सशस्त्र प्रहरीमा आईजीपीको नियुक्ति आज
२८ चैत, काठमाडौं । सरकारले आज साेमबार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) काे नियुक्ति गर्दै छ। हालका आईजीपी शैलेन्द्र खनालले आजदेखि अवकास पाउने भएकाले नयाँ नियुक्ति गर्न लागिएको हो।
चार वर्षकाे कार्यकाल सकिएर खनाल बिदा हुने भएपछि उनकै ब्याचका दुई एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकलाई आईजीपी बनाउन लागिएको हाे। यीमध्ये केसीको चर्चा बढी छ। तर जो भए पनि वैशाख १९ गतेसम्म मात्रै पदमा रहनेछन्। त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकासमा जानेछन्। स्थानीय तहकाे निर्वाचनअघि नै सशस्त्र प्रहरीमा पुन: आईजीपी फेरिनेछ।
त्यसपछिको आईजीपी पनि आजै टुंगो लाग्नेछ। एक जनालाई आईजीपी नियुक्त गरेपछि रिक्त हुने एआईजीमा जो बढुवा हुन्छ, वैशाख १९ गतेपछि उही आईजीपी बन्नेछ।
२१ दिने आईजीपीका दाबेदार दुवै जना खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका हुन्। प्रहरी निरीक्षक बनेर २०४९ वैशाख १९ गते सेवामा प्रवेश गरेका उनीहरु २०५८ सालमा एक तह बढुवा हुँदै सशस्त्र प्रहरीतिर लागेका हुन्।
त्यसपछि उनीहरु खनालसँगै एआईजीसम्म बढुवा भए। तर, २०७४ चैत २७ गते सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भए। यी दुई एआईजी उतिबेलै आईजीपीका दाबेदार थिए।
तर, गत वर्ष उनीहरु एआईजीको चारवर्षे कार्यकाल सकिएर घर जाने अवस्था थियो।
सशस्त्र प्रहरी नियमावलीमा चारवर्षे कार्यकाल सकिने डीआईजी र एआईजीको कार्यकाल एक वर्ष थप गर्न सक्ने व्यवस्था छ। यो अनिवार्य व्यवस्था होइन। सरकारले नचाहेमा थप नगर्न पनि सक्छ। चारवर्षे कार्यकाल पूरा भएर म्याद थप नहुँदा ३० वर्षे सेवा पूरा नभई अवकासमा जान्छन्।
तर, केसी र पौडेलको कार्यकाल थपिएपछि उनीहरुमध्ये एक जना आईजीसम्म हुन लागेका हुन्।
पुष्पराम केसी नुवाकोट शिवपुरीका हुन्। रामशरण पौडेल नुवाकोटको नुवाकोटकै बासिन्दा हुन्। केसी र पौडेल दुवै २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्।
२०५८ सालमा दुवैजना एकसाथ सशस्त्र प्रहरीमा प्रवेश गरे। त्यतिबेला सशस्त्र प्रहरीमा जाने अधिकृतहरु एक तह स्वतः बढुवा हुन्थे। केसी र पौडेल पनि २०५८ वैशाखमा सशस्त्र प्रहरीको डीएसपीमा बढुवा भए।
२०६१ साल वैशाखमा दुवैजना सँगै एसपी भए, २०६६ साल मंसिरमा एसएसपी। एसपीबाट एसएसपी हुँदा पनि उनीहरु छुटेनन्।
२०६९ जेठमा डीआईजीमा बढुवा भए। सरकारले २०७४ वैशाखमा उनीहरुलाई सँगै एआईजीमा बढुवा गर्यो।
त्यही वर्ष चैतमा नयाँ आईजीपी नियुक्त गर्दा पनि उनीहरुले दाबी गरेका थिए। त्यतिबेला शैलेन्द्र खनालले बाजी मारे। तर एक वर्ष कार्यकाल थपिएसँगै आईजीपीको ढोका खुलेको हो।
सशस्त्रमा दुईजना मात्रै एआईजी छन्। सशस्त्र प्रहरी नियमावलीअनुसार एआईजीमध्येबाटै आईजीपी बनाउनु पर्ने व्यवस्था छ।
एआईजी पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुखमा र रामशरण पौडेल प्रशासन तथा मानव स्राेत विभागमा कार्यरत छन्।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply