३० हजार मतान्तरको दम्भले हरायो वामदेवलाई
सनत सापकोटा
देशव्यापी रूपमा वामपन्थीहरूको लहर चलिरहेका बेला वामपन्थी गठबन्धनका सूत्रधार मानिएका नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले चुनावमा पराजयको नराम्रो स्वाद चाख्नुप¥यो । कुनै पनि साँचो वामपन्थीका लागि यो पक्कै खुसीको कुरा हुन सक्दैन । अझ वामदेवका मतदाता रहेका बर्दियाली एमाले कार्यकर्ताहरूका लागि त यो पीडादायक अवस्था नै हो ।
चुनावी परिणामपछि पराजयबारे पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा विभिन्न कोणबाट चर्चा–परिचर्चा सुरु भएको छ । घातअन्तर्घातका कुराहरू आएका छन् । एकपक्षीय ढंगले विभिन्न स्थानीय वा केन्द्रीय नेताहरूलाई यसमा दोषारोपण गर्ने काम हुँदै आएको छ । यसमा केही सत्यता हुन सक्ला तर चुनावी परिणामका प्रमुख कारण यी मात्र अवश्य होइनन् । यदि हुने नै हो भने सबै कोणबाट यसको छानबिन, बहस र समीक्षा हुनु जरुरी छ ।
बर्दियाको चुनावमा यस्तो परिणाम आउला भन्ने अनुमान स्वयं चुनाव जितेका कांग्रेसका सञ्जय गौतमलाई पनि सायद थिएन होला । एक्लो एमालेको बाहुल्य रहेको बर्दिया–१ मा चुनावी तालमेलपछि वामपन्थीहरूको दुई तिहाइ मतको अपेक्षा हुनु स्वाभाविक थियो । तर दुर्भाग्य ! बर्दिया–१ मा भयो उल्टो । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको बर्दियामा सबै क्षेत्रमा वामपन्थीले झन्डा गाड्न सफल भए पनि वामदेव भने पराजयको सिकार हुनुप¥यो ।
यो हारलाई सामान्य अर्थमा लिनु महाभूल हुनेछ । अरूलाई दोषारोपण गर्नुभन्दा यो हारको प्रमुख जिम्मेवारी स्वयं वामदेवले नै लिनुपर्छ । वामदेवलाई हराउने हिम्मत स्वयं वामदेवबाहेक अरूमा थिएन । उहाँबाट भएका एकपछि अर्को कमजोरीको एकमुष्ट परिणाम हो यो । यसो भन्दा वामदेव गौतम रिसाउनुपर्ने वा पूर्वाग्रह पाल्नुपर्ने जरुरी छैन । उहाँ यदि साँच्चिकै जनताको नेता हो भने उहाँले आफूमाथि भएका आलोचनाहरूलाई सुन्न र आवश्यक भए सच्चिन हिम्मत गर्नुपर्छ । दास मनोवृत्तिभन्दा सही अर्थका आलोचकहरू नै व्यक्तिको सफलताका कारक हुन्छन् ।
चुनावी सन्दर्भमा गौतमले पहिलो गल्ती गर्नुभएको थियो, बर्दियाका लोकप्रिय स्थानीय नेता खड्गबहादुर खड्कालाई प्रदेशमा टिकट नदिलाएर । उहाँले चाहेको भए खड्काले टिकट पाउँथे र यो अवस्था आउने नै थिएन । बर्दियालीको चाहनविपरीत २०७० सालमा निर्मल सुवेदीलाई समानुपातिकमा सभासद् बनाउन गोकर्ण रिसोर्टमा गौतमले लिएको अडान सायद एमाले नेता–कार्यकर्ताले भुलेका छैनन् । निर्मल बर्दियामा त्यस्ता अलोकप्रिय व्यक्ति हुन्, जसलाई वडामा उठाए पनि उनको हार निश्चित छ । तर, बर्दिया साबिक क्षेत्र नम्बर १ का अधिकांश जनता कार्यकर्ताले सिफारिस गर्दागर्दै पनि खड्कालाई प्रदेशमा टिकट दिइएन, बरु चुनावै लड्न नचाहेका कविराम थारूलाई जबर्जस्ती टिकट भिडाइयो । उनकै चाहनाअनुसार उनी समानुपातिकको लिस्टमा समावेश गरिएका थिए । तर, उनलाई प्रत्यक्षमा ल्याइयो । यसमा क–कसको के–के स्वार्थ थियो समयले बताउला ।
सुरुमा खड्काले बाँसगढी नगरपालिकाको मेयरमा इच्छा देखाएका थिए । तर, बर्दिया पार्टी सचिव सालिकराम अधिकारीले मेयरमा दाबी नछाडेपछि खड्कालाई प्रदेश टिकटको आश्वासन दिएर स्वयं गौतमले नै थुमथुम्याउनुभएको थियो । चतुर सालिकरामले आगामी चुनावमा प्रतिनिधिसभाका लागि आफूले टिकट नपाउने सम्भावना देखेपछि अनिश्चित भविष्य कुर्नुभन्दा अगाडिको भाग छोड्न चाहेनन् र मेयरमा आफ्नै दाबी प्रस्तुत गरे । उनले टिकट पनि पाए । उनलाई जिताउन खड्का पनि कम्मर कसेर लागे र सालिकरामले जिते पनि । तर, जब प्रदेशको कुरा आयो, सालिकराम नै खड्कालाई टिकट नदिलाउने अभियानमा कम्मर कसेर लागे । फलतः खड्काले टिकट त पाएनन् नै वामदेव कमरेडले उनलाई बोलाएर सम्झाउने बुझाउने र झूटै सही आश्वासन दिन पनि आवश्यक ठान्नुभएन । यसमा निरन्तर आफ्नो असन्तुष्टि व्यक्त गर्दै प्रदेशमा बागी उम्मेदवारी दिएका खड्कालाई वामदेव कमरेडले यसरी बेवास्ता गर्नुभयो कि भेट्नसम्म अस्वीकार गर्नुभयो ।
स्थानीय चुनावको आँकडाअनुसार क्षेत्र नम्बर १ मा माओवादी र एमालेको मत मिलाउँदा कांग्रेसभन्दा करिब ३० हजारको मतान्तर थियो । यो मतान्तरले वामदेव कमरेडलाई यसरी ढुक्क बनायो कि दुईचार कार्यकर्ता असन्तुष्ट भएर आफूलाई केही फरक नपर्ने सायद उहाँको विश्लेषण भयो । जनतामा मत माग्न जानु र मिहिन ढंगले प्रचारप्रसारमा लाग्नुको आवश्यकता पनि उहाँको प्रचार टिम र स्वयं वामदेवले महसुस गरेनन् ।
चुनावमा वामदेव कमरेडसँग त्यस्ता व्यक्तिहरूको झुन्ड रह्यो, जो बर्दियाली जनताबीच अत्यन्तै अलोकप्रिय छन् । उनीहरूले वामदेव कमरेडलाई यसरी घेरे कि त्यो घेराबाट मुक्त भएर वामदेवले वास्तविकताको अवलोकन नै गर्न पाउनुभएन । गाडी चढेर धुलो उडाउँदै जनताको घरआँगन प्रदूषित पार्ने तर जनताको दैलोभित्र पसेर एक भोट पनि नमाग्ने प्रचार शैलीलाई जनताले मन पराएनन् । वामदेव कमरेडलाई सायद यी कुराको हेक्का नै भएन । वामदेवका नजिक भएका कार्यकर्ताले उहाँलाई सधैं ३० हजार मतान्तरको दम्भ फ्याँकिरहे र वामदेव कमरेड यसैमा मक्ख हुनुभयो ।
समाजमै छवि धुमिलिएका हरि पराजुली, डीबी कार्कीजस्ता व्यक्तिहरू चुनावभरि वामदेवको साथबाट छुटेनन् । कमसे कम चुनावको बेला वामदेव कमरेडसँग चुनावी क्षेत्रका जनता र कार्यकर्ता हुनुपथ्र्यो तर एमालेका वास्तविक र सच्चा कार्यकर्ता किनारामा बसेर हेरिरहे, वामदेव कमरेडलाई भने लोभीपापीहरूले घेरिरहे । चुनावमा एमालेका असन्तुष्ट दुईचार कार्यकर्ताले वामदेव कमरेडलाई भोट हाले कि हालेनन् त्यो गौण कुरा हो तर एमालेप्रति शुभेच्छा राख्ने आमजनता र मतदाताले भोट हाले कि हालेनन् भन्ने प्रश्न प्रमुख हो । किनकि, उनीहरूसम्म भोट माग्न जाने कष्ट नै वामदेव कमरेडका चुनाव प्रचार टोलीका सदस्यहरूले गरेनन् । आफ्नै पक्षका एकपछि अर्को गर्दै मत कांग्रेसले तान्दा पनि वामदेव कमरेडका प्रचार सदस्य सालिकराम अधिकारीले देखेको नदेख्यै गरे । यसबाट पनि अधिकारी स्वयं वामदेव कमरेडलाई हराउने अभियानमा त थिएनन् भन्ने आशंकालाई बल पुगेको छ । अहिले सालिकरामप्रतिको यो आशंका पनि बर्दियामा व्याप्त छ ।
अर्कोतिर बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, शारदा सुवेदी, हरि पराजुली, डीबी कार्कीलगायत जोसँग वामदेव कमरेडका लागि एक मतको अधिकार थिएन, उनीहरू नै अधिकार जमाएर वामदेव कमरेडको कोटरीमा राइँदाइँ गरिरहे । उनीहरूलाई ‘यतिबेला मलाईं तपाईंहरूको भन्दा बढी बर्दिया जनता र कार्यकर्ताको आवश्यकता छ कमरेडहरू’ भनेर समेत वामदेवले भन्न सक्नुभएन । उनीहरूको घेराबन्दीमा परेर वामदेवले बर्दियाली जनता र कार्यकर्ताका समस्या, गुनासा र पिरमर्का नै बुझ्न पाउनुभएन । न जनताले आफ्ना पीडा उहाँलाई सुनाउन नै पाए । जो वास्तविक मतदाता थिए र जसका पकेटमा दुईचार सय मत थिए, उनीहरूलाई साथमा लिएर हिँड्नु त कता उनीहरूसँग मत माग्नुपर्ने आवश्यकतासमेत बोध गरिएन ।
चुनावमा थैली बोकेका कमरेडहरूले वामदेव कमरेडको थैली त रित्याए, तर त्यो रित्तिएको थैली कहाँ भरियो थाहा भएन । चुनावमा खटिएका आफ्नै सोझा कार्यकर्ता भोकभोकै हिँडे । जसले खर्च गरे त्यो पनि आफ्नै पसिनाको कमाइ खर्च गरे । आफ्नो इन्धन खर्चेर, आफ्नै खल्तीबाट चिया खाजा खाएर, आफ्नै रिचार्ज कार्ड प्रयोग गरेर चुनावमा हिँडे । उनीहरूलाई खर्चप्रतिको त्यति मोह पनि थिएन । चुनावका लागि उनीहरूका न्यूनतम आवश्यकताहरू पनि परिपूर्ति गरिएन । तर, वामदेव कमरेडलाई यसको अलिकति हेक्कासमेत भएन । चुनावमा ‘उल्फाको धन फुपूको श्राद्ध’ गरियो । जसले परिणामलाई प्रत्युत्पादक बनायो ।
वामदेवजस्तो नेता शंकाको लाभ लिने कुराबाट सधैं सचेत हुनुपर्ने हो तर उहाँले जसलाई विश्वास गर्नुभयो र जसलाई अविश्वास गर्नुभयो, गर्नुभयो, सकियो । माओवादीका दुईचार र आफ्नै दुईचार कार्यकर्ता उहाँसँग दिनरात हिँडेपछि उहाँलाई अब चुनाव सजिलै जितिन्छ भन्ने आत्मविश्वास भयो । तिनै माओवादीका आममतदाताको मनोविज्ञान बुझ्ने आवश्यकता ठानिएन ।
२०४८ सालदेखि बर्दियाबाटै चुनाव लड्दै आउनुभएका वामदेवलाई यहाँको राजनीतिक चरित्र र यहाँका जनताको मनोविज्ञान थाहा थिएन कसरी भन्ने ? यसअघि पनि उहाँले यसै क्षेत्रबाट तीनपटक जित र दुईपटक हारको अनुभव गरिसक्नुभएको हो । वामदेवजस्तो नेताबाट यहाँका जनताले विकासको आकांक्षा राख्नु अस्वाभाविक थिएन । तर, वामदेवले आफ्नो कदअनुसारको बर्दियाली जनताको विकासको आकांक्षा पूरा गर्न सक्नुभएन । उहाँलाई त्यतातिर दृष्टि पु¥याउने सायद फुर्सद मिलेन । यसैलाई विपक्षीहरूले चुनावमा भजाए ।
यी त भए प्रमुख र तात्कालिक कारणहरू । चुनावी परिणामका कारण यति मात्र अवश्य छैनन् । लामो समयदेखिको वामदेव कमरेडको बर्दिया र बर्दियालीसँग सम्बन्ध छ । यो सम्बन्धका उतारचढाव वामदेव कमरेडलाई राम्रोसँग थाहा छ । त्यसैले उहाँले यी विषयहरूमा निर्मम आत्मसमीक्षा गर्नु जरुरी छ । आमजनताले नेताप्रति असन्तोष व्यक्त गर्ने भनेको यसरी नै हो । यसलाई लिएर वामदेव कमरेडले प्रतिशोधको भावना पाल्नु अर्को महाभूल हुनेछ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply