कांग्रेसमा समस्या आएन भने ढुक्क हुनूस्– संविधान बन्छ
घनश्याम भुसाल उपमहासचिव, नेकपा (एमाले)० महाधिवेशनपछि पार्टी एकाताबद्ध भयो भनिएको थियो, तर पछिल्लो समयमा फेरि विवाद सार्वजनिक हुन थालेका छन् नि ?
– यसका पछाडि केही आधारभूत कारणहरू छन् । महाधिवेशनमा हामीले जुन उचाइमा विचार, सिद्धान्तहरूमा निर्णय गरेका छौं, जुन महत्त्वका निर्णय गरेका छांै, ती विषयमा हामीले कहिल्यै छलफल नै गरेनौं । यद्यपि, ती मुद्दामा हामी महाधिवेशनमै विवादित थियौं । पार्टीमा जे विचारहरू पारित भएका छन्, ती विचारहरू मूलत: हामीले उठाएका विचारहरू थिए । त्यसपछि अहिलेसम्म पनि ती विचारले कस्तो संगठन माग्छन् भन्ने विषयमा छलफल भएको छैन । यसले गर्दा हाम्रा अहिलेका बहसहरू व्यक्तिकेन्द्रित भए । जब बहस व्यक्ति केन्द्रित भइदिन्छ, मान्छेको मूल्यांकन कुनै विधि–विधान बनाएर भन्दा पनि अनुहार हेरर गरिन्छ । जब नेताको विवेकमा व्यक्तिको मूल्यांकन हुन्छ, त्यसले समस्या बनाउँछ ।
० एमालेमा अहिले देखिएको समस्या त्यसैको प्रभावमा हो ?
– हो, राजनीतिक नियुक्तिदेखि लिएर सासंद बनाउने, विभिन्न आयोग बनाउने कुरामा नेताहरूले आफ्नो मूल्यांकन अनुसार, आफ्नो इच्छा अनुसार व्यक्तिको मूल्यांकन गर्ने परिपाटी हटेन । कुनै व्यक्ति कसैलाई मन पर्छ भने अर्कोलाई मन नपर्न सक्छ ।
० तर, ती कुरामा विगतमा कमिटीगत रूपमा असहमति देखाउनुभएको थिएन, यस पटक केन्द्रीय सदस्यको मनोनयन गर्दा चाहिँ ‘नोट अफ डिसेन्ट’ लेख्नुभयो ?
– महाधिवेशनको लगतै ‘अब यो गुटबन्दी सकियो, एउटा विधि बनाएर, प्रक्रिया बनाएर संगठन सञ्चालन गर्नुपर्छ’ भन्ने कुरा हामीले उठाउँदै आयौं । तर, विभिन्न खालका निर्णय पार्टीका तर्फबाट हुँदै गए । त्यसमा हामीले बैठकमा छलफल हुँदा असहमति राख्दै आयौं । लामो समयसम्म त्यस्तो गरियो । करिब–करिब हरेक जस्तो बैठकमा ‘यसरी नगरौं, विधि बनाएर गरौं’ भनी नै रह्यौं । तर, अस्तिसम्म आउँदा पनि त्यो कुरा नसुल्झिएको हुनाले, त्यसमा कुनै सुधार नआएको हुनाले मैले नोट अफ डिसेन्ट लेखेको हुँ ।
० तपाईंको ‘नोट अफ डिसेन्ट’पछि तपार्इंका अध्यक्षले ‘कुनामा बसेर कुण्ठा नपोख्न’ सार्वजनिक रूपमै आग्रह गर्नुभएको छ नि ?
– उहाँले यदि पार्टीभित्रको कुरा गर्नुभएको हो भने भित्रै भन्नुपर्यो । ठीक छ, पार्टीभित्रका कुरालाई पनि उहाँले सन्दर्भवश बाहिर भन्नुभयो भने पनि त्यो ठूलो कुरा भएन । तर, पार्टीभित्र भन्दै नभन्ने अनि बाहिर–बाहिर बोल्दै हिँड्ने कुराले उहाँले नै असन्तुष्टि पोखेको देखिन्छ । त्यो अध्यक्षका लागि लागि शोभनीय हुँदैन भन्ने लाग्छ ।
० नौ महिना भइसक्यो नेताहरूको कार्यविभाजन हुन सकेको छैन, यसरी नै पार्टीलाई अहिलेसम्म अगाडि लैजानुहुन्छ ?
– हामी आफंै पदाधिकारी हौं, यसमा हामी आफै जिम्मेवार हौं । पार्टीका तर्फबाट हामीले उत्तर दिनुपर्छ । त्यसरी भन्दा मसमेत रहेको हाम्रो स्थायी कमिटीले आफ्नो लायकी प्रदर्शन गर्न सकेको छैन । अथवा, हामी लायक हौं भनेर भन्न मिल्ने काम हामीले सांगठनिक जीवनमा गर्न सकेनौं । यसका लागि म पनि आत्मआलोचित छु, म पनि दु:खी छु । तर, यसको कारण फेरि पनि व्यक्तिलाई कसलाई कुन पद दिने, कुन जिम्मेवारी दिने भन्ने कुरा नै हो । विधि निर्माण गरेर जाऔं हामी भनिरहेका छौं । तर, त्यसका लागि अध्यक्ष, महासचिव जागरुक देखिनुभएको छैन । यो त मैले उहाँहरूसँग गुनासो गर्ने कुरा भयो, पार्टीभित्र गुनासो गर्ने कुरा भयो । पार्टी बाहिर मैले तपाईंलाई भन्दा के मात्र भन्न सक्छु भने यो गर्न नसकेकोमा म स्थायी कमिटीको तर्फबाट आफैं आलोचित छु । यसको नैतिक जिम्मा लिन्छु ।
० तर, त्यसो भनेर मात्र सधंै उम्किरहन पनि त पाउनु हुन्न नि ?
– मैले फेरि पनि त्यही भनें, यसका लागि म लज्जित छु । तर, यसबाट हामी उम्किन पाइँदैन । यो समस्यालाई समाधान गर्नैपर्छ । पार्टीमा सांगठनिक समस्याहरू एकपछि अर्को गर्दै चुलिँदै गएका छन् । अनेरास्ववियुमा विभिन्न ठाउँमा समानान्तर कमिटी गठन भएका छन् । युवा संघको हालत त्यस्तै छ । तलका कमिटीहरू कुनै चलेकै छैनन् । केन्द्रीय कमिटीका सदस्यहरूसँग पद छ तर जिम्मेवारी कसैसँग छैन । देशभरको संगठन सांगठनिक हिसाबले चलेकै छैन । पार्टी पुरै ‘प्यारलाइज्ड’ छ । यो कुरा हामी भित्र उठाइराखेका छौं । स्थायी समितिको सदस्यको हिसाबले म आशा गर्छु– नौ महिना हुन लाग्यो गरेनौं, यो राम्रो गरेनौं । अब चाँडै गर्छौं कि †
० संविधान निर्माणका काममा बढी ध्यान केन्द्रित गर्नुपरेकाले पार्टीभित्रका यी काममा ढिलाइ भएको भनिन्छ, यो वास्तविकता हो कि बहाना ?
– यो एकदमै नसुहाउने कुरा हो । एमाले जत्तिको सांगठनिक हिसाबले व्यवस्थित हँुदै आएको पार्टीमा नौ महिनासम्म कार्यविभाजन हुन नसक्ने कुरा कुनै हिसाबले पनि क्षम्य कुरा होइन । संविधानसभाले हामीलाई त्यत्रो ‘डिस्टर्व’ गरेकै छैन । केही नेताहरू बेलाबेलामा वार्तामा जानुहुन्छ, कुरा यति मात्र हो । नौ महिनासम्म कार्यविभाजन गर्न नसक्ने कुनै पनि व्यस्तता हामीकहाँ छैन । यो बेकार कुरा हो ।
० संविधान निर्माणमा केन्द्रित वार्ता, छलफलप्रति पछिल्लो समय एमालेले रुचि देखाएन भन्ने गरेको सुनिन थालेको छ नि ?
– खासगरी यो कुराको नेतृत्व एमाओवादीले गरेको छ । किनभने, एमालेको चिहानमा मात्र माओवादीको पुष्पकमल फूल फुल्ने हो भन्ने सोच माओवादीमा छ । यसले गर्दा, सबै हिसाबले उसले एमालेमाथि आक्रमण गर्न, आक्षेप लगाउन कुनै कसर बाँकी राख्दैन । तर, हामीले पनि कतिपय बोलिवचनले, कुराकानीले हाम्रो अन्तर्विरोध जोसँग छ, त्यसलाई साँघुरो पार्नुपर्ने हो । त्यतापट्टि हामीले अलिक ख्याल गर्न सकेका छैनौं । यो हाम्रो जिम्माको कुरा हो । तर, एमालेमाथि जुन खालको आक्रमण छ, त्यो मूलत: एमाओवादीको गिर्दो र निराशापूर्ण अवस्थाको ढाकछोपका लागि मात्र गरिएको हो ।
० यति लामो संवादहीनता पछि बल्ल सुरु भएको सत्तापक्ष र विपक्षीबीचको वार्तामा तपाईंको पार्टीका जिम्मेवार नेता नजानुले पनि त भन्ने ठाउँ राखेको छ नि ?
– त्यो मैले पनि सुनेको हुँ । म काठमाडांै बाहिर थिएँ । अध्यक्ष कमरेड बिरामी भएका कारणले जान सक्नुभएन भन्ने कुरा पार्टीभित्र बुझ्दा थाहा पाएँ । त्योभन्दा बढी कुरा मलाई थाहा छैन ।
० स्थायी कमिटीको पछिल्लो बैठकमा सरकारबाट बाहिरिने भन्नेसम्मका कुरा भए भन्ने समाचार सार्वजनिक भयो, यो सरकारको दिनगन्ती सुरु भएको हो ?
– होइन । यसमा बाहिर बोल्ने साथीहरू अलिक ‘ओभर स्मार्ट’ हुनुभयो होला भन्ने लाग्छ । किनभने, जुन कुरा बाहिर आयो, त्यो तहसम्मको कुरा भित्र बैठकमा भएकै थिएन । त्यसमा दुईटा कारण हुन सक्छन् भन्ने लाग्छ । एउटा, पार्टीका तर्फबाट निर्णय सुनाउने साथीहरू अलिक स्मार्ट हुनुभयो । दोस्रो कारण, एमाले सरकारबाट हट्ने कुराले कांग्रेसलाई बिच्क्याउँथ्यो । यसले गर्दा एमाले र कांग्रेसको गठबन्धनबाट चिढिएका शक्तिहरूले यसमा बढी प्रोपगन्डा गरेको हुनसक्छ । यी दुईटा कुरा मिलेर आयो होला । नत्र हामीकहाँ त्यस्तो कुरा भएको होइन ।
० संविधान निर्माणको प्रक्रिया अघि नबढाई कांग्रेसले यसरी नै अल्मल्याइरह्यो भने चाहिँ सरकारका बारेमा सोच्न सकिने कुरा भएको हो ?
– कांग्रेसभित्रका समस्याहरूले संविधान निर्माणमा असर नपरोस् है भन्ने हाम्रो चिन्ता हो । किनभने, हामी पनि के कुरामा सचेत छौं भने, अध्यक्षसँग हाम्रा तमाम कुरामा असहमति छन् तर हामीले ती असहमतिले संविधान निर्माणको प्रक्रियालाई, मुलुकको राजनीतिक प्रक्रियालाई अप्ठ्यारो नपारोस् भनेर स्वयम् सचेत छांै । त्यस्तै, हामीले कांग्रेसमा पनि चाहेका हौं ।
० पार्टीको महाधिवेशनसम्म संविधान निर्माण गर्न कांग्रेस नेतृत्व चाहँदैन भन्ने बुझेरै तपाईंहरूले यी कुरा गर्नुभएको हो ?
– कांग्रेस भित्रैबाट यो स्वर बाहिर आएको छ । हाम्रो चिन्ता त्यसमा पनि हो । यो उहाँहरूले मिलाउनुहोस् । उहाँहरूको महाधिवेशनले संविधान निर्माणको प्रक्रिया नरोकियोस् भन्ने हाम्रो कुरा हो । संविधान बनाउन नचाहने शक्तिहरूले कतै कांग्रेसभित्र खेल्दिने हुन् कि भन्ने पनि हामीलाई चिन्ता हो । तर, यसको अर्थ एमाले अब सरकारबाट निस्कने बेला भयो भन्ने होइन । हामी त्यो निष्कर्षमा पुगेकै छैनौं ।
० सरकारको नेतृत्व गरौं भन्ने चाहनाले पो कतै एमालेलाई लखेटेको छ कि ?
– त्यो हुन्थ्यो भने पनि यो बाटो नै होइन । यस्ता कुराले हामीलाई सरकारमा लैजाँदैन । संविधान निर्माण गर्ने प्रक्रियाबाट गयौं भने न हामीले सरकारको नेतृत्व गर्ने हो ।
० फागुन २६ भित्र सहमति नभए अर्को चरणको आन्दोलन गर्ने विपक्षी मोर्चाको निर्णयलाई कसरी लिनुभएको छ ?
– यति दिनभित्र सहमति भएन भने आन्दोलन गर्छौं भन्नु नै नाजायज कुरा हो । यो संविधान बन्न नदिने, संविधानलाई रोक्ने प्रपञ्च मात्र हो । कांग्रेसमा समस्या आएन भने एमाओवादी र उसले नेतृत्व गरेको मोर्चाको धम्कीले, घुर्कीले संविधान रोकिँदैन । संविधान बन्छ । यसमा हामी ढुक्क भए हुन्छ ।
० माघ ८ त टरि नै सक्यो, फेरि जेठ १५ मा जारी गर्ने कुरा आउन थालेको छ, हैन ?
– यसमा एमालेको तर्फबाट अलि बढी जोड दिइएको छ । भन्नलाई त कांग्ेरसले पनि यही कुरा भनेको छ । तर भोलि उसले के गर्छ भन्ने कुरा व्यवहारमा थाहा हँुदै जाला ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply