जतिसक्दो चाँडो ओतको व्यवस्था गर्छौं
– गोकर्ण विष्ट संयोजक, स्वयंसेवक परिचालन कमिटी, नेकपा (एमाले)० भूकम्पपीडितको राहत तथा पुन:स्थापनाका निम्ति तपाईंको पार्टीले सुरु गरेको अभियानको काम अहिले कहाँ पुगेको छ ?
– हामीले प्रभावित जिल्लाहरूका विभिन्न निर्वाचन क्षेत्रहरूमा टोली निर्माण गरेर काठमाडौंबाट परिचालित गराइसकेका छौं । नजिकका धेरै क्षेत्र र गाउँहँमा आइतबारदेखि नै अभियान सुरु भइसकेको छ । कतिपय ठाउँमा सोमबारबाट अभियान सुरु भएको छ ।
० क्षतिको अवस्था क्षेत्र अनुसार भिन्न–भिन्न छ तर सामान संख्याको आधारमा टोली निर्माण गर्नुभएको छ, यसमा सन्तुलन कायम गर्न नसक्नुभएको जस्तो देखिन्छ नि ?
– हामीले निर्वाचन क्षेत्रभित्र सबैभन्दा बढी घर ध्वस्त भएका, मानवीय क्षति भएका र गरिबी भएका ठाउँ छनोट गर्ने र त्यस्ता ठाउँहरूमा पार्टीगत आस्था नहेरीकन मानवीय हिसाबले पार्टीको दायराभन्दा माथि उठेर सबैलाई सेवा पु्याउन जाने भनेर हामीले निर्देशन गरेका छौं । त्यही ढंगले गाउँहरू छान्नेछौं । अर्को कुरा केन्द्रिकृत रूपमा गरिने ती ठाउँहरूबाहेक पनि स्थानीय कार्यकर्ताहरूलाई परिचालन गरेर सबै ठाउँहरूमा हामीले हाम्रो शक्तिले भ्याउने जति यो प्रकारको स्वयंसेवा दिनेछौं ।
० यसको अर्थ तोकिएका १७ जिल्लाबाहेकमा पनि पुग्नुहुन्छ ?
– तोकिएका १७ जिल्लाबाहेक पनि अरू प्रभावित जिल्लाहरूमा त्यहाँको स्थानीय पार्टी र स्थानीय कमिटीलाई परिचालित गरेर हामीले आमरूपमा पार्टी पंक्तिलाई जनताको सेवामा परिचालित हुन निर्देशित गरेका छौं ।
० पुनर्निर्माणको यो अभियानमा प्राथमिकता केलाइदिनुभएको छ ?
– वर्षात् सुरु हुन लागिसकेको छ । वर्षा लाग्नेबित्तिकै जनतालाई ठूलो समस्या आउँछ । यस्तो अवस्थामा हामीले पीडित जनतालाई कम्तीमा २ वर्ष बस्न सकिने गरी अस्थायी बसोबासको व्यवस्था मिलाउँछौं । त्यसपछि बालबालिकाको भविष्य अँध्यारो नहोस् भनेर अस्थायी रूपमै भए पनि विद्यालय भवन निर्माण गरेर पठनपाठनलाई सुचारु गर्ने हिसाबले अभियानलाई केन्द्रित गर्छौं । त्यसबाहेक सानो मर्मतसम्हारले, सानो सहयोगले खानेपानी सुचारु गर्न सकिने अवस्था छ भने, त्यस्ता कुराहरूमा पनि सहयोग गर्छौ । जनताका भत्केका घरहरूमा सामान निकाल्नका लागि उद्धारको केही आवश्यकता छ भने सहयोग गर्छौं । यी सबै कुरा गर्दा स्थानीय रूपमा जनताका चाहना, इच्छा, माग र सल्लाहबमोजिम नै कामलाई केन्द्रित गर्छौ ।
० तपाईंहरूले निर्माण गरिदिने घर वा भवनको मोडालिटी चाहिँ कस्तो छ ?
– स्थानीय साम्रग्री नै प्रयोग गर्छौं । भत्केका घरहरूमा काठ, टिन जे कच्चा पदार्थ पाइन्छ, हामी त्यही सामग्री प्रयोग गर्नेछौं । यसबाहेक मोडालिटीका सन्दर्भमा हामीले केही घरमा मोडलहरू प्रदर्शित पनि गरेका छौं टिम लिडरहरूलाई । हामीले ती मोडल पनि प्रयोग गर्नेछौं । त्योबाहेक पनि स्थानीय जनताको चाहनालाई पनि ध्यान दिएर त्यो परिवारका सदस्यलाई कम्तीमा २ वर्ष सुरक्षित ढंगले बस्न मिल्ने खालको बास, ओतको व्यवस्था गर्छौ ।
० भूकम्पका पराकम्पन अझै आइरहेका छन्, जनतामा त्रास कायमै छ, यो अवस्था अस्थायी नै भए पनि ती घर जनताको त्रास मेटाउने भूकम्प प्रतिरोधी खालका हुन्छन् त ?
– ती भूकम्प प्रतिरोधी त कसरी हुन सक्लान् र ? भूकम्प प्रतिरोधीका लागि अलिक खर्चिलो संरचना निर्माण गर्नुपर्ने हुन्छ । तर, कम्तीमा पराकम्पनले असर नगरोस् भन्ने कुरामा हामीले अत्यधिक ध्यान दिनेछौं ।
० त्यसका लागि पनि कति खर्च लाग्ने अनुमान गर्नुभएको छ ?
– हामीले स्थानीय रूपमा काम गर्नका लागि औजार र अन्य सामग्री दिएका छौं, त्यसका लागि चाहिने तार, किला, काँटीलगायतका सामग्रीहरू उपलब्ध गराएका छौं । बाँकी कुरा त स्थानीय जनताकै बीचमा उपलब्ध हुने चिजको प्रयोग
गरेका छौं ।
० १० हजार कार्यकर्तालाई चाहिने बन्दोबस्तीको सामान पनि त छ नि ?
– स्थानीय पार्टी कमिटीहरूलाई आफ्ना स्वयंसेवकहरूले खाने खर्च आफै व्यवस्थापन गर्नुपर्छ भनेर निर्देशन गरेअनुसार स्थानीय पार्टी र खासगरी भूकम्प प्रभावित नभएका ठाउँहरूबाट यसका लागि सहयोग गरेका छन् ।
० पार्टीको राहत कोषमा जम्मा भएको रकम यसमा खर्च हुँदैन त ?
– स्थानीय पार्टी कमिटीले नै आफ्नो स्वयंसेवका लागि चाहिने खर्चको बन्दोबस्ती मिलाउनुभएको छ । स्वयंसेवकका लागि कसैले चामल पठाउनुभएको छ, कसैले दाल, तेल, साबुन आदि विविध प्रकारका सहयोग पठाउनुभएको छ ।
० यो अभियानभर कति घर वा भवन निर्माण गर्ने लक्ष्य राख्नुभएको छ ?
– न्यूनतम ५० हजारभन्दा बढी संरचनाहरू निमार्ण हुनेछन् । अहिले म संख्या यकिनका साथ भन्न त सक्तिनँ, दुई–तीन दिन हाम्रो कामको अवस्था हेरेपछि एक दिनमा कति बन्दा रहेछन् त्यसका आधारमा हिसाब निकाल्नुपर्ने हुन्छ ।
० एक महिनाका लागि खटाइएका कार्यकर्ता केही दिनपछि नै काम छाडेर हिँड्ने र यो अभियान नै असफल हुने खतरा कति छ नि ?
– कतिपय बिरामी हुने, कतिपयमा भावनात्मक इच्छाशक्तिको अभाव देखिएला । कतिपय कामबाट फर्केलान्, तर आम रूपमा यो अभियानबाट कार्यकर्ता फर्कदैनन्, फर्कनेछैनन् । स्वयंसेवकहरूले आफूलाई तोकेको जिमेवारी पूरा गरेर मात्र फर्कनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । कोही स्वयंसेवक बिरामी परेमा त्यसको सट्टामा अरू पठाएर भएपनि हामीले यो अभियानलाई सफल बनाएरै छाड्छौं ।
० त्यसका लागि ‘ब्याकअप’ जनशक्ति पनि छ त ?
– छ, हामीसँग । हामीले त्यो ‘ब्याकअप’ पनि तयारी गरेर बसेका छौं ।
० तर, यो अभियान नै ढिला भयो भन्ने जनगुनासो सुनिन्छ नि ?
– केही ढिला भएकै हो । तर मनसुन सुरु हुनुअगावै हामीले अस्थायी संरचना निर्माण गर्ने कुरा आफैंमा चुनौतीपूर्ण हुनेछ । ढिलै भए पनि अहिले पनि धेरै जनता अझै पनि खुला आकाशमुनि छन् । पानीमा भिजिरहेका छन् । जति सक्दो चाँडो हामी उनीहरूलाई ओतको व्यवस्था गर्छौ ।
० यही मौकामा राजनीतिक दलहरूले भोटका लागि प्रतिस्पर्धा गरिरहेका छन् पनि भनेको सुनिन्छ नि ?
– हामीले मत र चुनावको उद्देश्य नै राखेका छैनौं । हामीले दलीय स्वार्थभन्दा माथि उठेर केवल मानवीय भावनाका साथ नै हाम्रो शक्तिलाई केन्द्रित गरेका छौं । अहिले कुनै पनि पार्टीको विचार, आस्था, मतभन्दा पनि मानवता सबैभन्दा ठूलो कुरा हो । हामीले पीडा भोगिरहेको देश र जनतालाई योगदान पुर्याउनु मानवताको नाताले एउटा जिम्मेवार पार्टीको कर्तव्य र भूमिका हो । हामीले त्यही भूमिका निभाइरहेका छौं ।
० फोटो खिच्ने र प्रचारमा रमाउनमा शीर्ष नेता नै लागे भनेर आलोचना भइरहेको छ, तपाईंको अभियान पनि कामभन्दा बढी त्यस्तै प्रचारमुखी त हुने होला नि ?
– हामीले यसलाई प्रचारको विषय बनाउनु हुँदैन । प्रचारको विषय बनाउने भन्दा यथार्थमै जनताको पीडामा साथ दिने, जनताको पीडामा राहत दिने, जनताको समस्यामा सहयोग गर्ने नै हाम्रो उद्देश्य हुनुपर्छ । प्रचारभन्दा पनि कामको हिसाबले हामीले यो अभियानलाई अगाडि बढाउनेछौं ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply