जुवाडेले भरिए काठमाडौं र भक्तपुरका प्रहरी हिरासत

२२ कात्तिक, काठमाडौं । दसैँमा चोरीका अभियुक्तले भरिभराउ उपत्यकाका प्रहरीको हिरासत कक्ष तिहारमा जुवाडेले भरिएका छन् । काठमाडौं र भक्तपुरबाट मात्रै दुई सय ४३ जुवाडे पक्राउ परेका हुन् ।
ललितपुरबाट भने एकजना पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंमा दुई सय नौजना जुवाडे पक्राउ पर्दा ४६ लाख ३८ हजार २५ रुपैयाँ र भक्तपुरबाट पक्राउ परेका ३४ जनासँग १५ लाख ८१ हजार नौ सय २० रुपैयाँ गरी ६२ लाख १९ हजार नौ सय ४५ रुपैयाँ बरामद भएको छ ।
‘तिहारमा धेरै जुवाखालमा अप्रेसन चल्यो । धेरै जुवाडे पक्राउ परेपछि हिरासत कक्ष नै भरिए,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘अधिकांश हिरासतमै छन् । केही भने धरौटीमा छुटेका छन् ।’ जुवाखालमा पक्राउ पर्नेमा राजनीतिक दलका जिल्ला तथा क्षेत्रीय तहका नेता समेत छन् ।
प्रहरीका अनुसार लक्ष्मीपूजाका दिन बौद्ध जोरपाटीको नयाँबस्ती ओलाङचुङगोला गुम्बास्थित सागर लामाको घरबाट पक्राउ परेका बर्मा लामालाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेज अस्पतालमा राखिएको छ । लामा कांग्रेस दोलखा जिल्ला किमिटी सभापति हुन् । उनी केही समयअघि मात्रै जिल्ला सभापतिमा निर्वाचित भएका थिए । उनी जुवा खेलेको खालबाट प्रहरीले १८ जुवाडे पक्राउ गरेको थियो भने ६ लाख ३२ हजार पाँच सय रुपैयाँ र ४८ थान कौडा बरामद गरेको थियो ।
परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले जुवाखालबाट पक्राउ परेकाहरूलाई जुवा ऐनअन्तर्गत कारबाही हुने बताए । उनले भने, ‘पर्वका वेला जुवाखालबाट धेरै जुवाडे पक्राउ परे । उनीहरूको पृष्ठभूमिका सम्बन्धमा त हामीलाई थाहा हुने विषय होइन । कानुनी नजरबाट हेर्दा जुवाखालमा पक्राउ परेका सबै जुवाडे हुन् । उनीहरूलाई जुवा ऐनअन्तर्गत कारबाही हुन्छ ।’
त्यस्तै, भाइटीकाको दिन भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका– ८ सुडाल पुरीगाउँका ५२ वर्षीय मणिराम पुरीको घरबाट १५ जुवाडेसहित कांग्रेस चाँगुनारायण नगर समितिका सहसचिव चन्द्रशेखर खत्री र कांग्रेस भक्तपुर क्षेत्र नम्बर १ का सचिव जनक खत्री पक्राउ परेका थिए । उनीहरूको खालबाट प्रहरीले १२ लाख ४३ हजार सात सय ८० रुपैयाँ र दुई बुक तास बरामद गरेको थियो ।
धरौटी रकम बुझाएर उनीहरू हिरासतमुक्त भइसकेका छन् । उनीहरूलाई प्रहरीले २४ घन्टा पनि हिरासतमा नराखी तारेखमा छाडेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी शिव श्रेष्ठले पक्राउ परेका सबैलाई तारेखमा छाडिएको बताए । ‘टीकाको दिन जुवाखालबाट १५ जुवाडे पक्राउ परेका थिए । उनीहरूबाट १२ लाख रुपैयाँभन्दा धेरै रकम बारामद भएको छ । उनीहरूलाई तारेखमा छाडेका हौँ,’ उनले भने, ‘तारेखमा राख्नुको अर्थ हिरासतमुक्त गरेको भन्ने होइन ।’
प्रहरी भन्छ– ललितपुरमा जुवा खाल नै नखुलेपछि कोही पक्राउ परेन
काठमाडौं र भक्तपुरबाट ठूलो संख्यामा जुवाडे समातिँदा ललितपुरमा भने एक जना पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । जिल्लाभर जुवाखाल नै नखुलेको प्रहरीको दाबी छ । पर्वआसपास गरिएका सुरक्षा कारबाहीका कारण यस वर्ष जुवाखाल नखुलेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी उज्वल महर्जनले बताए ।
‘यस वर्ष ललितपुरमा कोही जुवाडे पक्राउ परेन । किनभने यहाँ जुवाखाल नै खुलेनन्,’ उनले भने, ‘हामीले पर्व आसपास सुरक्षा कारबाही कडा तुल्यायौँ । जुवा नखेल्न सबैलाई सचेत गरायौँ । त्यसैले जुवाखाल नखुलेको हो ।’ नयाँ पत्रिका दैनिकबाट
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply