बागलुङको वाम मत मनालाई

बागलुङ । २०४८ सालयता कांग्रेस र एमालेले पालैपालो जित्दै आएको बागलुङ क्षेत्र नम्बर १ मा यस पटक आफ्नो जित्ने पालो भन्दै एमालेका कार्यकर्ता गाउँ–गाउँमा सक्रिय देखिएका छन् । एमाले उम्मेदवार मना केसी गाउँ पुग्दा देखिएको जनलहरले एमालेका कार्यकर्तालाई उत्साहित बनाएको छ ।
चैत २८ गते हुन लागेको निर्वाचनमा कांग्रेसले कमजोर उम्मेदवार उठाएकाले पनि एमालेलाई सजिलो देखिएको छ । दुर्घटनामा निधन भएका तत्कालीन सभासद् हरिबहादुर खड्काका छोरा सुदीपलाई टिकट दिएमा र उनले जितेमा पछिलाई घाटा हुन्छ भन्दै उनकी श्रीमती चम्पा खड्कालाई टिकट दिएपछि मञ्चमा पुगेर भिक्स दलेर रुनुबाहेक कुनै उत्साह नदेखिँदा कांग्रेस कार्यकर्ता निराश देखिएका छन् । एमाले उम्मेदवार केसी अहिले अन्तिम चरणको चुनावी अभियानमा छिन् । मतदाताका घरघरमा पुगेर मत माग्न व्यस्त केसीप्रति बढ्दो मतदाताको समर्थनले पनि उनको जितको आधारलाई फराकिलो बनाएको छ ।
कांग्रेसमा जिल्लाबाट सिफारिस भएर आएका १२ जनाभित्र नभएकी चम्पालाई टिकट दिइएपछि जिल्लामा एउटा समूह असन्तुुष्ट छ । जिल्लाले सुरुमा छोरासुदीपको नाम सिफारिस गरेको थियो । तर, अमेरिकाबाट पीएचडी सकेर आएका उनलाई उम्मेदवार नबनाउने रहस्य पर्दाफास भएपछि जिल्लाका कांग्रेसीहरू दुई चिरामा विभाजित भएका छन् । चम्पालाई अगाडि सार्नेहरू चुनावी अभियानमा हिँडे पनि अर्को समूहले चुनावी अभियानमा सक्रियता देखाएको छैन। यसै पनि उक्त क्षेत्रमा एमाले त्यति कमजोर होइन । गत संविधानसभा निर्वाचनमा आन्तरिक विवादका बाबजुद एमाले १५ सय मतले मात्र पछि परेको थियो । यस पटक एमालेले टिकटका आकांक्षी नेताहरू रामजी शर्मा, इन्द्रलाल सापकोटा, जनक पौडेल र हीरा केसीको नेतृत्वाम अलग–अलग टोली बनाएर चार भागमा फिल्डमा खटाएको छ । उता, एमाओवादीभित्र देखिएको किचलोका कारण उसले अघिल्लो पटक पाएको मतमध्ये केही मत घट्ने देखिएको छ । एमाओवादीले यस पटक दीनानाथ शर्मालाई टिकट दिए पनि हार्ने डरले बिरामीको बहानामा टिकट फिर्ता गरेपछि जापानवाला कृष्ण केसीलाई टिकट दिएको छ । चुनावको मुखमा एमाओवादीको बागलुङ जिल्ला कमिटीले पार्टीको केन्द्रीय प्रवक्ता शर्मालाई कारबाहीको माग गरेको छ । जिल्ला इन्चार्ज लीलबहादुर थापाले लिखित रूपमा कारबाहीको माग गरेपछि शर्माले थापालाई ‘जँड्याहा’को संज्ञा दिएका छन् । यो किचलोका बीच एमाओवादी कतिपय कार्यकर्ता देखी–देखी आफ्नो हार्ने उम्मेदवारलाई भोट दिनुभन्दा अर्को वामपन्थी उम्मेदवारलाई दिनु वेश भनेर चर्चा चलाउन थालेका छन् ।
त्यस क्षेत्रमा राम्रै प्रभाव रहेको राष्ट्रिय जनमोर्चाले एमालेलाई सघाउनेबारेमा कुराकानी चलिरहेको छ । एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच कुराकानीसमेत भएको बुझिएको छ ।
संविधानसभामा पहिलो दल बनेर संविधान जारी गर्न नसक्नु, सरकारको नेतृत्व गर्दासमेत शान्ति सुरक्षा, सुशासन, महँगी नियन्त्रण जस्ता कुरामा असफल सावित हुनु र पार्टीभित्रकै शेरबहादुर देउवा समूह आफ्नै नेतृत्वको सरकारका विरुद्ध खनिनु जस्ता कारणले पनि कांग्रेसप्रतिको आस्था घटेको छ । अर्कातिर प्राय: सबै वामपन्थीको मत एमाले उम्मेदवारलाई जाने माहोल सिर्जना भएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply