किन बिच्किए गजुरेल ?
काठमाडौं । पार्टी एकताअघिसम्म तत्कालीन माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालको विश्वासपात्रका रूपमा चिनिएका नेता हरिबोल गजुरेल पछिल्लो समय दाहालसँग नराम्ररी बिच्किएका छन् । माओवादीको सशस्त्र द्वन्द्वकालदेखि नै दाहालले पूर्वी क्षेत्रमा विश्वास गरेका नेतामा सिन्धुपाल्चोकका अग्नि सापकोटा र सिन्धुलीका गजुरेल नै पर्थे । दाहालको प्रिय भएकैले तत्कालीन माओवादीको कोषाध्यक्षसमेत भएका गजुरेल अहिल्यै अध्यक्ष दाहालको ठीक विपरीत ध्रुवमा उभिएका छन् ।
शान्ति प्रक्रियामा आएको १४ वर्षको अवधिमा एकपटक छोटो समयका लागि कृषिमन्त्री भएबाहेक अरू केही नपाएको भन्दै असन्तुष्ट गजुरेलले पछिल्लो संघीय संसद्को निर्वाचन जितेर आएपछि सम्पर्क मञ्चले आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दा खुलेरै मन्त्री पद मागेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष दाहाल नै थिए । तर, दाहालले उनलाई मन्त्री बनाएनन् । त्यो बेलादेखि नै उनी दाहालसँग केही असन्तुष्ट रहेको उनीनिकट स्रोतले बतायो ।
त्यसो त सिन्धुली जिल्लाको इन्चार्ज उनले नरुचाउने विषमलाल अधिकारी दनुवार र अध्यक्ष राजन दाहाललार्ई बनाइएपछि झनै असन्तुष्ट बने । उनको चाहना जिल्ला अध्यक्ष रामकुमार पौडेललाई बनाउने थियो । यति हुँदा पनि दाहालसँग असन्तुष्टिका बाबजुद पनि उनी केपी ओली नेतृत्वको सरकारविरुद्ध विषवमन भने गरिरहन्थे ।
सरकारले केही महिनाअघि दुइटा अध्यादेश ल्याएपछि औपचारिक रूपमै प्रधानमन्त्री ओलीले पार्टी फटाइसकेको भन्ने अभिव्यक्ति दिएर विवादमा आएका गजुरेलको अभिव्यक्तिको बालुवाटरबाटै खण्डन आएको थियो । कतिसम्म भने भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक समेटर नक्सा जारी गर्ने दिनको मतदानमा संसद्मै उपस्थित भएनन् । उनको अनुपस्थितिलाई लिएर कार्यकर्ता तहबाटै व्यापक विरोध भएपछि शौचालयमा लडेका कारण जान नसकेको भन्दै आफ्नो बचाउ गरे । तर, त्यसको तीन दिनपछि उनी धान रोप्न गृह जिल्ला सिन्धुलीको मरिण पुगेको बताइन्छ ।
उनै गजुरेल अहिले ओली नेतृत्वमा पाँचै वर्ष यही सरकार रहनुपर्ने र अर्को महाधिवेशनसम्म पनि ओलीले अध्यक्षबाट राजीनामा दिनु नहुने अभिव्यक्ति दिन थालेका छन् । बरु, उल्टो उनले दाहाललाई अध्यक्षबाट राजीनामा दिन सुझाएका छन् । जारी स्थायी कमिटीबाट अधिकांश सदस्यले राजीनामा मागेपछि दुई हप्ताअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का केही सदस्य र पूर्वमाओवादी समूहका केही नेतलाई बालुवाटार बोलाएर कुराकानी गरेका थिए । पूर्वमाओवादी समूहबाट टोपबहादुर रायमाझी, मणि थापा सहभागी सो छलफलमा गजुरेल पनि उपस्थित थिए । त्यही छलफलपछिबाट उनको बोली फेरिन थालेको बताइन्छ । भोलि महाधिवेशनमा माधव नेपालसँग नै प्रतिस्पर्धा हुने हो भने अहिले किन नेपालसँग मिलेर जाने, ओलीसँग नै मिल्नुपर्छ भन्दै दाहाललाई उकासे पनि दाहालले उनको कुरामा टेरपुच्छर नलाएपछि अहिले बिच्किन थालेको स्रोतको दावी छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply