किन चिसिँदै छ बेलायतसँगको सम्बन्ध ?
काठमाडौं । कुनै बेला घाम नअस्ताउने साम्राज्य भएको बेलायतको प्रभाव विश्व राजनीतिमा अहिले पनि कम छैन । तर, पछिल्ला दिनमा नेपालको सबभन्दा पुरानो अन्तर्राष्ट्रिय मित्रसँगको सम्बन्धमा भने क्रमश: चिसोपन बढेको छ । हालै दोस्रो कार्यकालका लागि बेलायतको प्रधानमन्त्रीमा डेभिड क्यामरुन निर्वाचित भएपछि बधाई दिनका लागि नेपालका प्रधानमन्त्री सुशील कोइरालाले फोन गर्नुपर्ने थियो । तर, उनले औपचारिक लिखित बधाई पनि पठाइनसक्दै उल्टै क्मामरुनले कोइरालालाई फोन गरे । त्यो पनि अरू कारणले होइन, आफ्नो देशले नेपालका भूकम्पपीडितको सहयोगका लागि नेपाल पठाउन लागेको चिनुक हेलिकोप्टरलाई किन प्रवेषाज्ञा दिइएन भन्ने कारण जान्नका लागि ।
भूगोलका दुई ध्रुवमा उभिएका यी दुई देशबीचको सम्बन्धको तापक्रम नाप्न यही घटना काफी हुन्छ । कूटनीतिमा कुनैमा विशेष जोड दिएर भनियो भने शंका हुन्छ, त्यस कुरामा केही समस्या भयो कि ! दुई साताअघि नेपाल भ्रमणमा आएकी बेलायती अन्तर्राष्ट्रिय विकासमन्त्री जस्टिन ग्रिनिङले भनिन्– ‘चिनुक हेलिकोप्टर फिर्तिले दुई देशबीचको सम्बन्धमा प्रभाव पार्दैन ।’ यसै पनि बुझ्न सकिन्छ, नेपालीलाई सहयोग गर्न भनेर आफ्नो देशबाट उडिसकेको जहाजलाई नेपालको विमानस्थलमा अवतरण गर्न नदिँदा बेलायत मात्र होइन, कुनै पनि देश खुसी हुने कुरा हुँदैन ।
विवादको जड कुमार लामा प्रकरण
नेपालमा द्वन्द्व हुँदा माओवादी छापामारलाई दबाउनराज्यलाई सहयोग गर्ने मुलुकमध्ये बेलायत मुख्य थियो । त्यसका लागि नेपाली सेनालगायत सुरक्षा अंगलाई बेलायतबाट आर्थिक र भौतिक सहयोग ठूलो मात्रामा प्राप्त थियो । त्यति मात्र होइन, सरकारी सुरक्षा अंगलाई प्रभावकारी बनाउन बेलायती गुप्तचरी सहयोग पनि गरेको थियो । यसमा कसैले गुनासो गर्नुपर्ने किन पनि छैन भने यो राज्य–राज्यबीचको सम्बन्ध थियो ।
तर, त्यही बेलायतले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्नै लागेको बेला नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायतमा पक्राउ गर्यो । लामो, खर्चिलो र झन्झटिलो कानुनी प्रक्रियामा नेपाली सैनिक अधिकारी पर्दा नेपाल सरकार निरीह बन्यो । वर्षौंदेखि हार्दिक सम्बन्ध रहेको नेपाली सेनाको अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत मात्र भएन, अरू सैनिक अधिकारीहरू पनि यसबाट त्रस्त बने । अन्तर्राष्ट्रिय कानुनको हवाला दिएर बेलायतले चालेको यो कदम उचित थिएन । पहिला आफ्नो मुलुकमा प्रवेश गर्नका लागि भिसा दिने अनि प्रवेश गरिसकेकपछि पक्राउ गर्ने बेलायतको यो शैलीले नेपालमा उसप्रति राम्रो भावना विकास भएको थिएन ।
केही समयअघि बेलायती राजदूत स्पार्कले सभासद्लाई खुला पत्र लेख्दै धर्म परिवर्तन गर्न पाउनुपर्ने कुरालाई संविधानमै उल्लेख गर्न अनुरोध गरेपछि झन् ठूलो हंगामा मच्चियो । परराष्ट्र मन्त्रालयले उनलाई बोलाएर स्पष्टीकरण लियो भने केही दिनपछि उनले सम्भवत: असहज महसुस गरेर नेपाल नै छोडे ।
यही पृष्ठभूमिमा नेपालको विमानस्थलको भारबहन क्षमता (१९६ टन) भन्दा बढी क्षमता भएको भन्दै बेलायती जहाज चिनुकलाई अवतरण गर्न नदिएर फर्काइएको छ । १० दिनसम्म भारतमा बस्दा पनि नेपाल आउन नपाएपछि स्वदेश फर्किएको उक्त जहाज पक्कै पनि शुभेच्छा बोकेर बेलायत पुगेको छैन ।
सेनाको दोहोरो मापदण्ड !
नेपालले चिनुक फिर्ता पठाएर ठीक गर्यो वा बेठीक ? बहस जारी छ । यसको भित्री र खुला दुवै कारणका रूपमा अघि सारिएको छ : नेपाली सेनाले नमानेका कारण नेपाल सरकारले जहाजलाई नेपाल प्रवेश गर्ने अनुमति दिन सकेन । यसबाहेक अर्को कुनै विश्वनीय कारण पनि देखिँदैन ।
तर, परराष्ट्रका अधिकारीहरू भने सेनाको यस अघोषित कदमलाई परिपक्व ठान्दैनन् । गत साता बुधबारसँग नाम उल्लेख नगर्ने सर्तमा खुलेर बोलेका एक अधिकारी भने– ‘यसमा संगति मिलेको छैन । अलिकति निकट विगत हेर्नुभयो भने त्यससँग यो कुरा म्याच हुँदैन ।’ उनले भनेको ‘निकट विगत’ दुई देशका सेना प्रमुखले गरेको एकअर्काका देशको भ्रमण हो ।
कर्णेल कुमार लामा पक्राउ परिसकेपछि प्रधानसेनापति गौरवशमशेर राणाले सन् २०१३ को अगस्त अन्तिम साता बेलायत भ्रमण गरेका थिए भने त्यहाँका सेनाप्रमुख सर पिटर वालले यसै वर्षको सुरुमा नेपाल भ्रमण गरेका थिए । ती अधिकारीले थपे– ‘त्यसैले अहिले जे भएको छ, राम्रो भएको छैन ।’
पुरानो मित्रतामा दखल
राष्ट्रवाद सबैका लागि प्रिय हुन्छ । तर, जब त्यो अन्धराष्ट्रवादमा रूपान्तरण हुन्छ, त्यसले राष्ट्रलाई घाटा गर्छ । बेलायतसँग व्यवहार गर्ने प्रश्नमा सरकारी निकाय (सेना होस् वा कुनै मन्त्रालय)ले जे–जस्तो व्यवहार देखाएका छन्, त्यसबाट देशलाई कुनै फाइदा होला जस्तो देखिँदैन ।
बेलायत नेपालको सबभन्दा पुरानो अन्तर्राष्ट्रिय मित्र हो । सन् १८१६ मा सम्पन्न सुगौली सन्धिबाटै नेपाल–बेलायत मित्रतामा बाँधिएका हुन् । त्यसयता १९२३ मा बेलायतले दूत नियुक्त गरेको थियो भने १९३४ मा नेपालले लन्डनमा लिगेसन कार्यालय खोलेको थियो । १९४७ मा दुवै देशले राजदूत तहमा सम्बन्ध विस्तार गरेयता यी दुई मुलुकबीच खासै समस्या रहेको देखिँदैन । १९५२ मा जंगबहादुर राणको बेलायत यात्राबाट थप मजबुत बनेको यो मित्रता आज पर्यन्त समस्यामूलक देखिँदैन ।
नेपालको अन्तर्राष्ट्रिय दातामध्ये पनि बेलायत अग्रणी मुलुक हो । तर, डीएफआडीमार्फत गैरसरकारी क्षेत्रमा गरिएको सहयोग दुरुपयोग भएको आरोप पनि लाग्ने गरेको छ । जनजाति अगुवालाई उचाल्नका लागि त्यो रकम प्रयोग भएको गुनासो नेपालमा चल्ने गरेको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply