धेरैले बुबाको बिँडो थाम्नुपर्छ भन्नुहुन्छ
हरिशदेव गौतम वामदेव गौतमका छोरा० हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
– आफ्नै व्यवसायमा व्यस्त छुु ।
० के व्यवसाय गर्नुहुन्छ ?
– एउटा इन्जिनियरिङ कन्सल्टेन्सी छ । त्यसबाहेक, पर्यटन व्यवसाय र आयात–निर्यात व्यापारसम्बन्धी काममा व्यस्त छु ।
० बुबाको कारण कति व्यस्त हुनुपरेको छ ?
– बिहान र बेलुकीको समय व्यस्त भइन्छ । दिउँसो समय आफ्नै काम हुन्छ, त्यसमाथि युवा संघमा पनि सक्रिय छु ।
० बिहान–बेलुकीको समय के काम गर्नुहुन्छ ?
– बाबासँग मान्छेहरूलाई भेटघाट गराउने काममा नै बढी व्यस्त भइन्छ । बाबालाई भेट्न विभिन्न ठाउँबाट मान्छे आउनुहुन्छ, उहाँहरूको कुरा सुनिदिने, कुरा टिपिदिने, बीचको पुलको काम गर्नुपर्ने हुन्छ ।
० बढी मान्छेले कस्ता कुरा सुनाउँछन् ?
– सरुवा–बढुवाका कुराहरू बढी हुन्छन् । बेरोजगारीको समस्या व्यापक रहेकाले रोजगारीका लागि पनि मान्छे आउँछन् ।
० कत्तिको मद्दत गर्नुहुन्छ ?
– एप्रोज भएसम्म कुरा सुनिदिने, ठाउँमा कुरा पुर्याइदिने काम गरिन्छ । बाबाको आफ्नै पनि सचिवालय छ । सचिवालयमा पनि कुरा पुर्याउने र त्यसलाई फलो गर्ने काम मैले गर्छु ।
० बुुबा गृहमन्त्री हुनुहुन्छ, प्रहरीको ठूलो प्रशासन छ, यस्तोमा पैसाको ठूलो चलखेल हुन्छ भन्छन्,, तपाईसँग एप्रोज आउँछन् कि आउँदैनन् ?
– बाहिर मान्छेले गरे भन्ने सुन्छु तर मलाई प्रत्यक्ष कसैले पनि यस्ता कुरा भन्न आएका छैनन् ।
० ए, त्यो चाहिँ हल्ला मात्र हो ?
– हल्ला मात्र हो । बाहिर मान्छेले ‘यसो गरे, उसो गरे, फलानोको नाम बेच्यो’ भनेको सुनिन्छ तर म आफूले महसुस गर्न पाएको छैन ।
० यस्ता कुरा सुन्दा, के रहेछ भनेर जाँच्ने काम गर्नुहुन्छ तपाईहरू ?
– गर्छौं । छुट्टै निकायलाई भनिन्छ, प्रहरी प्रशासनका मान्छेहरूलाई पनि भनिन्छ । कतिपय अवस्थामा उहाँहरूले पनि भेरिफाइ गर्नुहुन्छ । त्यस्तो भेटिएका पनि छन् । उनीहरूले नाम बेचेर, पैसा लिएर चलेखेल गरेको पनि भेटिएको छ । त्यस्तालाई प्रहरीसमक्ष बुझाइएको पनि छ ।
० प्रहरीको भर्ना, सरुवा, बढुवामा निकै चलखेल हुन्छ भन्छन् गृहमा ?
–त्यस्तो मलाई चाहिँ थाहा छैन । बाहिर त्यस्तो हल्ला मान्छेले गर्छन्, पत्रिपत्रिकामा पनि त्यस्ता समाचार आउँछन् । मलाई गृह प्रशासनमा के कस्तो हुन्छ भन्ने थाहा छैन । किनभने, त्यसमा म दखल गर्दिनँ ।
० बुबाले तपाईसँग केही कुरामा सल्लाह लिनुहुन्छ ?
–पछिल्लो समयमा भूकम्पपछि प्राविधिक विषयमा केहि सल्लाह लिनुभएको थियो । राजनीतिकरूपमा आफंै नै जान्ने बुझ्ने भएकाले हामीसँग सल्लाह लिने भन्ने कुरा पनि भएन । कहिलेकाहीँ आफूलाई लागेका कुरा भनिन्छ ।
० राजनीतिप्रति तपाईंको रुचि कत्तिको छ नि ?
–राजनीतिको पुरानो ट्ेरन्डभन्दा केही फरक ढंगले राजनीति गर्नुपर्छ कि भन्ने लागेको छ । हुन त पृष्ठभूमि एक हिसाबले स्थापित भइसकेको छ, बुबाको कारणले । सामाजिक, राजनीतिक रूपमा आफैंले केही गर्नुपर्छ भन्ने हो । त्यो सँगसँगै व्यावसायिक रूपमा आफैं सक्षम हुनुपर्छ भन्ने मान्यता छ ।
० युवा संघमा पनि हुनुहुन्छ, त्यहाँ कत्तिको सक्रिय हुुनुहुन्छ ?
– एग्रेसिभ्ली त छैन, ठीकै ठीकै छु ।
० युवा संघमा पनि दुई समूह छन्, कतातिर हुनुहुन्छ ?
– दुई समूह छन् भन्ने मैले पनि सुनेको छु तर म चाहिँ कतैतिर पनि छैन भन्नुपर्ला । सल्लाह दिँदा हामीले रचनात्मक आलोचना गर्न सकेनौं कि भन्ने लाग्छ । राष्ट्रिय राजनीतिमा पनि त्यही समस्या छ । एमाले पार्टीमा पनि सकारात्मक आलोचना गर्ने पद्धतिको विकास अझै हुन सकेको छैन जस्तो लाग्छ । त्यसको जरुरी छ ।
० तपाईंको बुबा तीन पटक गृहमन्त्री हुनुभयो, तपाईले हेर्दा पछिल्लो कार्यकालमा बुबाले राम्रो काम के गर्नुभयो भन्ने लाग्छ ?
– भुइँचालो गएपछि बजारमा यस्तो भएन, उस्तो भएन भन्ने कुरा आए । तर, बुबाले उचित व्यवस्थापनको काम गर्नुभयो जस्तो लाग्छ । मान्छेले सरकार देखेनौ भन्ने कुरा पनि गरे । त्यसमा कतिपयले राजनीति पनि गरे भन्ने लाग्छ । भूकम्पपछिको राहत र पुन:स्थापना राम्रो भयो भन्ने लाग्छ ।
० प्रहरीले साथ दिएन भनेर उहाँले सार्वजानिक रूपमा भन्नुभएको छ, तपाईंहरूसँग केही भन्नुभएको छ ?
–त्यसका केही राजनीति पनि घुसेको छ कि मलाई त्यसबारे केही थाहा भएन । मन्त्रालयअन्तर्गत प्रहरी प्रशासन हुनुपर्छ भन्ने मान्यता हो ।
० भावी दिनमा तपाईंको योजना के छ ? के गर्छु भन्ने लागेको छ ?
– कुनै न कुनै रूपले राजनीतिले तानिहाल्छ । बुबाहरूले गरेको जस्तो राजनीति चाहिँ पक्कै हँुदैन । हामी राजनीतिमा आउँदा एमालेको चौथो, पाँचौं पुस्ता हुन्छ होला । कुनै पनि हिसाबले पार्टीप्रति उत्तरदायी त हुनैपर्छ । उत्पादनमूलक काम गर्दै, पार्टी राजनीतिलाई अगाडि बढाउँदा राम्रो हुन्छ कि भन्ने लाग्छ । रोजगारी सिर्जना गर्न पाउँदा राम्रै हुन्छ जस्तो लाग्छ ।
० तपाईंको बुबा चुनाव लड्दै आएको बर्दियामा तपाईंको रुचि छ भन्छन् नि ?
–सामाजिक काम गर्नमा पक्कै पनि रुचि हुन्छ, कुनै पनि ठाउँमा । आफू हुर्केको, बढेको ठाउँमा काम गर्नु उत्तरदायित्व पनि हो ।
० बर्दियामा नि ?
–त्यहाँ पनि सामाजिक काम पक्कै गर्नुपर्छ । पार्टी राजनीति आफ्नै ठाउँमा छ, पछि भविष्यले बताउला । तर, त्यहाँ पनि आफ्नो सामाजिक दायित्व छाड्नु हुँदैन भन्ने लाग्छ ।
० पार्टीका अरू नेताहरूले राजनीतिमा आउनुपर्छ भन्नुहुन्छ कि आउनु हुँदैन भन्नुहुन्छ ? के सुझाव दिनुहुन्छ ?
– धेरैले बुबाको बिँडो थाम्नुपर्छ भन्ने कुरा गर्नुहुन्छ । म अझै हेर्दैछु । पूरै सक्रिय रूपमा अरू कुनै काम नगरी राजनीतिमा मात्र लाग्ने योजना चाहिँ छैन । आफू पनि स्थापित हुनुपर्यो । जीविका चलाउने काम पनि गर्नुपर्यो, अनि राजनीतिमा लाग्नुपर्छ भन्ने लाग्छ ।
० एमालेका धेरै नेतालाई सानैदेखि चिन्नुहुन्छ, बुबाबाहेक मन पर्ने एमालेका नेता को हुन् ?
–धेरै हुनुहुन्छ । मलाई काखमा खेलाउने नेताहरू धेरै हुनुहुन्छ । मोदनाथ प्रश्रित, प्रदीप नेपाल, विष्णु पौडेल, राधाकृष्ण मैनाली, घनश्याम भुसाललगायत धेरैले मलाई काखमा खेलाउनुभएको छ । त्यसबेला म भैरहवामा थिएँ ।
० अहिले भेट हुँदा के भन्नुहुन्छ उहाँहरूले ?
– के छ छोरा ? भन्नुहुन्छ, हालखवर सोध्नुहुन्छ । ठीकै छ अंकल भन्छु ।
० तपाईंको साथीभाइको सराउन्डिङ चाहिँ कस्तो छ नि ? राजनीतिसँग सम्बन्धित नै धेरै छ कि अरू नै ?
– पहिले चीनबाट ग्रयाजुएट भएर आउँदा जतिखेर काठमाडौं नगरपालिकामा काम गर्थे, त्यतिबेला एउटा सर्कल थियो । त्यो सर्कल अझै पनि छ । उहाँहरूले पनि बेला–बेला सल्लाह सुझाव दिइरहनुहुन्छ । पछिल्लो समयमा, जागिर छाडेपछि व्यावसायिक क्षेत्रमा लाग्ने कोसिस गर्दा त्यही खालको सर्कल थियो । पार्टी राजनीति गर्ने सर्कलसँग पनि सम्पर्कमा छु । बुद्धिजीवी खालका साथीभाइ
पनि हुनुहहुन्छ ।
० तपार्इंको पुस्ताको सर्कलले के भन्छ नि ?
– उहाँहरूको धारणा पनि पहिले आफू सस्टेन भएर अगाडि बढ्नुपर्छ भन्ने नै छ । राजनीतिलाई पनि व्यवसाय सँगसँगै लिएर जानुपर्छ भन्ने छ ।
० अहिले गृहमन्त्रीका बारेमा कुरा गर्दा बाहिरतिर तपाईंकी आमा र तपाईं आर्थिक चलखेलमा सहभागी हुनुहुन्छ भनेर चर्चा सुनिन्छ । यस्तो सुन्दा तपाईंहरूलाई चाहिँ कस्तो लाग्छ ?
– अहिले त बानी परिसकियो । मान्छेले जे पनि भन्न सक्छन्, त्यसलाई पचाउन थालियो । म के चुनौती दिन चाहन्छु, त्यस्तो खालको कुनै कुरामा हाम्रो संलग्ना पुष्टि गर्न कसैले सक्छ भने जुनसुकै कारबाही भोग्न तयार छौं ।
० कुरा त हुन्छ होला, यस्तो कुरा सुन्दा बुबाले के भन्नुहुन्छ ?
–कहिलेकाहीँ म आफैंले पत्रिकामा यस्तो कुरा आएछ भनेर बाबालाई भन्छु । बाबा हाँस्नुहुन्छु, आमा हाँस्नुहुन्छ अनि म पनि हाँस्छु । पचाउने बानी परिसकियो ।
० त्यस्ता कुराले तपाईंलाई असर गर्दैन अब ?
– बजारमा अफवाह फैलाउने कुरा मान्छेले बढी गर्छन् । त्यो अफवाह हो भन्ने भएपछि आफूलाई त्यस कुराले खासै फरक पार्दैन ।
० तपाईंले युवा संघबाट राजनीतिमा अगाडि बढ्ने बाटो देख्नुभएको छ, त्यहाँ कत्तिको सहज देखनुहुन्छ ?
– राजनीति गर्ने बाटोहरू धेरै छन् । त्यो पनि एउटा माध्यम हो । युवा संघलाई अझै क्रिएटिभ तरिकाले अगाडि बढाउन सकिन्छ । धेरै युवा बेरोजगार छन् । उनीहरूलाई उत्पादनमूलक काममा लागाउँदै अघि बढ्न सकिन्छ कि जस्तो लाग्छ ।
० तर, तपाईं संलग्न भएको युवा संघले त्यसरी रूपान्तरण गर्न, युवाहरूलाई प्रशिक्षित गर्न सकेको छ र, आफैं विवादमा रुमल्लिइरहेको छ ?
–युवा संघभित्रको समस्या चाँडोभन्दा चाँडो हल हुनुपर्छ । पार्टीका आदरणीय नेताहरूले विवादलाई चाँडै हल गरिदिए हुन्थ्यो भन्ने लाग्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply