दिल्लीले रुचाए उहाँ प्रधानमन्त्री बन्नुहुन्छ
प्रदीप नेपाल पोलिट्ब्युरो सदस्य, नेकपा (एमाले)० आजकाल के गर्दै हुनुहुन्छ ?
– भर्खरै १० दिन जति चीन घुमेर आएँ । त्यो भ्रमणमा केन्द्रित रहेर लेख्न बाँकि छ, त्यो काम थालेको छु । आजभोलि म अलिक बढी साहित्यिक कार्यक्रमहरूमा निम्तिन्छु, त्यहाँ जाने गरेको छु ।
० राजनीतिक कार्यक्रममा भन्दा साहित्यिक कार्यक्रमतिर व्यस्त हुनुको कारण के हो ?
– मैले कतै गएर कार्यक्रम बनाउँ भन्ने होइन । जसले बोलाउँछन, त्यहाँ जान्छु । राजनीतिक कार्यक्रममा मलाई कसैले बोलाएका छैनन, म ‘मलाई बोलाउ’ पनि भन्दिनँ ।
० राजनीतिक कार्यक्रममा किन नबोलाएका होलान् त ?
– आठौं महाधिवेशनपछि हाम्रो पार्टीमा मलाई किनारा लगाउने बेस्सरी प्रयत्न भयो । जिल्ला अधिवेशन र भेलाहरूमा मलाई जानै दिइएन, रोकियो । उताबाट निम्तो आएर ओके भइसकेपछि पनि रोक्ने काम भयो । म फेरि झगडा गरेर जाने मान्छे होइन । मैले फेरि सबैलाई भनेको पनि थिएँ– बोलाउनुभयो भने आइदिन्छु, बोलाउनुभएन भने आउँछ भन्ने सोच्दा पनि नसोच्नु ।’
० त्यतिबेलाको संस्थापन पक्षको पेलानमा हुनुहुन्थ्यो ?
– त्यति बेला त मरुन्जेल पेलेका हुन् नि † नपेलिने भएर मात्र म टिकेको हुँ । उस्तै भए महाधिवेशनको १५ दिनपछि नै पार्टी छाडेर हिँड्थें ।
० तपाईलाई चाहिँ त्यस्तो पेलिँदा पार्टी छाड्ने सोच आएन ?
– मैले त आफैंले बनाएको पार्टी हो यो । यो पार्टीमा झलनाथजीको भन्दा मेरो बढी योगदान छ, मैल किन छाड्नु भनेर म अडिएको मात्र हुँ । अहिले पनि ९–१० महिना पछि झल्ट्याङ झुल्टुङ हुँदै कहिले शिक्षा र मानवस्रोत त कहिले जलस्रोत र ऊर्जा विभाग हुँदाहुँदै जलस्रोत र ऊर्जामा टुंगो लागेको छ ।
० अहिले पनि सन्तुष्ट हुनुहुन्न भन्ने सुनिन्छ नि ?
–होइन, म त आजभोलि जेमा पनि सन्तुष्ट हुन्छु । मलाई नदिएको भए पनि कुनै गुनासो हँुदैनथ्यो ।
० किन त त्यस्तो ?
– किनभने, हाम्रो अहिले जो नेताहरू छन्, उनीहरू मेरा लागि मान्य छैनन्, हामी बराबर हौं । परिस्थितिले उहाँहरूलाई नेता बनायो, मलाई बनाएन । त्यो परिस्थितिलाई मैले स्वीकार गर्नुपर्छ ।
० तपाईंलाई परिस्थितिले नेता नबनाएको हो कि तपाईंको स्वभावले ?
– स्वभावसँग त कसरी मान्छे जोडिन्छ र ? म अल्छी हुन्थेँ वा कसैको गोठालो हुन इच्छुक हुन्थेँ भने मेरो भविष्य उज्यालै हुन्थ्यो । त्यो मलाई थाहा छ ।
० तपार्इंको मुख अलि छुचो छ भन्नेहरू पनि छन् नि ?
– होइन, छ त । म सत्य लुकाउनै सक्दिनँ । त्यो छुचो हुुनु होइन । मलाई छुचो भने पनि मैले असत्य बोलेको छैन । मान्छेलाई ढाँटेको छैन । यदु गौतमलाई मारेकोमा माधव नेपाल र मेरो अभिव्यक्ति फरक भयो । माधव नेपालको अभिव्यक्ति वार्ताका लागि भयो । मलाई त उनीहरूले मृत्युदण्ड त दिएकै हुन् नि ! मैले युदु गौतमको सेरिएको गला, भाँचिएका हातहरू देखेँ, त्यसको स्वाभाविक प्रतिक्रिया दिएँ । माधव नेपालले त्यो देख्नु भएन, ‘माओवादीसँग मिल्नुपर्छ’ भन्नुभयो । फरक यत्ति हो । जे सत्य हो, म त्यसलाई जस्ताको तस्तै भनिदिन्छु, त्यो तीतो हुन्छ । नेताहरूलाई गुटबन्दी खुलेर गर्नूस्, षड्यन्त्र नगर्नूस् भन्ने मान्छे मै हुँ । त्यो कुराले उहाँहरूलाई रिस उठ्यो । यी सबै कुरामा म जान्न । धेरै नेताहरूको विकल्प छैन तर मेरो विकल्प छ । वरिष्ठ नेता भएपछि पार्टीमा काम माग्न पाइन्छ ? संसारमा कहीँ पनि नभएको कुरा हो यो । कि वरिष्ठ हुनु भएन कि वरिष्ठ भएपछि काम माग्नु भएन । यो मैले प्याच्च बोलेँ । अब दुवै जना मसँग आगो हुनुहुन्छ । दुईटैलाई विदेश विभाग चाहिएको छ । लफडा त्यहाँ छ । त्यो विदेश विभागमा के राखेको छ, त्यो म बुझ्दिनँ ।
० दुईटा नेतालाई चाहिएको भन्दा पनि दुई जनालाई लडाउन–भिडाउन खोजेको भन्ने पो सुनिन्छ त ?
– होइन, मैले त सोधेँ नि– किन यस्तो गरेको ? एउटालाई हाल्दिनु नि ! अहिलेको यो संरचनामा म आफै सन्तुष्ट छैन । पाँच वटा उपाध्यक्ष राख्ने मान्यता पाँच विकास क्षेत्रको संयोजकका रूपमा थियो पहिले, जुन बेला आठौं महाधिवेशनमा म पनि विधानमा संलग्न थिएँ । त्यो राम्रै थियो । तर, यो दुईटा उपमहासचिव किन राखेको ? मैले त यो कुरा उहिल्यै उठाएको । त्यो हुनाले दुवै उपमहासचिव मसँग रिसाउनुभएको छ । पाँच जना सचिवले के काम गर्छन् ? जुन खालको सोच बनाएर यो बहुपदीय प्रणाली गरियो, त्यो हाम्रो पार्टीमा असफल भइसक्यो ।
० बहुपदले झन् झगडा निम्त्याउने मात्र काम गर्यो, होइन ?
– झगडा भन्दिनँ म । झगडा भनेको व्यक्तिगत चरित्र हो । हाम्रोमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने भन्ने चाहिँ करिब–करिब सकिएछ । उट्पट्याङ–उट्पट्याङ मान्छेलाई भूगोलको जिम्मा दिइएको छ, जसलाई त्यो भूगोलको ज्ञान नै छैन । भूगोलको काममा क्षमता राख्ने भनेको मालेकालदेखि नै ईश्वर पोखरेल, म र वामदेव गौतम हौं । अहिले पनि म गर्व गर्छु, हामी नभएको हो भने एमाले यत्रो बन्दैनथ्यो ।
० अहिलेको कार्यविभाजनमा क्षमताभन्दा पक्षधरता हेरियो भन्ने कुरा मान्नुहुन्छ ?
– पक्षधरता त केको हुन्छ र ? मालिक, मालिक छँदैछन्, गोठालाहरू कहिलेकाहीँ यताउता सल्बलाउँछन्, त्यत्ति मात्र हो । भरसक क्षमता अनुसारको नभए पनि रुचि अनुसारको काम चाहिँ दिनुपथ्र्याे, त्यो भएन । त्यो अब सच्चिँदैन, सच्चिन आवश्यक पनि छैन । पार्टीले निर्णय गर्यो भनेपछि जिन्दगीमा मैले मलाई बेठीक दियो भनेको छैन ।
० यस पटक त कार्यविभाजनलाई लिएर ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारी पो छ रे नि ?
– त्यस्ताले पार्टी छाडिदिए हुन्छ । कार्यविभाजनमा नोट अफ डिसेन्ट लेख्नेले किन पार्टीमा बसिरहनु ? मेरो त प्रस्ट कुरा छ– कार्यविभाजन भनेको त थाङ्ने कुरा हो । तपाईं केन्द्रीय कमिटीमा पुग्नुभयो, तपाई सबैक्षेत्रको विज्ञ हुनुभयो । त्यसो हुनाले यो नोट अफ डिसेन्ट भनेको एकदमै नक्कली कुरा हो । यो नगर्नु राम्रो हुन्छ । तर, गरिराखेका छन्, मैले अर्ति दिएर के हुन्छ र ? कि कुनै विभागमा ‘मेरो सम्पत्ति लुकाएको छ, त्यो रेखदेख गर्नुछ’ भन्नुपर्यो, होइन भने हाम्रा केन्द्रीय कमिटीका सबै सदस्यहरू दिएको जिम्मेवारी पूरा गर्न सक्ने ठाउँमा छन् भन्ने बुझेर जिम्मेवारी दिइएको हुन्छ ।
० केही दिनका लागि त तपार्इं पनि स्थायी कमिटीमा आउने चर्चा थियो, होइन ?
– यसपालि नवौं महाधिवेशनको मेरो एउटै मात्र उपस्थिति थियो– केपी ओलीलाई अध्यक्ष बनाउने । त्यो पनि मैले नढाँटी भनेकाले उहाँहरू रिसाउनुभएको छ । मर्नुभन्दा अगाडि एकचोटि उहाँलाई अध्यक्ष बनाइदिऊँ भन्ने लाग्यो । त्यो बाहेक मेरो कुनै माग नै थिएन । म आफ्नै ढंगले बाटो बनाउँदै गएको थिएँ । अहिले पनि म मदन–आश्रित स्मृति प्रतिष्ठानमा जोडिएको छु । त्यसले एउटा कलेज चलाएको छ । त्यो नेपालको सबैभन्दा सस्तो कलेज हो । करिब–करिब ४ सयलाई अहिले हामीले नि:शुल्क पढाइरहेका छौं । खाने–बस्ने उनीहरूको खर्च, हामी एक पैसा लिँदैनौं । कक्षा ११ र १२ मा कहीँ पनि त्यस्तो छैन । समता स्कुलले पनि १०० रुपियाँ लिन्छ । मदन भण्डारीलाई पार्टीले बिर्सन खोजेको हुनाले उहाँको स्मृति जीवन्त रहिरहोस् भनेर उहाँका १० वटा भाग म र सूर्य थापा मिलेर निकाल्यौं । त्यसको आर्थिक दायित्व मैले पार्टीलाई एक पैसा दिएको छैन । यस्तो काम मैले आठौं महाधिवेशनपछि देखि नै सोचिरहेको थिएँ । अब म यो दिशातिर लाग्छु । किनभने, जनताको बहुदलीय जनवाद हाम्रा वर्तमान नेताहरूका कारणले बच्दैन, जो नयाँ हावादारी जबजवादीहरू निस्किएका छन्, तिनीहरूले बिताउँछन् भन्ने लागेको छ । त्यसैले त्यो जोगाउनुपर्छ यतातिर काम गर्ने डंगुर मान्छे भइसके भन्ने लागेको छ ।
० स्थायी कमिटीमा एक सिट अझै खाली छ । तपाईंको दाबी छैन ?
– म जान्न । जो–जो पदमा गए तिनीहरूसँग मेरो कुनै गुनासो छैन । मनोनयन प्रक्रिया जब सुरु भयो, मभन्दा सिनियर मुकुन्द न्यौपाने मात्र हो । अरू सबैभन्दा म सिनियर हुँ । के आधारमा गरिन्छ ? काममा अहिले पनि अब्बल छु, म प्रमाणित गर्न सक्छु । एउटा मात्र उदाहरण दिन्छु, पार्टीको मुखपत्र नवयुग मैले ४२ हजार प्रति निकालेको छु, अरू कसले निकाल्यो ? जहाँ पनि म अब्बल छु, त्यो दाबी छ तर म सिनियारिटीलाई मान्दछु ।
० अब्बल हुनुहुन्छ, तर जो आए पनि पेलानमा पर्नुहुँदो रहेछ !
– होइन, त्यो कुरा छाडिदिनुस् । जब मान्छे निर्गुट हुन्छ र जो मान्छे स्पष्ट वक्ता छ, त्यो पेलानमा पर्छ, पर्छ । त्यो त मैले स्वीकार गरेको छु ।
० पछिल्लो समयमा कहिले वामदेव गौतमको सल्लाहकार हुने, कहिले कता जाने, अलिक बरालिनुभएको कारण पनि तपाईंप्रति मान्छेहरूको दृष्टिकोण नकारात्मक बनेको पाइन्छ नि ?
– बरालिने, नबरालिने भन्ने कुरै होइन । मैले धेरैचोटि यो कुरा भनी पनि सकेको छु । उहाँले बैठकमा ‘मलाई गृहमन्त्री बनाउनुपर्यो, म राम्रो काम गर्छु’ भन्नुभयो । उहाँ गइसकेपछि ‘मलाई सघाउन आउनुपर्यो’ भन्नुभयो । मैले ‘म तपार्इंले बोलाएर आउने हो र ? म आउन्न’ भनेँ । ‘पार्टीको स्थायी कमिटीले निर्णय गर्छ, आउनुपर्यो’ भन्नुभयो । स्थायी कमिटीको निर्णय मलाई उहाँले सुनाउनुभयो । म गएँ । यस्ता कुरामा म सधंै रिर्जभेसन राखेर जाने मान्छे हुँ । मैले उहाँलाई ‘चार वटा काम गर्नुभयो भने बस्छु, नत्र ६ महिनामा हिँड्छु’ भनेको थिएँ । ती काम भएनन् म हिडेँ ।
० के थिए, ती चार वटा काम ?
– एउटा, गृह मन्त्रालयलाई कम्प्युटराइज्ड गर्ने, त्यो एकदमै सजिलो थियो । दोस्रो, पाँचै विकास क्षेत्रबाट एमआरपी वितरण गर्ने । तेस्रो, कुनै पनि बढुवामा खल्तीको नम्बर नराख्ने । चौथो, राष्ट्रिय परिचयपत्र के कुराले अड्केको हो, त्यसको ६ महिनाभित्र टेन्डर गर्नुपर्ने । यीमध्ये एउटा काम भएको भए पनि म बस्न बाध्य हुन्थेँ ।
० त्यहाँ गएर मैले गल्ती गरेछु भन्ने अहिले लाग्छ कि लाग्दैन ?
– लाग्दैन । किनभने, म मै हुँ । मलाई केही पनि लाग्दैन । अरू क–कसलाई के–के लाग्छ, मलाई लाग्दैन । म मै हुँ, म वामदेव होइन, म केपी होइन, माधव नेपाल, झलनाथ पनि होइन । मैले खराब गरेको भए डराउनुपथ्र्यो । मैले अहिलेसम्म खराब गरेको छैन, अब यो बेलामा आएर किन गर्थें र ? अब त मेरो वानप्रस्थ जीवन बिताउने बेला हो ।
० ‘६० वर्षमा सक्रिय राजनीतिबाट सन्न्यास लिन्छु’ भनेर त पाँच वर्षअगाडि नै घोषणा गर्नुभएको हो, क्यारे ?
– अघि नै मैले भनें नि, आठौंमा केपी ओली अध्यक्ष भएको भए, म छाडिदिन्थें । आठौंमै यी बाँच्दैनन् भन्ने लागेको थियो, धन्न बाँचे । नवौंमा अध्यक्ष नभएको भए यी मर्थे । नवौंको अध्यक्षले यिनलाई अहिलेसम्म तानेको छ, अब कति दिन तानिन्छन् थाहा छैन । अध्यक्ष नभई मर्दाखेरि निद्रा पनि नमीठो लागिरहन्थ्यो । मुकुन्द र मेरो सल्लाह भयो, त्यत्रो झापा आन्दोलनको सिर्जनाकारमध्येको मान्छे ! सबैले पहिलो पद पाए, यिनले पाएनन् । यिनलाई बनाइदिऊँ ।
० अब प्रधानमन्त्री पनि बनाइदिऊँ भन्ने अभियान पनि छ कि ?
– अब छैन, अब सकियो । मेरो दायित्व त पार्टीतिर हो । आजभोलि प्रधानमन्त्री हामीले भनेर हुन्न क्यार । दिल्लीतिर जानुपर्छ । दिल्लीले उहाँलाई रुचाए, उहाँ हुने हो । शेरबहादुरलाई छाने, शेरबहादुर हुने हो ।
० तपाईं भर्खरै चीन गएर आउनुभयो, चीनको रुचि चाहिँ के रहेछ त ?
– नेपालीलाई चित्त दुख्ला तर नेपाल चीनको मूल एजेन्डामा छैन । उनीहरूको मूल एजेन्डा अर्कै छ । उनीहरूलाई अमेरिकाभन्दा माथि कसरी जाने भन्ने छ । नेपाललाई त पैसा माग्छन्, दिइरहनुपर्छ भन्ने छ । हामीलाई चीन के, तिब्बतले पैसा दिन थालिसक्यो, अस्तिसम्म ‘थाङने भोटे’ भन्थ्यौं ।
० नेताहरू पैसा माग्न नै दौडेका हुन् त एमाओवादी अध्यक्ष प्रचण्ड पनि अस्ति दौडँदै चीन गएका थिए ?
– त्यो मलाई किन सोध्नुहुन्छ ? म त्यस्तो ठूलो मान्छेसँग भेट्न गइनँ । मैले त खाली विद्धानहरूसँग मात्र भेट्न पाएँ । उनीहरूको पार्टीको अहिलेको निर्देशित नियन्त्रित पँुजीवाद निर्माणबारे जान्न पाएँ । त्यतातिर नजाउँ, यति मात्र बुझौं– चीनका लागि नेपाल केही पनि होइन, जसले पनि धाउने दक्षिण नै हो ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply