अब संविधान बन्ने सुनिश्चित भएको छ
– रामेश्वर फुयाल सभासद्, नेकपा (एमाले)० जनतालाई एक वर्षमा संविधान दिन्छौं भनेर संविधानसभामा आउनुभएको थियो, सक्नुभएन । कस्तो लागिरहेको छ ?
– म माघ ८ गते नयाँ संविधानको खाका प्रस्तुत गर्न सकिन्छ भन्ने भित्री विश्वासमा थिएँ । माघ ८ मा खाका प्रस्तुत गर्न नसके पनि माघ ५ को मध्यरातमा प्रक्रिया सुरु भयो, यो कुरामा म भित्रदेखि नै खुसी छु ।
० प्रक्रिया त माघ ११ बाट सुरु भएको हैन र ?
– माघ ११ मा प्रक्रियाको वास्तविक रूपमा थालनी भयो । माघ ५ गते बेलुकी मध्यरातमा सभामुखले प्रस्ताव निर्माण समितिको प्रस्ताव गर्नका लागि नेपाली कांग्ेरसका प्रमुख सचेतकलाई समय दिनुभयो, यसमा अवरोध सुरु भएपछि नेपालमा संविधान निर्माण सुरु भयो भन्ने मेरो विश्वास छ ।
० संविधान ल्याउने वाचा गरेको दिन, संविधानसभाभित्र आफैं वितण्डाको दर्शक बन्नुपर्यो हैन ?
– मैले त्यसलाई वितण्डाको रूपमा लिएको छैन । राजनीतिमा यति कुरा हुन्छ, यो सहज घटना हो ।
० संसद्भित्र कुर्सी फोडिनु, माइक भाँचिनु पनि सहज कसरी भयो ?
– एमाओवादीले हिंसाको बाटोबाट उसले चाहेको एकदलीय राज्य व्यवस्थाको परिकल्पना गरेको थियो । ऊ एक छेउको उग्रवामपन्थी राजनीति गरिरहेको छ । उसको वामपन्थको प्रतीक हो त्यो । पुराना जमिनदारहरूको संगठन बनाउने गरी वास्तविक लोकतन्त्रतर्फ मुलुकलाई नलगीकन जातीय क्षेत्रीयतावादी विषय उठाएर उग्रदक्षिणपन्थको प्रतीकका रूपमा मधेसकेन्द्रित दलहरू छन् । यी दुईटाको गठजोडमा ल्याउन खोजेको व्यवस्था भनेको पूर्ण लोकतन्त्रतर्फको होइन । वास्तविक प्रजातन्त्रतर्फको होइन । कमरेड भण्डारीले भन्नुभएको कुरालाई म सापट लिन चाहन्छु– उहाँले ‘आमैले लगाउने बालाको मुख दुईतिर फर्केको हुन्छ, तर जोडिएको हुन्छ’ भन्नुहुन्थ्यो । उग्रवामपन्थ र दक्षिणपन्थको संविधान निर्माणको मामिलामा एउटै विचार आयो । हामी यसको खिलाफमा छौं ।
० संविधानसभामा त्यो अवस्थाको सिर्जना हुन्छ भन्ने पहिला अनुमान गर्नुभएको थियो ?
– संविधान निर्माण गर्दा एक पटक झिलिक्क हुन्छ भन्ने मलाई लागेको थियो । त्यो झिलिक्कको परिणाम संसद्मै भयो । यस कुराको जनाउ दुई–पाँच दिन अगाडि मात्र होइन, दुई दशक अगाडिदेखि थियो । उग्रवामपन्थको अन्त्यको बेलाको झिल्का हो त्यो । यो चकमक बालेजस्तो लाग्छ मलाई । त्यो पनि उज्यालोका लागि हो । यदि राजनेताको रूपमा एमालेको नेतृत्वले अहिले भूमिका खेल्ने हो भने नेपाली जनताले परिकल्पना गरेअनुसारको जनवाद उन्मुख संविधान ल्याउन सकिन्छ, हामी त्यो बाटोमा अघि बढ्छौं ।
० तर, बाहिर सहमतिको सम्भावना भाँड्ने काम नै एमालेको मुख्य नेतृत्वले गर्यो भन्ने आरोप छ नि ?
– निर्माण गर्नेहरूलाई त्यस्तो आरोप लाग्छ । ०३५/३६ का बेला राजनीतिमा एक खालको सन्नाटा थियो । नेकपा (माले)को स्थापना भएपछि त्यो पार्टीलाई कतिपयले संशोधनवादी भने । झापाकालमा यो उग्रवामपन्थी नै पार्टी थियो । पञ्चायत ढाल्नका लागि हामीले क्रान्तिकारी उपयोगको नीति लियौं । त्यो बेला हामीलाई पञ्चायतपरस्तको आरोप लाग्यो । तर, हामीले जनआन्दोलनलाई संगठित गर्यौं । साना–साना कम्युनिस्ट पार्टीलाई मिलाउँदै अघि बढ्यौं । ०४६ को जनआन्दोलनमा आइपुग्दा यो पार्टी वास्तविक नेतृत्वदायी पार्टी बन्यो । त्यसैले एमालेलाई बेला–बेलामा यस्तो आरोप लाग्छ । नेतृत्व गर्नेहरूले ठिंग उभिन सक्नुपर्छ । यतिखेर संविधान निर्माणमा राजनेताको भूमिका हाम्रो पार्टीका अध्यक्ष केपी ओलीबाट भएको अनुभूत आम नेपालीलाई भएको छ ।
० एमाओवादीलाई संविधानसभा छाडेर जाने कि भन्ने बहससम्म पुर्याउने काम केपी ओलीले नै गरेको भन्ने छ नि ?
– राजनीतिमा घुर्की लगाउन पाइन्छ । उहाँहरू संविधानसभा छाडेर कहाँ जाने ? फेरि जंगल
जाने ? विप्लवको पछाडि लाग्ने कि जनताको बहुदलीय जनवादले परिकल्पना गरेको मूल राजनीतिक धारको रूपमा रहेको नेकपा (एमाले) ले लिएको बाटोको पछि लाग्ने ? म त आह्वान गर्न चाहन्छु– अब नेपाल कम्युनिस्ट पार्टीका पछाडिका पुच्छरहरू काँटिदिउँ, नेपाल कम्युनिस्ट पार्टी मात्र राखौं । जनताको बहुदलीय जनवाद त्यसको सिद्धान्त हुन्छ । नेताहरू सबैलाई व्यवस्थापन गरांैला । नीतिमा एक ठाउँ आउन सक्छौं । युद्धमा जाने स्पेस विप्लवले लिनुभयो । शान्तिपूर्ण राजनीतिको मूलधारको कम्युनिस्ट पार्टी एमाले छँदैछ । एमाओवादी तेस्रो पार्टी हो । चुनवाङ बैठकको निर्णयअनुसार चल्ने हो भने डगमग नगरी त्योभन्दा अघिल्लो अवस्थातर्फ जानु हुँदैन ।
० तपाईंले उनीहरूको मुद्दा सम्बोधन गर्न नै तयार हुनुहुन्न ?
– हामीले उनीहरूका जायज मुद्दाको सम्बोधन नगरेको कहाँ छ र ? हामी १२ बुँदेमा गयौं । उहाँहरूले उठाएका कतिपय मुद्दामा सहमतिमा गयौं । ०६२/६३ को जनआन्दोलनसँगै गयौं । यो पनि एउटा आन्दोलनको उत्कट रूप त हो नि † यो संक्रमणकालको अन्त्य गर्न राजनीतिक क्रान्तिका उपलब्धिहरूको रक्षा गर्न नयाँ संविधान बनाउने कुरामा सहमत नहुने हो भने उहाँहरूको राजनीतिक टाट पल्टाइ हुन्छ । त्यसैले एमाओवादी यो संविधानसभा छाडेर जाँदैन । कहिलेकाहीँ रिस आवेगका बेला बोल्नुभएको हो, ठाउँ राखेरै बोल्नुभएको छ । ‘होइन भने’ भन्नुभएको छ ।
० सहमतिका लागि बटमलाइन नै माघ ११ को कदम सच्चिनुपर्छ भन्ने छ नि ?
– त्यो अडान चाहिँ यो दोस्रो संविधानसभाबाट पनि संविधान नबनाउनका लागि हो ।
० संविधानसभाको ‘असली आमा नै हामी हो’ भन्छ माओवादीले, अनि नबनाउनुपर्ने कारण के होला र ?
– पहिलो संविधानसभा उहाँहरूले नै भंग गराउनुभयो । त्यो बेलाको प्रधानमन्त्री बाबुराम भट्टराई हुनुहुन्थ्यो । पहिलो पार्टीको पहिलो नेता प्रचण्ड हुनुहुन्थ्यो । दोस्रो संविधानसभाा उहाँहरूलाई दुई तिहाइ ल्याउने परिकल्पना गर्नुभएको थियो । जनताले हामीलाई पुग्ने भोट दिए । संविधान बनाउन दुई तिहाइ नेपाली कांग्ेरस, एमालेलगायतका दलहरूलाई दिए । उहाँहरूलाई प्रतिपक्षमा रहेर भूमिका खेल्न राम्रै साइज दिएका छन् । समानुपातिक तर्फबाट राप्रपा नेपाललाई पनि संसद्मा भूमिका खेल्न सक्ने गरी हैसियत दिएका छन् । जनताको फैसला त उहाँहरूले पनि मान्नुपर्यो नि †
० राप्रपा नेपाललाई त तपाईंहरूले गन्दै गन्नुभएको छैन ?
– होइन, हामीले मानेका छौं । उहाँहरूका मुद्दाहरूलाई हामीले राजनीतिक कुरा हो
भनेका छौं ।
० प्रश्नावली समितिमा त्यो पार्टीका मुद्दा सम्बोधन नै गर्नुभएन नि ?
– प्रश्नावली निर्माणका लागि बनेको प्रस्ताव निर्माण समितिको उपसमितिको कार्यविधि बनाउने बैठक उहाँहरूले बहिष्कार गर्नुभयो । अन्तरिम संविधान ०६३ ले फैसला गरेको मुद्दामा उहाँहरूले प्रतिक्रिया व्यक्त गर्न पाउनुहुन्छ, फरक मत राख्न पाउनुहुन्छ तर टुंग्याउनका लागि जनमत संग्रहमा जान हामी दिँदैनौं । एक पटकको जनताको, क्रान्तिको फैसला भइसक्यो । त्यो क्रान्तिलाई उल्ट्याउने कुरा प्रतिक्रान्तिकारी हुन्छ । संघीयता उल्ट्याउने कुरामा एमाले तयार छैन ।
० १९ दलले यो प्रक्रिया नै बहिष्कार गरे, राप्रपा नेपाल पनि बैठक छाडेर हिँडेको छ, राप्रपा, जनमोर्चा, नेमकिपाले पनि नोट अफ डिसेन्ट लेखेर जाने भनेका छन्, यो प्रक्रियामा त एमाले र कांग्ेरस मात्र बाँकी रहने देखियो त ?
– दुई तिहाइबाट संविधान निर्माण गर्ने हाम्रो लक्ष्य होइन । हामी सर्वसम्मतिबाटै वा त्यो नभए अधिकतम् सहमतिबाट संविधान निर्माण गर्न चाहन्छौं । प्रजातन्त्रमा एउटा बाटो मात्रै अन्तिम बाटो हुँदैन । हामीसँग यतिबेला दुईटा बाटा छन् । एउटा, सर्वसम्मति वा अधिकतम सहमति होइन भने दुई तिहाइबाट निर्णय गर्नु हाम्रो विकल्प हो ।
० त्यही भएर दुई तिहाइको दम्भ देखाइरहनुभएको छ ?
– होइन, यो नेपाली जनताले दिएको जनादेश हो । जनादेशको कदर केपी ओलीले पनि गर्नुपर्छ, प्रचण्डले पनि गर्नुपर्छ, कमल थापाले पनि गर्नुपर्छ । जनादेशको कदर हामी सबैले गर्नुपर्छ ।
० अब संविधान निर्माणको काम चाहिँ अगाडि बढ्यो, हैन ?
– प्लेन उड्नका लागि तयारी छेउन्जेल, अगाडिको पंखा चलुञ्जेल पनि कुर्न सकिन्छ । जब जमिन छाड्नैपर्ने बेला आउँछ, हामी उड्छौं । हामी उडिसकेको छौं । अर्को ट्रान्जिटबाट अरूलाई पनि सामेल गराउन चाहन्छौं । प्रजातन्त्रमा सँगै हिँड्ने बाटो गर्नैपर्यो । तर, कुरेरै बसिरहन सकिँदैनथ्यो । त्यसरी कुर्दा छ वर्ष त बित्यो नि †
० अन्तिम गन्तव्यमा कहिले पुगिन्छ त ?
– प्रक्रिया अगाडि बढेको छ । प्रश्नावली तयार गर्न सोमबार बिहान मात्र प्रस्ताव निर्माण समितिको बैठक बस्यो । यसले प्रश्नावली निर्माणका लागि उपसमिति बनाएको छ । त्यसले मंगलबारसम्म काम गरेर फुल समितिमा जान्छ र हामी प्रश्नावली परिमार्जन गर्छौ । पाँच दिनमा यो काम सक्छौं । यो बेलासम्म सहमति भयो भने राम्रै भयो । भएन भने हामी प्रश्नावली बोकेर जनतामा जान्छौं ।
० यो बीचमा सहमतिको सम्भावना कति प्रतिशत देख्नुभएको छ ?
– व्यावहारिक हुने हो भने सहमतिको सम्भावना छ । मधेसवादी दलका नेता विजय गच्छदारले मध्यमार्गी विकल्प राख्नुभएको छ । थोरै प्रदेश, विकास खर्च बढ्ने र प्रशासनिक खर्च घट्ने गरी बनाउनुपर्छ । म त पाँच प्रदेशको पक्षमा छु । पहिलाको विकास क्षेत्रलाई प्रदेश बनाउनु उचित हुन्छ ।
० त्यसो भन्दा त महेन्द्रपन्थी भन्छन् नि ?
– म जीवनभर महेन्द्रविरोधी भएा तर यसो भन्दा महेन्द्रपन्थी भइन्छ भने हुन तयार छु । म हिमाल, पहाड र मधेस जोडेको प्रदेशको आवश्यकता देख्छु । हिमाल, पहाड र मधेस महेन्द्रभन्दा धेरै वर्ष पहिले प्रार्दुभाव भएका हुन् । महेन्द्रको पालामा लगाएको कोट लगाउनु हुन्न भनेर फाल्दै हिँड्नु त भएन । मैले त कोट फालिनँ ।
० गच्छदारको प्रस्ताव अस्वीकार गर्नु पनि के एमाओवादीको ऐतिहासिक भुल थियो ?
– म ती क्रान्तिकारीहरूलाई सम्झन्छु, जो एउटा लहडमा हिंसात्मक आन्दोलनमा लागे । आज आफ्नै टिमभित्रबाट मारिएका खबर आउँछन् । पाँच टुक्रामा एमाओवादी विभाजन भइसक्यो । सयौं टुक्रामा टुक्रने अवस्था सिर्जना भएको छ । त्यसको एउटै कारण उग्रवामपन्थ हो । अब मधेसकेन्द्रित दल पनि यो विषयमा एउटै ठउँमा रहने स्थिति छैन । प्रचण्डले कडा आन्दोलन गरौं भन्दा गच्छदारले के फेरि बम पड्काउने, फेरि बन्दुक बोक्ने भनेर ती विषय उठाए । एमाओवादीकै दोस्रो तहका नेतालाई यो आन्दोलनको विश्वास नै छैन । जुन कुरा नारायणकाजी श्रेष्ठहरूबाट अभिव्यक्त भएका छन् । त्यसैले यो आन्दोलनको गन्तव्य के ? अहिले प्रचण्ड अन्यमनस्क स्थितिमा हुनुहुन्छ– यो दु:खद् कुरा हो । त्यसैले उग्रवामपन्थी कोट फ्याँकेर वास्तविक वामपन्थी बाटोमा प्रचण्ड आउने हो संविधान निर्माणकै बाटोबाट नै उहाँले परिकल्पना गरेको समाज व्यवस्थातर्फ जान सकिन्छ । तर, उहाँले बनाउनुभएको रणनीति फेल भइरहेको छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply