कोभिडकै बीच पनि आकर्षक लाभांश
शन्तराम बिडारी
.बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणाको मौसमकाठमाडौं । कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनी अर्थात् लगानीकर्तालाई बाँड्ने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश नगद र सेयर दुई किसिमबाट वितरण गरिन्छ । व्यावसायिक संगठनको सञ्चालनका लागि आवश्यक पर्ने पुँजी अंशियारहरूबाट, पूर्वाधिकार सेयरधनी र ऋणदाताहरूबाट संकलन गरिन्छ । संगठनले आर्जन गरेको नाफाबाट सर्वप्रथम ऋणदाताहरूलाई ब्याज र पूर्वाधिकार सेयरधनीहरूलाई लाभांश वितरण गरिन्छ ।
संगठनका अंशियार अथवा साधारण सेयरधनीहरूलाई उक्त संगठनको मालिक मानिन्छ, जसको शेष नाफामा मात्र अधिकार रहन्छ । यही मेसोमा अधिकांश बैक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई दिने लाभांश घोषणा गरिरहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंक १६ वटा पुगेका छन् । प्रत्येक बैंकका सञ्चालक समितिहरूले हरेक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई लाभांश घोषणा गर्छन् । घोषित लाभांश वितरणको अनुमति नियामक निकाय नेपाल राष्ट्र बैंकले दिनुपर्छ ।
राष्ट्र बैंकको अनुमति र साधारणसभाबाट समेत पारित भएपछि मात्रै सेयर लगानीकर्ताले लाभांश पाउँछन् । अहिलेसम्म घोषितमध्ये एनआईसी एसिया र हिमालयनले सबभन्दा धेरै २० प्रतिशत लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेकामध्ये सानिमा, बैंक अफ काठमाडौं अर्थात् बिओके, एनआईसी एसिया बैंकले साधारणसभामार्फत अनुमोदनसमेत गरिसकेका छन् । केही बैंकले साधारणसभाको मिति तोकेका छन् । यस वर्ष कोरोनाका कारण सेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागी गराई साधारणसभा गर्ने तयारी बैंकहरूको छ । यसपटक वार्षिक साधारणसभा फिजिकल र भर्चुअल दुवै तरिका ‘मिक्स’ गरेर गरिएको जानकारी अधिकांश बैंकका सिइओहरूले दिएका छन् । ‘२५ जना मात्रै सहभागी गराउने र अरू इच्छुकलाई भर्चुअल्ली उपस्थित गराउने उनीहरूको सोच हो । यसो गर्दा कोरोनाको जोखिम कम हुने बताइन्छ । सरकारले भीडभाड बढी हुने सभासम्मेलन आयोजना गर्न अझै औपचारिक अनुमति दिइसकेको अवस्था छैन ।
मूलतः बैंकहरूले दिने लाभांश दुई किसिमका हुन्छन् । एउटा नगद लाभांश र अर्को सेयर बोनस । घोषित नगद लाभांश लगानीकर्ताको बैंक खातामा र सेयर बोनस डिम्याट खातामा जम्मा हुन्छ । बैंकको सञ्चालक समितिले लाभांश घोषणा गरिसकेपछि साधारण सभा बस्नुअघि बुक क्लोजको मिति घोषणा गर्छन् । बुक क्लोजको मितिसम्म सेयर भएका सेयरधनीले लाभांश पाउँछन् ।
बुक क्लोजपछि बोनस सेयर दिइएको खण्डमा मूल्य समायोजन गरिन्छ, अर्थात् बोनस संख्याका आधारमा अघिल्लो दिन कारोबार बन्द हुँदा कायम भएको मूल्य विशेष सूत्रबाट घटाइन्छ । दुवै लाभांशमा ५ प्रतिशत कर तिर्नुपर्छ । नगद लाभांशका हकमा पुँजीगत लाभकर कटौतीपछि बैंक खातामा रकम नगदमै जम्मा हुन्छ भने बोनस सेयरको हकमा प्रायः कम्पनीले नै कर व्यवस्था गरेका हुन्छन् । नगरेको खण्डमा पाएको बोनस सेयर संख्यालाई अंकित मूल्य १ सयले गुणा गरी त्यसैको ५ प्रतिशत रकम सम्बद्ध बैंक खातामा जम्मा गरिदिनुपर्छ । सो कर तिरेपछि मात्रै डिम्याट खातामा बोनस सेयर थपिनेछ ।
गत वर्षको तुलनामा यो वर्ष लाभांश घटेको छ । कोरोनाको असरका कारण बैंकहरूको नाफामै संकुचन आउँदा अधिकांश बैंकले दिने लाभांश घटेको हो । नाफामा कोभिडको असर परेकाले पनि लाभांशमा कमी आएको हुन सक्ने अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् । उनको भनाइ छ, ‘विश्वव्यापी कोरोना भाइरस अर्थात् कोभिड–१९ को असर संसारभर नै रहेकाले अझै केही वर्ष यो अर्थतनत्र तंग्रिन समय लाग्छ ।’
गत वर्ष सिटिजन्सले १५, माछापुच्छ्रेले १६, कुमारीले १०.५६, बिओकेले १७, एनआइसी एसियाले २१, सानिमाले २१, सिद्धार्थले २५, सनराइजले १५.८, ग्लोबल आइएमईले २५. ५, प्रभुले १६.८ प्रतिशत लाभांश दिएका थिए । त्यस्तै स्टान्डर्डले २२.५, नेपाल बंगलादेशले १२, एसबिआईले १६.८, एभरेष्टले २५ र हिमालयनले २२ प्रतिशत लाभांश दिएका थिए ।
सञ्चलनमा रहेका र तुलनात्मक रूपमा राम्रा भनिएका बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीलगायतले सेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म १६ वटा वाणिज्य बैंकसहित ६१ वटा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमा अहिलेसम्म १६ वटा बैंकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६÷७७ को लाभांश घोषणा गरेका हुन् । त्यस्तै केही अन्य वित्तीय संस्थाले पनि लगानीकर्ताका लागि लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा म्युचुअल फन्ड, जलविद्युत् कम्पनी, माइक्रोफाइनान्स तथा बिमा कम्पनीलगायत छन् । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७६÷७७ को लाभांश घोषणा गरेका छन् भने चारवटा बिमा कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेका केही बैंक तथा वित्तीय संस्थाको साधारणसभा भइसकेको छ भने केहीले साधारणसभा बोलाएका छन् । अहिलेसम्म साधारणसभा सम्पन्न गर्ने कम्पनीमा एनआईसी एसिया बैंक, अरुण काबेली पावर, युनिलिभर नेपाल, बैंक अफ काठमाडौं, सिटिजन्स बैंकले साधारणसभा सम्पन्न गरेर तोकेको लाभांश पारित गरिसकेको छ । अन्य कम्पनीको समाधान साधारणसभा हुने क्रममा रहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको नेपालमा पनि परेको छ । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कोरोनाले प्रत्यक्ष असर पारेको थियो । त्यो समयमा बैंकहरुको नाफामा गिरावट आएर लाभांशमा संकुचन आउने हो कि भन्ने धेरैमा त्रास थियो । तर हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले घोषणा गरेको लाभांश दर सन्तोषजनक नै बताइन्छ । अहिलेसम्म सबैभन्दा बढी नगद लाभांश घोषणा गर्ने कम्पनीमा युनिलिभर नेपाल रहेको छ । युनिलिभरले लगानीकर्तालाई १०० प्रतिशत नगद लाभांश दिएको छ ।
अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीको धेरै लाभांश दिनेमा वोमी माइक्रोफाइनान्स वित्तीय संस्था छ । वोमीले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश बोनस मात्रै हो । वोमी पछि धेरै लाभांश दिने कम्पनीमा छिमेक लघुवित्त, समता माइक्रोफाइनान्स, शिवम् सिमेन्ट, मञ्जुश्री फाइनान्स, आरएमडिसी लघुवित्त, एनआईसी एसिया बैंक, एनएमबी माइक्रोफाइनान्स, हिमालयन बैंकले क्रमशः २० प्रतिशत लाभांश घोषणा गरेका छन् । अहिलेसम्म लाभांश घोषणा गरेको कम्पनीमा सबैभन्दा थोरै लाभांश दिनेमा ग्लोबल आईएमई समुन्नत योजना–१ छ । सम्मुन्त योजना–१ ले ४ प्रतिशत नगद मात्रै लाभांश दिएको छ ।
अहिलेसम्म बैंकहरुले न्यूनतम ८.२८ देखि २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् । सबैभन्दा बढी एनआईसी एसिया बैंकले, हिमालयन बैंक छन् । दुवै बैंकले २० प्रतिशत लाभांश दिएका छन् । एनआईसी एसिया बैंकको त साधारणसभाले पारितसमेत गरिसकेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा कोभिडको कारण बैंक तथा वित्तीय संस्थालाई नगद लाभांशमा अंकुश लगाएर बोनस सेयर वितरणलाई जोड दिएको छ । कुल लाभांशमा बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म मात्रै नगद लाभांश दिन सक्छन् भने बाँकी बोनस सेयर दिनुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले सोहीअनुसार लाभांश घोषणा गर्नुपर्नेछ । कोभिडकै बीच पनि राम्रै लाभांश पाएर लगानीकर्ताहरू भने खुसी देखिएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply