यसरी रोइरहेछ सिन्धुपाल्चोक
चौतारा । विनाशकारी भुकम्प गएको ११ दिनपछि प्रधानमन्त्री सुशील कोइरला सबभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकमा आए । हेलिकोप्टरबाट आएका कोइराला केही समय नेपाली सेनाको गोरखनाथ गणमा बसे अनि त्यहीबाट फर्के । सेनाको ब्यारेकबाट केही पर टुँडिखेलमा सयौँ पीडित पालमुनि कष्टकर दैनिकी गुजारिरहेका छन् । ब्यारेकमा प्रधानमन्त्री ओर्लिएपछि पक्कै पनि आफुहरू भएको स्थानसम्म आउलान् भन्ने आश उनीहरूलाई नलाग्ने कुरा भएन । तर, उनी ब्यारेकबाटै फर्किएपछि स्थानीय आक्रोशित मात्र भएनन्, सरकारबाट आफूलाई अब कति सहयोग मिल्ला भनेर बुझ्न पनि पाए । प्रधानमन्त्री आएको खबर पाएर सेनाको ब्यारेकछेउ पुगेका सञ्चारकर्मीलाई समेत सेनाले रोक लगायो ।
प्रधानमन्त्री कोइरालाका अगाडि राहातको थुप्रो जम्मा भएको थियो । अधिकारीहरूले सबै काम राम्रै गरेको ‘बिफ्रिङ’ गरिरहँदा जिल्लाको बिकट गाविसका पीडितहरू भने बाँच्नका लागि तितेपाती खाँदै थिए । बिकट गोल्चेगाविसमा भूकम्प गएको १० दिनपछि नेपाली सेनाको हेलिकोप्टरबाट केही राहत त खसालियो तर त्यो सक्ने र दौडिन सक्नेले मात्रै पाए । ‘आकाशबाट खसालेको राहत खोसाखोस भयो, चामल सबै माटोमा मिसियो’– गोल्चेका स्थानीय रविन स्याङबोले टेलिफोनमा भने– ‘यो रमिता हो कि राहात हो ? केही पत्तो भएन ।’ माथिबाट फालेपछि सक्नेले तीनवटा सम्म पाल लगे भने नसक्ने रिक्त फर्किन बाध्य भए ।
गोल्चे गाविसमा मात्रै होइन, क्षेत्र नम्बर २ का अति विकट गु्म्बा, पाङताङ, हगाम, जलविरे, फुल्पिङकोटलगायतका पीडितहरूले राहतका नाममा केही पाउन सकेको छैनन् । ती ठाउँमा सरकारी टोली समेत पुग्न सकेका छैनन् । राहत खोज्न काठमाडौँ चाहरिरहेका पाङताङ गाविसका निर्वतमान अध्यक्ष होमनारयण श्रेष्ठले केही राहत त संकलन गरे तर दुर्गमका लागि लैजादै गरेको राहत बीच बाटोमै लुटिएपछि उनी पनि खाली हात फर्किन बाध्य भए ।
क्षेत्र नम्बर ३ मा पनि उस्तै पीडा छ । गुन्सा, बासखर्क, हेलम्बुलगायतका गाविसमा राहतका नाममा केही प्याकेट चाउचाउबाहेक अरु चीज पुग्न सकेको छैन । आएको राहतमा पनि व्यापक राजनीतिकरण भएको छ । क्षेत्र नम्बर १ मा कांग्रेसका सभासद् मोहनबहादुर बस्नेतको दादागिरीका कारण वितरणमा समस्या भएको छ । सहरी विकास मन्त्रालयबाट आएको एक गाडी पाल सभासद् बस्नेतले आफना कार्याकर्ताहरूलाई राती–राती बाँडेका छन् । कतिपयले पाँच वटासम्म राहत प्याकेट पाएका छन् । जबकि, कसैले केही पनि पाएका छैनन् । आफ्नो अनुमतिबिना राहत आएको भन्दै बस्नेतले बुढानिलकण्ठ स्कुलका पूर्वविद्यार्थीको संस्था र बुद्ध एयरलाई धम्की दिएका छन् । सभासद् बस्नेतको धम्कीपछि क्षेत्र नम्बर १ मा आउन लागेको झण्डै ८ सय थान पाल आउन सकेको छैन । त्यही क्षेत्रका अरु गाविसमा पनि सभासद् बस्नेतका कारण पीडितहरूले राहत पाउन सकेका छैनन् । कांग्रेसका कार्यकर्ताहरूले क्षेत्र नम्बर १ का विभिन्न गाविसमा यतिबेला चरम उदण्डता मच्चाएका छन् ।
चौतारा कारगारमा रहेका कैदी–बन्दीहरूलाई समेत छाडेपछि अपराधिक मानसिकता भएका र भागेर आएका कैदी–बन्दीहरूले पनि जिल्लामा राहतमा अवरोध गरिरहेका छन् । सिन्धुपाल्चोकमा दैनिक सयौँको संख्यामा साना–ठूला गाडीमा राहत भित्रिरहेको छ । तर, पीडितले नपाएपछि त्यो राहत कता जान्छ भन्ने प्रश्न उब्जिएको छ । राहत लिएर जिल्लामा आउनेहरू पनि सडक लाइनमा केही बोरा चामल वितरण गरेर फोटो खिच्दै फर्किने गरेका छन् । दुर्गम गाविसमा भने सहयोगी संस्था र सरकारी राहत टोली पुग्न सकेको छैनन् ।
सरकारले गाविसमा पठाएको नौ लाख कांग्रेसकै कारण कुन शीर्षकमा खर्च गर्ने भन्नेमा समस्या भएको एमाले र एमाओवादीका नेताहरूले बताएका छन् । सभासद जस्तो व्यक्तिले यस्तो विपत्तिमा यस्तो गलत काम गर्न नहुने तर विपत्तिमा पनि राजनीतिकरण गरिएको एमाओवादी नेता सरल पौडेलले बताए । जिल्लामा भूकम्पबाट हालसम्म ३५ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन् । जिल्लामा ९८ प्रतिशत घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सरकारी कार्यालय, विद्यालय, गैरसरकारी संस्था र सञ्चारमाध्यममा समेत भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply