नेता बनिरहने प्रचण्डको चाहनाले सहमति हुन सकेको छैन
शंकर पोखरेल स्थायी समिति सदस्य, नेकपा (एमाले)० अहिलेको गतिरोध अन्त्यका लागि सत्ता र प्रतिपक्ष दुवैले फागुन १६ पर्खिएका थिए । तर, अहिले पनि अवस्था जहाँको त्यहीँ नै छ त ?
– हामीले पछिल्लो प्रतीक्षा १६ गते भनेर गरेका होइनौं । नागरिक समाजका अगुवाहरूको आग्रहमा प्रचण्ड स्वयम्ले हाम्रो पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई फोन गरेर यदि मिति घोषणा नगरेरै प्रक्रिया स्थगन गरिन्छ भने हामी वार्ताका लागि तयार छौं भनिसकेपछि प्रक्रिया स्थगन
गरिएको हो ।
० त्यसो हो भने त अहिलेसम्म वार्ता भइसक्नुपर्ने होइन र ?
– हो, जतिबेला प्रचण्डले नागरिक अगुवाहरूको उपस्थितिमा फोन गरेर सहमति जनाउँदै हुनुहुन्थ्यो, त्यो हिसाबले भन्ने हो भने अहिलेसम्म औपचारिक छलफलको प्रक्रिया अगाडि बढिसकेको हुनुपर्दथ्यो । तर, उहाँ त्यसबाट पछाडि हट्नुभयो । ‘१६ को तयारीमा छौं, त्यसपछि औपचारिक वार्तामा बसौंला’ भन्ने खालको कुरा गर्न थाल्नुभयो । १६ टुंगिसकेपछि उहाँ काठमाडौंबाहिर जानुभयो भन्ने सुनियो । आइतबार कांग्रेस–एमालेले फेरि वार्ताका लागि औपचारिक रूपमा आह्वान गरेका छन् । त्यसलाई उहाँहरूले सकारात्मक रूपले लिनुभयो भने वार्ता अगाडि बढ्छ । यदि वार्ता अगाडि बढ्न सकेन भने स्वाभाविक रूपमा संविधानसभाको बैठक आह्वान गर्नुपर्छ भन्ने पक्षमा हामी छौं ।
० प्रचण्डले त सबै प्रक्रिया संवाद समितिमै फर्काइयो भने वार्तामा आउछौं भनेका छन् नि ?
– त्यो त सम्भव नै छैन । यदि सहमति भयो भने प्रश्नावलीको कुनै अर्थ हुँदैन । प्रश्नावली भनेको पक्ष–विपक्ष होइन, तटस्थ हो । सबै मतहरूको प्रश्न बनेको छ । सहमति नभएका बेला त्यसको प्रयोग हुन्छ । सहमति भयो भने प्रश्नहरूको औचित्य सकिन्छ । सहमति पनि नहुने, प्रश्नहरूको औचित्यलाई पनि समाप्त पार्ने त कसरी हुन्छ ?
० केही न केही ‘फेस सेभिङ’को बाटो त तपार्इंहरूले पनि दिनुपर्यो नि ?
– ‘फेस सेभिङ’को बाटो दिएरै प्रक्रिया स्थगन गरिएको हो, त्यो पनि प्रचण्डको आग्रहमा । नयाँ चिज के खोज्ने र ?
० एमाओवादी मोर्चा वार्तामा आउला वा अबको स्थिति के होला ?
– संविधानसभाबाट संविधान निर्माण गर्ने कुरामा एमाओवादी स्वयम्को रुचि छैन । एमाओवादी पार्टी विभाजित छ । असहमति राख्दा एकताको सम्भावना छ । प्रक्रियामा सामेल हुँदा एकताको सम्भावना रहँदैन । त्यस अर्थमा, कम्तीमा पनि वैद्य समूहसँग एकता गर्ने सन्दर्भमा असहमति राख्ने उसको पार्टीगत रुचिको कुरा हो । अर्को कुरा, प्रचण्ड संक्रमणकालसम्मका लागि ‘स्टेकहोल्डर’ छन् । संक्रमणकाल टुंगिएपछि त्यसको कुनै अर्थ छैन । त्यस अर्थमा, प्रचण्ड शान्ति प्रक्रियाको एउटा पक्षका नाताले राजनीतिमा लामो समय रहिरहने मनसुवा राख्छन् । संक्रमणकाल टुंगिएपछि सबै चिज सामान्य हुन्छ । जनताले जे म्यान्डेट दिन्छन् त्यसका आधारमा राजनीति चल्छ, ‘शान्ति प्रक्रियाको पक्षका नाताले’ भन्न पाइँदैन । त्यसकारण, प्रचण्डको यो रुचिका कारण पनि उनीहरू संविधान बनाउन चाहँदैनन् ।
० अहिले त प्रचण्डको रुचिभन्दा पनि बाबुरामको हठले काम गरेको छ भनिन्छ । तपाईंलाई के लाग्छ ?
– त्यो प्रचण्डको मनसुवा के छ भन्ने बुझेर अध्यक्ष प्राप्तिका लागि गरिएको दलाली हो । त्यसको कुनै अर्थ छैन । मुख्य कुरा, प्रचण्ड के चाहन्छन्, नेपालको राजनीतिको सन्दर्भमा माओवादीको भूमिका त्यही नै हुन्छ ।
० त्यहाँभित्र पनि आन्दोलन बेठीक हो, सहमतिको विकल्प छैन भन्ने स्वर त सुनिन्छन् नि ?
– आवाज त छन् तर निर्णय गर्ने प्रभाव पार्न सक्ने तहका आवाज छैनन् । हिजोको युद्धकालीन संरचनाबाट आएको पार्टी भएकाले प्रजातान्त्रिक अभ्यासको खास कुनै गुञ्जायस हँुदैन । बेलाबखत असन्तुष्टिहरू प्रकट हुन सक्छन् तर मुख्य नेतृत्वको इच्छाबेगर तिनीहरू पार्टी निर्णयमा रूपान्तरित हुन सक्दैनन् । अरू पार्टीहरू लोकतान्त्रिक अभ्यासमा लामो समय गुज्रेका कारणले मूल नेतृत्वभन्दा बाहिरको विचारले पनि समयक्रममा पार्टी निर्णयको रूप लिन सक्छ तर एमाओवादीभित्र त्यो सम्भावना छैन । एमाओवादीभित्र भएका फरक विचारहरूले कुनै समय पार्टीको औपचारिक विचारको रूप प्राप्त गर्छन् कि भनेर आशा र अपेक्षा गर्ने ठाउँ
म देख्दिनँ ।
० मोर्चाका नेताहरूले ‘१६ गतेको सभाबाट सत्तापक्षलाई राम्ररी देखाइदियौं’ भनेका छन् । त्यो सभालाई तपाइले कसरी लिनुभएको छ ?
– नेपाली मनोविज्ञान र मानसिकताका हिसाबले भन्ने हो भने उहाँहरू उत्साहित नै हुनुहुन्छ । किनकि, उहाँहरूले त्यति पनि सोच्नुभएको रहेनछ, जति मान्छे ल्याउनुभयो त्यो ठूलो भयो भन्नुभएको छ । तर, त्यो संख्या अहिलेको राजनीतिक शक्ति सन्तुलनका हिसाबले केही पनि होइन । टँुडिखेलको क्षमता कति भन्ने सन्दर्भमा काठमाडौंका जुलुसहरूको व्यवस्थापनमा लामो समय लागिसकेको नाताले अनेक कोणबाट प्राविधिक अध्ययन पनि गराएका छौं । यद्यपि, बाहिरभन्दा हामीले पनि यत्रो सभा हुँदा हज्जारौं, लाखौं भन्छौं । यथार्थ भनेको, त्यहाँको क्षमता ३०–३५ हजार हो । ३०–३५ हजारले ५०–६० लाखको जनादेश प्राप्त गरेका मुख्य शक्तिलाई चुनौती दियौं भनेर रमाउने र त्यसबाट राजनीतिको कोर्स परिवर्तन हुन्छ भनेर अपेक्षा गर्ने कुरा बेकार हो ।
० सभामा प्रचण्डले बढी समय तपाईंकै पार्टीलाई गाली गरे– ‘एमाले अब कांग्रेसमा घुसे हुन्छ’ पनि भने । त्यसलाई चाहिँ कसरी लिनुभएको छ ?
– त्यसका पछाडि दुइटा कारण छन् । एउटा, राष्ट्रिय राजनीतिमा एमालेले जुन अडानका साथ एकतावद्ध रूपमा आफूलाई प्रस्तुत गर्यो, पहलकदमी लियो, त्यसले स्वाभाविक रूपमा प्रचण्डको खेलाउने–खेल्ने शैलीलाई असफल बनाएको छ । खासगरी उग्रवामपन्थभित्र एउटा नीति हरदम प्रयोग हुन्छ– ‘एकलाई दुईमा विभाजन गर ।’ त्यो नीतिको उनले बारम्बार प्रयोग गर्दै आइरहेका थिए । पहिलो पटक एमालेले आफूलाई एकताबद्ध रूपमा प्रस्तुत गरेर त्यो नीति असफल र असान्दर्भिक बनाइदियो । पार्टीगत रूपमा एकताबद्ध मात्र भएन, प्रमुख गठबन्धनसँगको एकतालाई पनि उसले सन्देहरहित ढंगले कायम राख्यो । खासगरी, माघ ८ पछि संविधान बनेन भने सुशील कोइरालाको बहिर्गमनका पक्षमा एमालेले पहलकदमी लिन्छ र त्यसपछि कांग्रेस–एमालेको सम्बन्धमा खटपट हुन्छ भन्ने खालको आकलनका साथ जुन चलखेल भएको थियो, त्यो पनि निस्तेज बनाइदियो । त्यस अर्थमा प्रचण्ड एमालेको नेतृत्वप्रति उत्तेजित भएका हुन् । दोस्रो कारण, नेपालको राजनीतिभित्र अझै एउटै वर्ग आधारभित्र, एउटै राजनीतिक–सैद्धान्तिक मान्यताभित्र दुइटा सामानन्तर राजनीतिक पार्टीहरू अगाडि बढ्न सक्ने स्थिति बनिसकेको छैन, खासगरी कम्युनिस्ट आन्दोलनभित्र । एउटा अगाडि बढ्ने, अर्को पछाडि पर्ने अवस्था छ । एमाले अगाडि बढ्न थाल्यो भने एमाओवादीको भविष्य रहेन भन्ने बुझाइ आम रूपमा हुन्छ । त्यो चिन्ता पनि प्रचण्डमा प्रकट भएको छ । एमाओवादी किन कमजोर हुँदैछ भने एमाले बलियो हुँदैछ । अझ एकताबद्ध रूपमा जनताको विश्वास जित्ने गरी एमाले बलियो हुनु भनेको त एमाओवादीका लागि त्योभन्दा छटपटी केमा हुन्छ र ?
० प्रचण्डको अभिव्यक्तिपछि तपाईंले ‘एमाओवादी चाहिँ एमालेमा विलय हुन्छ’ भन्ने प्रतिक्रिया सार्वजनिक गर्नुभयो, त्यो पनि उत्तेजनामा नै थियो कि ?
– उत्तेजनामा होइन । राजनीतिक भविष्य जब देख्न छाडिन्छ, नेता–कार्यकर्ताहरूले जब राजनीतिक भविष्य देख्न छाड्छन्, त्यो पार्टीको अस्तित्व संकटमा पर्छ । अघि नै चर्चा गरियो, एमाओवादीभित्रकै फरक विचारहरू नै एमाओवादीको निर्णय बन्न सक्ने स्थिति छैन । तर, त्यसले एमाओवादीलाई क्रमश: कमजोर बनाउने काम त गर्छ । भित्रैदेखि उत्साहित नभएको विषय बोकेर सडकमा कुद्दा मान्छेमा ऊर्जा हुँदैन । त्यो ऊर्जा नभएका मानिस लामो समयसम्म त्यो पार्टीको आन्दोलन र भविष्यका लागि समर्पित हुन्छन् भन्ने हुँदैन । खासमा अहिले एमाओवादीसँग आफ्नो एजेन्डा नै छैन ।
० जातीय पहिचानसहितको संघीयता उसको एजेन्डा होइन र ?
– मधेसका हकमा मधेसी दलको एजेन्डा बोकेको छ । पहाडका हकमा जनजातिवादको एजेन्डा बोकेको छ । जसको प्रवत्ता अशोक राईहरू छन्, माओवादी होइन । माओवादीसँग संविधान निर्माणको आफ्नो एजेन्डा के छ ? केही छैन । एजेन्डाविहीन ढंगले राजनीतिमा कुद्ने कुराको भविष्य कति होला ?
० अशोक राईहरू त हिजो तपाईंले नै नेता मानेको, बनाएका व्यक्ति होइनन् र ?
– स्वाभाविक रूपमा आन्दोलनभित्र भड्काव–विचलनहरू आउँछन् । हाम्रै पार्टीभित्र पनि एकथरी साथीहरूले पार्टीको नीति उपयुक्त भएन भनेर खासगरी जातीय राज्यका पक्षमा पार्टी जानुपर्छ भनेर विद्रोह गर्नुभयो, त्यसलाई जनताले अस्वीकार गरे ।
० कसरी अस्वीकार गरे ? अशोक राईहरू नै संसद्मा पुगेका छन् त ?
– तपाईंलाई म एउटा रोचक कुरा सुनाउँछु । जनजातिहरूको सबैभन्दा बलियो आधार भएका ठाउँहरूमा उहाँहरूले गएर जबर्जस्ती चुनौती दिने कुरा गर्नुभयो । तर, अशोक राईको जन्मस्थल खोटाङमा पहिले हामीले दुवै सिट हारेका थियौं, अहिले दुवै सिट जित्यौं । संघीय समाजवादीका प्रवक्ता बन्नुभएका अजम्बर राई, हेमराज राईहरूको जिल्ला भोजपुरमा विगतमा दुवै सिट हारेका थियौं, अहिले दुवै जित्यौं । रकम चेम्जोङ मन्त्री भइसकेका मान्छे उठेको ठाउँमा हामीले पहिले हारेका थियौं, अहिले जित्यौं । उहाँहरूले जे चिजलाई जनताको चिज, जनजातिको चिज ठान्नुभयो, त्यसलाई जनता र जनजातिले अस्वीकार गरिसकेका छन् । मधेसका जनताले अस्वीकार गरेका पार्टी मधेसवादी हुने, जनजातिले अस्वीकार गरेरका पार्टी जनजातिवादी हुने, यस्तो पनि हुन्छ र ?
० एमाओवादी तपाईंले भनेजस्तै संविधानसभाबाट संविधान बनाउन चाहँदैन भने अबको राजनीतिक कोर्स कसरी अगाडि जाला ?
– दुनियाँले बुझ्ने गरी प्रमाणित गर्नुपर्छ– कि त ऊ संविधान निर्माण चाहँदैन भन्ने कुरा जनतालाई बताएर, जनताको दबाबद्वारा उसको नीति परिवर्तन गराउन बाध्य बनाउनुपर्छ कि जनताले बुझ्ने गरी यिनीहरू इमानदार रहेनन्, तिमीहरू अगाडि बढ भन्ने कुराको जबर्जस्त म्यान्डेट प्राप्त गर्नुपर्छ । हाम्रो प्रयास चाहिँ उनीहरूलाई संविधान निर्माणको कोर्समा फर्काउने हुनुपर्छ । त्यो नै मुलुकको
हितमा हुन्छ ।
० सक्नुहुन्छ त ?
– सक्ने–नसक्ने, सफलता–असफलता भनेको प्रयाससँग जोडिएको कुरा हो । हरेक प्रयास सफल हुन्छ भन्ने कुराको ग्यारेन्टी हुँदैन । तर, प्रयास चाहिँ सफल हुनका लागि गरिन्छ ।
० अघि पटक–पटक पार्टीको आन्तरिक एकताको कुरा गर्नुभयो तर एकता नभएरै, नेताहरूबीचको बेमेलकै कारण कार्यविभाजन हुन सकेको छैन नि ?
– भन्न त अनुमानका आधारमा जे भन्दा पनि हुन्छ । लामो समय लागेकै मेलको आवश्यकता छ भनेर हो । बेमेलका लागि समय लाग्दैन । किनकि, पार्टी अध्यक्षसँग संस्थागत बहुमत छ, प्रस्ताव राख्ने, निर्णय गर्ने हो भने फटाफट हुन्छ । छलफल गर्दै, सहमति निर्माण गर्दै जाँदा मात्र समय बढी लाग्ने हो । अहिले पार्टीभित्रको आन्तरिक सहमति निर्माणका लागि नै समय लागेको हो । यसलाई बेमेलको आधारका रूपमा होइन, मेलतर्फको यात्राका रूपमा बुझ्नुपर्छ । एमालेले सहमतिको कोर्स लिएको छ । सहमतिको कोर्स पेचिलो हुन्छ, लामो हुन्छ । आकांक्षाहरूको व्यवस्थापन गर्ने कुरा जटिल हुन्छ ।
० अब धेरै दिन लाग्दैन त ?
– छलफलको प्रक्रियाले समय लियो भने त लाग्छ । असहमतिबाट अगाडि नबढ्ने भनिसकेपछि सहमति निर्माण गर्दा लाग्ने समयको प्रतीक्षा त गर्नैपर्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply