प्रधानमन्त्री दाहाल रबर छाप मात्र हुन् त ?
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई आजभोलि उनकै पार्टीका पदाधिकारी तहका नेताले पनि अप्रत्यक्ष रूपमा ‘रबरछाप कमरेड’ भनेर सम्बोधन गर्ने गरेका छन् । कारण हो, प्रधानमन्त्री भएर पनि हरेक निर्णयमा सत्ता साझेदार दल नेपाली कांग्रेसको गोटी बन्नु ।
प्रधानमन्त्री दाहालले पछिल्ला हरेक निर्णयमा प्रकट गरेका निरीहताले पनि उनलाइ कांग्रेसको खेलौना पात्रका रूपमा चित्रण गर्नेहरूलाई बल पुग्छ । धेरै पर गइरहनुपर्दैन, गत सोमबार सप्तरीको राजविराजमा भएको गोलीकाण्डमा पनि प्रधानमन्त्रीले आफ्नो निरीहता प्रकट गरेका छन्. । उनले भनेका छन्, ‘मैले सुरक्षा निकायका प्रमुखहरूलाई समेत गोली नचलाउनू भनेको अवस्थामा कसको आदेशले गोली चलाइयो ?’ प्रधानमन्त्रीको यो अनभिज्ञताको सोझो अर्थ हुन्छ, कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिको आदेशमा प्रहरीले त्यहाँ गोली चलाएको थियो । जबकि, प्रधानमन्त्री दाहालले गृहमन्त्रीलाई समेत गोली चलाउन आदेश नदिन सम्झाएको बताएका छन् । यो घटनाले प्रधानमन्त्री दाहालको भन्दा गृहमन्त्री निधिको आदेश बढी चल्दो रहेछ भन्ने पुष्टि भएको छ ।
प्रधानमन्त्री दाहाल रबरछाप मात्र हुन भन्ने अर्को उदाहरण केही हप्ताअघि सरकारले प्रहरी महानिरीक्षकको नियुक्ति प्रकरणमा पछि देखियो । अन्तिमसम्म पनि रोलक्रममा पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाललाई आईजी बनाउने प्रधानमन्त्री दाहालको अडान पूरा हुन सकेन । कांग्रेस सभापति शेरबहादुर देउवाका अघिल्तिर उनी गसल छाडे र नचाहँदा नचाहँदै पनि रणबहादुर चन्दलाई आईजी बनाए । जसका कारण तीन हप्ता बित्दासम्म मुलुकले प्रहरी प्रमुख पाउन सकेको छैन । प्रहरीका चिकित्सकका भरमा प्रहरी प्रशासन चलेको छ ।
त्यति मात्र होइन, विवादित व्यक्तिलाई राजदूतमा सिफारिस गर्दा पनि उनी कांग्रेसको रबरछापका रूपमा प्रयोग भएको टिप्पणी माओवादी वृत्तमा हुने गरेको छ । ‘सरकारकै बदनाम हुने गरी लज्जास्पद ढंगले विवादित व्यक्तिलाई सिफारिस गर्नुपर्ने कारण के थियो ?’ यो प्रश्न माओवादीका शीर्षस्थ नेताले प्रधानमन्त्रीलाई पटकपटक गरिसकेको माओवादी स्रोतले बतायो । तर, उनले सत्ता जोगाउन भन्नेबाहेक अर्को चित्तबुझ्दो जवाफ आजसम्म नदिएको बताइन्छ । भूकम्प पुनर्निर्माण प्राधिकरणमा सीईओ नियुक्त गर्दा पनि प्रधानमन्त्री दाहाल रबरछापका रूपमा प्रयोग भएको चर्चा पनि अझै सेलाएको छैन । कांग्रेसको महासमिति सदस्यसमेत रहेका डा. गोविन्द पोखरेललाई प्राधिकरणको सीईओ बनाउन दाहाल प्रयोग भएको विश्लेषण माओवादी वृत्तमा गरिएको छ ।
एक्लिँदै दाहाल
सत्ता जोगाउनकै लागि प्रधानमन्त्री दाहाल कांग्रेसको रबरछापका रूपमा प्रयोग भएको निष्कर्षसहित माओवादीका शीर्ष नेताहरू अहिले दाहालसँग टाढिएको माओवादी स्रोतले बतायो । सरकारले गरेका कुनै पनि निर्णयको बचाउमा पार्टीका कोही नेता अग्रसर नहुनुले पनि पार्टीभित्रको असन्तुष्टिलाई प्रस्ट पार्छ । विवादित बनेका पछिल्ला निर्णयहरू चाहे त्यो प्रहरी महानिरीक्षक प्रकरणमा होस्, चाहे राजदूत नियुक्ति वा सप्तरी घटनामा नै किन नहोस्, माओवादीका कुनै पनि नेताले प्रधानमन्त्री दाहाल र सरकारको बचाउ गरेका छैनन् । प्रधानमन्त्री दाहाल पार्टीको निर्देशनभन्दा पनि कांग्रेस र आफ्नो पार्टीभित्र वर्षमान पुनको मात्र सल्लाहमा चल्ने गरेको भन्दै रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझीलगायतका नेता असन्तुष्ट बनेको स्रोतले बतायो ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply