मेरो बिहेमा निर्मल लामा पुरोहित
हर्ष स्याङ्बो
बि सं २००५ सालमा कमरेड पुष्पलालसँग मेरो पहिलो भेट बनारसमा भएको होे । हामी केही विद्यार्थीहरू ताजमहल हेर्न जाँदा उहाँसँग भेट भयो । सो भेट भएपछि उहाँले हामीहरूलाई राष्ट्रिय कांग्रेस सदस्य बनाउनु भयो । उहाँ नेपाल राष्ट्रिय कांग्रेसको सचिव हुनुहुन्थ्यो र २००७ सालको क्रान्तिमा भाग लिने योजना थियो । हामी आगरा गएर ताजमहल हेरेपछि हामी सबै साहित्यमा रुची राख्ने भएकोले एउटा साहित्य गोष्ठी सम्पन्न ग¥यौं । म मजदूर हुँ भन्ने कविता मैले त्यहीं रचेको हो । यो मेरो कविता संग्रहमा पनि समावेश छ ।
कमरेड पुष्पलाल पुनः २००६ सालतिर गोरखपुर आउनु भयो । उहाँले कार्ल माक्र्स लिखित कम्युनिष्ट मेनिफेस्टो (कम्युनिष्ट घोषणा पत्र)अनुवाद गर्नुभएको रहेछ, त्यो देखाउनु भयो । कलकत्ता गएर नेपाल कम्युनिष्ट पार्टी गठन गरेको कुरो हामीलाई सुनाउनु भयो । हामी पनि कम्युनिष्ट पार्टीको सदस्य भयौं र पार्टीको निर्देशन अनुसार काम गर्न थाल्यौं । त्यसपछि म दार्जिलिङ्ग गएँ । कमरेड पुष्पलाललाई दार्जिलिङ्गमा पश्चिम बंगाल कम्युनिष्ट पार्टीको नेता माइला बाजेसँग भेट गराउने जिम्मा मलाई दिएको थियो । कमरेड पुष्पलाललाई मैले नै उहाँसँग भेट गराएको थिएँ ।
००७ सालमा क्रान्ति भयो । हामीले पनि पार्टी तर्फबाट भाग लियौं । राणा कांग्रेसले सम्झौता गरि मोहन शमसेर प्रधानमन्त्री र विश्वेश्वर प्रसाद कोइराला गृहमन्त्री भए । क्रान्तिको गद्दारी भयो भनी विद्रोह भयो । डाक्टर के आई सिंह लगायत जम्मै विद्रोही सिंहदरवारका बन्दी बनाईए । डाक्टर केआई सिंह र केही बन्दीहरूले जेल तोडेर चीन तिर पलायन भए । तत्कालीन सरकारले नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध ग¥यो ।
क्रान्तिपछि कमरेड पुष्पलालको निर्देशन अनुसार म मुस्ताङ्ग जिल्लामा जनता विद्यालय र प्रगतिशील अध्ययन मण्डलको संचालन गर्ने जिम्मेवारी लिएर गएँ । त्यहाँ कमरेड शमसेरमान शेरचन्द, महेन्द्रमान शेरचन्द, नरसिंह भक्त तुलाचनको सहयोग बाट जनता विद्यालय र प्रगतिशील अध्ययन मण्डल संचालन गरियो । प्रगतिशिल अध्ययन मण्डलको ठूलो भमिका थियो । प्रगितिशील अध्ययन मण्डलको प्रशिक्षणबाट पार्टीका लागि ‘क्याडर’ तयार गरेर पार्टी सदस्य बनाइन्थ्यो । पृथ्वीको जन्म ,जीव उत्पत्ति र विकास, मानिसको जंगली अवस्था,दास युग, सामान्तवादी युग, पूँजीवादी युग, समाजवादी विचारको उदय, नयाँ जनवाद, वर्ग संघर्ष जस्ता विषयमा अध्ययन मण्डलमा प्रशिक्षण दिईन्थ्यो ।
त्यो समयमा जनताको चेतनाको स्तर धेरै निम्न थियो । जनताको विचारमा कम्युनिष्टहरू धर्म मान्दैनन्, जातपात, छुवाछुत मान्दैनन्, हाडनाता मान्दैनन्, वृद्ध वृद्धालाई हत्या गर्दछन् भन्ने थियो । गाउँघरमा झगडा गर्दा गाउँलेहरूले “तेरो घरमा कम्युनिष्ट पसोस् !, कांग्रेस् पसोस् ! र सत्यानाश गरोस् !” भनि श्राप दिन्थे । जनता आतंकित थिए । पार्टी संगठन गर्नु धेरै गाह्रो थियो । यातायात, बाटोघाटो केही थिएन टेलिफोन थिएन । काठमाडौं पार्टी हेडक्वाटर सम्पर्क गर्नु परे २।३ दिन हिंडर पोखरामा आकाशवाणी गर्नु पथ्र्याे । पोखरामा आकाशवाणी थियो । २००९ सालतिर कमरेड गौरीभक्त प्रधानलाई मुस्ताङ्गबाट चीन पठाउनु थियो । कामरेड गौरीभक्त चीन प्रस्थान गरेको थाहा पाएर नेपाली कांग्रेसको बडाहाकिम विश्वबन्धुले हामीलाई मुस्ताङ बस्न प्रतिवन्ध लगाए । म ००९ सालमा पोखरा आएँ । नेपाली कांग्रेसको सरकार थियो । कम्युनिष्ट पार्टीलाई दमन गर्दै थिए ।
कमरेड पुष्पलालले कामरेड हिक्मत सिंहको नेतृत्वमा गण्डक प्रान्तिय कम्यनिष्ट पार्टी गठन गर्नु भ ो । उक्त प्रान्तिय गण्डक पार्टीमा म पनि सदस्य भएर काम गर्न लागें । पोखरामा मलाई संचालन र प्रगतिशिल मण्डलको संचालन गर्ने पार्टीले जिम्मेवारी दिएको थियो । पोखराको नेतृत्व स्थानीय जनसेवीहरू अमृतमान शेरचन, जगदीश गौचन, मीनबहादुर गुरुङ्ग र अन्य समाजसेवकहरूको सहयोगबाट नन्दलाल पाण्डे र म भएर खर र बासको छाप्रो बनाएर हाइ स्कूल संचालन गर्न लाग्यौं । गण्डकी प्रान्तिय कमिटीमा सचिव हिक्मत सिंह थिए भने सदस्यहरूमा कृष्णलाल श्रेष्ठ, कदमकुमार, एकदेव आले, लक्ष्मीभक्त उपाध्याय, तुल्सीप्रसाद श्रेष्ठ, बैकुण्ठ कँडेल, जगतबहादुर, झपटबहादुर भट्टचन, सुन्दरमणि, नेत्रपाणी शिवप्रसाद गुरुङ्ग, भूपि शेरचन्द, तेजवब गौचन र म थियौं ।
०१० साल तिर कम्युनिष्ट पार्टीको प्रथम सम्मेलन काठमाडौंमा भएको थियो । मैले पनि गण्डकी अंचलको प्रतिनिधित्व भए भाग लिएको थिएँ । त्यस पछि काठमाडौं जिल्ला कमिटी अन्तरगत सम्पर्कमा रहेर पार्टीका काम गर्दै थिएँ । मेरो कमरेड विद्या राणासँग सम्पर्क भयो । पार्टीको अनुमति लिएर पार्टीको झण्डामुनि विद्या र मेरो जनवादी विवाह सम्पन्न भयो । कमरेड निर्मल लामा पुरोहित थिए । विहामा सबै कमरेडहरू उपस्थित थिए । कमरेड विद्या राणाको दाजूू पी.एन राणा जिल्ला कमिटीको नेता थिए । नरसिंह राणाहरू जम्मै कम्युनिष्ट पार्टीका सहानुभूति राख्थे । उहाँहरूको दरबारकमा आजकल टुरिष्ट क्याम्प छ । विद्या पछि हामी कमरेड विद्या र म ४। ५ दिन हिंडेर गोर्खा पुग्यौं । गोर्खामा एक रात बास बसेर अर्काे दिन पार्टी हेडक्वाटर बन्दीपुरमा हामीले आफ्नो आगमन रिपोर्ट ग¥यौं । पार्टीले हामीहरूलाई स्यांजा र बागलुङ्ग खटाएको थियो । १४ सालमा हामी बाग्लुङ्गबाट काठमाडौं फर्कियौं । त्यसपछि काठमाडौं जिल्ला कमिटीको सम्पर्कमा रहेर काम ग¥यौं ।
१७ सालतिर राजा महेन्द्रले ‘कु’ गरेपछि हामी सिक्कीम तिर पलायन भयौं । त्यहाँ हाम्रो केही सहयोगी साथीहरू थिए र साथीहरूमा देवी बाबु र उहाँको श्रीमती भूपू मन्त्री कलावती सुब्बा हुनुहुन्छ । उहाँहरूको सिफारिसमा सिक्कीमको दरबारले मलाई निर्माण विभाग अन्तरगत जागिर दिए । नेपाल देखि सिक्किम सम्म भारतीय गुप्तचरहरू छ्यापछ्याप्ती थिए । मलाई डा. के आई सिंह तथा नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्ध छ भनेर राजा टाशी नामगेललाई कान फुकेपछि दरबार सशंकित भए । सिक्किममा राजतन्त्र विरोधमा जनआन्दोलन तयार भैरहेको थियो । मैले “देनजोङ्गको अबोला पहाडहरू” भन्ने कविता दार्जिलिङ्ग बाट प्रकाशित हुने भारतीय पत्रिकामा प्रकाशित भएपछि राजा नामगेलले मलाई २४ घण्टाको सूचना दिएर सिक्किमबाट निस्कासित गरे । विद्या र म दूईटी छोरीहरूसहित काठमाडौं फर्कियौं । हर्ष स्याङ्बो नाममा पक्राउ पूर्जी भएको कारण म एच बी तामाङ्ग भए । परिवारलाई माइतीमा बस्न लगाएर जि.एम करपोरेशन भने निर्माण कम्पनीमा ब्यवस्थापक भएर काम गर्न लागे । त्रिशुली र तादीको पुल निर्माण गर्न लागे । नयाँ बानेश्वरमा घर जग्गा किनेर ब्यवस्थित ढंगले बन्न लागेको थिए । तर, हुनै लागेको जीवनको व्यवस्थापनमा अर्को तगारो लाग्यो । गोविन्द वियोगी रसुवाबाट चुनावमा उठेका थिए । म जिल्ला कमिटीको अनुरोधमा उहाँको सहयोगको लागि रसुवा गएको थिएँ । त्यस सिलसिलामा मलाई पक्राउ परि कन्द्रीय कारागार काठमाडौं जेलमा थुनामा राखे । २ वर्ष पछि कागज गरेर राजनीतिबाट टतस्थ बस्ने शर्तमा रिहा भएँ ।
क्रमस
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply