धेरै छलफल हुँदैन, कुरा कहाँ राख्ने ?
– रचना खड्का वैकल्पिक केन्द्रीय सदस्य, नेकपा (एमाले)० नेकपा (एमाले) जस्तो देशको ठूलो राजनीतिक पार्टीको सबैभन्दा कान्छो केन्द्रीय सदस्य हुनुहुन्छ, नेताहरूले गर्ने व्यवहार कस्तो पाउनुभएको छ ?
– म अहिले एमालेको केन्द्रीय कमिटीमा सबैभन्दा पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्छु । तर, जनसंगठनहरूको केन्द्रीय तहमा लामो समय काम गरेको हुनाले मलाई त्यति धेरै असहज महसुस भएन । सबै केन्द्रीय सदस्यहरूलाई गर्ने व्यवहार त यस्तै होला, तर कमिटीभित्र एउटा परिवारभित्र जस्तो जति हार्दिकता पूर्व सम्बन्ध हुनुपर्ने, जति अन्तक्र्रिया हुनुपर्ने हो त्यो चाहिँ हुँदो रहेनछ ।
० कमरेडले भन्दा ‘बहिनी’ भन्ने हिसाबले व्यवहार हुने गरेको छ ?
– हाम्रो पार्टीभित्र सबैथरी मान्छे हुनुहुन्छ । कमरेडली हिसाबले व्यवहार गर्ने पनि हुनुहुन्छ । सँगै काम गर्दै, काम सिकाउँदै आएको हिसाबले माया गरेर ‘बहिनी’ भन्ने पनि हुनुहुन्छ । मलाई नजिकबाट नचिन्ने, मेरो कामसँग परिचित भइनसकेकाहरूले त्यहीअनुसार व्यवहार गर्ने कुरा अस्वाभाविक भएन ।
० हिजो तपाईंले नेता मानेकाहरू कतिपय अहिले केन्द्रीय कमिटीमा छैनन्, उनीहरूले आज तपाईंलाई नेता मान्न असजिलो मान्दा हुन् नि, होइन ?
– हाम्रो पार्टीमा पहिलेभन्दा अहिले केही कुरा फरक छ । पहिले अनेरास्ववियुमा काम गरेर बिदा भएको कुनै साथी जिल्ला कमिटी सदस्य भयो भन्ने सुन्दा अनौठो मानिन्थ्यो । ०६२/६३ को आन्दोलनपछि जति इमानदारीपूर्वक काम गर्ने युवा र पछिल्लो पंक्तिलाई रुचाउने प्रवृत्ति देखियो । हिजो मैले मान सम्मान गर्नेहरू आज केन्द्रीय कमिटीमा नहुनुको अर्थ उहाँहरू मेरो नेता होइन भन्ने होइन । पदले मात्र नेता हुने होइन । मैले उहाँहरूलाई नेताको हिसाबले व्यवहार गर्दा उहाँहरूले मलाई अन्यथा हिसाबले व्यवहार गर्नुहुन्न ।
० विद्यार्थी राजनीतिको नेतृत्वमा हार्नेहरू पार्टीमा अगाडि देखिएका छन्, यसको खास कारण के हो ?
– अनेरास्ववियुमा हामीले गरेको अभ्यासमा केही कमी कमजोरी थिए र छन् पनि । तिनलाई समयक्रममा सुधार्दै लैजानुपर्छ । हामीले प्रत्यक्ष निर्वाचनमार्फत् नेतृत्व छान्ने कुरा अभ्यास गरौं तर कसरी योग्यहरूका बीचबाट योग्यहरू छान्ने भन्ने खालको मापदण्ड बनाउन सकेनौं । यो समीक्षाको पाटो हो । बन्नेहरू अयोग्य हुनुभयो, बिदा हुने जति योग्य हुनुभयो, वा बन्ने योग्य हुनुभयो नबन्ने अयोग्य हुनुभयो भन्ने निरपेक्ष तरिकाले व्याख्या गर्न खोजेको होइन । प्रत्यक्ष निर्वाचनबाट नेतृत्व छान्ने भनेपछि हामी कसरी जित्ने भन्नेतिर मात्र प्रतिस्पर्धा गर्यौं । जित्नका लागि दौडिने दौड र संगठन निर्माणमा दौडिने दौड फरक हुन्छ ।
० भनेपछि संगठनका लागि काम गर्ने चाहिँ पराजित हुँदा रहेछन् ?
– त्यस्तै देखिएको छ । निर्वाचनकेन्द्रित हिसाबले मात्र काम गर्ने संगठनको बेसमा धेरै बलियो देखिएन । देशभरि अनेरास्ववियुबाट बिदा हुने हेर्ने हो भने जो पार्टीको नेता बनाएर आएको पंक्ति छ, त्यो संगठनमा काम गर्नेहरूकै पंक्ति छ ।
० अनेरास्ववियुमा जित्नेहरू राम्रा संगठक होइन रहेछन्, होइन ?
– अहिले भएका साथीहरू संगठक होइनन् भन्ने पनि होइन । अनेरास्वविु यसै पनि योग्यहरूकै संगठन हो । तर, अहिले हेर्दा, निर्वाचन जित्नका लागि मात्र प्रतिस्पर्धा भयो र संगठन निर्माणको दौडबाट कसरी जित्ने भन्नेहरू बिदा भएको हुनाले अहिले स्थापित हुन सजिलो भयो ।
० उमेरको हिसाबले पनि पार्टी नेतृत्वमा पुग्नु अलिक चाँडो भयो भन्ने लाग्दैन ?
– पार्टीमा पछिल्लो ‘ट्ेरन्ड’ हेर्ने हो भने त्यस्तो लाग्न पनि सक्छ । म २८ वर्षमा अनेरास्ववियुबाट बिदा भएँ । अनेरास्ववियुबाट ४२/४३ वर्षमा बिदा हुने साथीहरू पनि हुनुहुन्छ । तर, पार्टी निर्माणको इतिहास हेर्ने हो भने म धेरै छिटो पार्टीको त्यो तहमा पुगेको हुँदै होइन । मदन भण्डारी ४१ वर्षमा पार्टीको महासचिव भएर बित्दाखेरी आफ्नो सिद्धान्तले संसार नै हल्लाउनुभएको थियो । पार्टी नेता भनेको अलिक पाको हुनुपर्छ भन्ने हाम्रो बनिबनाऊ मानसिकताबाट हेर्दा छिटोजस्तो लाग्छ । तर, पार्टीको नेतृत्वमा सबै पुस्ताको प्रतिस्पर्धा गराउनुपर्छ भन्ने हो भने यो उमेर छिटो हुँदै होइन ।
० चुनौती त हो नि होइन ?
– चुनौतीचाहिँ पक्कै हो । यो उमेर समूहमा जसरी प्रतिनिधिहरूले विश्वास गरेर केन्द्रीय कमिटीमा ल्याउनुभयो, मैले पार्टीमा गरेको काम देखेर होइन । मैले जनसंगठनमा गरेको कामको आधारमा मत दिनुभयो । उहाँहरूको विश्वासलाई सार्थक बनाउनु हामीजस्ता नयाँ केन्द्रीय सदस्यहरूका लागि चुनौतीकै वषय हो ।
० केन्द्रीय कमिटी, बैठक सञ्चालनको विधि र प्रक्रिया कस्तो लाग्यो ?
– केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्ने कार्यविधिप्रति म सन्तुष्ट छैन । एमाले केन्द्रीय कमिटी भनेको सिंगो पार्टीको नीति निर्माण गर्ने सबैभन्दा माथिल्लो अंग हो । एमाले आफ्नो पार्टीपंक्तिभित्र मात्र जोडिएर पुग्दैन, देशको नेतृत्वदायी पार्टी भएको हिसाबले देशका हरेक सवाल यो पार्टीका सवालहुनुपर्छ, सरोकारको विषय हुनुपर्छ । पार्टी भनेको ‘ब्युरोक्रेसी’ होइन । पार्टी त जनताको जनजीविकासँग जोडिनुपर्छ । सम्पूर्ण सवालहरूलाई पार्टीले गम्भीरतापूर्वक लिन्छ, बैठकमा छलफल गर्छ, नीति तय गर्छ र पार्टी ‘मूभ’ गर्छ भन्ने ठानेकी थिएँ । तर, अहिले त्यो पाइनँ ।
० भर्खरै महाधिवेशन सकिएको हुनाले व्यवस्थित हुन बाँकी नै होला नि †
– सायद त्यो हुनसक्छ । तर, सधैंभरि यही तरिकाले बैठक अगाडि बढ्ने हो भने एमालेले जनतासँग जोडिएका मुद्दाको नेतृत्व गर्ने कुरा अप्ठ्यारो हुन्छ ।
० अहिलेसम्म केन्द्रीय सदस्यहरूले बैठकमा बोल्ने मौका पाएका छैनन्, होइन ?
– केन्द्रीय सदस्यहरूलाई चित्त नबुझेको कुरा, उनीलाई उठाउन मन लागेका कुरा उठाउने थलो केन्द्रीय कमिटी हो भन्ने कुराको अनुभूति आजसम्म केन्द्रीय सदस्यहरूलाई हुनसकेको छैन । जस्तो, ऊर्जा सम्झौताका विषयमा पक्ष र विपक्षमा अनेकथरी मतहरू आइरहेका छन् । एमालेको ‘पोजिसन’ के हो र किन हो भन्ने कहाँ थाहा पाउने ? १० लाखमा एमबीबीएसको प्रश्नपत्र बिक्री भएको कुरा आयो । त्यो पार्टीको सवाल हो कि होइन ? मलाई हो भन्ने लाग्यो, मैले मेरा कुरा कहाँ राख्ने ? मान्छेलाई उत्साहित गर्ने गरी, केन्द्रीय सदस्यहरूलाई ‘यो मेरो थलो हो’ भन्ने अनुभूति नेतृत्वले दिलाउन सकेको छैन ।
० हामी ‘ब्याक बेञ्चर’ सदस्य, अनि ‘फ्रन्ट बेञ्चर’ सदस्य भन्ने आफू–आफूमा अनुभूति त हुँदो हो नि ?
– हुन्छ । आज मसँग सबैभन्दा कम अनुभव छ । तर, सबैभन्दा बढी सिक्ने समय पनि मसँगै छ । त्यसरी सोच्दा आफूलाई म त ‘ब्याक बेञ्चर’ हुँ भन्ने खालको हीनताबोध हुँदैन । हामी भर्खर प्रवेश गरेकालाई बैठक कसरी बस्दो रहेछ, निर्णय प्रक्रियामा कसरी पुग्दो रहेछ भन्ने कुरा चाहिँ नयाँ लाग्ने नै भयो । तर, सबै निर्णयहरूमा नीति निर्माण गर्ने कुरामा सामूहिक सहभागिता चाहिँ हुँदोरहेनछ ।
० भर्खरै विवाह पनि गर्नुभयो, पार्टीको केन्द्रीय कमिटीमा पुगेर मात्र विवाह गर्ने प्रतिबद्धता थियो कि, के हो ?
– त्यस्तो प्रतिबद्धता होइन । म ६ कक्षाबाट अनेरास्ववियुमा संगठित भएँ । त्यो दिनदेखि आजसम्म एक हप्ता पार्टी संगठनको कामबाट फुर्सद लिने भन्ने कोणबाट सोचिएन । अनेरास्ववियुमा मजाले काम गर्ने हो भने असाध्यै पूर्णकालीन भएर काम गर्नुपर्छ । नेतृत्वमा पुगेपछि देशभरि कार्यक्षेत्र हुन्छ, आफ्नो पढाइ पनि सँगसँगै हुन्छ । विवाहबारे सोच्ने समय पनि हुँदैन । जतिबेला सोच्नुपर्ने थियो त्यो बेला म अनेरास्ववियुबाट बिदा भएँ । लगत्तै पार्टीको महाधिवेशन भयो, केन्द्रीय कमिटीमा आएँ । यो संयोगजस्तो मात्र हो ।
० विवाहपूर्वको जीवन र पछिको जीवनमा कस्तो फरक अनुभूति भयो ?
– विवाह गरिसकेपछि कामको सन्दर्भमा साझेदारी गर्ने हाम्रो मानसिकता छ । महिलाहरूलाई जैविक हिसाबले पनि अलमल हुने कतिपय सन्दर्भ पनि छन् । त्यो सँगसँगै घरको अलिक बढी जिम्मेवारी महिलाको हो भन्ने पाटो छ । राजनीति महिलाको पनि काम हो भन्ने कसै–कसैले बुझे पनि आमरूपमा बुझ्न बाँकी नै छ । त्यो भित्रबाट विवाहअघि र पछिमा अन्तर देख्छौं । कतिपय महिलाहरू विवाहपछि राजनीतिबाट हराएको हामीले देखेका पनि छौं । तर, मैले अहिले जे काम गरिरहेको छु त्यो मेरो पार्टी कामलाई नजिकबाट सघाउने एक जना साथी भेटेको छु । त्यसमा तलमाथि होला पनि लाग्दैन ।
० तपार्इं कसैको जीवनसाथी मात्र नभएर बुहारी पनि त हुनुहुन्छ नि, त्यसरी हेर्दा अप्ठ्यारो होला नि ?
– बुहारी भए पनि हामीले अनिवार्य निर्वाह गर्नुपर्ने भूमिकाभित्र हामी छौं । हाम्रो समाजले छोरी र बुहारीमा त्यत्रो ठूलो अन्तर राख्नुपर्छ भन्ने कुरालाई चिर्दै पनि गएको छ । त्यसैले धेरै कुरा हामी आफैंले व्यवस्थापन गर्नुपर्ने हुन्छ । म यो आन्दोलनमा सबै सिद्धान्त पढेर, बुझेर लागेको होइन । जहिलेबाट बुझ्ने भएँ त्यसपछि आफूले तय गरेको ‘गाइडलाइन्स’ के हो भने, यो अप्ठ्यारो बाटो हो । मैले शिक्षामा स्नातकोत्तर सकें । अहिले एलएलएम पढ्दैछु । मैले जागिर खाने हो भने कुनै गाह्रो छैन, राम्रो कमाउन पनि सक्छु । आवश्यकताअनुसार समय निर्धारण गर्न पनि सक्छु । तर, मैले जुन जीवन रोजेको छु, त्यसमा ती कुराका छुट छैन । यो अप्ठ्यारो बाटोमा परिवारको व्यवस्थापन पनि गर्नुपर्छ, आफ्नो व्यवस्थापन पनि गर्नुपर्छ, आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित कुराको पनि व्यवस्थापन गर्नुपर्छ । त्यो सबै कुरा व्यवस्थापन गर्दा आइपर्ने अप्ठ्यारा–सप्ठ्यारासँग परिचित भएर अगाडि बढ्नुपर्छ भनेर मैले आफूले निर्धारण गरेको जीवनको मार्गदर्शन भएको हुनाले त्यस्तो अप्ठ्यारो होला भन्ने लाग्दैन ।
० समाजमा श्रीमान् कम र आफू बढी चिनिने कुराले पनि अप्ठ्यारो पार्दो होला नि ?
– बिहे गर्ने उमेर समूहका साथीसँग कुरा गर्दा तपाईंले खोजेको केटा चाहिँ कस्तो हो भन्यो भने म भन्दा अलिक पढेको, अलिक धेरै कमाउने, अलिक धेरै अग्लो भन्ने जवाफ आउँछ । हाम्रो समाजको मान्यता नै त्यस्तै छ । तर, मलाई के लाग्छ भने श्रीमान् र श्रीमतीको सम्बन्ध भनेको सबैभन्दा अनौपचारिक सम्बन्ध हो । यसमा यी कुनै पनि कुरा बीचमा उपस्थित हुन्छन् भन्ने लाग्दैन । म एउटा पेसामा छु उहाँ एउटा पेसामा हुनुहुन्छ । जो–जहाँ भए पनि दुवैले राम्रो र इमानदार भएर काम गर्नुपर्छ ।
० बिहेपछि राजनीतिमा अलिक निष्क्रिय हुने, बच्चा जन्मेपछि झन् निष्क्रिय हुने कतिपयको देखिएको छ, तपाईंमा पनि त्यस्तै अवस्था देखिने त होला नि ?
– महिलाहरूले बच्चा जन्माउने काम उसको व्यक्तिगत काम हुँदै होइन । यो सामाजिक काम हो । राष्ट्रको जनशक्ति निर्माण गर्ने अभियानसँग जोडिएको काम हो । जापानका महिला काममा डिस्टर्ब हुन्छ भनेर बच्चा जन्माउन चाहँदैनन् । आज त्यहाँ अमेरिकाबाट ‘सर्गोटेट मदर’ भन्दै ल्याउँदै गरिएको छ । त्यहाँको सबैभन्दा ठूलो समस्या नै जनशक्ति निर्माण गर्नेछ । युरोपको अवस्था पनि त्यस्तै छ । यो सामाजिक काम भएको हुनाले उसले बच्चा जन्माउन र हुर्काउन खर्च गरेको समयलाई राजनीतिमा खेर गएको समयका रूपमा गणना गरिनुहुन्न । यसलाई अवरोधक ठान्नुहुन्न ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply