विजयकुमारको खुसीको निजी परिभाषा

खुसीको परिभाषा के हो ? के एउटै परिभाषा सबैका लागि स्वीकार्य वा सर्वकालिक हुन्छ ? रुप, धन, प्रसिद्धि वा शक्ति केले मानिसलाई खुसी दिन्छ ? यस्तो जटिल प्रश्नको सरल र एक शब्दमा उत्तर पाउन असम्भव छ । तीन दशकदेखि पत्रकारितामा सक्रिय विजयकुमारले आफ्नो खुसीको यही परिभाषा वरिपरि रहेर पुस्तक ल्याएका छन्– ‘खुसी’ । लामो समय टेलिभिजन पर्दामा वर्चश्व कायम गरेका पत्रकार विजयकुमार छापा माध्यममा पनि उत्तिकै पढिनेमा पर्दछन् । पदम ठकुराठीको ‘साप्ताहिक मञ्च’बाट पत्रकारिता सुरु गरेर नेपाल टेलिभिजनबाट चर्चित बनेका विजयकुमारले आफ्ना जीवनका सफलता र असफलताहरुको योगफलका रुपमा संस्मरण लेखेका छन्– ‘खुसी’ । झट्ट सुन्दा विजयकुमारको जीवन खुसी नै खुसीमा बितेको रहेछ कि जस्तो लाग्छ । तर, पुस्तकभित्र उनले आजको स्थान बनाउनका लागि गरेको संघर्ष, त्यसक्रममा भेटिएका पात्र र प्रवृत्ति आदिको रोचक प्रकारले बर्णन गरेका छन्, जसबाट उनको जीवनका रंगहरुको सुन्दरता बुझ्न सकिन्छ ।
विजयकुमार नेपालका ती थोरै भाग्यमानी पत्रकारहरुमध्ये पर्छन्, जसको चौतर्फी हार्दिक सम्बन्ध देखिन्छ । एकातिर उनी जीवनमा सबभन्दा बढी प्रभावित त्यतिबेलाका विद्रोही नेता कृष्णप्रसाद भट्टराईसँग छन् भने अर्कातिर नेपाल टेलिभिजनमा आफ्नो कार्यक्रम रोक्न खोज्दा दरबारका हर्ताकर्ता ताराबहादुर थापाको सहयोग पाउँछन् । कम्युनिस्ट नेताहरुमध्ये मनमोहन अधिकारीसँग हिममिच भएका उनले जे जस्ता पात्रहरुसँग संगत भयो भनेर पुस्तकमा लेखेका छन्, ती नेपालको सत्ताका नाभीमा बसेका मानिस छन् । तर, उनले आफ्नो पुस्तकको शीर्षक राखेको खुसीको परिधि चाहिँ तिनमा होइन, टेलिभिजन अन्तर्वार्ता गर्ने क्रममा भेटेका दु:खी, गरिब र तल्लो तहका मानिसहरुबाट सापटी लिएका छन् । धनवान, रुपवान वा शक्तिवान हुनु र खुसी हुनु फरक कुरा हो भन्ने ‘थिम’लाई विजयकुमारले आफ्नो पुस्तकको सुरुदेखि अन्त्यसम्म पछ्याएका छन् ।
शंका छैन– विजयकुमारको स्थान नेपालको पत्रकारितामा औसतभन्दा माथि छ । ०४१ मा नेपाल टेलिभिजन सुरु हुनासाथ त्यसँग जोडिएको उनको यात्राले व्यक्तिगत जीवनमा त धेरै कुरा सिकायो नै, साथै असंख्य दशर्क र प्रशंसक पनि उपलब्ध गरायो । एकलकाँटे र घमण्डी भनेर आफ्नो आलोचना हुने गरेको तथ्यसँग अपरिचित नरहेका विजयकुमारले त्यो पनि पुस्तकमा स्वीकार गर्दै क्षमा मागेका छन् । आफ्नो विवाहका बेला एक लाख रुपियाँ माग्दा खाली हात पठाएकोमा विनोद चौधरीप्रति गुनासो गर्ने उनी त्यसको दोष पनि आफैं लिँदै चित्त बुझाउँछन् । नेपाल टेलिभिजनमा दु:ख दिएकोमा तपनाथ शुक्ल, दुई बराल (सायद तारा र ऋषिराज होलान्) बाहेक पुस्तकमा विजयकुमारले नाम लिएर कसैको आलोचना गरेका छैनन् । तर, उदात्त भावले सहयोग गर्नेहरुको भने खुलेर प्रशंसा गरेका छन्, जो अरु गर्न हिच्किचाउँछन् । उपेन्द्र महतो, नीर शाह, विनोद चौधरी, दिव्यमणि राजभण्डारी र उनका भाइ दिपमणि राजभण्डारी, तीर्थराज उपाध्याय, प्रभाकर शम्शरेरका छोरा सिद्धार्थ राणा, पीपी प्रसाईं, विजय शाह र राधेश्याम सर्राफले गरेको सहयोगलाई उनले उच्च स्थान दिएका छन् ।
काठमाडौँको सम्भ्रान्त वर्गसँगको संगतमा हुर्किएका विजयकुमारले त्यस वर्गका केही समान विशेषताहरुलाई पुस्तकमा उल्लेख गरेका छन् । दिनदिनै रक्सी खाँदा विस्तारै त्यसले आफूलाई कसरी खायो र आफू कसरी रक्सीको दुव्र्यसनी भएँ भन्ने कुरालाई उनले सविस्तार वर्णन गरेका छन् । रक्सीको प्रसंग यति धेरै छ, त्यसले रक्सी नखाने पाठकलाई दिक्क बनाउँछ । नेताहरुसँग चर्को स्वरमा अन्तर्वार्ता लिएर चर्चामा आएको प्रसंग उल्लेख गर्दै त्यसमा आफ्नो कमजोरीलाई पाठकले साहसका रुपमा लिइदिएको व्याख्या गरेका छन् ।
विजयकुमार खास कुनै राजनीतिक दर्शनबाट प्रेरित देखिँदैनन् न उनी आजीवन कुनै संघ– संगठनमै लागे । त्यही भएर उनले आफूलाई सबैको साझा र तटस्थ राख्न सके होलान् । तर, विभाजित समाजमा त्यसको पनि सीमा हुँदोरहेछ, जुन विजयकुमारका हकमा पनि लागू हुन्छ । कृष्णप्रसाद भटटराईसँगको अति निकटताका कारण उनलाई सहयोग गर्न हुन सक्छ, उनले काठमाडौँ– १ बाट चुनाव लडेका मदन भण्डारीको अन्तर्वार्ता बंग्याएर प्रसारण गरेको पुस्तकमा उल्लेख गरेका छन् । त्यति गर्दा पनि भण्डारीले विदेशी दूताबासहरुले आयोजना गर्ने पार्टीमा आफूलाई दोभासेका रुपमा प्रयोग गरेको उनले उल्लेख गरेका छन् । यससँगै उनले पुस्तकमा पहिला पनि लेखिसकेका नारायणगोपालको शालिकमा पेमलाले लुगा ओढाइदिउँ जस्तो लाग्छ भनेको जस्ता प्रसंग दोहोर्याएका छन् ।
विजयकुमारको संगतको आयतन विशाल छ । राजा वीरेन्द्र र रानी ऐश्वर्यसँगको हार्दिकता, तुलसी गिरीको माया, दरबारका हर्ताकर्ता ताराबहादुर थापा, शान्तबहादुर मल्ल र पशुपतिभक्त महर्जनहरुको सद्भाव, देशका गण्यमाण्य व्यापारीहरुसँगको हिमचिम, कृष्णप्रसाद भट्टराईसँगको आत्मीयतादेखि रिम्पोछेहरुसँग संगतले उनलाई जीवनका इन्द्रेणी रंगहरु बुझ्नमा ठूलो शिक्षा दिएको छ । एउटै मानिसलाई शक्तिमा हुँदा र नहुँदा पनि उनले समान रुपमा भोगेका छन् । अमेरिकी र भारतीय कुटनीतिज्ञहरुसँगको सम्बन्धलाई पनि उनले पुस्तकमा राम्रो स्थान दिएका छन् । अमेरिका पढ्न गएको, अमेरिकामा रेस्टुरेन्ट खोल्छु भनेर राधेश्याम सर्राफसँग एक लाख डलर माग्दा उनले एक बचनमा हुन्छ भनेको, जुलिया चाङ ब्लकसँग हेलिकोप्टरमा लामटाङको फेदीमा लन्च खान गएको जस्ता प्रसंगलाई उनले रोचक रुपमा पस्केका छन् ।
०४६ सालको जनआन्दोलनका बेला आन्दोलनरत नेताहरुसँग सम्पर्क गर्न र त्यसलाई सहज पार्नका लागि अन्तिम दिन चैत २६ गते आफूले निर्वाह गरेको भूमिकाको विजयकुमारले वर्णन गरेका छन् । राजा र आन्दोलनकारी चार नेताबीचको वार्तालाई आफूले मात्रै कभर गरेको र आफूले नेपाल टेलिभिजनबाट प्रसारण गरेको त्यही समाचारकै कारण दुनियाँले त्यस ऐतिहासिक घटनाका बारेमा थाहा पाएको प्रसंगलाई विजयकुमारले अरु घटनाभन्दा वढी गर्वका साथ उल्लेख गरेका छन् ।
आफ्नो जीवनका तमाम घटनाहरुको फेहरिस्त पस्किने क्रममा विजयकुमारले आफ्ना कमजोरीहरुका बारेमा पनि उल्लेख गरेका छन् । अमिताभ बच्चनसँग लिएको अन्तर्वार्ताका बारेमा आफ्नो अपमान गरिएको भन्दै पहिला हिन्दीमा सोधिएका प्रश्न पछि नेपाल टेलिभिजनबाट प्रसारण गर्न नपाएपछि बीचैमा अंग्रेजी बनाउनुपरेका कारण त्यस्तो भएको स्पष्टीकरण उनले दिएका छन् । दाङको मसौट खोलामा ओभरसियर हुँदाहुँदै आरामदायी जीवन छोडेर कसरी पत्रकारिता जस्तो अनिश्चित, कुनै आय आर्जन नभएको, कसैले नपत्याउने र नेपालमा फस्टाइनसकेको पेसामा आएँ भन्ने कुरा उनले मिहीन रुपमा औंल्याएका छन् । निजी क्षेत्रका सञ्चारमाध्यमहरु खुलेसँगै पत्रकारका लागि अवसरका ढोकाहरु खुलेको चर्चा गर्दै उनले निजी क्षेत्रका टेलिभिजनमा काम गर्दा सुख दु:खहरु पनि सम्झेका छन् । मालिकले चाहेका दिनसम्म मात्रै पत्रिकामा सम्पादक रहन सक्छ भन्ने यथार्थलाई उनले नारायण वाग्ले, अखिलेश उपाध्याय, विनोद ज्ञवाली, प्रतीक प्रधान, कैलाश सिरोहिया, युवराज घिमिरे जस्ता यस क्षेत्रका हस्तीहरुसँग सम्वाद गरेर जीवन्त रुपमा पाठकहरुसमक्ष पस्केका छन् ।
समग्रमा विजयकुमारको खुसी पत्रकारिता, राजनीति, अध्यात्म र यौनका वरिपरि घुमेको छ । उनले अध्यात्मबाहेक कुनै पनि विषयलाई टाउको दुखाउने गरी गहिराइमा पुगेर उल्लेख गरेका छैनन् । तर, जे जति पस्किएका छन्, त्यसले नेपाली समाजको एउटा क्षेत्र (पत्रकारिता) को मात्र प्रतिनिधित्व गर्दैन, समग्र नेपाली समाजको झलक देखाउँछ । पत्रकारलाई प्राप्त हुने सुविधा विजयकुमार पनि उपयोग गरेका छन् र आफ्नो समयको स्पन्दनलाई अक्षरहरुमा कैद गर्न गरेका छन् । नेपाली समाजले खुल्लापन महसुस गरेको धेरै भएको छैन । त्यही अभियानका एकजना अगुवाका रुपमा स्थान बनाउन सफल विजयकुमारले आफूले टेलिभिजनबाट भन्न नसकेका र छापामाध्यमबाट लेख्न नसकेका अनुभव र भावनाहरुलाई पुस्तकाकारमा बाहिर ल्याएका छन् । उनका अनुभूतिहरु पढ्दा पाठकलाई कहिले कुनै दार्शनिकका निवन्ध पढे जस्तो, कहिले कुनै पत्रकारको खोजमुलक रिपोर्ट पढे जस्तो र कहिले कुनै अल्कोहोलिकका गफ सुने जस्तो लाग्छ ।
खुसी
लेखक: विजय कुमार
विधा: संस्मरण
प्रकाशक: फाइन प्रिन्ट
मूल्य: रु. ४९८/–
पृष्ठ: ३२६
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply