जलमाफियाले अप्ठ्यारो पारेका छन्
राधा ज्ञवाली ऊर्जामन्त्री० ऊर्जा मन्त्रालय सम्हालेपछि तपाईंले जोड दिएको काम के हो ?
– मैले ऊर्जा मन्त्रालय सम्हालेपछि प्राथमिकतामा नदेखिएको ग्रामीण विद्युतीकरणलाई जोड दिएँ । यसका लागि थोरै पैसा विनियोजित हुने र त्यो पनि भारतबाट बिजुली ल्याउन अनि हेटौंडा र विराटनगरमा भएका दुई वटा फ्युल सेन्टरलाई चलाउन खर्च गरिन्थ्यो । जुन फ्युल सेन्टर डिजेल र फर्निस आयलबाट चल्छ । त्यसैले मैले सबैभन्दा प्रमुखता सुरुमा ग्रामीण विद्युतीकरणलाई दिएँ । बजेट विनियोजन गर्दा पनि ग्रामीण विद्युतीकरणलाई नै जोड दिएकाले धेरै वर्षदेखि अहिले गाउँघरमा पोल, बिजुलीको तार, ट्रान्सफर्मर, मिटरलगायतका सामग्री लैजाने काम भएको छ । त्यही पनि ट्रान्सफर्मर पूरा आएको छैन । समयमा आइनपुग्दा अझै जनतालाई अप्ठेरो छँदैछ ।
० सबैभन्दा उल्लेखनीय के काम गर्नुभयो त ?
– मेरै पालामा भारतसँग विद्युत् व्यापार सम्झौता भयो । देशको विद्युत् विकासका लागि यसले ढोका नै खोलेको छ । मलाई लाग्छ, यो एउटा साह्रै चुनौतीपूर्ण काम थियो । मलाई मेरै पार्टीभित्र र बाहिरका मित्रहरूले चुनौतीपूर्ण ढंगले आलोचना पनि गर्नुभयो । तर, म यसमा दह्रो ढंगले अडिएँ । यही नै महत्त्वपूर्ण काम हो जस्तो लाग्छ । यससँगै हामीले आयोजना विकास सम्झौता पनि गर्यौं । त्यो पनि हाम्रो पहलमा भएको छ । महाकाली सन्धिकै प्रावधान अनुसार बन्नुपर्ने पञ्चेश्वर आयोजना लामो समयदेखि थाती रहेको थियो । त्यो आयोजनालाई पनि अगाडि लैजाने तयारी भएको छ । यी आयोजनाहरू यसरी अगाडि जाने भनेर भारतसँग विद्युत् व्यापार सम्झौता भइसकेपछि अहिले हामी धेरै आयोजनाहरू अगाडि लैजाने तयारीमा छौं । अध्ययनको क्रममा पनि छन् ।
० कुन–कुन आयोजना तत्काल अगाडि बढाउँदै हुनुहुन्छ ?
– हिजो ६ सय मेगावाटको आयोजना बूढीगण्डकी अब १२ सय मेगावाटमा हामी अगाडि बढाउँदैछौं । यस्तै नल्सिङगाड पनि तुरुन्तै अघि बढ्दैछ । तामाकोसी–५ र नल्सिङगाड चाहिँ ‘सरकारदेखि सरकार’ अर्थात् ‘जिटुजी’ अवधारणा अनुसार मलेसियाको सरकारले निर्माण गर्ने भएको छ । यसरी नै उपल्लो तामाकोसी पनि निर्माणाधीन छ । परामर्शदाता चयन गर्ने क्रममा दूधकोसी आयोजना अगाडि बढिरहेको अवस्था हो । यो सानो भए पनि जलाशययुक्त आयोजना हो । यसरी नै हामीले लामो समयदेखि थाती रहेको नौमुरे आयोजनालाई असारभित्रमा परामर्शदाता चयन गरिसक्छौं । त्यस्तै, दुई सय मेगावाटको झापाको कन्काई आयोजना पनि हामीले अगाडि लगिरहेका छौं । यसरी धेरै आयोजना मेरो बेलामा अगाडि बढिरहेका छन् । अहिले पश्चिम सेतीका बारेमा पनि कुराहरू बाहिर आइरहेका छन् । ती कतिपय सत्य छन् भने कतिपय असत्य । त्यसलाई अगाडि बढाउन पनि मेरो सबैभन्दा ठूलो भूमिका रह्यो भन्ने म ठान्दछु । किनभने, सुरुमा मसँग उपाध्यक्ष आउनुभयो । त्यसपछि थ्री गर्जेजका अध्यक्ष नै आउनुभयो । मैले धेरै पटक महामहिम राजदूतलाई बोलाएर पश्चिम सेती बनाउनुपर्नेमा बढी जोड दिएँ । पश्चिम सेती पनि बन्दैछ । निजी क्षेत्रबाट पश्चिममै बन्ने तिला–१ र २ जुन ८ सय ६० मेगावाटका आयोजना छन्, ती पनि बन्ने चरणमा छन् । निजी क्षेत्रले अन्य धेरै आयोजनाहरू लिइसकेको अवस्था छ । निर्माणाधीन अवस्थामा चीनले अहिले ५० मेगावाटको उपल्लो मस्र्याङदी ए सकिन लागेको छ । अनि अरू आयोजना पनि बन्ने क्रममा छ्न् । एक वर्षभित्रमा ऊर्जा मन्त्रालयले सबैभन्दा बढी काम अगाडि बढाएको कुरा नेपाल सरकारले एक वर्षको कार्य मूल्यांकनमा प्रधानमन्त्रीज्यूले आफैं भन्नुभएको छ । १८औं सार्क शिखर सम्मेलनमा पनि प्रसारण लाइनका सन्दर्भमा एउटा विषय मात्र पास भएको छ । यो सन् २०३५ सम्मका लागि २० वर्षका लागि पुग्ने गरेर नदीको बेसिनमा आधारित रहेर जलाधार क्षेत्रमा प्रसारण लाइनको योजना बनाइरहेका छौं ।
० मन्त्री हुनासाथ लोडसेडिङ हटाउँछु भनेर भाषण गर्दै हिँड्नुभा’थ्यो तर सक्नुभएन नि ?
– हो, मैले लोडसेडिङ घटाउँछु भनेकी थिएँ । त्यसका लागि केही आधारहरू पनि अगाडि सारेकी थिएँ । तीमध्ये एउटा त भारतसित बन्दै गरेको अन्रदेशीय प्रसारण लाइन हो । त्यसमा केही प्रसारण लाइन अवरुद्ध थिए । केही प्रसारण लाइन बनिसके । अहिले थप बिजुली आउन थालिसकेको छ । अहिले मुजफ्फरपुर र ढल्केवारको अन्तरदेशीय प्रसारण लाइन बन्ने क्रममा छ । यो पूरा भइसकेपछि हाम्रो लोडसेडिङ धेरै घट्छ । भारतबाट हामीले आयात गर्नेछौं । हाम्रो सम्झौताले पनि त्यसलाई अझै सहज बनाइदिएको छ । दोस्रो कुरा निर्माणाधीन आयोजनाहरूलाई सम्पन्न गर्ने कुरा थियो । कतिपय आयोजनाहरू सम्पन्न भइसकेका छन् । कतिपय सम्पन्न हुनेक्रममा छन् । अर्को कुरा, सौर्य ऊर्जामा जाने कुरा थियो । सौर्य ऊर्जाका लागि मलाई बजेटमा पर्याप्त रकम
विनियोजन भएन ।
० मन्त्री भएर काम गर्दा अप्ठेरो आइपरेको कुरा चाहिँ के हो नि ?
– मैले चाहेको तर गर्न नसकेको कुरा लोडसेडिङ न्यूनीकरण हो । त्यसका लागि डेढ सय मेगावाटको सौर्य ऊर्जा उत्पादन गर्ने योजना थियो । त्यसका लागि ४–६ महिनामा यो निर्माण हुन्थ्यो । तर, २५ मेगावाटका लागि मात्र रकम विनियोजन भयो, त्यो पनि विश्व बैंकको ऋणमा । ऋण भर्खरै प्राप्त भएको छ । बल्ल बनाउन थालेका छौं । यो मेरो कारणले होइन कि अर्थ मन्त्रालयले रकम विनियोजन गरिदिएन ।
० ऊर्जा क्षेत्रमा माफियाहरूको बिगबिगी छ, काममा असहयोग भयो भन्ने गुनासो बेलाबेलामा आइरहन्छ, तपाईंलाई त्यस्तो पर्यो कि परेन ?
– यो ऊर्जा मन्त्रालय कस्तो रहेछ भने आर्थिक लगानी पनि त्यत्तिकै लगाउनुपर्ने, आर्थिक आयआर्जन पनि ऊर्जाबाट पर्याप्त हुने । यी दुवै कुराले गर्दा हिजोदेखिको झोलामा खोला भन्ने जुन उखान छ, अहिले पनि झोलामा खोला सबै मेटिएको छैन । ठूला आयोजना जुन विद्युत् व्यापार सम्झौता गरे पनि किनबेच भएको कुरा मैले थाहा पाएँ । त्यस्तो धेरै लगानी पनि पर्याप्त हुने र उपार्जन पनि हुने ठाउँमा धेरै पैसाको चलखेल गरेर जल माफियाहरू सल्बलाउँछन् । ती जल माफियाहरू विद्युत् प्राधिकरणभित्रै बसेर पनि गर्छन्, बाहिर पनि छन् । दुईतिर धार भएको हतियार चलाउँछन् । राम्रो काम गर्दा पनि उनीहरूले विरोध नै गरेका हुन्छन् । नराम्रो काम गर्दा त विरोध गर्नैपर्यो । राम्रो र नराम्रो जनतालाई छुट्याउन गाह्रो हुन्छ अलिकति यसमा मिडिया पनि कहिलेकाहीँ यसको सहायक हुन्छन् ।
० यो क्षेत्र निश्चित ऊर्जा माफियाको पकडमा छ भनिन्छ, तपाईंलाई काम गर्ने क्रममा त्यस्ता माफियाहरूले अनुभूति हुनेगरी समस्या पारे कि पारेनन् ?
– मलाई प्रत्यक्ष अनुभूति हुनेगरी केही ऊर्जा माफियाले समस्या पारेका छन् । सामान्यभन्दा सामान्य, अवधि पुगेको, एक स्थानबाट अर्को स्थानमा प्राधिकरणले आफ्नो हिसाबले सरुवा गर्दा पनि सिंगो विद्युत् प्राधिकरणलाई हल्लाउने गरेर माफियाहरू चलायमान हुन्छन् । मिडियाहरूमा लेखाउँछन् । गुण्डाहरूलाई परिचालन गर्छन् । नेताको घरमा पुगेर ‘यसो र उसो’ कुरा गर्छन् । विद्युत् क्षेत्रलाई कुरूप बनाउने प्रयत्न त्यस्ता व्यक्तिबाट भएको छ ।
जब उनीहरूको अनुसार हुँदैन, उनीहरूको ठाउँ ठाउँमा मान्छेहरूलाई राख्ने, गुट बनाउने अनि त्यहाँ आफ्नो मान्छे राख्ने, विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई पनि त्यही अनुसार उनीहरूले प्रयोग गर्ने, विद्युत् विकास विभागको सदस्यहरूलाई पनि प्रयोग गर्ने, मन्त्रालयलाई पनि हिलो छ्याप्ने काम भएको मैले देखिरहेको छु । तर, जब हामीले दृढ इच्छाशक्तिका साथ मुलुक बनाउने संकल्प लिएर अगाडि बढिरहेका छौं भने कुनै प्रकारका अप्ठ्याराहरूलाई पनि हामीले पन्छाउँदै अघि बढ्न सक्छौं ।
० नेपाल विद्युत् प्राधिकरण सुधारका लागि के पहल गर्नुभयो त ?
– प्राधिकरणमा लामो समयदेखि म्यादी कर्मचारी रहेका थिए । ६ सय ५२ जना म्यादी कर्मचारीलाई मेरै पालामा स्थायी गर्ने काम भयो । धेरै लामो समयदेखि लोक सेवा आयोगको परीक्षा दिएर अन्तर्वार्ता नभएको जनशक्ति पनि रहेछ । सबैलाई हामीले अनतर्वार्ता लिएर स्थायी गर्ने काम पनि गर्यौं । त्यहाँको जनशक्तिलाई उहाँहरूको बढोत्तरी भइसकेको, आन्तरिक बढुवामा पनि अवधि पुगेको तर बढुवा नभएको स्थिति रहेछ, त्यसलाई पनि मिलायौं । हामी अहिले प्राधिकरणको जनशक्ति पनि सबल बनाउने काममा लागिरहेका छौं । तर, पनि त्यहाँ अहिले पनि समस्या रहेछ । त्यो के भने हामीले स्थायी गराउने भनेर हाम्रो खाली भएको दरबन्दीलाई खुला गरेर सबै नागरिकहरूबाट आवेदन पर्म माग्ने प्रक्रिया त अगाडि बढायौं । तर, लोक सेवा आयोगले समयमा जाँच नलिने र समयमा त्यसको रिजल्ट नगर्दा पनि जनशक्तिको जुन कमी छ, त्यो परिपूर्ति हुनलाई समय लाग्दो रहेछ । यसले एउटा सेवामूलक संस्थामा जनशक्तिको अभाव हुँदा पनि अलिकति असर परेको मैले अनुभूति गरेकी छु ।
० अख्तियारको पत्रले खारेज गरिएका केही आयोजनाहरू तपाईंले फेरि क्याबिनेटबाट निर्णय गराएर स्वीकृति दिनुभयो नि, किन ?
– म मन्त्री हुनासाथ उज्यालो नेपाल, समृद्ध नेपाल भन्ने नारा अघि सारेकी थिएँ । विद्युत् प्राधिकरणको बैठक लामो समयबाट अवरुद्ध हुने, विद्युत् विकास विभागले पनि समयमा प्रवद्र्धकहरूको काम नगरिदिने र काम नभएपछि आज त्यसको मिति पुग्यो भने भोलिपल्ट अख्तियारका मान्छे आएर फाइल लैजाने । समय नपुगेको पनि अख्तियारले फाइल लिएर जाने । यस्तो अवस्था देखेपछि यस्तो लोडसेडिङको अवस्थामा प्रवद्र्धकहरूले आफ्नो लगानी पनि लगाइसकेका छन्, पैसा पनि करोडौं रुपियाँ खर्च भएको छ, तर त्यस्तो आयोजना खारेज गर्न अख्तियारले निर्देशन दियो । अर्काेतिर हाम्रो ऊर्जा तथा कृषि समितिले यी आयोजनालाई अगाडि बढाउनु भनेर निर्देशन गर्यो । अख्तियारले ‘खारेज गर’ भनेपछि हाम्रो सचिवले त्यो खारेज गरिदिनुभयो । खारेज गर्ने अधिकार सचिवमा निहित छ कानुनत: । उहाँले त खारेज नगरी बस्न मिलेन । किनकि, उहाँले खारेज गर्नुभएन भने अख्तियारले त तुरुन्तै कानुन लगाउँछ । तर, म त जनताको प्रतिनिधि हुँ । म त राजनीतिक रूपले विद्युत् विकासलाई अगाडि लिएर जानुपर्ने मान्छे हँु । त्यसैले मेरो कार्यकारी अधिकार जुन थियो, १.३५ धारा प्रयोग गरेर जाने, त्यो धारालाई प्रयोग गरेर मैले मन्त्रिपरिषद्मा लगेर जहाँ नागरिकहरूको रकम खर्च भएको छ , जहाँ काम अगाडि बढेको छ ती आयोजनालाई तत्तत् प्रवद्र्धकहरूले नै सम्पन्न गर्नका लागि भनेर मन्त्रिपरिषद्ले एउटा निर्णय गरिदियो । र, ६ वटा आयोजनाहरूलाई अगाडि बढाउन भनेर मेरो पहलबाट आयोजना अघि बढेका छन् । यो लोडसेडिङ न्यूनीकरण गर्नका लागि महत्त्वपूर्ण पाटो हो ।
० लोडसेडिङ घटाउन त तामाकोसी मोडेलका सस्ता र आकर्षक आयोजना बनाउन पहल गर्नुपर्नेमा सीमित व्यापारीको स्वार्थका लागि त्यस्तो काम गर्नुभयो भन्ने गुनासो छ नि ?
– त्यो होइन । ताकाकोसी पनि अगाडि बढाउनका लागि हाम्रो धेरै प्रयत्न भएको छ । विद्युत् उत्पादन भनेको तीन तरिकाले हुन्छ । साना जलविद्युत् आयोजान जुन एक मेगावाटभन्दा तलका हुन्छन्, साना र मझौला आयोजनालाई पनि महत्त्व दिएर हामीले अगाडि बढायौं भने समयभित्र ती आयोजनाहरू बन्छन् । जलाशययुक्त आयोजना बन्नका लागि ५–६ वर्ष लाग्छ । त्यो बन्ने बेलासम्म यी साना आयोजनाहरू बनिसक्ने हुनाले हाम्रो प्राथमिकतामा साना आयोजना पनि रहे । साना आयोजनालाई प्राथमिकताका साथ उहाँहरूले बेहारेको दु:ख कष्ट, उहाँहरूको लगानी डुब्न नदिएको हो । ‘माननीय मन्त्रीज्यू म त झुण्डिएर मर्ने अवस्थामा पुगें’ भनेर आउनुभयो एक जना प्रवद्र्धक । मैले पछि गएर खबर गर्दाखेरि हाम्रो विद्युत् विकास विभागमा एउटा टिम बनाएर अध्ययन गर्यौं । त्यो टिमले २०–२२ करोड रुपियाँ खर्च भइसकेको छ भन्ने निष्कर्ष दियो । त्यति रकम खर्च भइसकेको आयोजना खारेज हँुदा त्यो नेपाली प्रवद्र्धकलाई कति पीडा भयो होला । कसले के आरोप लगाउँछन् म त्यसलाई वास्ता गर्दिनँ । तर, नागरिकलाई के पीडा हुन्छ र मुलुकलाई के पीडा हुन्छ ? मेरो हेर्ने दृष्टिकोण यतातिर हो ।
० चमेलिया जस्तो महँगो आयोजनाको लागत वृद्धि गरिँदा पनि व्यापारीको फाइदा हेरियो भनिन्छ नि ?
– चमेलिया आयोजना अलि महँगो हुनुको कारण के हो भनेर मैले आफैंले पनि अध्ययन गरें र कीर्तिचन्द्र ठाकुरलाई सोधें । उहाँले दुर्गम क्षेत्रमा बाटो बनाइयो, त्यसको लागत पनि चमेलियामा पर्यो, प्रसारण लाइन बनाइयो, त्यो पनि आयोजना भित्रै पर्यो । र, निर्माण कार्यमा पनि धेरै ढुवानी खर्च गर्दा हामीलाई महँगो पर्यो भन्ने जवाफ आयो । पछिल्लो चरणमा गएर त्यहाँको जुन भुगोल, माटो, छ त्यहाँ अलिकता संकुचन हुने समस्या पनि आयो, यसरी नै महँगो भयो मन्त्रीज्यू भन्नुभा’थ्यो । यो सबै जे जति काम भएको छ मेरो बेलामा भएको होइन । यो त ९०–९५ प्रतिशत काम भएर रोकिएको आयोजना थियो । काम रोकियो, छिटो सम्पन्न गर्नुपर्छ, लोडसेडिङ छ भनेर अगाडि बढाउन भनेर निर्णय मात्र के गरेका थियौं, आयोजना अघि नबढाउन लेखा समितिले भनेपछि हामीले रोक्यौं । मेरो बेलामा केही भएको होइन । अनियमितता भएको भनेर लेखा समितिले भनेपछि कहाँ के कति अनियमितता भएको छ । त्यसलाई हेरिदिनु भनेर हामीले अख्तियारलाई नै गुहार्यौं । पछि यी आयोजनालाई यथोचित निर्णय गरेर अगाडि बढाउनुहोस् भनेर पुन: अख्तियारको पत्र आएपछि हामीले आयोजना अघि बढाएका हौं ।
० अब कहिलेबाट नेपाली जनता अन्धकारमुक्त होलान् ?
– मैले जनताको विद्युत्, जनताकै लगानी भन्ने अवधारणा अघि सारेको छु । दूरदराजमा साना आयोजनाहरू पूर्ण रूपमा विद्युत् विकास विभागले अध्ययन गर्ने, कम्पनीको रूपमा दर्ता गर्ने, स्थानीय जनताको आधा लगानी र नेपाल सरकारको आधा लगानीामा आयोजना बनाउने सोच छ । यो पनि लोडसेडिङ न्यूनीकरणको माध्यम ठानेको छु । यो सरकार गठन हँुदा ३ वर्षभित्रमा सम्पूर्ण रूपले लोडसेडिङ अन्त्य गर्छौं भनेका थियौं । एक वर्ष भइसकेको छ । अहिले २ वर्ष भनिरहेकी छु तर २ वर्ष पनि कुर्नु पर्दैन होला । अन्तरदेशीय प्रसारण लाइन जुन रफ्तारले अहिले बढिरहेको छ, त्यसको सब स्टेसन ढल्केबरमा बन्यो भने लोडसेडिङ हट्न दुइ वर्ष पनि लाग्दैन । तर, पर्याप्त मात्रामा कलकारखानालाई चाहिने बिजुली हामीले २ वर्षभित्र दिन सक्दैनौं । अझैं केही वर्ष लाग्ला । कम्तीमा ४ वर्षपछि भने हामीले चाहेको बिजुली पूरै घरेलु खपतका लागि हाम्रै उत्पादनले धान्न सक्छौं र बढी भएको बिजुली हामीले भारतलाई बेच्न सक्छौं ।
मेरो एकबर्से कार्यकालमा विगतमा भन्दा रफ्तारका साथमा काम भएको छ । म एकदमै ननटेक्निकल मान्छे । आएर काम थालनी गरें । मैले अध्ययन गरेर केही जान्ने बुझ्ने मौका पाएँ । यसलाई सदुपयोग गर्न चाहन्छु । नेपाल प्राकृतिक रूपले धनी छ । अब यो पानीको धनलाई पूर्ण रूपले सदुपयोग गरेर हामी अगाडि बढ्ने हो भने हाम्रा युवाहरू विदेश जानु पनि पर्दैन । स्वदेशमै सबै युवाहरूले चाहेको रोजगार सिर्जना हामी आफैं गर्न सक्छौं । नेपालको लामो समयदेखिको व्यापार घाटा अन्त्य भएर मुलुक समृद्धिको बाटोतिर लाग्ने सुनौलो खालको भविष्य हामीले देखिरहेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको यो सुनौलो भविष्यलाई साकार पार्न राजनीतिक स्थिरताको आवश्यकता पर्छ । त्यसका लागि राजनीतिक स्थिरता कायम गर्न सक्यौं र बेलैमा संविधान निर्माण गर्न सक्यौ भने नेपाल र नेपालीको भविष्य सुन्दर बन्दै गएको मैले देखेकी छु ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply