एमसीसी सकस : कांग्रेस-एमालेबीच आज पनि वार्ता

१४ फागुन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच आज पनि वार्ता हुने भएको छ । शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ ।
एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा विमति बढेपछि देउवा ओलीसँग नजिकिएका हुन् ।
शुक्रबार साँझ पनि दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पुरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो । एमालेले सभामुख हटाउने कुरालाई बटमलाइन बनाउँदै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बचाएको एमालेको आरोप छ । सभामुख हटाउने विषयमा काँग्रेस र एमालेबीच सहमति जुटिसकेको छैन ।
बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने कांग्रेस र एमाले एक ठाउँमा रहनुपर्नेमा ओलीले जोड दिएको बताएका थिए । ‘समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने वृहत छलफल जरुरी छ । हाम्रो भेटघाटको क्रम जारी रहन्छ,’ उनले भने ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताए । कांग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव भने नआएको उनको भनाइ छ । एमालेसँगको छलफलपछि कांग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई एमसीसीको पक्षमा उभिन शनिबार तीन बजेसम्मको समय दिएको कांग्रेसका एक नेताले बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेसँगको समानान्तर छलफललाई निरन्तरता दिइरहेका छन् । अमेरिकाले दिएको समयसीमा पर्सी १६ गते सकिने भएकाले भोलि बस्ने संसद् बैठकबाटै एमसीसी अनुमोदन गराउने उनको तयारी छ ।
एमालेको माग तत्काल पूरा गर्न जटिल हुने र एमालेसँग मिल्दा जुनसुकै बेला पनि समर्थन फिर्ता लिएर ठूलो दलको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न सक्ने देउवालाई डर छ । त्यसैले एमालेसँग निरन्तर छलफल गरे पनि देउवा निचोडमा पुग्न सकेका छैनन् । हिजो र अस्ति लगातार छलफलमा जुटेका कांग्रेस र एमालेबीच आज पनि छलफल हुँदैछ ।
कांग्रेस र एमालेबीच लगातार बैठक हुन थालेपछि झस्किएका माओवादी र एकीकृत समाजवादी पुरानो अडानबाट केही लचिलो भएका छन् । कांग्रेससँगको गठबन्धन टुटेमा आउँदो चुनावमा समेत असर पर्ने भएपछि दुवै दललले मध्यमार्गी विकल्पमा एमसीसी टुङ्ग्याउने र गठबन्धन जोगाउन प्रयास गर्ने निणर्य गरेका छन् । संसद् बैठकमा अनुपस्थित भएर एमसीसी पास गर्न सहयोग गर्ने दुवै दलले बताएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply