बुधबार छाड्दै गर्दाको क्षणमा
विष्णु रिजाल
१४ वर्षसम्म एउटै काम गर्दा त्यो काम नभएर विस्तारै जीवनशैली बन्दोरहेछ । मंगलबार आउन थाल्यो भने स्वतः सबै काम ओझेलमा परेर बुधबारमा केन्दित भइहाल्न मलाई कुनै योजना बनाउनुपरेन । २०५८ सालमा सम्वाददाताका रुपमा बुधबार साप्ताहिक प्रवेश गर्दादेखि आज यी पंक्ति लेखिरहँदासम्म मनमा बुधबारको जुन छाप बनेको छ, सम्भवतः आफ्नो जीवनबाट अलग गर्न सक्ने छैन ।
मैले धेरैलाई बुधबारबाटै चिनेँ, मलाई पनि धेरैले यसैबाट चिने । यसबीचमा इतिहासको सानो साक्षीका रुपमा धेरै कुरा देख्न र लेख्न पाइयो । सक्रिय राजतन्त्रका अत्यासलाग्दा दिनदेखि गणतन्त्रका संक्रमणकालीन आवाजहरुसम्म यसैमा बसेर सुन्न र सुनाउन पाउँदा मलाई ठूलो विश्वविद्यालमाया पढेझैँ अनुभव प्राप्त भएका छन् । भोलि जुनसुकै ठाउँमा पुग्दा पनि मेरा लागि आधार तिनै अनुभवहरु हुनेछन् ।
मुलुकको जीवनमा जस्तै बुधबारको जीवनमा पनि धेरै आरोहअवरोहहरु आए । अग्रजहरुले स्थापना गरेको पत्रिका त्यही मूल्यमा आधारित रहेर चलाउन सजिलो थिएन । समय बदलिएको थियो, प्रविधि परिवर्तन भइरहेको थियो, अपेक्षा बढिरहेका थिए । तर पनि, सक्दो रुपमा बुधबारलाई सक्रिय पार्न भूमिका खेल्न सकेकोमा गौरव महसुस भइरहेको छ ।
बुधबार साप्ताहिकमा १४ वर्ष काम गर्दाको समयलाई मैले तीन भागमा बाँडेको छु । पहिलो छ वर्ष म सम्वाददाता हुँदै सहसम्पादकका रुपमा क्रियाशील भएँ, दोस्रो चार वर्ष सम्पादकका रुपमा बल्खुभित्रैबाट पत्रिकाको नेतृत्व गरेँ भने पछिल्लो करिब चार वर्ष सम्पादक र प्रकाशक दुबै भएर चलाएँ । यी तीनै बेलाका अनुभवहरु आआफ्नो ठाउँमा समृद्ध छन् ।
यिनै अनुभवहरु बोकेर म आजदेखि बुधबार साप्ताहिकबाट विदा हुँदैछु ।
यति भन्न गाह्रो मान्नुपर्दैन, साप्ताहिक पत्रिकाको बजार घटेको छ, विकल्पहरु धेरै आएका कारण आकर्षण पनि घटेको छ । तर, हामीले पत्रिकालाई समयसापेक्ष बनाउन आफ्नै बेबसाइट बनाएका छौँ, फेसबुकमार्फत पाठकहरुसँग जोडिएका छौँ । बीचमा रंगीन भएर पनि पाठकसम्म पुग्यौँ । तर, बजार हावी भएको दुनियाँमा विचारको बहसले मात्रै उभिन गाह्रो पर्दोरहेछ । त्यसमा पनि हाम्रो जस्तो अनेक सीमाहरुले घेरिएको पत्रिकालाई अतिरिक्त नै गाह्रो पर्दोरहेछ ।
प्रायः पदमा बसेका मानिसहरु चाहन्छन, आफ्ना बारेमा राम्रा समाचारहरु मात्रै सार्वजनिक होऊन् । तर, समाचारको धर्मले राम्रालाई मात्रै बोक्न अनुमति दिँदैन । त्यसो हुने वित्तिकै विरोधीहरु स्वतः उत्पादन भइहाल्छन् । एक साता पत्रिका निस्किँदा खुसी कति हुन्छन, कसैले नभन्ने हुनााले थाहा हुँदैन, तर, पाँच सात जना विरोधी उत्पादन भएकै हुन्छन् । त्यो नियतिबाट पनि गुज्रिएको अनुभव छ ।
विद्यालयदेखि विश्वविद्यालयसम्म पढ्दा, देशविदेश घुम्दा, बहस र छलफलहरुमा भाग लिँदा धेरै विद्वान भेटिए, धेरै ज्ञान प्राप्त भयो, दुनियाँ जान्न मद्दत पुग्यो । तर, आज म दावीका साथ भन्छु, सबभन्दा ठूलो ज्ञानको भण्डार आफैँले निर्माण गरेका पदचिन्हहरु रहेछन् । ती जति पढ्यो, त्यति नयाँ लाग्छन्, अथाह ज्ञानका स्रोत रहेछन् । दैलेखबाट हिँड्दै काठमाडौँसम्म आएका र यतायता गर्दागर्दै निर्माण भएका तिनै पदचापहरु मेरा लागि आदर्श बनेका छन्, जुन निर्माण गर्नका लागि मैले यसबीचका कैयौँ रात दिन बुधबारसँग बिताएको छृु । माथि पनि उल्लेख गरेँ, सार्वजनिक रुपमा जे जति ससाना परिचय बनाएँ, त्यसका पछाडि बुधबारको मुख्य भूमिका छ ।
मैले कुनै ठूलो काम गरेँ भन्ने दावी छैन । साप्ताहिक पत्रिका अरु पनि निक्लिएका छन्, बुधबारभन्दा पुराना पनि छन्, नयाँ पनि छन् । तर, मैले जुन उमेर र परिस्थितिमा नेतृत्व लिएको थिएँ, त्यसलाई फर्केर हेर्दा राम्रै काम गरेछु भन्ने दावी छ ।
अग्रजहरुको माया र सद्भाव नभएको भए म बुधबारसँग यति लामो समयसम्म जोडिरहन सक्ने थिइनँ । २०६७ सालमा प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट फर्केपछि मेरासामु रहेका सीमित विकल्पमध्ये बुधबारको प्रकाशकसहित त्यसलाई बल्खुबाट बाहिर निकालेर स्वतन्त्र रुपमा चलाउनु नै एउटा थियो । त्यसका लागि प्रतिकूलता कम थिएनन । जकडिएको मानसिकता, पार्टीभित्रको तानातान जस्ता कुराले प्रत्यक्ष असर गरेका थिए । तर पनि, यसको स्वामित्व रहिआएका अबिर प्रकाशनका अध्यक्ष रघु पन्त र सदस्यद्वय कुन्दन अर्याल र भीमसेन राजबाहकले उदारतापूर्वक गरेको सहयोगका कारण नै मैले आफ्नो योजना कार्यान्वयन गर्न सम्भव भएको हो । उहाँहरुले अत्यन्त सहजताका साथ स्वामित्व हस्तान्तरण गरेका कारण मैले प्रकाशकका रुपमा पत्रिका प्राप्त गरेको हुँ ।
बुधबार साप्ताहिकमा मेरो प्रवेश र सम्पादकका रुपमा जिम्मेवारी निर्वाह गर्नेसम्मको कामका लागि तत्कालीन सम्पादक सूर्य थापाको महत्वपूर्ण भूमिका छ । काठमाडौं आउनपूर्वदेखिको उहाँसँगको सम्पर्कले मलाई बुधबार साप्ताहिकसम्म मात्र पुर्याएन, त्यहाँ उहाँबाट धेरै कुरा सिक्न र आफूलाई परिमार्जन गर्नमा ठूलो भूमिका निर्वाह गर्यो । त्यही भूमिकाका कारण पछि उहाँ प्रचार विभाग सचिव हुँदा मलाई सम्पादकका रुपमा जिम्मेवारी सम्हाल्न सहज बनायो ।
सहकर्मी विवश वस्ती, उज्जल पहाडी, खड्ग बस्नेत, शन्तराम विडारी, सनत सापकोटा, लोकेन्द केसी, भद्र शर्मा, रत्न सुवेदी, अभिशेक लुइँटेल आदिको सहयोग मेरा लागि स्मरणीय छ । पछिल्लो अवधिमा सँगै नरहे पनि बल्खुमा हुँदासम्म सहकर्मीहरु नारायाण अर्याल, विष्णुहरि अधिकारी र सुरज रानाका कारण मैले व्यवस्थापनतर्फ खासै चासै लिनु परेन ।
माथि नै उल्लेख गरेको छु, साप्ताहिक पत्रिका चलाउन सहज छैन । यस काममा मलाई प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने पंक्ति ठूलो छ ।
उहाँहरु सबैलाई हृदयदेखि नै धन्यवाद दिँदै आभार प्रकट गर्दछु ।
यसै अंकदेखि बुधबार साप्ताहिकको सम्पादक र प्रकाशक दुबैको जिम्मेवारी उज्जल पहाडीले सम्हाल्दै हुनुहुन्छ । सँगै आठ वर्ष काम गरेका आधारमा मेरो विश्वास छ, उहाँ यो जिम्मेवारी बहन गर्न सक्षम हुनुहुनेछ । कार्यकारी सम्पादकका रुपमा काम गर्दा पत्रिकामा आइपर्ने जिम्मेवारीका बारेमा उहाँ पूर्ण जानकार हुनुहुन्छ । सक्रिय भूमिका नरहे पनि उहाँलाई मेरो सधैँ साथ र सहयोग रहिरहनेछ ।
कुनै न कुनै रुपमा आदरणीय पाठकहरुसँग भेट भइरहनेछ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply