राम्रो भएको अनुभव सुनाउँछन्।
‘दुखः त यहाँ भन्दा विदेशमा कति हो कति,’ उनले भने, ‘मलाई खाडीको तुलनामा बुकीमै भैंसी पाल्दा सजिलो लागेको छ।’ २१ भैंसी पालेका शक्तिबहादुरले घ्यु, रागा भैसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताए।
सम्बन्धित समाचार
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
- अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
- दिल्लीमा देउवाको दौडधुप
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- नयाँ सरकार बनेपछि निराशा हट्दै गएको छ : गृहमन्त्री
Leave a Reply