मेची–महाकाली अभियानको तयारी तीव्र
काठमाडौं । नेकपा (एमाले) ले आगामी २१ फागुनबाट सुरु हुने तराईकेन्द्रित मेची–महाकाली अभियानको तयारी तीव्र बनाएको छ । तराईका जिल्ला समेटिएका सबै प्रदेश र जिल्ला कमिटीहरूको बैठकमार्फत एमालेले अभियानको तयारी तीव्र बनाएको हो । अभियानमै केन्द्रित रहेर छलफल गर्न एमालेले आजबाट पोलिटब्युरोको बैठकसमेत बोलाएको छ ।
मधेसकेन्द्रित दलले संविधान संशोधनमा अबरोध गरेर तराई–मधेसविरोधी चरित्र देखाएको आरोप एमालेमाथि लगाइरहेका बेला तराईकै ६ वटा मातृभाषामा अपिललगायतका प्रचार सामग्री लिएर अभियान सञ्चालन गर्ने एमालेको योजना छ । ५ चैतसम्म १५ दिन चल्ने सो अभियानमा झापादेखि कञ्चनपुर हुँदै सुर्खेतसम्मका २० जिल्लामा ३३ वटा ठूला प्रकृतिका आमसभा सम्पन्न हुनेछन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै शीर्ष नेताहरू, तराई–मधेसका सबै मधेसी समुदायका नेता तथा सांसद र भ्रातृ संगठनहरू अभियानमा परिचालित हुनेछन् । उनीहरूसहित एमाले कार्यकर्ताले नेपाली, मैथिली, अवधि, थारू, भोजपुरी र डोट्याल भाषामा अपिल बाँडेर आमसभाका लागि व्यापक प्रचार गर्नेछन् । गत १ मंसिरदेखि चारमहिने राष्ट्रिय जागरण अभियान चलाइरहेको एमालेले तराईकेन्द्रित अभियानलाई त्यसैको उत्कर्ष रूप हुने जनाएको छ । अभियानमा कम्तीमा पनि १५ लाख जनताले प्रत्यक्ष सहभागिता जनाउने एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए ।
काँकडभिट्टामा अध्यक्ष ओलीले अभियानको उद्घाटन गरेकै दिन एमालेले झापाको बिर्तामोड र दमकमा जनसभा गर्नेछ । त्यसपछि क्रमशः विराटचोक, इटहरी, इनरुवा, राजविराज, कञ्चनपुर, गोलबजार, जनकपुर र बर्दिबासमा जनसभाका कार्यक्रम हुनेछ । त्यस्तै, हरिपुर, गरुडा, चन्द्रनिगाहपुर, जितपुर, हेटौंडा, भण्डारा, भरतपुर, कावासोती, भूमही, भैरहवा र बुटवलमा आमसभा हुने जनाइएको छ । त्यस्तै, चन्द्रौटा, लमही, घोराही, नेपालगन्ज, गुलरिया, राजापुर, टीकापुर, लम्की, धनगढी, महेन्द्रनगरसम्म जनसभा सकिएपछि सुर्खेतमा क्षेत्रीय स्तरको ठूलो आमसभा हुने एमालेले जनाएको छ ।
तराईमै होली र सम्मानका कार्यक्रम
एमालेले अभियानको सिलसिलामा सयौं ज्येष्ठ नागरिक, सामाजिक रूपमा योगदान पु¥याएका समाजसेवी, तराई र पहाडबीचको एकता र सामाजिक सद्भावका पक्षमा योगदान गर्ने अभियन्ताहरूलाई सम्मान र तराईमा बोलिने भाषा र वेशभूषा झल्काउने संस्कृतिमा सांस्कृतिक कार्यक्रम पनि राखेको छ । त्यस्तै, अभियानका क्रममा पर्ने राष्ट्रिय पर्व होली, नारी दिवसलगायतका सबै कार्यक्रम तराई अभियानमै मनाइने पनि एमालेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply