गोविन्द केसीको तमासा
![गोविन्द केसीको तमासा गोविन्द केसीको तमासा](https://ebudhabar.com/wp-content/uploads/2014/06/rajendra-12.jpg)
श्रद्धेय नेता मनमोहन अधिकारीका नाममा हामीले खोलेको मनमोहन मेडिकल कलेज एउटा सहकारी संस्था हो । यसमा २४ सय मान्छे संलग्न छन् । एक–डेढ लाखका दरले २४ सय मान्छेबाट पैसा संकलन गरेर र बैंकसँग २ अर्ब जति ऋण लिएर गरेको काम हो यो । यो कुनै दुई–चार जना व्यक्तिले कमाइ गर्ने र तिनैले खाने, तिनैले ढलिमली गर्ने विषय होइन । सहकारीको माध्यमबाट हाम्रो देशमा भएको सबैभन्दा ठूलो काम नै यही हो । यस्तो कामको बारेमा नबुझेर पनि विरोध भएको हुनसक्छ ।
अनशन नै समस्याको समाधान होइन । प्रत्येकले प्रत्येक ठाउँमा अनशन बस्दै जाने र माग राख्दै जाने कुरा उचित होइन । माग राख्न पाइन्छ । समाधानका उपाय पनि हुन्छन् । तर, डा.गोविन्द केसीको अनशन देखेर म त चकित भएको छु । राज्यले हामीलाई बनाऊ भनेर मनसाय पत्र दियो । त्यो मनसाय पत्र पनि ‘काठमाडौंमै बनाऊ’ भनेर दियो । त्यही मनसाय पत्रका आधारमा अर्बाैं रुपियाँ लगानी गरियो । शिक्षा मन्त्रालय, मेडिकल काउन्सिल, त्रिभुवन विश्वविद्यालय सबैले निरीक्षण गरेर ठीक छ भनिसकेपछि सम्बन्धन दिनु हँुदैन भनेर डा.गोविन्द केसी अनशन बस्दैछन् । उनलाई किन मनमोहनकै विरुद्धमा उभिनुपरेको हो ? यो मैले बुझ्न सकेको छैन । आईएमओले हाम्रो ‘सबै भौतिक पूर्वाधार छ, तर चिकित्सक छैनन्’ भनेर एउटा प्रतिवेदन बुझाएको छ । यही कुरामा मलाई आश्चर्य लाग्छ, के मेडिकल कलेजको सम्बन्धन नभइकन डाक्टरहरू टनाटन भरिन्छन् त ? हामीले सम्बन्धन प्राप्त गरेको चिठी हाम्रो हातमा परेको सात दिनभित्र हामीलाई चाहिने सबै डाक्टर तयार हुन्छन् । पहिले तयार हुने त पूर्वाधार नै त हो । दुई वर्षदेखि सम्बन्धनको पर्खाइमा छांै, सम्बन्धन पाइएको छैन । अनि डाक्टर कहाँ हुन्छन् त ? दुई–दुई वर्षदेखि महिनाको २–२ लाख तलब दिएर प्राध्यापक, डाक्टर हामी राखिरहन सक्दैनौं ।
हामी अरू मेडिकल कलेजले भन्दा झन्डै १० लाखभन्दा कम शुल्कमा पढाउँछौं । गरिब जनताका छोराछोरीका लागि र मध्यम वर्गलाई लक्षित गरेर हामीले शिक्षा दिन्छौं । प्रत्येक वर्ष गरिब नेपालीका पाँच जना छोराछोरीलाई डाक्टर बनाएर कर्णाली अञ्चलका पाँच जिल्लामा सेवा दिन पठाउँछौं । यस्तो ढंगले नेपालमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा सेवा दिने कोसिस गरेका छौं । तर, यो कोसिसलाई बक्रदृष्टि राखेर हेर्ने कुरालाई के भन्ने ?
कसै–कसैले यसलाई राजनीतिसँग पनि जोडेर आलोचना गर्ने गरेका छन् । तर, हामीले कुनै राजनीतिकरण गरेका छैनौं । मनमोहन अधिकारीको नाम जोडिँदैमा राजनीतिकरण हुने भए धरानको बीपी अध्ययन प्रतिष्ठान के कांग्रेसको भर्तीकेन्द्र हो ? पार्टी कार्यालय हो त्यो ? त्यसो भए गणेशमान सिंह, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइरालाका नाममा बनेका सबैलाई हामीले राजनीतिक ढंगले हेरौं त ? यही राज्यले, नेपाल सरकार शिक्षा मन्त्रालयले मनसाय पत्र दियो । त्यही मनसाय पत्रका आधारमा हामीले बैंकसँग २ अर्बभन्दा बढी ऋण लियौं । सारा पूर्वाधार तयार गर्यौं, झन्डै चार अर्बको सम्पत्ति तयार पारेर अन्तिम टुंगो लाग्ने बेलामा स्वयम् प्रधानमन्त्रीले गत कात्तिकमा आफ्नो कार्यालयबाट चिठी लेखेर ‘हाल सम्बन्धन रोक्नू’ भन्नुभयो । देशको प्रधानमन्त्रीले लगानी संरक्षणको जिम्मा बोक्ने हो कि लगानीलाई ध्वस्त बनाउने काम गर्ने हो ? आम जनताले ‘डिपोजिट’ गरेको पैसा ध्वस्त बनाउन पाइन्छ ? मैले यो कुरा प्रधानमन्त्रीलाई पनि भनेको छु । मैले यो कुरा भन्दा १ सय ४६ जना सभासद्ले समर्थन जनाउनुभयो । त्यही १ सय ४६ जना सभासद्को हस्ताक्षर राखेको कुरालाई सायद उहाँले एमालेको दबाब भन्नुभएको होला ।
त्यसो भए, हामीले खोलेको मेडिकल कलेजको विरुद्धमा हो उहाँहरू ? कि त यो मेडिकल कलेज खोल्नु हुँदैन भन्नुपर्यो । सरकारमा कांग्रेस र हामी सँगै छौं । मेरो पनि भोटले प्रधानमन्त्री बन्नुभएको हो सुशील कोइराला । आज भएका मन्त्रीहरू हाम्रा पनि भोटले बनेका हुन् । प्रधानमन्त्रीले एकपक्षीय भएर फलानोको मेडिकल कलेज खोल्नुहुन्छ, फलानोको चाहिँ हुँदैन भन्न पाइन्छ कि पाइँदैन ? हाम्रो भनाइ यत्ति हो ।
सम्बन्धित समाचार
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
-
नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
-
आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
-
मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
-
जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
-
प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
-
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
-
परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
-
संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
-
आज हरितालिका तीज
-
६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply