एमालेमा आउन किन रोकिए बाटैमा ?
एमालेमा आउन किन रोकिए बाटैमा ?
काठमाडौं । नेकपा (एमाले)मा पहिले लामो समय काम गरेर अहिले विभिन्न पार्टीमा सक्रिय तथा निष्क्रिय रहेका ठूलो पंक्ति मूल घर फर्कन तयार छ । तर, उनीहरूलाई एमालेमा भित्र्याउन पार्टीले खासै पहल नगरेको उनीहरूको गुनासो छ । खासगरी एमालेबाट माओवादीका गएका, संघीय समाजवादीमा गएका र पार्टी छोडेर तत्कालीन सत्ताका पक्षमा पुगेकाहरू एमालेमा आउने दिन कुरेर बसेको बताइन्छ ।
को–को छन् एमालेमा आउन तयार ?
आफ्नो पुरानो घर एमालेमा फर्कन पूर्व केन्द्रीय सदस्य तथा संघीय समाजवादी पार्टीमा गएर उपाध्यक्ष भएका वीरबहादुर लामा, रिजवान अन्सारी, गोपाल ठाकुर, धनकुटाका पूर्वमेयर वाङ्दी लामा, पूर्वराजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, दोलखाका पुराना कम्युनिस्ट नेता जितवीर लामा, नेकपा एकीकृतको केन्द्रीय सदस्य छाडेर एमाओवादीको सल्लाहकार हुन गएका हिमालधन राई, अखिल छैटौंका पूर्वअध्यक्ष प्रभुनारायण बस्नेत, विवेक वाइबा, झलनाथ खनालका पूर्व स्वकीय सचिव निर्मल भट्टराईलगायतका नेता तथा थुप्रै कार्यकर्ता इच्छुक रहेको बताइन्छ । ‘तर समस्या के भने उनीहरूलाई जिम्मेवारी दिने के ?’ एक फर्कन तयार भएर बसेका नेताले भने– ‘मन भएर के गर्नु ? मलाई भित्र्याऊ भन्न जाँदा आफैं अपमानित भएको महसुस हुन्छ, उनीहरू बोलाउन आउँदा आफ्नै भाग खोसिएला भन्ने चिन्ता छ ।’
वाङदी नमीठो मानेर धनकुटा फर्के
धनकुटा नगरपालिकाका पूर्वमेयर वाङदी लामा मूल घर एमालेमा फर्कने भन्दै मीठो आशा बोकेर राजधानीमा आएका थिए । विभाजनका बेला मालेतिर लागेका र केन्द्रीय सदस्य भएका उनी कार्यकर्ता स्तरमा अत्यन्त लोकप्रिय नेता हुन् । पछि एमाओवादीको बहकाउमा उता प्रवेश गरी शेर्पा मुक्ति मोर्चाको जिम्मेवारीसमेत सम्हाले पनि उनी अचेल त्यता निष्क्रिय छन् ।
वामदेव गौतमसँग एकताका अत्यन्त निकट लामा अहिले उनैले फोन नउठाएको र भेट्न समय नदिएको भन्दै निराश छन् । एमालेको एक वर्षअघि भएको महाधिवेशन अगाडि नै माओवादीबाट बिरक्तिएर एमाले आउन तयार भएका थिए उनी । महासचिव ईश्वर पोखरेलसँग पटक–पटक भेटघाट र छलफल पनि भयो । उनले प्रतिनिधिमा मनोनयन गर्ने र केन्द्रीय कमिटीमा उम्मेदवार बनाउने वचन पनि दिएका थिए । तर, जिल्लाकै केही व्यक्तिले यो योजना भताभुंग पारेको वाङ्दीको आरोप छ । ‘हामीलाई तत्काल कुनै ठूलो पद चाहिने पनि होइन, भूगोलमा जनाधार भएको मान्छे, काम गरेर देखाउन खोजेको मात्र हो, तैपनि नेताहरूले ध्यान दिएनन्’ वाङदी गुनासो गर्छन् । एमालेमा पार्टीले नै घर फर्केकाहरूलाई भित्र्याउन विशेष निर्णय गरेको थाहा पाएर एक महिनाअघि राजधानी आएका वाङ्दी एमालेमै फर्कन्छु भन्दा पनि नेताहरूले वास्ता नगरेपछि नमीठो मानेर धनकुटा नै फर्किएका छन् ।
विजय एक्लै आउँदा वीरबहादुर चिन्तित
एमालेमा रहँदासम्म केपी ओलीका प्रिय विजय सुब्बा महाधिवेशन सम्पन्न भएलगत्तै एमालेमा भित्रिए । पहिले पोलिटब्युरो सदस्य रहेका र संघीय समाजवादी पार्टीमा गएपछि उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनलाई केन्द्रीय सदस्यमा मनोनयनको सुनिश्चित गर्न ओलीसँग विशेष भेटवार्ता गराएपछि एमालेमा ल्याइएको थियो । तर, उनीजस्तै संघीय समाजवादी पार्टीमा रहे पनि अशोक राई र राजेन्द्र श्रेष्ठहरूसँग तीव्र असन्तुष्ट भएर पार्टी छोड्ने मनस्थितिमा पुगिसकेका वीरबहादुर लामा, रिजवान अन्सारी र गोपाल ठाकुरहरूसँग भने पार्टी नेताहरूले भेट्नै चाहेनन् । ‘नेताहरूले अलि बल गरेको भए यी तीन नेता पनि विजयसँगै एमालेमा आउँथे, तर नेताहरूलाई त्यसमा पनि निकट र विकट ठानेर गुट फुटका आधारमा हेरे,’ एमालेका एक केन्द्रीय सदस्य भन्छन ्‘अध्यक्षसँग नजिक हुनेलाई तत्काल ल्याइयो, आलोचना गर्नेहरूलाई वास्ता गरिएन ।’
त्यसो त संघीय समाजवादीका तत्कालीन उपाध्यक्ष वीरबहादुर लामाले पनि आफू सुटुक्क एक्लै घर फर्केकोमा उनीसँग गुनासो त गरे–गरे, सार्वजनिक असन्तुष्टि समेत व्यक्त गरेका थिए । लामाले भने– ‘उहाँलाई पार्टीभित्र पनि म सबैभन्दा नजिक ठान्थें, सबै कुरा खुलस्त हुन्थे, तर दुर्भाग्य उहाँको एक्लै सुटुक्क आफ्नो काम मात्र गर्ने बानी रहेछ ।’नेता लामालाई पार्टीभित्र पहिल्यैदेखि कुनै गुटमा नलाग्ने र सिंगो पार्टीको हित हेर्न र मनमा लागेको कुरा सीधा भन्ने नेताका रूपमा चिनिन्थ्यो । वरिष्ठ नेता माधव नेपाललाई उनी अलि बढी श्रद्धा गर्थे । त्यसो त पार्टी उपेन्द्र यादवसँग एकीकरण भएर आफूलाई केन्द्रीय सदस्यमा मात्र सीमित पारिएपछि त उनी झनै असन्तुष्ट बनेका छन् । १६ जना पदाधिकारी समावेश गर्दा तामाङ कोटाबाट कोही नपरेपछि समावेशीताको चर्का कुरा गर्ने पार्टीको पनि उस्तै हालत रहेछ भन्ने निष्कर्षमा पुगिसकेको उनी निकटहरू बताउँछन् ।
हिरण्यलाल बसे माधवको कमिटीमा
एमालेको केन्द्रीय कमिटीको वैकल्पिक सदस्य रहिसकेका परराष्ट्र मामलाका जानकार तथा ०४८ सालमा मकवाननपुर ३ बाट चुनाव जितेका हिरण्यलाल श्रेष्ठ अहिले एमालेप्रति नकारात्मक छैनन् । पार्टी विभाजनका बेला महाकाली सन्धिमा बहकिएर मालेलाई साथ दिएर केन्द्रीय सदस्य भएका उनी माओवादीको प्रभाव बढ्दै गएपछि माओवादीका केही कार्यक्रमहरूमा समेत देखा परे । तर, टिकै लाएर पार्टी प्रवेश भने गरेनन् । लामो समय यता न उता बनेर कतै सक्रिय नरहेका श्रेष्ठ राजाले सत्ता हातमा लिएपछि भने रुसी महासंघका लागि राजदूत बने । त्यसयता परराष्ट्र मामलामा अध्ययन अनुसन्धान तथा लेखपढमा मात्र व्यस्त उनी उमेरका कारण पनि सक्रिय राजनीतिमा लाग्न नसकिने तर उमेर तथा योग्यता अनुसारको भूमिका दिएर सल्लाह माग्न आए आफू एमालेलाई सहयोग गर्न तयार रहेको बताउँछन् । फेरि पार्टीले भित्र्याए आफ्नो विज्ञतालाई उपयोग गरेर फेरि कतैको राजदूत बनाउनसक्ने आशा एमालेसँग उनको बाँकी रहेको उनी निकटहरू बताउँछन् । त्यसैले त उनी पछिल्लो समय वरिष्ठ नेता माधव नेपालसँग नजिकिएका छन् । नेता नेपाल अध्यक्ष रहेको कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सम्झनामा गठन भएर एमालेकै नीति अनुसार सञ्चालित पुष्पलाल स्मृति प्रतिष्ठानमा उनी कार्यसमिति सदस्य बनेका छन् ।
आरके आफैं बिलखबन्दमा
हुन त पूर्व स्थायी समिति सदस्य आरके मैनालीलाई एमालेमा भित्रिएपछि एमाले फर्कन चाहनेहरूको संयोजन गर्ने नै जिम्मेवारी दिइएको थियो । तर, उनले समेत खासै पहल गरेका छैनन् । विजय सुब्बा, डा. डिल्लीराज खनाल, केशव स्थापित र अखिलका पूर्व उपाध्यक्ष नवराज पौडेललाई टीका लगाएर भित्र्याउने बाहेक एमालेमा आउन तम्तयार भएर बसेकाहरूसँग खासै समन्वय नगरेको उनीहरूको गुनासो छ । तर, स्वयम् मैनाली भने पार्टीले आफूलाई औपचारिक जिम्मेवारी नै अहिलेसम्म दिएको भनेर कुनै नेताले खबरै नगरेको र पत्रपत्रिका पढेर मात्र थाहा पाएको बताउँछन् । ‘नेताहरूले तपार्इंको टिम यो हो, यसरी काम गर्नुस् भनेर यत्रा महिनासम्म केही भनेनन् अनि मैले कसरी काम गर्नु ?’ उनको प्रतिप्रश्न छ । उनले भने, ‘आफैं बिलखबन्दमा परेको छु, केही गरौं भने टिम पनि दिएको छैन ।’
यसबीचमा बीचमा एकाध कार्यक्रममा अध्यक्ष ओलीलगायत केही नेतासँग भेट भए पनि त्यसयता कसैले केही खबर गरेका छैनन् । केन्द्रीय कार्यालय रुङ्ने चन्द्रदेव पासवानले एक २ पटक टेलिफोन गर्नेबाहेक मलाई कसैले वास्ता नै गरेका छैनन ।’ १२ वर्षमा खोलो फर्कियो भन्दै मूलघरमा उत्साहसाथ प्रवेश गरेका मैनालीले भने ‘मैले सोचेजस्तो पार्टी त १२ वर्षमा अर्कै भइसकेछ ।’
एक्लै आएको भन्दै आलोचना
हुन त शाहीकालमा मन्त्री भएर लामो समयसम्म निष्क्रिय बसी एमाओवादीको लहर बढेपछि मैनाली एमाओवादीमा प्रवेश गरेका हुन् । माओवादीमा रहँदा पनि भनेजस्तो जिम्मेवारी नदिएको र सल्लाहकारमा लगेर थन्क्याएको भन्दै आरकेले सार्वजनिक रूपमा असन्तुष्टि पोख्दै आएका थिए । एमालेमा प्रवेश गरे पनि उनले मागेजस्तो स्थायी समिति सदस्यकै पुरानो हैसियतमा जिम्मेवारी भने दिइएको छैन । रामचन्द्र झा, उर्मिला अर्याललगायत अन्य सबैलाई लिएर मूलघरमा आउनुपर्नेमा आफू एक्लै आएको भन्दै उनको आलोचना समेत हुने गरेको छ । तर ‘गर भने’ आफूले गरेर देखाइदिने उनी बताउँछन् ।
आएकाकै बिजोग
त्यसो त एमालेमा आएकाहरूले पनि योग्यता र क्षमता अनुसारको जिम्मेवारी पाइसकेका छैनन् । आरके मैनालीलाई योग्यता अनुसारको दिने अरू कुनै काम नै नभएर ‘राजनीतिक दलहरूसँग सम्पर्क र समन्वय’को जिम्मेवारी अन्तरपार्टी निर्देशन ३ मा तोकिएको छ भने विजय सुब्बालाई सामाजिक सेवा विभागको प्रमुख तथा मानव अधिकार तथा गैरसरकारी फाँटको इन्चार्ज बनाइएको छ । नेताहरूलाई काम दिनकै लागि विभिन्न नयाँ फाँट र विभागहरू बनाउन एमाले बाध्य छ । त्यतिमात्र होइन, विगतमा भेडो भइएछ भन्दै प्रायश्चित्त गर्ने डा. डिल्लीराज खनाल, चौथो पटक एमालेमा भित्रिएर अझै आकाश पातालको कुरा गर्न नछाड्ने केशव स्थापितलगायतले काम नै नपाएको भन्दै नेताको दैलोमा पुगेर गुनासो गर्न छोडेका छैनन् ।
हुन त एमालेको विधानमा पार्टीको संगठित सदस्य भएको व्यक्ति अनिवार्य रूपमा जिम्मेवारीमा संलग्न हुनुपर्छ भन्ने उल्लेख छ । तर, उचित जिम्मेवारी नपाँउदा एकताका चर्चामा रहेका थुप्रै नेताहरू अहिले गुमनाम छन् । त्यसरी गुमनाम हुनेमा सीपी मैनालीसँग छुट्टिएर माले समाजवादी खोलेका यदुवंश झा हुन् । पूर्व र पोलिटब्युरो सदस्य भइसकेका उनी एमालेमा त फर्किए तर उचित जिम्मेवारी नपाएपछि पार्टी काममा सक्रिय छैनन् । त्यस्तै फोरमबाट एमाले प्रवेश गरेका रत्नेश्वरलाल गोइत पनि अहिले चर्चामा छैनन् । माधव नेपालकै विशेष पहलमा घर फर्किएका उनी अघिल्लो केन्द्रीय कमिटीमा केन्द्रीय सदस्य मनोनीत भएका थिए तर त्यसयता उनको खासै चर्चा छैन ।
त्यतिमात्र होइन, पूर्व सहायकमन्त्री तथा सांसद एवम् विभाजनका बेला मालेतिर लागेर केन्द्रीय सदस्य भएका कालिकोटका यज्ञराज न्यौपानेको पनि अहिले एमालेमा चर्चा छैन । इलामका पूर्वसांसद पदम भण्डारी पनि पार्टीमा त फर्किए तर कुनै भूमिका नभएर झापामा गाई पालेर बसेका छन् । यसैगरी, सिन्धुलीका पूर्वसांसद मदन ढुंगेल पनि एमालेमा त फर्किए तर पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै बानेश्वर चोकतिर गुनासो गरिरहेका भेटिन्छन् । त्यतिमात्र होइन, जाजरकोटका राप्रपाका नेता पूर्वसांसद एवै पूर्वमन्त्री गोविन्दबहादुर शाह एमालेमा आए पनि उनले खोजेजस्तो जिम्मेवारी पार्टीले दिन नसकेपछि उनी पछिल्लो समय असन्तुष्ट भएको बताइन्छ । नेपाल मजदुर किसान पाटीको सांसद तथा केन्द्रीय सदस्य ह्ुँदा नै एमालेमा प्रवेश गरेका दैलेखका विनोदकुमार शाहले पनि खास कुनै जिम्मेवारी पाएका छैनन् । महाधिवेशनमा केपी ओली टिमबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका उनी पराजय भएपछि एक वर्ष उनी कुनै ठाउँमा संगठित छैनन् ।
माओवादीमा रहेकाहरूको हालत पनि उस्तै
एमालेलाई गर्नसम्म गाली गरेर ठूलो भाग खाने उद्देश्यले माओवादीमा गएकाहरूको असन्तुष्टिको कथा त्यहाँभित्र बेग्लै रहेको बताइन्छ । ‘एमालेमा आउने मौका पाइहालेमा यता चैते, एमाओवादीमा रहँदा त्यता चैते’ को आरोप खेप्नुपर्ने समस्याले उनीहरू प्रताडित छन् । खासगरी उनीहरू माओवादीमा पनि वर्षौंसम्म युद्ध लडेर आएकाहरूको हाराहारीमा न त योगदानले पुग्न सक्छन्, न त भूमिकाका आधारमा । अध्यक्ष पुष्पकमल दाहालको चाकडी र प्रशंसा गरेर वरिपरि झुम्मिनेहरू अहिले ‘वल्लो घाट न पल्लो तीर’को अवस्थामा छन् । रामचन्द्र झा अहिले एमाओवादीमा गुमनाम भएका छन् । जबकि उनी एमालेमा रहिरहेका भए अहिले मधेसको कोटाबाट पदाधिकारी भइसकेका हुन्थे ।
त्यस्तै, उमिला अर्याल पनि पछुतोमा छिन् । उनले निकटस्थहरूसँग अहिले पार्टी छोडिनहाले पनि ‘यहाँ बसेर भविष्य छैन, कता गएर के गर्ने हो’ भन्ने गरेकी छन् । त्यस्तै, उचित जिम्मेवारी नपाएको भन्दै पार्टी छोड्ने मनस्थितिमा धर्मदत्त देवकोटा र जेबी टुहुरो रहेपछि देवकोटालाई केन्द्रीय कमिटी र टुहुरेलाई सभासद् बनाएर थमथमाइएको एमाओवादी स्रोतले बतायो । झलनाथ खनालको पीए भएर राम्रै कमाइधमाइ गरेर माओवादी भएका निर्मल भट्टराई पनि बार्गेनिङका लागि मोर्चाबन्दीको प्रयासमा भेला गर्दै हिँडेका छन् ।
सम्बन्धित समाचार
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
-
नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
-
आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
-
मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
-
जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
-
प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
-
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
-
परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
-
संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
-
आज हरितालिका तीज
-
६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply