ढुक्क हुनूस्, अब ठूलो भूकम्प आउँदैन
– डा. ई. दिपकराज भाट भू–इन्जिनियर (जियोटेक्निकल इन्जिनियरिङ)० भूकम्प के हो ?
– भूकम्प भनेको पृथ्वीमा हुने कम्पन हो । यो एक प्रकारको प्राकृतिक विपत्ति हो।
० भूकम्प के कारणले हुन्छ ?
– हाम्रो नेपालमा भूकम्प गइरहनुको कारण युरेसियन प्लेट र इन्डियन प्लेटको घर्षणबाट एक प्रकारको शक्ति पैदा हुनु हो । यो शक्ति प्लेटको तल रहिरहेको हुन्छ । जुनसुकै बेला त्यो बाहिर निस्कन खोज्छ । जहाँ कमजोरर ठाउँ पाउँछ, त्यहींबाट त्यो शक्ति बाहिर निस्किन्छ । त्यो कमजोर ठाउँ भनेको चाहिँ इन्डियन प्लेट र तिब्तियन प्लेटको सीमामा पर्छ । खासगरी हाम्रो हिमालय रेन्ज त्यो सीमामा पर्छ । नुवाकोट, रसुवा, धादिङ, गोरखा, कास्की हुँदै भारतसम्म पुगेको छ, त्यो रेन्ज । त्यो रेन्ज कमजोर भएको हुनाले त्यहाँ भूकम्प गएको हो ।
० नेपाल जुन भौगोलिक अवस्थितिमा छ, त्यो नै कमजोर छ त ?
– हो । धेरै वर्ष पहिले दुईटा प्लेट ठोक्किएर हाम्रो भूबनोट बनेको हो । त्यस हिसावले यो क्षेत्र भनेको भूकम्पका दृष्टिले कमजोर भू–भाग हो ।
० नेपालमा पनि दक्षिणभन्दा उत्तरी भाग भुकम्पीय दृष्टिले बढी जोखिममा हो र ?
– टेक्टोनिक लाइनको सीमा चाहिँ उत्तरी भाग हो । तर, यसको मतलव त्यही क्षेत्रमा भूकम्प जान्छ भन्ने होइन । त्यसको आसपास जहाँ पनि जान सक्छ । हाम्रो देश नै सानो भएकाले त्यो रेन्जको नजिक पूरा नेपाल पर्छ । त्यसैले हाम्रो भू–बनोट नै कमजोर भएको हुनाले जुनसुकै ठाउँमा जान सक्छ ।
० दुईटा प्लेटको घर्षणबाट निस्कने ऊर्जा विष्फोट हुँदा भूकम्प जान्छ भन्नुभयो, अब त्यो ऊर्जा जम्मा हुन त समय पनि धेरै लाग्छ होला नि ?
– लाग्छ । त्यसैले नेपालमा अब तत्काल ठूलो भूकम्प जाने खतरा छैन । ८० देखि १०० वर्षमा ठूलो भूकम्प आउँछ भनिरहेका छौं । नेपालको भूकम्पको इतिहास हेर्न हो भने पनि त्यही देखिन्छ । अहिले ०७२ मा भूकम्प आयो, यसभन्दा अघि ८२ वर्ष पहिले १९९० मा आएको थियो । त्यो मात्रामा ऊर्जा संकलन हुन ८२ वर्ष लाग्यो । त्यसभन्दा अगाडि १९०५ मा ७.८ रेक्टर अर्थात् अहिलेकै जत्रै भूकम्प आएको थियो । त्यसभन्दा पहिले १०२ वर्ष अगाडि १८०३ मा ७.६ रेक्टरको भूकम्प आएको थियो । यसरी हेर्दा लगभग १ सय वर्ष को हाराहारीमा ठूलो भूकम्प आएको छ । अहिले जम्मा भएको ऊर्जा विष्फोट भइसकेको छ । अब त्यही नै परिणामको ऊर्जा जम्मा हुन केही समय लाग्छ । पुर्णरुपमा विष्फोट नभएको हुनाले नै अहिले स–साना पराकम्पनहरु आइरहेका छन् । यस्ता साना धक्का केही समय आउन सक्छन् । तर, यसको मतलव ठूलो भूकम्प आउँछ भन्ने होइन । अहिलेलाई त्यो सम्भावना छैन ।
० १२ गते आएको ठूलो भूकम्म पछि १३ गते आएको पराकम्मनले पनि क्षति पुर्यायो, पराकम्पन पनि क्षति पुर्याउने खालको हुँदो रहेछ त ?
– अहिलेसम्मको अध्ययनलाई हेर्दा, मुख्य कम्पनपछि आउने कम्पन मुख्यभन्दा सानो नै हुन्छ । ०.५ देखि १ म्याग्नेच्युडसम्म कम हुन्छ भनिन्छ । सुरुको धक्काले संरचना कमजोर पारेको हुन्छ । १२ गते ७.८ रेक्टरको भूकम्प गयो, त्यसले संरचना कमजोर बनाइसकेको थियो । त्यसपछि आएको पराकम्पनले कमजोर संरचनालाई क्षति पुर्याएको हो । अहिले पराकम्पन ५ भन्दा कममा आइसकेको छ । ५ भन्दा कमको कम्पनले कुनै पनि संरचनालाई क्षति गर्दैन । तर, कमजोर भएका संरचनालाई सानो धक्काले पनि ढाल्न सक्छ ।
० अहिले ५ रेक्टर हाराहारीमा कम्पन गइरहेका छन् । अब ५ देखि सुरुको ७.८ रेक्टरको बीचमा आउने सम्भावना छ कि छैन ?
– ५ भन्दा कम त आउने सम्भावना हुन्छ । समान्यतया हेर्दा पनि थाहा हुन्छ कि शनिबार पछि आइतबार धेरै मात्रामा कम्पन गयो । सोमबार त्यसभन्दा संख्या घट्दै गयो । शुक्रबारसम्म आउँदा ३ वटा कम्पन मात्र आए । शनिबार बढेर ६ बटा आए तर डराउनु पर्ने केही छैन । आइतबार फेरि घटेर ५ वटा आए । ६ भन्दा माथि सोमबार एउटा आयो, त्यसबाहेक अहिलेसम्म आएको छैन । यसको मतलव बाँकी रहेको ऊर्जा विस्तारै घट्ने क्रममा गएको छ । अब एक्कासि बढ्ने भन्ने सम्भावना देखिँदैन ।
० यसरी धेरै कम्पन आउनु पनि खतराका हिसाबले राम्रो भनेको पनि सुनिन्छ । के त्यस्तै हो ?
– विगत हेर्दा ७२ घण्टा पछि कुनै क्षति नगर्ने सामान्य कम्पन आएको पाइन्छ । तपाईंले भनेजस्तो ठूलो कम्पन आएपछि स–साना कम्पन आउनुले अब खतराको सूचक छैन भन्ने संकेत गर्छ । त्यसैले अब डराउनु पर्दैन ।
० स–साना कम्पन यसरी आउनु प्लेटले फेरि आफ्नो घर लिने प्रक्रिया हो वा के हो ?
– हो, त्यही नै हो । फेरि त्यो सेट हुनलाई केही समय लागिरहेको छ । त्यो प्रक्रियामा भएको हुनाले हामीले सामान्य किसिमका धक्का महसुस गरिरहेका छौं । कति दिनमा यो सेटिङ हुन्छ भनेर आँकलन गर्न चाहिँ सकिंदैन । यस्तो प्रविधि अहिलेसम्म विकास भएको छैन ।
० अब ठूलो जाँदैन भने पनि विगतको इतिहास हेरेर मात्र अनुमान लगाउने त होला नि ? अरु कुनै आधार छन् त ?
– यसका बारेमा अनुसन्धान धेरै नै भइसकेको छ । अहिलेसम्मको अनुसन्धानले के देखाएको छ भने करिब–करिब ९८ प्रतिशत भुकम्पहरुको पराकम्पन सानो नै आउँछ । त्यसलाई हेर्दा ठूलो भुकम्प चाँडै आउने देखिंदैन । तर, भूकम्प आउने कुरा भनेको सम्भावनाको कुरा हो । सम्भावना नै ९८ प्रतिशत छैन भने २ प्रतिशत सम्भावना भनेको नगण्य हो । आउँदैन भन्ने हो तर सम्भावना राखिन्छ ।
० ८२ वर्षपछि आयो भनिन्छ तर ०४५ सालमा पनि उदयपुरलाई केन्द्र बनाएर ठूलै भूकम्प आएको थियो त ?
– त्यो बेला ६.८ रेकटरको भूकम्प आएको थियो । त्यसलाई ९० सालको पुनरावृत्तिका रुपमा बुझ्नु हँुदैन । सानो ६–७ सम्मको त बीचमा पनि आउने सम्भावना हुन्छ ।
० कतिसम्मको लाई सानो र कतिदेखि माथिको लाई ठूलो मान्ने नि ?
– इन्जिनियरिङ कोणबाट भन्दा ५ भन्दा तलको सानो हो । यसले कुनै संरचनामा हानी गर्दैन । ५ देखि ६ सम्मकोलाई हामी मध्यम मान्छौं । ६ देखि ७ सम्मको चाहिँ इन्जिनियरिङ संरचनालाई होइन, अरु सामान्य घरहरु भत्काउने खालको हुन्छ भनिन्छ । ७ देखि माथिलाई ठूलो (मेजर) भूकम्प मानिन्छ । यसले इन्जिनियरिङ संरचनाका घरहरु पनि भत्काउँछ । ८ देखि माथिकोलाई ग्रेट मानिन्छ, यसले बाटोघाटो समेत भत्काउँछ । कतै–कतै पहाडहरु पनि खस्छ ।
० ठूलो भूकम्प जाँदा जमिन नै भासिन्छ भन्ने प्रचार भएको थियो नि ?
– नेपालमा जमिन भासिने वा ज्वालामुखी आउने कुनै सम्भावना छैन । भूकम्प आउनु र ज्वालामुखी आउनु भनेको फरक कुरा हो । भूकम्प गएदेखि म घुमिरहेको छ, कौशलटार क्षेत्रमा जमिन केही भासिएको छ । त्यहाँ करिब ८० सेमी देखि २ मिटरसम्म भासिएको देखिएको छ । तर, यसको मतलव पूरै जमिन भासिन्छ भन्ने होइन । जमिन भासिने भनेको जमिनमुनिको माटो कमजोर भएको ठाउँमा धक्काले गर्दा दब्ने हो । त्यहाँ भएको त्यही हो ।
० अधिकांश भत्केका घरहरु पुराना छन् तर बालाजु क्षेत्रमा भने नयाँ घर भत्किए, यसको कारण के हुनसक्छ ?
– मैले जति हेरें, दुई तरिकाले बुझेको छु । एउटा, माटोको कारण भत्केका हुन् । कमजोर भू–बनोटले गर्दा हामीले बनाएको संरचना इन्जिनियरिङ हिसाबले राम्रो हुँदाहुदै पनि जमिन राम्रो नभएका कारण भासिन्छ वा पल्टिन्छ । बालाजु क्षेत्रमा भएको त्यही नै हो । संरचना बनाउँदा त्यसले कतिसम्म भार लिनसक्छ भनेर माटोको परीक्षण गर्नुपर्दथ्यो । तर, सायदै गरिएको छ । त्यहाँको जमीन धेरै नै कमलो छ । बालुवाको मात्रा वढी भएको हुन सक्छ । कुनै पनि कम्पन आउँदा बालुवाले भार लिन सक्दैन । त्यसको बीचमा पानी पस्छ र तिनीहरु एक–आपसमा छुटिन्छन् । त्यसपछि पानीको जस्तो व्यवहार गरिदिन्छ । त्यसलाई लिक्विफ्याक्सन भनिन्छ । त्यसकै कारण संरचना माथि राम्रो हुँदा पनि तल भार थेग्न सक्दैन । अर्को कारण भनेको कमजोर संरचना हो ।
० समग्रमा भन्दा काठमाडौंमा नयाँ घर त्यति भत्केनन्, संरचना त बलियो नै रहेछन् नि हैन ?
– जाइका र एनसेटको अध्ययन हेर्न हो भने उनीहरुले नेपालमा धेरै नै ठूलो क्षति हुन्छ भनेका थिए । कसै कसैले त लाखौं मान्छे मर्ने अनुमान लगाएका थिए । तर, त्यो हेर्दा अहिले मलाई के लाग्छ भने काठमाडौंका घर धेरै नै बलिया रहेछन् । उनीहरुले काठमाडौंको भूबनोट पनि धेरै कमजोर छ भनेका थिए । काठमाडौंको सबै ठाउँमा भूबनोट कमजोर होइन रहेछ । तर, यसो भन्दैमा ढुक्क हुने अवस्था भने छैन । अहिले आएको भूकम्प धेरै ठूलो पनि होइन । अहिलेसम्मको अध्ययनले यो रेन्जमा ८ रेक्टरको भूकम्प आउने अनुमान गरिएको थियो । यो रेन्जमा प्रत्येक २ सय किलोमिटरको फरकमा त्यो खालको भूकम्प आउने सम्भावना छ भनिएको थियो । हामीलाई पनि ८ भन्दा बढीकै आउँछ भन्ने लागेको थियो । यो भूकम्पले हामीलाई धेरै ठूलो पाठ सिकाएको छ । अब हामीले भूकम्प प्रतिरोधात्मक संरचना बनाउनुपर्छ । भवन निर्माण आचारसंहितालाई अझ परिमार्जित गर्नुपर्छ ।
० अब ठूलो भूकम्पको सम्भावना छैन भने तत्काल विपत्तिबाट आत्तिनुपर्ने कारण छैन ?
– प्राकृतिक विपत्तिको अनुमान लगाउन सकिंदैन । मैले तत्काल ठूलो भुकम्पको सम्भावना छैन भनेको छु । यसको अर्थ अब तत्काल ठूलो विपत्ति आउँदैन भन्ने होइन । भूकम्प पीडितहरुलाई राहत र उद्दारमा सरकार तथा कतिपय निजी संघ–संस्था पनि लागेका छन् । तर, सरकारले गर्नुपर्ने मुख्य काममा अझै ध्यान दिएको छैन । भूकम्पका कारण जमिन थिलो–थिलो भएको छ । अब वर्षा लाग्ने समय सुरु हुँदैछ । ठूलो वर्षा भयो भने जताततै पहिरो जाने सम्भावना ज्यादै छ । त्यो स्थितिमा पीडितहरुलाई उद्दार गर्न जाने बाटोघाटो नै हुँदैन । त्यसैले अहिल्यैबाट सरकारले त्यो समस्या नआओस् भनेर गाउँ–गाउँमा स्टिलका घर निर्माण गर्नतिर लाग्नुपर्छ र पीडितलाई सुरक्षित रुपमा त्यहाँ बसोबासको व्यवस्था मिलाउनुपर्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply