घर–घरमा प्रतिज्ञापत्र, एसएमएस अभियान
काठमाडौं । नेकपा एमालेसहित नौ विपक्षी दलले आगामी २२ पुसमा आयोजना गर्ने जनप्रदर्शन र आमसभामा लाखौं जनसहभागिता जुटाउने गरी प्रचार अभियान सुरु गरेका छन् । साम्प्रदायिकता भड्काएर राष्ट्र विखण्डन गराउने संविधान संशोधन विधेयकविरुद्ध रहेका जनतालाई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा प्रतिज्ञापत्रमै हस्ताक्षर गराएर लाखौं जनता प्रदर्शनमा उतार्ने विपक्षी दलको तयारी गरिएको छ । ‘राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु’ प्रतिज्ञापत्रमा उल्लेख छ ।
भृकुटीमण्डपमा आयोजना हुने आमसभाका लागि नौवटै दलका प्रमुख नेताहरूले राष्ट्रियता जोगाउने अभियानमा सहभागी हुन आग्रह गर्दै संयुक्त अपिल जारी गर्दै छन् । एमाले एक्लैले कम्तीमा डेढ लाख जनसमूह उतार्ने गरी प्रचार अभियान तीव्र पारेको छ । विपक्षी मोर्चामा एमालेबाहेक नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, परिवार दल, नेपा पार्टी, दलित जनजाति पार्टीलगायत सहभागी छन् ।
यस्ता छन् प्रचार अभियान
‘पुस २२ गते १ बजे रत्नपार्क जाऔं ! संविधान कार्यान्वयनको पक्षमा राष्ट्रिय एकता प्रदर्शन गरौं !!’ भन्ने नाराका साथ प्रचार अभियानमा एमालेका २२ वटा जनवर्गीय संगठन, उपत्यकास्थित जिल्ला र क्षेत्रीय कमिटीहरूका साथै केन्द्रीय सम्पर्क समन्वय कमिटीअन्तर्गतका सबै जिल्ला सम्पर्क मञ्चहरू परिचालित भएका छन् ।
२० गतेसम्म टोल–टोलमा भेला
एमालेले २२ गतेको तयारीका लागि १५ गतेसम्म जिल्ला कमिटी र जनसंगठन, अञ्चल सम्पर्क कमिटीहरूको बैठक र भेला सम्पन्न गरी २० गतेसम्म प्रत्येक नगर र गाउँका वडा र टोलस्तरीय भेला गरेर तयारी थाल्न निर्देशित गरेको छ । युवा संघ नेपालले उपत्यका आमसभा लक्षित गर्दै धमाधम भेला सम्पन्न गरिरहेको छ । ‘कम्तीमा ३० हजार युवा सहभागी हुने गरी प्रचारलगायतका तयारीका काम गरिरहेका छौं,’ संघका प्रवक्ता प्रभातविक्रम कटुवालले भने, ‘राष्ट्रियताप्रति नेपाली युवाहरू कति संवेदनशील छन् भन्ने उदाहरण हामी प्रदर्शनमार्फत स्थापित गराउँछौं ।’
२१ गते १० हजारको मोटरसाइकल ¥याली
जनप्रदर्शन र आमसभाको प्रचारका लागि २१ गते १० हजारको मोटरसाइकल ¥याली हुने भएको छ । सो कामको संयोजनको जिम्मेवारी एमालेले अनेरास्ववियु, युवासंघ, खेलकुद महासंघ, जिफन्ट, पेसागत महासंघ र सम्पर्क विशेष कमिटीलाई दिएको छ ।
उपत्यकाको १ सय ५० ठाउँमा कोणसभा
त्यस्तै, जनप्रदर्शनमा सहभागी हुन अपिल गर्दै एमालेले २० र २१ गते उपत्यकाका १५ निर्वाचन क्षेत्रमा कम्तीमा १ सय ५० ठाउँमा कोणसभा आयोजना गर्ने तयारी गरेको छ । जिफन्टले प्रत्येक कार्यथलो र अनेरास्ववियुले आन्तरिक विषय थाती राखेर काठमाडौंका सबै कलेज र सरकारी उच्च माविहरूमा प्रचार सभा (क्लास स्पिच) गर्नेछन् ।
एसएमएस भाइरल बनाउने
त्यस्तै, प्रत्येक पार्टी सदस्यले पार्टी समर्थक र शुभेच्छुक जनसमुदायलाई मात्रै लक्षित नगरी कम्तीमा २० जनालाई एसएमएस भाइरल हुने गरेर २२ गतेको जनप्रदर्शन र आमसभामा सहभागिताका लागि अपिल गर्ने गरी एमालेले योजना बनाएको छ । त्यस्तै, आवश्यकताअनुसार सिट्ठी जुलुस, दौड जुलुस, प्रतीकात्मक प्रचार शैलीहरू अवलम्बन गर्ने तथा २० र २१ गते भूगोलका जिल्ला कमिटीहरूले तीनै सहरमा माइकिङ गर्ने गरी प्रचार गर्न पनि एमालेले निर्देशित गरेको छ ।
राष्ट्रिय झन्डा जुलुस, नौ नेताको अपिल
त्यस्तै, पुस २० गते ३ बजे रत्नपार्क शान्तिवाटिकाबाट एमाले काठमाडौंको आयोजनामा मुख्य सडकसहित सहरका भित्री गल्लीहरूमा राष्ट्रिय झन्डासहित प्रचार जुलुस गर्ने तयारी एमालेले गरेको छ । मुख्य नेताहरूको भिडियो सन्देश बनाएर २२ गते सभामा आउन अपिल गरिएको छ । उक्त सन्देशलाई भाइरलका रूपमा प्रचार गर्न एमालेले प्रत्येक पार्टी सदस्यलाई निर्देशित गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply