एमालेका जनजाति र मधेसी सभासद् भन्छन्– ‘पार्टीको अडान एकदम ठीक छ’

काठमाडौं । संघीयताका विषयमा नेकपा एमालेले लिएका अडानका कारण अहिले एमाओवादी र मधेसी दलहरूले चर्को विरोध गरिरहेका छन् । साथै, विभिन्न जातीय संगठनहरूले पनि उसलाई पहिचानविरोधी भन्दै हमला गरिरहेका छन् । तर, जातका आधारमा मात्र राज्य को नामकरण गर्न नहुने र राज्य विभाजन गर्दा तराईलाई पहाडसँग अलग गर्न नहुने एमालेको अडानलाई उसका जनजाति र मधेसी सभासद्हरूको भने दह्रो साथ छ ।
एमालेले गत संविधानसभाको निर्वाचनदेखि नै कुनै पनि ठाउँमा कुनै पनि जातिको बाहुल्य नभएको मुलुकमा कुनै एक जातिका नाममा राज्यको नामकरण गर्न नहुने अडान राख्दै आएको छ । त्यतिबेला ककस बनाएर एमाललेकै माथिल्लो तहका नेताहरूले दबाब दिँदा पनि एमाले आफ्नो अडानबाट पछि हटेन, जसका कारण तत्कालीन उपाध्यक्ष अशोक राईलगायतको ठूलो समूहले संघीय समाजवादी पार्टी बनाएको थियो । तर, एमालेलाई तलैदेखि काँध थापेर बसेका एमालेका जिल्ला तहका नेताहरूले नै लबिङ गरेर एकल जातीय पहिचानमा नजान नेतृत्वलाई ढाडस दिएका थिए । त्यतिबेला नेतृत्वलाई ढाडस दिने नेताहरू नै अहिले जनताबाट चुनिएर आएका कारण एमालेलाई सजिलो भएको छ । एमालेमा रहेका जनजाति र मधेसी सभासद् पार्टीले लिएको अडानप्रति प्रतिबद्ध मात्र छैनन्, अहिलेको अवस्थामा त्यो अडान अत्यन्तै जायज भएको बताउँछन् ।
यज्ञराज सुनुवार
‘बहुपहिचानसहितको संघीयता, सामाजिक सद्भावसहितको राष्ट्रिय एकता’ भन्ने मूल नाराका साथ हामी संविधानसभा निर्वाचनमा जनतामा गएका थियौं । त्यो कुरामा हाम्रो पार्टी एमाले अझै पनि स्पष्ट छ । सहमति हुँदा अझै पनि त्यस कुराबाट पछाडि हट्छ जस्तो लाग्दैन । तर, एमालेलाई जसरी जनजातिविरोधी पार्टी भनिँदै छ, त्यो एकदमै गलत कुरा हो । एमालेले अहिलेसम्म लिएका अडान र ती अडानलाई तार्किक निष्कर्षमा पुर्याउने क्रममा केही कमी–कमजोरी भएका छन् । ती कमजोरीलाई आन्तरिक रूपमा छलफल गरेर सच्याउनुपर्छ । विभिन्न जातजाति भाषाभाषीलगायत विभिन्न क्षेत्रमा उठ्ने आवाजहरू एमालेकै अगुवाइमा उठ्नुपर्छ ।
प्रा.डा. गणेशमान गुरुङ
संघीयताको सवालमा एमालेले लिएको अडान अत्यन्तै समसामयिक छ । म त पहिल्यैदेखि जातीय राज्यको विरोधी हुँ । जातीय राज्य बनाएर जातीय उत्थान हुने होइन । जातीय उत्थानका धेरै बाटाहरू छन् । उनीहरूको भाषा, संस्कृतिको उत्थान सबैभन्दा महत्त्वपूर्ण र प्रमुख कुरा हो । एमालेलाई जातीयताविरोधी भन्नु अवाञ्छनीय लाञ्छाना मात्र हो ।
दिनेशचन्द्र यादव
एमालेलाई मधेसविरोधी भन्नु वाहियात आरोप हो । यो विरोधीहरूले लगाउने आरोप मात्र हो । म पनि मधेसकै प्रतिनिधि हुँ । तर, ख्वै आजसम्म मैले एमालेले मधेसविरोधी काम गरेको देखेको पनि छैन र त्यस्तो महसुस गरेको पनि छैन ।
पार्वत गुरुङ
संघीयताको विषयमा अहिले पार्टीले जुन अडान लिएको छ, त्यो पार्टीमा व्यापक छलफल भएर गरिएको निर्णय अनुरूपकै अडान हो । हामी जनजाति सभासद् भए एकल जातीय पहिचानविरोधी यो अडानलाई हार्दिकताका साथ लिएका छौं । यस विषयमा हाम्रो संसदीय दलभित्र पनि कसैमा कुनै विमति छैन । पार्टीले लिएका कतिपय निर्णयहरूमा कमजोरी छन् भने आन्तरिक रूपमा छलफल गरेर त्यसलाई सच्याउनुपर्छ ।
रामवीर मानन्धर
संघीयताको सवालमा एमालेले लिएको अडान राष्ट्र र राष्ट्रियताका लागि अपरिहार्य छ । जातीयताको कुरा गर्ने हो भने हामी पनि एउटा जात हो । तर, जातभन्दा माथि राष्ट्र र राष्ट्रियता हुन्छ । हिजो निर्वाचनका बेला घोषणापत्रमा लेखिएका कुरा कार्यान्वयन गर्दै जानुपर्छ । कसैलाई तल, कसैलाई माथि गर्ने भन्ने हँुदैन । एमाले भनेको मधेसमा ३२ सिट जितेको पार्टी हो । त्यस्तो पार्टी कसरी मधेसविरोधी हुन्छ ? यो आफ्नो वर्चश्व एमालेमाथि आएको देखेर आत्तिएकाहरूले लगाउने आरोप मात्र हो ।
शेरधन राई
एमालेलाई संघीयताविरोधी, पहिचानविरोधी पार्टी भनेर जबर्जस्त आरोप लगाउने गरिएको छ । एमाले कुनै जातजाति, भाषाभाषी र क्षेत्र विशेषको पार्टी होइन । यो त तमाम श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने वैचारिक जगमा उभिएको पार्टी हो । यसको वडा–वडासम्म संगठन सञ्जाल छ ।
सबै वर्ग, जात, क्षेत्र, भाषाको उत्थान गर्ने र सबै नागरिकलाई समान अधिकार दिने कुराको एमालेले वकालत गर्छ । राष्ट्रिय पार्टी भएकाले क्षेत्र र जाति विशेषका कुरा मात्र बोक्न यो पार्टीले मिल्दै मिल्दैन । एमालेलाई जातिविरोधी, मधेसविरोधी आदि भनेर जातिवादी र क्षेत्रीयतावादीहरूले मात्र लगाउने आरोप हो । एमाले पहिचान र संघीयताविरोधी होइन । सबैभन्दा पहिला पहिचान र संघीयतासम्बन्धी ठोस अवधारणा प्रस्तुत गर्ने पार्टी एमाले नै हो ।
लालबाबु यादव
एमालेले लिएको अडान राष्ट्रियताको अडान हो । राष्ट्र रहे मात्र जनजाति, मधेसी रहन्छन् । बाहुन क्षत्री पनि राष्ट्र रहे मात्र रहन्छन् । राष्ट्र र राष्ट्रियता बलियो बनाइएन भने यहाँ कोही पनि रहँदैनन् । पहिला, जरा बलियो बनाउनुपर्छ । त्यसका लागि एमालेले लिएको अडान दूरदर्शी छ । केही वर्षपहिले भारतको उत्तर प्रदेशका जनताले बिहारका मान्छेलाई बिहारी भन्थे । नेपालीलाई जति पनि गन्दैनथे । जब उनीहरूले ‘हमारा बिहार महान् है’ नभनेर ‘हमारा भारत महान् है’ लेख्न र बोल्न थाले, त्यसपछि बिहारका जनतालाई हेप्न छाडियो । सबैभन्दा ठूलो कुरा सामाजिक सद्भाव, राष्ट्रिय एकता, अखण्डता हो । त्यसैले सबैभन्दा पहिले त्यसको जरा बलियो बनाउनुपर्छ । त्यसपछि त हामी छँदै छै नि । हिजो पनि एकै ठाउँमा अटाएका थियांै, आज पनि अटाएकै छौं, भोलि पनि अटाउनेछौं ।
रञ्जुकुमारी झा
संघीयताका सम्बन्धमा हाम्रो दलले लिएको अडानको म पूर्णरूपमा समर्थन गर्छु । एकैचोटि ‘पर्फेक्ट’ संविधान कहीँ पनि बन्दैन । अहिले जे भने पनि हामी संघीयतासहितको संविधान बनाउँदै छांै, त्यो नै ठूलो कुरा हो । संख्या, नाम आदिमा कसैलाई चित्त बुझेन भने समयसापेक्ष त्यसलाई संशोधन गरे हुन्छ । एमालेले अहिले अघि सारेको खाका बीच बाटोको छ । यो पूर्ण उपयुक्त पनि छैन, गएगुज्रेको पनि छैन । एमालेलाई मधेसविरोधी भन्नु चाहिँ गलत हो । एमाले मधेसविरोधी थियो भने मधेसका सभासद् एमालेमा हुने नै थिएनन् । एमाले जस्तो मधेसवादी, साँच्चिकै समावेशी पार्टी अरू कुनै छैनन् ।
वैजनाथ चौधरी
म त एमालेको केन्द्रीय सदस्य हुँ । एमालेले गरेका हरेक निर्णयको शिरोधार्य गर्नु मेरो काम हो । यसभन्दा यस विषयमा म अरू केही टिप्पणी गर्दिनँ । एमालेले केन्द्रीय कमिटीबाट निर्णय गरेर घोषणापत्रमा जे छाप्यो, त्यो र अहिलेको अडानमा भिन्नता देखिन्छ । त्यतिबेलै यो परिस्थितिको ख्याल गर्नुपर्दथ्यो । घोषणापत्रमा एकथोक र पछि अर्कोथोक भएपछि अनेक आरोप लागेका हुन् । अहिले हामीलाई पनि त्यसको जवाफ दिन गाह्रो परेको छ । तर, अहिले जे गरिरहेको छ, त्यो ठीक छ फेरि ।
भन्न त के–के भन्छन्, भन्छन् । लिंग नभएको पार्टी पनि भन्छन् । यस्ता कुराको पछि लागेर के साध्य ? एमाले मात्र यस्तो पार्टी हो जसले मात्र यतिबेला समयमै संविधान निर्माण गर्ने कुराको अगुवाइ गरेको छ ।
नागेन्द्रप्रसाद थारू
एमालेलाई बदनाम गर्नका लागि मात्र मधेसविरोधी, जनजातिविरोधी भन्ने जस्ता आरोप लाग्ने गरेका हुन् । एमालेले ६ करोड ६३ लाख जनताका बारेमा, सिंगो राष्ट्रको आर्थिक सामाजिक रूपान्तरण र समृद्धिका बारेमा अत्यन्तै सुझबुझका साथ निर्णय लिँदै आएको छ । अहिले पनि सकेसम्म लचिलो भएर सहमतिका साथ संविधान निर्माण गर्ने कुरामा यो पार्टी अगाडि बढिरहेको छ ।
टीकाराम चेम्जोङ
खासगरी पहिचानको सन्दर्भमा एमालेलाई त्यस्तो आरोप लाग्ने गरेको हो । पार्टीको अडानका सम्बन्धमा जनजाति सभासद्हरूले धेरै प्रतिवाद गरेका छैनन् । एमालेलाई जनजातिविरोधी कसरी भन्ने ? एमालेले जनजातिका सवाललाई उठाउँदै आएको छ, अझै राम्रोसँग उठाइदिओस् भन्ने चाहना छ ।
प्रेम आले
संघीयताका सम्बन्धमा हाम्रो पार्टीले लिएको अडान जायज छ । यो अडानकै कारण एमालेलाई ठूलो टेवा पनि पुगेको छ । देश विदेशबाट राम्रो प्रतिक्रिया आएका छन् । नेपालमा १ सय २५ जातजाति छन् । जातीयताका नाममा सात वटा जातिलाई मात्र राज्य दिए अरूमाथि अन्याय हुन्छ । एक मधेस एक प्रदेशको कुरा त परास्त भइसकेको छ ।
शत्रुघ्न महतो
एमालेलाई कसैले मधेसविरोधी भन्दैमा ऊ मधेसविरोधी हुँदैन । एमालेले अहिले लिएको अडान अत्यन्तै ठीक छ । अहिले मधेसमा एक प्रदेश मात्र हुन सक्दैन । पहाडमा चार/पाँच वटा प्रदेश हुने अनि मधेसमा एउटा मात्र हुने भन्ने कुरा ठीक होइन ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply