कारभित्र कार्यकारी निर्देशकको कार्यालय
काठमाडौं । अचेल तपाई स्वास्थ्य मन्त्रालय परिसरभित्र जानुभयो भने त्यहाँ दिउँसो हरेक दिन बा१झ ९९४९ नम्बरको रातो बलेरो रोकिएको देखिन्छ । उक्त कार अरू प्रयोजनका लागि नभएर स्वास्थ्य मन्त्रालयअन्तर्गतको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक डा. यज्ञबहादुर भण्डारीको कार्यालयीय प्रयोजनका लागि रोकिएको हुन्छ । सुन्दा पनि अचम्म लाग्छ, तर कुरा यही सत्य हो कि भण्डारी काम परेका बेला १० बजे नै उक्त कार लिएर मन्त्रालय परिसर पुग्छन्, कोही मान्छे भेट्नु छ भने त्यही बोलाएर कारभित्रै भेट्छन्, चेकलगायतका अन्य कागजातमा सही गर्नु छ भने त्यहीँ बसेर दस्तखत गर्छन् र आफ्नो काममा हिँड्छन् ।
गाडीभित्र कार्यालय सञ्चालन गरिरहेका ती हाकिमको वास्तविक कार्यालय भने त्यहाँ होइन । केन्द्रको प्रधान कार्यालय शुक्ला गण्डकी नगरपालिका, दुलेगौंडा तनहुँमा छ भने केन्द्रले अहिले सेतीगंगा सामुदायिक अस्पताल पनि सञ्चालन गरिरहेको छ । तनहुँमा गएर कर्मचारीको व्यवस्थापन र परिचालन गर्नुपर्ने जिम्मेवारी लिएका कार्यकारी निर्देशक भण्डारी भने तलबभत्ता पनि मन्त्रालयकै गाडीभित्र कागजपत्र मिलाएर खाने अनि कार्यक्षेत्रमा कहिल्यै नजाने गरिरहेका छन् । बरु उनको ध्यान भने राजधानीमै बस्ने र विभिन्न निजी क्लिनिक र अस्पतालहरूमा नेमप्लेट राखेरै बिरामी जाँच्नेमै बित्ने गरेको छ ।
दुलेगौंडा जान्दैन कार्यकारी निर्देशक
तनहुँवासीका अनुसार कार्यकारी निर्देशक भण्डारी आर्थिक कारोबार मिलाउनुपरेको खण्डमा कहिलेकाहीँ मात्र तनहुँ जाने गरेका छन् । अन्यथा, उनी गाडीमै काम गरेको देखाएर तलब बुझ्ने गर्छन् । पछिल्लो समय कार्यकारी निर्देशकले हदै गरेको ठहर गर्दै बहुमत सञ्चालक सदस्यहरूले उनका विरुद्धमा लिखित उजुरी मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा दिएका छन् । विगतमा काठमाडौंको अनामनगरस्थित वैद्यखाना रोडमा केन्द्रको सम्पर्क कार्यालय सञ्चालनमा रहे पनि गत जेठयता उक्त कार्यालय बन्द गरिएको छ । बोर्ड बैठकले राजधानीमा खासै काम नहुने भन्दै उक्त सम्पर्क कार्यालय बन्द गर्ने र तनहुँमै व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, भण्डारी भने मन्त्रालयका विभिन्न व्यक्तिहरू काठमाडौंमा भेट्ने, चाकडी बजाउने र गलत रिपोर्टिङ गरेर जागिर मात्र बचाउने ध्यानमा गत ६ महिनायता क्रियाशील छन् ।
गैरकानुनी सुविधा लिएको दाबी
राजनीतिक नियुक्ति लिएका एक विशिष्ट श्रेणीका कर्मचारी भएकाले उनको सरकारी स्केलको तलब मासिक ४० हजार रुपैयाँ मात्र हो । त्यसबाहेक कामका आधारमा बढीमा तलबको ५० प्रतिशत भत्ता लिन पाइन्छ । तर, शून्य काम नभएका बेला अचेल उक्त भत्ता खानेसमेत अधिकार डा. भण्डारीलाई नभएको बताइन्छ । तर, डा. भण्डारीले भने तलब, भत्ता, काम नगरे पनि नक्कली कागजात बनाएर टीएडीए, १ सय लिटर तेलबापत नगदै रकमलगायत गरी हरेक महिना करिब १ लाखभन्दा बढी रकम बुझिरहेका छन् । कार्यालय प्रयोजनको कुनै काम नगरी हरेक दिन क्लिनिकमा बिरामी जाँच्न जाँदा पनि उनले कार्यालयकै उही रातो गाडी र तेल प्रयोग गरिरहेका छन् । उक्त गैरकानुनी सुविधा रोक्न बोर्डका सदस्यहरूले केन्द्रका अध्यक्ष डा. किरण रेग्मीसँग लिखित अनुरोध गर्दा पनि उनी भने डा. भण्डारीको संरक्षणमा लाग्नुलाई रहस्यमय रूपमा हेर्न थालिएको मन्त्रालयका कर्मचारीहरूले बताएका छन् ।
अनाहकमा मासिक ७५ हजार घरभाडा
बोर्ड बैठकले गत जेठबाटै काठमाडौंमा रहेको सम्पर्क कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । खर्च अत्यधिक भएको भन्दै घर भाडाबापत मासिक ७५ हजार रकम लागेकोमा उक्त कार्यालय हटाउने र केन्द्रका महŒवपूर्ण कागजातहरू मन्त्रालयमै कुनै एउटा दराजमा राख्ने योजना बनाइएको थियो । बरु, तनहुँमै छुट्टै कार्यालय स्थापना गर्ने भन्दै टेन्डरसमेत आह्वान गरेर कार्यालय स्थापना गरिसकेको थियो । तर, बोर्डको उक्त निर्णयविपरीत अनामनगरको उक्त पुरानै घरमा कार्यकारी निर्देशक भण्डारी करारका खरदार ईश्वरदेव अधिकारीले संयुक्त रूपमा ताल्चा ठोकेर राखेका छन् । सात महिनासम्म त्यसरी घर ओगटेर राख्दा केन्द्रको सम्पर्क कार्यालयको भाडा मात्र पनि लाखौं भइसकेको छ ।
कर्मचारीले पाँच महिनाको तलब पाएनन्
मन्त्रिपरिषद् बैठकले ०७३ साउनबाट सेतीगंगा सामुदायिक अस्पताल र केन्द्र मर्ज गरेर अस्पतालको सेवा सुचारु गर्ने निर्णय गरेको थियो । ७ सय रोपनी जग्गा, सुविधासम्पन्न अस्पताल र सबै पूर्वाधार पूरा भइसक्दा पनि डा. भण्डारीकै असक्षमताका कारण त्यो निर्णय तीन महिनासम्म कार्यान्वयन भएन । साउनयता बल्ल–बल्ल अस्पतालको सेवा सुरु त भयो, तर कार्यरत २८ कर्मचारीले पाँच महिनाको तलब पाएका छैनन् । तलब खुवाउन र त्यहाँको विवाद समाधान गर्न नसकेका कारण डा. भण्डारीको तनहुँतिर तीव्र आलोचना हुने गरेको छ । बोर्डको पदेन सदस्य रहेका तनहुँका प्रमुख जिल्ला अधिकारी दीपक सुवेदीले कार्यकारी निर्देशकको लापरबाहीविरुद्ध अब पाइले चाले बताएपछि आक्रोशित जनता अलि शान्त भएको बताइन्छ ।
आर्थिक सुशासन गर्न नसकिएको लेखापालको ठहर
त्यसो त गत जेठमा नै आफूलाई अनावश्यक आर्थिक विवादमा पार्ने प्रयत्न भएको र नियमले नमिल्ने काम गर्न कार्यकारी निर्देशक भण्डारीले नाजायज दबाब दिने गरेको भन्दै केन्द्रका लेखापालले आफूले उक्त केन्द्रको लेखा हेर्न नसक्ने भन्दै तत्कालीन स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठसमक्ष लिखित उजुरी दिएका थिए । सचिवले अध्यक्ष डा. रेग्मीसमक्ष बोलाएर कुरा गरेपछि अध्यक्ष रेग्मीकै आग्रहमा लेखापालले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि भन्दै लेखा सम्हालेका थिए । तर, अहिले केन्द्रमा कार्यकारी निर्देशक भण्डारीको दबाबले गर्दा कुनै स्थायी कर्मचारीहरू पनि काम गर्न जान नखोज्ने अवस्था उत्पन्न भएको छ ।
केन्द्रको नाम, निजी काम
केन्द्रको सुविधा र गाडी प्रयोग गर्ने डा. भण्डारी हरेक दिन केन्द्रकै सरकारी गाडी लिएर विभिन्न क्लिनिकमा बिरामी जाँच्न धाउने गरेको बताइन्छ । वीर अस्पतालका नाक, कान र घाँटीका पुराना डाक्टर भण्डारीले केन्द्रको पैसाबाट तेल हालेर उक्त गाडी प्रयोग गर्दै सातवटा क्लिनिकमा बिरामी जाँच्ने गरेपछि उक्त विषय आम कर्मचारीबीच आलोच्य बनेको छ । डा. भण्डारीले बानेश्वरस्थित कान्तिपुर अस्पताल, सातदोबाटेस्थित लाँलीगुराँस अस्पताल तथा लगनखेल, कुपण्डोल, सूर्यविनायकलगायतका क्लिनिकमा बिरामी जाँच्दै आएका छन् । सरकारी साधन लगातार दुरुपयोग गरेर निजी काममा लगाउने गरेका सम्बन्धमा आफूहरूमा उजुरी परेको र कुनै पनि बेला कारबाही हुन सक्ने भन्दै विप्लव माओवादीका कार्यकर्ताहरूले सूचना दिइसकेकाले उनी अचेल त्रसित भएर हिँड्न थालेका छन् । त्यसो त उनको आफ्नै निजी कार भए पनि हरेक कामका लागि सरकारी गाडी नै प्रयोग गर्दै आइरहेका छन् । यता, डाक्टर भण्डारीले पनि उक्त कुरा स्विकार्दै कार्यालयको काम सकेर क्लिनिक जाँदा अर्को गाडी बदल्नलाई घर पुग्न असम्भव हुने दाबी गरे । लामो समयपछि तनहुँ पुगेका उनले हिजो बुधबारको टेलिफोन सम्पर्कमा भने– ‘समस्या नभएको होइन, छ, म त्यही मिलाउँदै छु, अहिले नलेखिदिनुहोला, आएर बसेर गफ गरौंला ।’
गगन नाम बदनाम
अहिले चर्चित नेता गगन थापाले स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । उनले अनधिकृत क्लिनिकहरूमा छापा मार्न लगाउने, बन्द गराउने तथा अन्य केही लोकप्रिय काम गरेका भए पनि आफ्नै पूर्वसभापतिको नाममा स्थापित संस्थालाई सुधार गर्न सकेका छैनन् । सुरुवातदेखि नै लथालिंग रहेको केन्द्र सुधारको सट्टा एकोहोरो भण्डारीको मात्र ब्रिफिङ सुनेर केन्द्रको सुधारमा ध्यान नदिएको अन्य बोर्ड सदस्यहरूको आरोप छ । आफू पनि कांग्रेसनिकट भएकाले गगन भइन्जेल कसैले केही गर्न नसक्ने भन्दै डा. भण्डारी स–साना कुरासमेत लिएर हप्तामा एकपटक मन्त्री भेट्न पुग्ने गरेको बताइन्छ । डा. भण्डारीकै कारण गगनको नाम पनि दुरुपयोग भएको आरोप छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply