नारायणकाजीको टिप्पणीले स्थायी कमिटीमा तरंग
काठमाडौं । नेकपाभित्र सैद्धान्तिक–वैचारिक छलफलको अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि गरेको एउटा टिप्पणीले स्थायी समिति बैठकलाई नै तरंगित बनाएको छ । पार्टीमा रहेको गुटबन्दी अन्त्य गर्नुपर्ने अध्यक्षद्वयको प्रस्तावमाथि टिप्पणी गर्दै श्रेष्ठले विचार समूह, गुट र गिरोहको परिभाषा स्पष्ट रुपमा किटानी गर्न माग गरेपछि २६ भदौमा सम्पन स्थायी समिति बैठक तरंगित बनेको हो ।
यद्यपि, उनले उठाएको विषय गम्भीर भए पनि कोभिड–१९ का कारण एक दिनमै बैठक सक्ने पूर्वयोजनाका कारण त्यसबारे प्रतिटिप्पणी वा छलफल भने भएन । तर पनि बैठकमा श्रेष्ठले गम्भीर सैद्धान्तिक विषय उठान गरेकोमा भने थुप्रै स्थायी समिति सदस्यहरू प्रफुल्लित भएका थिए । उनले पार्टीमा अहिले कम्युनिस्ट र गैरकम्युनिस्ट चरित्र र प्रवृत्तिबीच टक्कर चलिरहेको उल्लेख गर्दै त्यसलाई हल वा व्यवस्थापन गर्न पार्टीभित्र ठूलो संघर्ष र आन्दोलन गर्नुपर्ने अवस्था रहेको चित्रण गरेका थिए । मूल रूपमा पार्टीभित्रको संघर्षलाई श्रेष्ठले सैद्धान्तीकरण गर्ने कोसिस गरेका थिए ।
‘अहिले पार्टीभित्र चलेको अन्तरसंघर्ष नेकपालाई कम्युनिस्ट पार्टी कि गैरकम्युनिस्ट पार्टी बनाउने संघर्ष हो । यो संघर्ष त्यत्तिकै सकिने वा हल हुनेवाला छैन, त्यसका लागि त ठूलै संघर्ष र आन्दोलनको जरुरी छ,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘यो संघर्षमा पार्टीभित्रको गैरकम्युनिस्ट र गैरक्रान्तिकारी प्रवृत्तिलाई अहिले नै शून्य त बनाउन सकिँदैन तर बिस्तारै घटाउँदै समाजवादका लागि क्रान्तिकारी कम्युनिस्ट चरित्र बोक्ने दिशातिर लैजान सकिन्छ ।’
अहिलेको विधि र पद्धतिका लागि भइरहेको अन्तरसंघर्ष माक्र्सवाद मान्ने कि नमान्ने, कम्युनिस्ट पार्टीलाई ट्रेड मार्क मात्रै बनाउने कि क्रान्तिकारी ? वर्ग छाड्ने कि वर्ग चरित्र कायम राख्ने ? नयाँ प्रकारको लोकतन्त्रका रूपमा बुझ्ने कि संसदीय पुँजीवादी ? भन्ने प्रश्नसँग गाँसिएको उनको भनाइ थियो । अहिलेको अन्तरसंघर्षलाई गुटबन्दीका रूपमा बुझ्न नहुने उनको तर्क थियो ।
‘अहिलेको संघर्ष गुटको अवशेषका रूपमा प्रकट भएको होइन, दुई प्रवृत्ति र विचारबीचको संघर्ष हो अर्थात् समाजवादमा पुग्ने कि पुँजीवादसँग सम्झौता गरेर बस्ने श्रेष्ठले गुटबन्दी गर्न नपाईने ओली–प्रचण्डको प्रस्तावप्रति कडा टिप्पणी गर्दै भनेका थिए, ‘भोलिदेखि गुटबन्दी नगर्ने भनिएको छ । निर्णय गरिसकेपछि त तत्काल सबै नेता–कार्यकर्ताले कार्यान्वयन गरिहाल्नुपर्छ । त्यसैले, गुटबन्दी नगर्ने भनेको के हो ? भेट्नै नमिल्ने, छलफल गर्नै नमिल्ने भनेको हो कि ! विचार समूह के हो ? गुट के हो ? गिरोह के हो ? परिभाषित हुनुप¥यो । बोल्नैहुँदैन, बस्नैहुँदैन भन्ने सन्देश हो ? कि के हो ? प्रतिवेदनलाई स्पष्ट बनाउनुप¥यो ।’
गुट भनेको व्यक्ति वा व्यक्तिहरूको निहीत स्वार्थलाई केन्द्रमा राखेर अपारदर्शी, षड्यन्त्रकारी संयन्त्रलाई भनिने भएकाले एउटै पार्टीका नेताहरूबीचको भेटघाट र विचारको छलफल त पार्टीको औपचारिक निर्णयमा मात्र सीमित नभएर निरन्तर चलिरहने प्रक्रिया भएकाले प्रस्ट्याउनुपर्ने उनको भनाइ थियो ।
उता, वैचारिक नेता घनश्याम भुसालले ओली र प्रचण्डको प्रतिवेदनमा दलाल पुँजीवादसँगको टक्करबारे एक शब्द उच्चारण नगरेकोमा गम्भीर आपत्ति प्रकट गर्दै के नेतृत्वको वर्गउत्थान भइसकेको हो ? भन्ने गम्भीर प्रश्न उठान गरेका थिए । उनले यस्तै कार्यशैली र तरिकाबाट अगाडि बढ्दा एकता महाधिवेशनसम्म पार्टी र समावाद उन्मुख कार्यदिशालाई दलाल पुँजीपतिहरूले हाइज्याक गरेर आन्दोलन नै विर्सजन हुने गम्भीर खतरा पनि औंल्याएका थिए ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply