एकदेखि तीन महिनाभित्र संविधान आउँछ
– सुवासचन्द्र नेम्वाङ अध्यक्ष, संविधानसभ० आइतबारको घटनापछि कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
– धेरैले मलाई एउटा प्रक्रिया अगाडि बढ्यो, अब संविधान आउने निश्चित भयो भनेका छन् र खुसी मानेका छन् । सँगसँगै ‘तपार्इंले जुन सहमति नै मेरो प्राथमिकता हो भन्नुभएको छ, त्यसलाई पनि अगाडि बढाउनुपर्यो र संविधानसभाको जुन निश्चित प्रक्रिया छ, त्यो पनि सँगसँगै अगाडि बढाउनुपर्यो’ भन्ने प्रतिक्रिया प्राप्त गरेको छु ।
० तर, पहिलोचोटि तपाईंको पुत्ला दहन भएको छ नि ?
– जाडोमा अलिक न्यानो नै भएको छ । यसमा मेरो विशेष कुनै टिप्पणी छैन । राजनीतिक क्षेत्रमा लागिसकेपछि क्रिया–प्रतिक्रिया हुन्छन् । यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।
० तर, तपाईं त प्राय: विवादबाट बच्न चाहने नेता….
– मेराबारेमा त्यस्तो टिप्पणी हुनेगर्छ । तर, विवादबाट बच्नका लागि गर्नुपर्ने काम नगर्ने कुरामा म विश्वास गर्दिनँ । खालि के मात्र हो भने गर्नुपर्ने काम अलिक ढंग पुर्याएर, अलिक बुद्धि पुर्याएर र अलिक गृहकार्य गरेर गर्नुपर्छ भन्नेमा म विश्वास गर्छु । त्यसो गर्दा कहिलेकाहीँ केही पनि नगरेर विवादबाट बच्न खोज्छ भनेर आलोचना हुन्छ ।
० सुन्न चाहिँ सुन्नुभएको रहेछ, त्यो कुरा ?
– सुनेको छु । तर, त्यो कुरा होइन । काम गर्नुपर्छ । मैले संविधानसभाकै बैठकमा माघ ७ र ८ गते पनि भनेको छु– ‘संविधान निर्माणको प्रक्रिया अगाडि बढ्नुपर्छ । देशले संविधान पाउनुपर्छ । त्यसका लागि पछाडि फर्केर पनि हुँदैन । एकै ठाउँमा टक्क उभिएर पनि हुँदैन, अगाडि बढ्नुपर्छ ।’ मेरो यही मान्यता हो ।
० आफूलाई प्राप्त अधिकार पनि प्रयोग गर्नुहुन्न भनेर तपार्इंमाथि आलोचना हुने गरेको छ, यसमा तपार्इंको भनाइ के छ ?
– मसँग कति अधिकार छ भन्ने त अहिलेका घटनाक्रमबाट पनि देखिएको छ । मैले ‘माघ ८ गते संविधान जसरी पनि बन्नुपर्छ, त्यसका लागि तपाईंहरूले सहमति गर्नुपर्छ, सहमति गर्न सक्नुहुन्न भने त्यो अधिकार मलाई दिनूस्’ भन्दा झन्डै आकाशै खस्ला जस्ता टिप्पणी आए । त्यसबाट मेरो अधिकार के रहेछ भन्ने देखिएको छ ।
० नेताहरुले त सभाध्यक्ष अगाडि बढ्नुभएन भन्ने गुनासो गरेका थिए नि ?
– मलाई दल, दलका नेता र सभासद्हरूले ‘तपाईं अगाडि बढ्नुस्, क्रियाशील हुनुहोस्’ भनेर निरन्तर भन्नुभयो । मैले म त्यति गर्छु भन्दा कति भयो, त्यो हामी सबैले देखेका छौं ।
० अहिलेको प्रस्ताव समिति गठन चाहिं तपाईंको अधिकार क्षेत्रमा पर्दैन भन्ने तर्क विपक्षको छ नि ?
– नियम ९१ ले अध्यक्षले समिति बनाउने भन्ने लेखेको छ । मैले विगतमा त्यही संविधानसभा नियमावली अनुसार संवाद समिति, मस्यौदा समितिलगायतका समिति बनाए । त्यही प्रक्रियाबाट यो प्रस्ताव समिति त्यति लामो गृहकार्य गरेर बनाउँदा पनि यो संविधानसभा अध्यक्षको अधिकार नै होइन भन्ने कोणबाट प्रश्न उठिरहेको छ । यसबाट मलाई कति अधिकार प्राप्त छ, नियमले अधिकार छ भनेर लेखेकोमा पनि कसरी प्रयोग गर्नुपर्छ भन्ने कुरा सायद प्रस्ट हुन्छ ।
० त्यत्रो वितण्डा मच्चाउने सभासद्लाई पनि तपाईंले केही गर्नु भएन ?
– त्यसको पनि एउटा प्रक्रिया छ । मैले प्रक्रिया नपुर्याइकन गर्न मिल्दैन । संविधानसभा झन् यस्तो थलो हो, जसले संविधान, नियम र कानुनलाई एकदमै पछ्याउनुपर्छ । म त कानुनको शासनमा विश्वास गर्ने विद्यार्थी हुँ । त्यसैले माघ ५ गतेको घटनालाई लिएर ६ गते बिहानै मैले छानबिन समिति गठन गरेको छु । त्यो समितिलाई के कति क्षति भएको छ, कसले के कति भूमिका खेलेको छ, प्रस्ट आधारसहित मलाई दिनुपर्छ भनेको छु ।
० आफ्नै आँखा अगाडि घटना देख्नुभएको छ, होइन र ?
– कतिपय कुराहरू मैले देखेर पनि भन्न सक्ने आधार हुँदैन । मैले आदेश गरिसक्दा त्यसको आधार हुनुपर्छ । बाहिरबाट देख्नेहरूले पनि यसले ठीक निर्णय गर्यो भन्ने हुनुपर्छ । उदाहरणका लागि, तपाईंहरूमध्ये कसै कसै–कसैले जुत्ता प्रहार गरेको देख्नुभयो होला । कोही मान्छे अध्यक्षको छेउमा गम्छा लिएर आक्रमण गर्न आएको देख्नुभयो होला । तर, त्यो मान्छे को हो भन्ने नाममै कन्फ्युजन छ । नाम बेगर कारबाही गर्न सकिन्न । यस्ता कुराका लागि छानबिन आवश्यक पर्छ । त्यही भएर नियमबमोजिम मैले छानबिनको आदेश गरेको छु । प्रतिवेदन आउनासाथ नियमबमोजिम कारबाही हुन्छ ।
० कारबाही चाहिँ हुन्छ, यसचोटि ?
– कारबाही हुन्छ, विवाद छैन ।
० त्यहाँ भएको क्षति सम्बन्धित सभासद्बाटै भराइन्छ त ?
– के कस्तो क्षति छ, त्यो कसका हातबाट कसरी भयो ? प्रतिवेदनले जे भन्छ, म त्यसका आधारमा अगाडि बढ्छु । नियमको व्यवस्था अनुसार कारबाही हुन्छ ।
० विपक्षबाट यसपटक तपाईं ‘कांग्रेस–एमालेको प्रवक्ता बन्नुभयो’ भन्ने आरोप लागेको छ नि ?
– संविधानसभामा ३१ दल छन् । कहिले कुन दलले भनेको कुराको नजिक निर्णय प्रक्रिया पुग्छ, कहिले कुन दलको नजिक पुग्छ । आफ्नो कुरा भएन भने अर्को दलले भने अनुसार गर्यो भन्ने हाम्रा दलहरूको चलनै छ । यस्ता टिप्पणीहरूलाई मैले स्वाभाविक रूपमा लिने गरेको छु ।
० निकै ठूलो प्रतिक्रिया उत्पन्न भयो नि ?
– प्रतिक्रिया त उत्पन्न भएको छ । देशव्यापी रूपमा प्रतिक्रिया उत्पन्न भएको छ, विश्वव्यापी रूपमा नेपालीहरू जहाँ–जहाँ छन्, त्यहाँ प्रतिक्रिया उत्पन्न भएको छ । तर, समग्रमा मैले बढीजसो प्रतिक्रिया सकारात्मक नै पाएको छु । अब संविधान निर्माण अगाडि बढ्यो भन्ने पाएको छु । यसबाट सेयर बजारको पनि भाउ बढेको छ ।
० राजनीतिक सेयर बजारमा तपाईंको पनि भाउ बढ्यो नि होइन ?
– यसमा मैले त्यति वास्ता गर्ने गरेको छैन । मेरो इच्छा भनेको संविधान निर्माणको प्रक्रिया अगाडि बढोस् र समयमै टुंगियोस् भन्ने नै हो ।
० प्रक्रिया सुरु भएपछि अब कति समय लेला त संविधान निर्माणले ?
– सामान्य प्रक्रिया टुंगोमा पुग्नका लागि अलिकति समय लाग्छ । त्यसका लागि मैले गृहकार्य गरिराखेको छु । केही कुराहरूमा फेरि सहमतिबाटै निर्णय गर्नुपर्नेछ । उदाहरणका लागि माघ ८ मा संविधान जारी गर्ने सन्दर्भमा, जनतामा जाने कार्यक्रम कटाउँ भन्ने मेरो मान्यता थियो । तर, अब भने सामान्य प्रक्रियामा अगाडि जाँदा अलिकति समय लाग्छ । हिजो जस्तो जनतामा जाने कार्यक्रम कटाइरहनु हुँदैन । बरु केही परिमार्जन गरेर समय अलि थोरै बनाउँ भन्ने मेरो सोचाइ छ ।
० तपार्इंले भने अनुसार नै गर्यो भने समय कति लाग्ला ?
– गृहकार्य गरिराखेको छु, हिसाब गराइरहेको छु । अलिकति छोट्याएर जाँदा सबै प्रक्रिया पूरा गर्दा बढीमा तीन महिना लाग्ला । छिटो गर्दा कम्तीमा एक–डेढ महिनासम्ममा सकिन्छ ।
० तपाईंका कुनै पनि कदममा सहयोग नगर्ने विपक्षीले निर्णय गरेका छन्, अब कसरी प्रक्रिया अगाडि बढाउनुहुन्छ ?
– उहाँहरूको निर्णय के छ, मैले सोझै जानकारी पाएको छैन । त्यसलाई लिएर म टिप्पणी गर्दिनँ । तर, मलाई के थाहा छ भने उहाँहरूले पनि ‘संविधान बनाउँछौ, संविधान बनाउने हाम्रो चाहना हो, हाम्रो प्रतिबद्धता हो’ भन्नुभएको छ । त्यसैले संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्याउन उहाँहरूले सोच्नुहुनेछ, मद्दत गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।
० तपाईं आशावादी हुनुहुन्छ, दलहरूका बीचमा फेरि सहमति बन्छ ?
– बन्छ । सहमति बन्नुको अर्को विकल्प छैन । दलहरूका बीचमा सहमति नभएकाले आइतबारबाट म प्रक्रियामा अगाडि बढाएको छु । त्यही प्रक्रियामा अगाडि बढ्दा पनि मैले दलहरूलाई सहमति गर्ने ठाउँ राखिदिएको छु ।
० कसरी ? तपाईंले त सहमतिको ढोका बन्द गरिदिनुभयो भन्ने आरोप छ नि ?
– विपक्षीहरूले मलाई ‘शुक्रबार एक दिनको समय चाहियो’ भन्नुभएको थियो । मैले आइतबारबाट प्रक्रिया सुरु गरेँ । त्यो प्रक्रिया सुरु गर्दा पनि मैले उहाँहरूसँग गरेको प्रतिबद्धता अनुसार समय उपलब्ध गराएको छु । उहाँहरूले मलाई शनिबार ‘१० दिन समय चाहियो’ भन्नुभएको थियो । मैले आइतबार त्यो प्रस्ताव समिति पारितको घोषणा गरिरहँदा ‘बैठकको मिति पाँच दिन पछाडि गर्छु, त्यो समितिलाई पाँच दिनको समय दिन्छु’ भनेको छु । यसरी मैले दुवै समय जोड्दा ११ दिन उपलब्ध गराउँदै संविधानसभाको बैठकबाटै घोषणा गरेको छु– ‘यो सबैको जित हो । तपाईंहरू सहमति गर्न अगाडि सर्नूस्, सहमति नै प्राथमिकता हो । सहमति हुनासाथ प्रस्ताव समितिका कारबाहीहरू त्यहीँनिर स्थगित हुन पुग्छन् ।’
० प्रस्ताव समितिले पूर्णता पाएको छैन, पूर्णता नपाए पनि काम चाहिँ गर्छ ?
– प्रस्ताव समितिमा ४९ सदस्यको मात्र नाम घोषणा भएको छ । त्यसमा केही दलहरूले नाम दिएका छैनन् । अपूर्ण रहँदारहँदै पनि त्यो घोषणा गरिएको छ । नियमले यसबारेमा कुनै प्रस्ट व्यवस्था गरेको छैन । तर, मलाई के विश्वास छ भने दलहरू सहमतिमा अगाडि बढ्छन्, यसलाई नेताहरूले सकारात्मक रूपमा लिनुहुन्छ । त्यसैले यसबारेमा मेरो अहिले केही विशेष टिप्पणी छैन । म यति मात्र भन्छु–आइतबार घोषणा गरे अनुसार ५ दिनको समय दिँदै माघ १७ गते १ बजेका लागि मैले त्यसको पहिलो बैठक तोकेको छु ।
० भनेपछि अरूको नाम नआए पनि समितिले काम अगाडि बढाउँछ ?
– १७ गते १ बजे अगाडि नै उहाँहरूको कुराकानी सकारात्मक रूपमा अगाडि बढ्ला भन्ने मेरो विश्वास छ ।
० अघिल्लो संविधानसभामा तपाईं नै अध्यक्ष हुनुहुन्थ्यो, दुई तिहाइले अनुरोध गर्दा पनि बैठक नै बसाउनुभएन । अहिले चाहिँ संविधानसभाको आयु तीन वर्ष छँदाछँदै पेलेरै बैठक बसाउनुभयो भन्ने आरोप विपक्षीहरूले तपाईंमाथि लगाइरहेका छन् नि ?
– हामी दल र दलका नेताहरू सबैमा आफूलाई चाहिएको कुरा मात्र सम्झना गर्ने बानी छ । त्यसलाई अन्यथा नलिन आग्रह गर्छु । गएको पटक हस्ताक्षर गरेर मलाई बुझाइएको हो । कुनै बैठक राख्न भनेर वा कुनै निश्चित प्रस्ताव राखेर गरिएको होइन । यो पनि भनौं, विवाद समाधान उपसमितिमा स्वयम् प्रचण्डजी संयोजक हुनुहुन्थ्यो । त्यसका सदस्यहरूमा माधवकुमार नेपाल, रामचन्द्र पौडेल, लक्ष्मणलाल कर्ण र कल्पना राणा हुनुहुन्थ्यो । हामी आमन्त्रित रूपमा जान्थ्यौं । त्यो समितिले एक पटक अब प्रक्रिया पनि अगाडि बढाऔं, सहमतिलाई पनि सँगसँगै अगाडि लैजाऔं भन्ने निर्णय गरेको थियो । सचिवालयबाट प्रश्नावली बनाउन लगाएर ३० वटा प्रश्नावली अगाडि बढाइएको थियो । तर, संवैधानिक समितिमा पुगिसकेपछि विवाद भयो । स्वयम् प्रचण्डजीले यसलाई संविधानसभातिर होइन, फेरि विवाद समाधान उपसमितितिर फर्काउँ भन्ने प्रस्ताव गर्नुभयो । सर्वसम्मतिले त्यो प्रस्ताव संवैधानिक समितिबाट विवाद समाधान उपसमितिमा फर्काइयो । त्यसपश्चात जेठ २ गते उहाँहरूका बीचमा सहमति भयो । त्यो दिन विवाद समाधान उपसमितिको बैठक राखेर उहाँहरूले यस्तो निर्णय गर्नुभएको छ– ‘हामी बीचमा सहमति हुँदा राम्रो हुँदोरहेछ, असहमति हुँदा त प्रश्नावली संविधानसभामा लैजाने प्रस्ताव समेत तयार गर्न नसकिँदोरहेछ । तर, खुसी लागेको छ, आज हामीहरू बीचमा सहमति भयो, जेठ १४ मा संविधान बन्ने भयो ।’ त्यसमा उहाँहरूले हस्ताक्षर गर्नुभएको छ । तर, उहाँहरूको यो सहमति दुई दिन पनि टिकेन । यथार्थ कुरा यो हो । त्यसपश्चात् संविधानसभाको बैठक नराखेको होइन । मैले दैनिक बैठक राखेको छु । तर, संवैधानिक समितिले बिजनेस नदिएको हुनाले संविधानसभाको बैठक नबसेको हो ।
० अन्तिम दिन (जेठ १४ गते) सिंहदरबारबाट संविधानसभा बैठक कक्षमै जानुभएन नि ?
– जेठ १४ गते बैठक राखेर पनि बैठक नबसेको यथार्थ हो । किनभने, त्यो दिनको बैठकका लागि बिजनेस थिएन । त्यो दिन संविधानसभाको बैठक बसेको भए के हुन्थ्यो भन्ने कुरा अस्ति ५ गतेको घटना हेरिसकेपछि अब सबैले बुझिसकेको हुनुपर्छ ।
० आइतबार प्रक्रिया सुरु गर्दा कत्तिको जटिलता भयो त ?
– मैले यसका बारेमा धेरै मिहिेनत र गृहकार्य गरेको हुँ । पटक–पटक संविधानसभाको बैठक बसेको छ र त्यहाँ मैले आफ्ना कुरा राखेको छु । ७ गते आफ्ना कुरा राखेको छु । ८ गते विस्तृत रुलिङ गरेर छु र यसबीचमा दलहरूसँग व्यापक छलफल गरेको छु । मैले हठात् यो प्रक्रिया अगाडि बढाएको होइन । शुक्रबार घोषणा गरेरै आइतबार प्रक्रिया सुरु भएको हो । त्यसमा सहजता ल्याउनका लागि कुनै एक दलका तर्फबाट प्रस्ताव गर्नुभन्दा मैले नै प्रस्ताव राखेर दलहरुको जुँगाको लडाइँलाई सहज बनाइदिन खोजेको हुँ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply