एकोहोरिएपछि भेडो भइएछ
डा. डिल्लीराज खनाल भर्खरै एमालेमा फर्किएका अर्थविद्० १२ वर्षमा खोलो फर्कन्छ भन्थे तर तपाईं त चार वर्षमै पुन: एमालेमा फर्कनुभयो, होइन ?
– झट्ट हेर्दा त्यस्तै–त्यस्तै लाग्छ । तर, के हो भने जतिबेला मैले एमाले छाडेँ, त्यो बेला केही–केही कुरामा मलाई चित्त दु:खेको थियो । तर, मैले अहिले भन्ने पनि गरेको छु कि त्यो बेला ममा पनि भूत सवार भएछ । मान्छे एकोहोरिएपछि भेडो हुन्छ भन्छन्, त्यही भइएछ ।
० के कुरामा चित्त दु:खेको थियो ?
– त्यता धेरै कोट्याउनतिर नलागौं ।
० चित्त दु:खे पनि पार्टी नै छाड्नुपर्ने विकल्प मात्र बाँकी थियो र ?
– त्यही त भूत सवार भएछ । चित्त दु:खे पनि पार्टीभित्रै अन्तर्सघर्ष चलाउनुपथ्र्यो । तर, म अलिक बढी मनोगत भएँ, आवेगमा आएर पार्टी छाडेँ ।
० यसको अर्थ त्यतिबेला माओवादीप्रतिको आकर्षण होइन एमालेसँगको विकर्षणका कारण पार्टी छाड्नुभएको थियो ?
– विकर्षण नै त नभनौं । मैले पार्टीलाई धेरै गरेको थिएँ । पार्टीले पनि मलाई केही–केही गरेको हो तर त्यो भन्दा मैले धेरै पार्टीलाई योगदान गरेको हुँ भन्ने कोणबाट मेरो दिमागमा विचारहरू भरिए । अर्कातिर माओवादीले आर्थिक–सामाजिक रूपान्तरणको आकर्षक नारा पनि दिइरहेको थियो । स्याल कराउनु र बाख्रा हराउनु जस्तै भएको हो । तर, जाने बेलामा पनि मैले ‘म जनयुद्धसँग पूर्ण सहमत छैन’ भनेको थिएँ । त्यो बेला वक्तव्यमै लेखेको थिएँ, भाषणमा पनि भन्ने गरेको थिएँ ।
० एमाओवादीले सामाजिक–आर्थिक रूपान्तरणको नारा के खोक्रो रहेछ भन्ने निष्कर्षमा पुग्नुभएको हो त अहिले ?
– अहिले मैले गहिरोसँग पछाडि फर्केर हेरें । आफैंले पनि अनुभव गरें । तिनीहरूको नारा के हो ? कार्यनीति भएर मात्र हुँदैन, तदनुरूपको संगठन पनि चाहियो । त्यतिले मात्र पुग्दैन, नेतृत्व समग्र पार्टीमा कार्यशैली पनि महत्त्वपूर्ण हुन्छ । त्यो हिसाबले हेर्दा यति धेरै अन्यौल, अस्पष्टता, विसंगति, अन्तर्विरोध छन् कि त्यो भनेर साध्य नै छैन ।
० संविधानसभा निर्वाचनपछि वैचारिक रूपले दिग्भ्रमित भएका हुन् ?
– दोस्रो संविधानसभा चुनाव हारिसकेपछि त बोल्सेभिक क्रान्ति गर्नुपर्छ भन्न थाले । पुँजीवादी क्रान्ति नेपालमा सम्पन्न भयो भन्न थाले । त्योभन्दा अपरिपक्व भूत के हुन्छ ? त्यसो नभन्दा हिजोका उपलब्धिहरूको अपनत्व हुँदैन भन्ने ठानेर त्यसो भनियो । त्यो अपनत्व नलिँदा हिजो जनयुद्ध किन भएको थियो ? भन्ने प्रश्न उठ्थ्यो । अहिले पनि, एकातिर संविधानसभा उपयोग पनि गर्ने, अर्कातिर संविधानसभा बहिष्कार गरेकाहरूसँग पनि सहकार्य गर्ने । योभन्दा लाजमर्दो कुरा के हुनसक्छ ?
० कम्युनिस्टहरूसँग सहकार्य त एउटा कुरा मधेसवादी दलहरूसँग पनि सहकार्य गरेका छन् नि ?
– मधेसका मठाधीशहरू जो छन्, मधेसका सामन्तहरूको प्रतिनिधित्व गर्ने पार्टीहरू छन्, तिनीहरूसँग जोडिएर माक्र्सवादभन्दा ठीकविपरीत हिँडेका छन् । माक्र्सवादको आधारभूत कुरा भनेको वर्गीयता हो । तर, त्यसलाई छाडेर जातीय राज्य बनाउने तहमा पुगेका छन् ।
० यो नै अग्रगामी सोच हो, कांग्ेरस–एमाले त अझै ०४७ कै संविधान ब्यूँताउन खोजिरहेका छन् भन्ने आरोप पो लगाउँछन् त उनीहरू ?
– कांग्ेरस–एमालेलाई यथास्थितिवादी, प्रतिगामी भनिरहेका छन् । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, संघीयता जस्ता कुरामा आम रूपमा सहमत भएर अगाडि बढेको अवस्थामा त्यस्तो आरोप लगाउनुको कुनै तुक नै छैन । ठोस एजेन्डा नभएको र आफू फरक छौं भन्ने पनि देखाउनुपरेको यस्ता अन्टसन्ट कुरा गरिरहेका छन् । स्पष्ट मार्गचित्र नभएपछि अनेक भ्रम दिएर अल्मल्याउन मात्र खोजिरहेका छन् ।
० एमाओवादीमा बसुञ्जेल भ्रम पालेरै बस्नुभएको रहेछ होइन ?
– हो, ममा पनि भ्रम रहेछ । तर, त्यो भ्रम अहिले हटिसकेको छ । अहिले प्रमाणित के भयो भने जनताको बहुदलीय जनवादको मार्गदर्शनमा मात्र एकीकृत वाम आन्दोलन अघि बढ्नसक्छ । त्यसको स्पष्ट रोडम्याप छ । पुँजीवादी क्रान्ति सम्पन्न गर्दै साम्यवादतर्फ जाने स्पष्ट मार्गचित्रको अगुवाइ एमालेले गरेको छ । नेपालको वाम आन्दोलनको मूल प्रवाहको अगुवाइ पनि एमालेले नै गरेको छ ।
० त्यसो भए, अहिले माओवादीको राजनीतिक स्पेस कहाँ हो त ?
– स्पेस नै छैन । कतै केही गरी एकल जातीय राज्यको एजेन्डालाई अहिले स्थापित गर्न सकियो भने केही न केही रूपमा राजनीतिक स्पेस हुन्छ कि भनेर आइरहेका छन् । उनीहरूले बोकेका यी एजेन्डा व्यवहारत: प्रतिगामी छन् । राजनीतिक रूपमा हेर्ने हो भने केही कुरामा स्पष्टता नै छैन । संगठन हेर्ने हो भने त्यहाँ संगठन नै छैन । निश्चित झुन्डले चरम स्वार्थमा काम गरिरहेको छ ।
० राजनीतिक रूपमा यति दिग्भ्रमित रहेछन्, आर्थिक सोचमा कतिको स्पष्टता पाउनुभयो ?
– ‘बिहानले दिउँसोको संकेत गर्छ’ भन्छन् । उनीहरूको पहिलो सरकार र संविधानसभा भंग हुने बेलाको दोस्रो सरकार, त्यसका कामहरू, त्यसले अगाडि सारेका कार्यक्रमहरू हेर्ने हो भने सबै छर्लंग हुन्छ । अहिले उनीहरू राज्यसत्ता हाम्रो नभएर गर्न सकेनौं भन्छन् । हिजो पनि प्रकारान्तरले राज्यसत्ता त राजाको हातमा रहेछ । तर, एमाले ‘आफ्नो गाउँ आफैं बनाऊँ’, ‘नौ स’, ‘सामाजिक सुरक्षा’ का कार्यक्रमजस्ता प्रगतिशील कार्यक्रम ल्याएको थियो । तर, माओवादीको सोच त्यतातिर हुँदै भएन । जनतालाई राहत दिने कुनै काम नै गरेन । उनीहरूका नीति कार्यक्रम र सरकार सञ्चालन गर्ने तौरतरिका हेर्दा उनीहरूलाई क्रान्तिकारी, वामपन्थी भन्न पनि लाज लाग्ने अवस्था आयो । अहिले विश्वमा वित्तीय एकाधिकार पुँजीवादले अगाडि बढाइरहेका आर्थिक नीतिलाई पुट दिने काम गरे । समाजमा आर्थिक असमानता बढाउने प्रवृत्तिलाई नै पुट दिने काम गरे ।
० तर, तपाईं त माओवादीको आकार खुम्चेपछि मात्र एमालेमा आउनुभएको हो भन्छन् नि ?
– मैले एमाले छाड्दा, पार्टी सरकारमा जाने र त्यो सरकारलाई मैले पनि सहयोग गर्ने कुरा भएको थियो । तात्कालिक अवसर खोज्ने स्थिति भएको भए म माओवादीमा जाने नै थिइनँ ।
० अरू पार्टी छाडेर माओवादीमा जानेहरू त त्यहाँ पनि अपमान सहेरै बसेका छन् भनिन्छ नि !
– अपमान सहेरै बसेका छन् । उनीहरू पद चाहिँ बाँड्छन् । हेटौंडा महाधिवेशनले पास गरेको तात्कालिक कार्यनीति उत्पादन संघर्षकै भन्ने थियो । त्यसको एउटा ब्युरो बनेको थियो । ब्युरो अध्यक्ष प्रचण्ड थिए, मलाई सचिव बनाएका थिए । पछि केन्द्रीय कमिटीले निर्णय गरेर मलाई अर्थ तथा योजना विभागको प्रमुख बनायो । तर, त्यो पार्टीमा सिस्टम नै छैन । केन्द्रीय कमिटीले निर्णय गरेको मलाई थाहा छ तर पनि त्यो कहाँ गयो भन्ने मलाई नै थाहा भएन । केही–केही मान्छेको झुन्डले ‘डिक्टेड’ गरेर चलाएको छ । पद्धति, परिपाटी भन्ने केही छैन ।
० ‘चैते’को आरोप पनि लाग्यो, होइन ?
– लगाए । विराटनगरमा त प्रचण्डले नै भने भन्ने पनि सुनियो । ‘एस मेन’ बनेर उनीहरूको चाहनामा काम गर्यो भने राम्रै हुने नत्र नहुने । एमालेलगायतका अरू पार्टीबाट गएकालाई भन्ने कुरा त सामान्य हो । उनीहरूले हिजो जनयुद्ध लडेकाहरूलाई नै कसरी लात हाने भन्ने त सबैले देखेकै छन् नि † सत्तामा पुग्नका लागि आफ्नैलाई लात हान्न पनि पछि परेनन् ।
० एमालेमै त्यत्रो उचाइ बनाएका रामचन्द्र झा, उर्मिला अर्यालहरू अझै माओवादीमै छन्, कसरी टिकेका छन् त ?
– उहाँहरूका बारेमा म धेरै भन्न चाहन्न । उहाँहरूलाई एमालेले धेरै सम्मान दिएको हो । दुवै जना पोलिटब्युरो, मन्त्री हुनुभयो । पार्टीमा उत्पन्न सानो असन्तुष्टिलाई क्यास गर्न नसक्दा अर्को पार्टीमा गएका हुन् । त्यहाँभित्रको पीडा पनि कम्ती छैन ।
० त्यहाँभित्र भविष्य देख्नुहुन्छ त ?
– जुन बाटोबाट उनीहरू हिँडिरहेका छन्, त्यसले प्रकारान्तरले प्रतिक्रान्तिलाई सहयोग पुर्याएका छन् । वाम आन्दोलनलाई बदनाम गर्ने काम गरेका छन् । जुन ढंगले ज्यादै विसंगत अन्तर्विरोधका बीचबाट कसरी सत्तामा पुग्न
सकिन्छ ? भन्ने एउटा मात्र मान्यताबाट माओवादी नेतृत्व अघि बढेको छ, त्यसबाट उनीहरू समाप्त हुन्छन् । यो कुरा उनीहरूले नै भन्दै आएका छन् । त्यो डर उनीहरूले अनुभव गरेका छन् ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply