अधिकतम सहमतिबाट संविधान जारी हुन्छ
माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेता, नेकपा (एमाले)० अस्तिको वार्ता भाँडिएपछि अब सहमतिको सम्भावना टरेकै हो ?
– अस्तिको वार्ता त्यति राम्रो हुन सकेन । वास्तवमा औपचारिक वार्ताले समाधान निकाल्दैन । त्यहाँ मनका कुरा आउँदैनन्, औपचारिक कुरा मात्र हुन्छन् । आ–आफ्नो अडान मात्र प्रस्तुत हुन्छ । त्यसैले राम्रो के हुुन्छ भने औपचारिक रूपमा बस्नुपर्छ र अनौपचारिक रूपमा विषयवस्तुका बारेमा छलफल गर्नुपर्छ । यसबाट सहमतिमा पुग्न सजिलो हुन्छ ।
० कहिले प्रधानमन्त्री निवास त कहिले बालकोटमा अनौपचारिक बसाइ त भएकै थिए नि ?
– अनौपचारिक रूपमा बसेजस्तो गर्ने गरेर हुँदैन । भएभरका मान्छे बसेर पनि हुँदैन । एक–एक जना, दुई–दुई जना, तीन–तीन जनाको सानो टिममा बसेर अन्तरंग कुराकानी गर्नुपर्छ । त्यसमा एक–अर्काको भावाना र सीमाहरू बुझेर छलफल गर्नुपर्छ र टुंगो लगाउनुपर्छ । त्यसपछि मात्रै औपचारिक रूपमा बसेर त्यसलाई अन्तिम रूप दिने हो ।
० प्रचण्ड र तपाईंबीच त तपार्इंकै घरमा, हवाईजहाजमा समेत कुराकानी भएको थियो, त्यहाँ अन्तरंग कुरा भएन र ?
– त्यतिखेर हामी विषयवस्तुमा प्रवेश गरेका थिएनौं । वार्तामै नबस्ने स्थिति थियो । त्यसैले खाली अब वार्ताको प्रक्रिया सुरु गर्नुपर्छ भने कुरा भएको थियो । त्यो भयो पनि । विषयवस्तुमा अहिलेसम्म प्रवेश भएको छैन । उही पुरानै अडान उताबाट पनि आएका छन्, यताबाट पनि गएका छन् । यसबाट त समाधान निस्किँदैन ।
० विपक्षीले अहिले खासगरी तपाईको पार्टी एमाललेमाथि सहमतिविरोधीको आरोप लगाइरहेका छन् नि ?
– एमाले वार्ताविरोधी होइन, सहमतिविरोधी होइन । एमालेले वार्ताविरोधी खालको त्यस्तो कुनै विचार राखेको पनि छैन । हामी वार्ताको पक्षमा छौं । सहमतिको पक्षमा छौं । सहमतिका निम्ति अधिकतम् पहल गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । एमालेका तर्फबाट कुनै वार्ताविरोधी कुरा प्रस्तुत भएको मैले सुनेको छैन ।
० अस्ति शनिबारकै वार्ता पनि एमाले नेताकै कारण भाँडियो भनिरहेका छन् छ विपक्षीहरू । नौबुँदेबाट टसमस नभएकाले वार्ता भाँडियो भन्ने छ नि ?
– उहाँहरूको पनि नौबुँदे नै थियो, यताको पनि नौबुँदे थियो । यसरी आइसकेपछि यसमा छुट्टाछुट्टै बसेर छलफल गरेर जानुपर्छ । यसलाई अन्यथा लिनु आवश्यक छैन । वार्तामा बसेपछि अडान त प्रस्तुत हुन्छन् । त्यसमा के आश्चर्य भयो र ? त्यसमाथि छलफल गरेर पो सहमति गर्ने हो त । छलफलै नगरी विरोध गर्नुको औचित्य हुँदैन ।
० विपक्षीहरूले आमहड्तालसहितको आन्दोलनको घोषणा गरिसकेका छन्…
– यो बेठीक हो । यसले जनतालाई कष्ट हुन्छ । मुलुकलाई घाटा हुन्छ । त्यसबाट आम जनतालाई मात्रै दु:ख हुन्छ । रोजगारी गरेर दैनिक जीवनयापन गर्नेहरूको रोजगारी खोसिन्छ । सर्वसाधारण जनता सबैभन्दा बढेता पिडित हुन्छन् । यसबाट त गरिबलाई मार्ने, दैनिक ज्यालादारी गर्ने मान्छेको छाक खोस्ने मात्र हुन्छ । बन्द–हड्तालले अर्थतन्त्र चौपट हुन्छ । यो देशको विकासमा बाधक छ । यसले आम जनतालाई त्यस्ता पार्टीहरूप्रति वितृष्णा जगाउँछ र अन्तत: त्यस्ता पार्टी जनताबाट विस्थापित हुन्छन् ।
० त्यहाँसम्म धेकेली दिने त तपाईंहरू नै भन्ने गुनासो छ नि त ?
– होइन, हामीले त बसौं, छलफल गरौं भनिरहेकै छौं नि । एउटाले आन्दोलन गर्न थाल्यो भने अर्कोले ‘हामीलाई आन्दोलनको धम्की दिने ? तिमीहरू देखि हामी किन तर्सिने ?’ भन्न थाल्छ । यसबाट वातावरण बिग्रिन्छ । विमतिका बुँदामा सहमतिका लागि आन्दोलन होइन, वार्ता जरुरी छ ।
० त्यसो भए यो मुठभेडको लक्षण हो ?
– पक्कै पनि यो मुठभेडको लक्षण हो । देशलाई मुुठभेडको दिशामा लैजानु कुनै पनि हिसाबले उपयुक्त हुँदैन ।
० सहमतिको प्रयास गर्न फेरि वार्तामा बस्ने गुञ्जायस चाहिँ छ कि छैन ?
– हेरांै, अस्ति प्रधानमन्त्रीसँग प्रचण्डको कस्तो कुराकानी भयो † ती सबै कुरा थाहा पाएपछि मात्र भन्न सकिन्छ । फेरि, कुरा गर्नका लागि दुई तीन वटा पक्ष तात्नुपर्छ । म मात्र भौंतारिएर पनि भएन । अर्को पक्षले कुरा गर्न चोहेको छ कि छैन भन्ने पनि हेर्नुपर्छ । अर्को पक्षले चाहेकै छैन भने मैले दस औंला जोड्दै हिँडेर पनि भएन । मैले त चाहना र तत्परता भएको थाहा पाएर चासो राख्दा अलिक उपयुक्त हुन्छ । तर पनि, विभिन्न हिसाबले प्रयत्न जारी राख्नुपर्छ । म आफ्नो तर्फबाट गर्नुपर्ने प्रयत्न गर्नमा कन्जुस्याइँ गर्दिनँ ।
० बीचको समयमा पनि तपाईंले पहलकदमी लिएको देखिन्थ्यो तर पार्टी नेतृत्वले वार्ता प्रक्रियामा तपाईंलाई सहभागी नै गराएन भन्ने सुनिन्थ्यो नि ?
– यसमा के भएको हो ? मलाई थाहा भएन । जे भए पनि कसैले कसैलाई पन्छाउने काम गर्नु हँुदैन । सबैको यस्ता कुरामा भूमिका रहन्छ । उसलाई पन्छाइयो भन्ने जस्तो अनुभूति कसैलाई पर्नु हुँदैन । यस्ता कुरामा होस पुर्याउनुपर्छ ।
० त्यो अनुभूति तपाईंलाई पनि भयो, होइन ?
– त्यस्तो नहोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ ।
० यसले त पार्टीभित्रको महाधिवेशनदेखिको विवाद अझै सुल्झेको रहेनछ भन्ने देखायो नि होइन र ?
– म त्यसरी भन्दिनँ । तर, अहिलेको आवश्यकता के हो भने सहमति गर्ने र संविधान छिटोभन्दा छिटो जारी गर्ने । यो कुरामा जानुपर्छ । पार्टीलाई विधिसम्मत् ढंगले सञ्चालन गर्नुपर्छ । सबै जनवर्गीय संगठनलाई त्यही हिसाबले चलाउनुपर्छ । कसैलाई काखा कसैलाई पाखा गर्नु हुँदैन । गुटगत आग्रह पाल्नु हँुदैन । क्रियाकलाप चाहिँ गुटगत गर्ने तर साखुल्य देखाउने काम गर्नु हँुदैन। ० चाहना त हो तर अझै सम्भावना छ त सहमतिको संविधानको ?
– पूर्ण सहमतिको संविधान त सम्भव छैन नै । किनभने, राप्रपा नेपालको धारणा बेग्लै छ । राष्ट्रिय जनमोर्चाको धारणा बेग्लै छ । यस्तो अवस्थामा अधिकतम सहमतिबाट संविधान जारी गर्नुपर्छ ।
० एमाओवादीसहितको मोर्चाको सहमति सम्भव छ त ?
– शासकीय स्वरूपलगायतका नमिलेका विषयमा पछि छलफल गर्ने गरी मिलेका विषयमा सहमति गर्दै जाने तरिका अपनाउन सकिन्छ ।
० सहमति नै भएन भने प्रक्रियामा गएर पनि संविधान बन्छ कि संविधानसभा नै असफल हुने अवस्था आउँछ ?
– यो संविधानसभा असफल हुँदैन । यो संविधानसभालाई सफल बनाउनै पर्छ । त्यसका लागि बरु कति सहमति हुन सक्छ, त्यतिमा सहमति गर्ने र बाँकी कुराहरू छलफल गर्दै टुंगो लगाउँदै जाने गर्नुपर्छ ।
० तपार्इंको पार्टीको महाधिवेशन सकिएको नौ महिना भइसक्यो तर नेताहरूलाई अझै कामको जिम्मा दिन सक्नुभएको छैन नि ?
– त्यो काम छिटो गर्नुपर्ने हो तर ढिलाइ भइरहेको छ । सबैजसो कार्यकर्ताले काम पाएका छैन । सबै बेरोजगार छन् । खाली केन्द्रीय कमिटीको सदस्यको ट्याग मात्रै छ । यसबाट संगठनको काम व्यवस्थित हुन सकेको छैन ।
० काम दिनुपर्ने तपाईंहरूले नै होइन र ? कसले ढिलाइ गरेको हो ?
– कार्यविभाजनको विषय टेबुलमा आएकै छैन । टेबुलमा प्रस्तुत नै नभएकाले के कारणले भएन भन्ने मैले भन्न सक्तिनँ । कुनै पनि कारण अघि सारेर ढिलाइ गर्नु चाहिँ हँुदैन । यो कामलाई तत्काल सम्पन्न गर्नुपर्दछ । सहमतिका साथ यो काम गर्ने जिम्मा सचिवालयलाई दिइएको छ । सचिवालयले वर्कआउट गरेर ल्याओस् । सचिवालयमा छलफल गर्न डराउनु हुँदैन । त्यहाँ विचार, धारणाहरू आउँछन् तर त्यसले के बिग्रन्छ र ? पक्षकै कुरा गर्ने हो भने सचिवालयमा सबै पक्ष छन्, व्यक्ति भन्ने हो भने सबै खालका विचार, दृष्टिकोण भएका साथीहरू हुनुहुन्छ । त्यही छलफल हुन्छ, विवाद हुन्छ, बहस हुन्छ र त्यही टुंगो लाग्न सक्छ ।
० छलफलका लागि जुन टेबलमा आउनुपर्ने हो त्यहाँ नआइकन पत्र–पत्रिकामा चाहिँ आयो, होइन ?
– त्यही त, पत्रपत्रिकामा आउँछ तर टेबुलमा आउँदैन । यसो हुनु राम्रो होइन ।
० यसको टुंगो कहिलेसम्म लगाउनुहुन्छ ?
– यो मैले जान्ने कुरा होइन । पार्टी नेतृत्वले गर्ने कुरा हो ।
० अध्यक्षसँग कुराकानी त भएको होला नि ?
– कार्यविभाजन गर्ने त भनिन्छ तर त्यो त्यत्तिकै नाममा मात्र चढेको छ । त्यो बाहिर टेबुलमा पस्किएको छैन । सचिवालयमै छलफल चलाउनुपर्यो, सबैभन्दा राम्रो त्यो हुन्छ ।
० स्थायी कमिटीले नै पूर्णता पाएको छैन….
– स्थायी कमिटीमा अब एक जना
राख्नुपर्ने हो । मैले कतिचोटि भनिसकें तर हुन सकिरहेको छैन ।
० अध्यक्ष केपी ओलीसँग अहिले तपार्इंको बोलचाल नै छैन भन्ने कुरा बाहिर आएको छ नि ?
– बोलचाल चलिरहेको छ । आइतबार पनि म उहाँकै निवासमा गएको थिएँ । उहाँको स्वास्थ्य स्थिति बुझें र स्वास्थलाभको कामना गरें । संविधानको बारेमा केही छलफल भयो, अरू विषयमा खासै कुरा भएन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply