पुनर्निर्माणका लागि अलग्गै संरचना बनाउनुपर्छ
– डा. चन्द्रमणि अधिकारी सदस्य, राष्ट्रिय योजना आयोग० भूकम्पपछिको पुननिर्माणले राष्ट्रको अर्थतन्त्र डामाडोल हुन्छ भन्ने बजार हल्ला छ नि, के होला ?
– यो ठूलो विपत्ति हो । यसले राष्ट्रिय पूँजी र अर्थतन्त्रमा स्वभाविक रूपमा असर पार्छ नै । उत्पादन गर्न र पूँजी सृजना गर्न लगाउनुपर्ने साधन स्रोत त्यता राहत, पुनस्र्थापना र पुनर्निर्माणमा लगाउनुपर्दा स्वभाविक ढंगले भोलि आर्थिक बृद्धिलाई केही असर पार्छ । त्यसले आर्थिक बृद्धिका आधार तयार पार्नलाई पनि केही समस्या हुन्छ । हामीले जुन ढंगको उर्जाको विकास र पूर्वाधारमा लगानी गर्ने भनेका थियौं त्यसमा लगाउने लगानी अन्त लगाउनुपर्ने हुन्छ । त्यसो हँुदा स्वभाविक ढंगले उत्पादनलाई केही असर पर्छ । उत्पादनमा असर पर्नु भनेको आर्थिक बृद्धिदर कम हुनु नै हो । हिजो हामीले लक्ष्य गरेको आर्थिक बृद्धिदर कुनै हालतमा हुँदैन । तर यति नै हुन्छ भनेर अहिले भनिहाल्ने स्थिति छैन । किनभने हाम्रो अर्थतन्त्रको संरचना र आकार नै सानो छ । हाम्रो कृषिमा आधारित अर्थतन्त्र र सेवामा आधारित अर्थतन्त्र भएको र हाम्रा अर्थतन्त्रका कतिपय आयामहरू एकाउन्टेड पनि नभएको अवस्था छ । जापान अमेरिकामा ३ दिन बन्द भएको बेला कस्तो असर पर्छ । हामीकहाँ ०६२–६३ मा १९ दिन आन्दोलन हँुदा पनि मान्छे खानै नपाएर चाहिँ मरेन । किनभने हाम्रो अनएकाउन्टेड खालको इनफर्मल इकोनोमीले पनि काम गरिराखेको हुन्छ । त्यसैले भोलि शून्यमै जाला, २ मै जाला भन्ने त छैन तर अहिलेकै अवस्थामा हामीले आर्थिक बृद्धिदर हासिल गर्न सक्दैनौं । अर्थतन्त्रका अन्य सूचकहरूमा स्वभाविक ढंगले हामीले पुनर्निर्माण गर्नुपर्दाखेरी उत्पादन कम छन् । बाहिरबाट सामान ल्याउनुपर्छ । निकासी बढाउन सक्दैनौं, त्यसले गर्दा व्यापार घाटा बढ्छ नै । समग्रमा अर्थतन्त्रका सूचकहरू अहिलेको धरातलभन्दा केही न केही तल ओर्लिन सक्छन् ।
० यसले शेयर बजारमा कत्तिको प्रभाव पार्छ ?
– केही न केही त पारिहाल्छ । किनभने अहिले कतिपय उद्योगहरू बन्द भएका छन् । स्टक एक्सचेन्ज नै चल्न सकेको छैन । हुन त हाम्रो शेयर बजार अन्तर्राष्ट्रिय बजारमा जोडिएको पनि छैन । मूलत: बैंक र वित्तीय संस्थाकै ७५ देखि ७७ प्रतिशतसम्म अंश शेयर बजारमा छ । अलिकति यो हिस्सा हाइड्रोपावरले लिन थालेको थियो । तर अहिलेको परिस्थितिमा लगानी गर्ने कुरामा मान्छे भोलि के होला भनेर स्वभाविक रूपमा हच्किन्छ । अहिले नै कतिपय जलविद्युत परीयोजनाहरूमा असर परिसक्या छ । त्यसैले त्यसको केही न केही असर देखिन्छ । मूलत: बैंक तथा वित्तीय संस्गामा डोमीनेटेड हाम्रो शेयर बजार पूँजीबजार भएको हुनाले धेरै तल नजाला तर असर पक्कै देखिन्छ ।
० विपत्तिपछि घरबारविहीन भएकालाई पुनर्वासको योजना कस्तो छ ?
– तात्कालिक, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन पुननिर्माण र पुनर्वासको योजना तयार गर्ने जिम्मा नेपाल सरकारले योजना आयोगलाई दिइसकेको छ । यो संस्थाको स्वभाव, पृष्ठभूमि, उद्देश्य र चरित्र अनुसार पनि यो काम हामीले नै गर्नुपर्ने हो । बसोवासको व्यवस्थालाई पनि तीन तरिकाले हेर्नुपर्छ । त्रिपालसम्म दिने भनेको केही दिनलाई हो । भोलि सधैंका लागि हुने होइन । एउटा तत्कालै पानी परेको बेला आजको दिनमा ओत दिने कुरा, अर्को अलिकति दीर्घकालीन किसिमका घर आवासहरू जुन १०–२० बर्षलाई हुने खालका नबनाउन्जेलसम्मको लागि ६ महिना वर्ष दिनको लागि अस्थायी खालको दिने व्यवस्था र अर्को चाहिँ बस्ती विकास समेत गरेर आधुनिक शहर व्यवस्थापन गर्ने किसिमले हिजोका छरिएका बस्तीहरू हुँदा जुन जोखिम बढ्यो पहाडी क्षेत्रमा र हामीले जुन ढंगले घरहरूनिर्माण गरेका छौं त्यसले क्षति व्यहोनुपर्यो । त्यसलाई सच्याउने गरी भूकम्प, हावाहुरी पानी केही पनि नपस्ने र सकेसम्म हिटिङ कुलीङ समेत हुनेगरी घरहरू बनाउन एउटा खालको योजना ल्याउनुपर्ने थियो । त्यसो गर्दा कस्ता ठाउँमा वस्ती विकास गर्ने, कस्ता खालका घरहरू कुन ठाउका लागि उपयुक्त हुन्छ । मान्छेको बनाउने हैसीयत के छ । राज्यले कति दिने । यो कुरा बिचार गर्नुपर्छ ।
मान्छेलाई आश्रय दिने कुरालाई तीन तहमा हेर्नेगरी आयोगले काम गर्दैछ तर प्राविधिक रूपमा घर कस्तो बनाउने भनेर आयोगले भन्ने काम होइन । तर त्यस्ता विभिन्न खालका नमुनाहरू संकलन गराइदिएर शहरी विकास मन्त्रालयलाई त्यसको सहजीकरण गरिदिन सक्छ ।
पर्सि शुक्रबारसम्म तत्कालीक कार्ययोजना नेपाल सरकारलाई दिनु भनेर सरकारले भनेको छ । हामी त्यसकै तयारीमा छौं । सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गरेर हामीले बैठक पनि गरेका छौं । यही आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने योजना यसमा पर्छन् । सबै मन्त्रालयसँग तत्कालीक योजना मागेर त्यसलाई एकीकृत गरेर सरकारलाई दिने काम आयोगले गर्दैछ ।
० भूकम्पले क्षति पुर्याएपछिको परिवर्तित सन्दर्भमा बजेट निर्माणका लागि आयोगको के योजना छ ?
– हिजो हामी आगामी बजेट बनाउने चरणमा पुगसिकेका थियौं । बजेट छलफल पनि सुरु भइसकेको थियो । यहाँबाट १९ बुदे मार्गनिर्देशन पनि गइसकेको थियो । एकैचौटी विनासकारी भूकम्प आएर आपत विपद सिर्जना भयो । यसले गर्दा हाम्रा प्राथमिकताहरू परिवर्तन भएका छन् । हाम्रो बजेट जुन ठाउँमा बनेर आएको थियो त्यसलाई हामीले परिवर्तन गर्नुपर्ने भएको छ । हाम्रो साधन र स्रोतलाई पुनव्र्यवस्थित गर्नुपर्ने भएको छ । अब हिजो हाम्रा प्राथमिकतामा परेका कुराहरू त छँदैछन्, त्यसबाहेक प्राथमिकतामा पुनस्र्थापना र पुननिर्माण पर्न आएका छन् । हामीले बजेट निर्माण गर्ने सन्दर्भमा अहिले फेरी परिवर्तित सन्दर्भमा विशेष खालको निर्देशन पठाएका छौं । हिजो जुन ढंगले बजेटकोृ प्रश्ताव छलफलमा आइरहेको थियो, त्यसले अब काम नलाग्ने भयो ।
० के–के थप्नपर्ने देखिएको छ ?
– अब हरेक निकायले विशेष प्राथमिकतामा पुनस्र्थापना र पुनर्निर्माणलाई दिनुपर्छ । त्यसपछि हिजो भएका क्रमागत आयोजनाहरू जुन छन् सम्पन्न नगरी नहुने, सम्पन्न गर्ने मुखमा पुगेकाहरू राख्नुस्, चालुगत खर्च तलव, भत्ता र औषधी उपचार, सामाजिक सुरक्षा भत्ता र पेन्सन लगायतका कुरा घटाएर घट्दैन । त्यसकारण यी बाहेक अरु चालु खर्चमा पनि मितव्ययीता गर्नुपर्नेछ । अहिले चालु वर्षमा भएको त्यस्ता चालु खर्चमा १५ प्रतिशत कटाएर ल्याउनुस् भनेका छौं । त्यो १५ प्रतिशत रकम हामीले पूर्वाधार निर्माणमा लगाउन सकौं । त्यसो गर्दा अत्यन्त आवश्यक भएका सवारी साधन किन्ने, मर्मत भएर चल्ने मर्मत गराउने, धेरै समयदेखि थन्किएर बसेका सवारी साधन वा सम्पत्ति भए तुरुन्त लिलाम गराउने र साधन स्रोत जुटाउने काम गर्नुपर्छ । यसपालिको बजेटमा स्वीकृत भएर काम भइराखेका आयोजना जुन अब काम हुन नसक्ने अवस्था आयो भने स्थीती अहिल्यै आंकलन गरेर त्यो हुन सक्दैन भने त्यो शीर्षक र रकम अहिल्यै खिच्ने काम गर्नुपर्छ । अबको २ महिनाभित्र काम गर्न सकिदैन भने अब यो कारणले काम गर्न सकिदैन भनेर सात दिनभित्र जानकारी गराउन निर्देशन पनि गएको छ । आउँदो वर्षाको बजेट बनाउँदा साधन स्रोत सुनिश्चित कसरी गराउन सकिन्छ भन्ने हिसाबले यसो गरिएको हो । अबको कुल बजेटको कम्तीमा आधा पुनस्र्थापना र पुननिर्माणमा लगाउनुपर्छ ।
० कति क्षति भयो भन्ने एकीन डाटा आयो ?
– छैन । हामी यसको मुल्यांकन गर्दैछौं । भौतिक क्षतिको संख्या, इकाइ, मापन हुँदैछ भने त्यसको लागत पनि निकाल्दैछौं । त्यसरी हरेक क्षेत्रको क्षेत्रगत क्षति निकालेपछि त्यो पुनर्निर्माण कार्य गर्न कति बर्षमा सकिन्छ र कति लाग्न सक्छ भन्ने आँकडा निकाल्न लागिरहेका छौं । त्यसो गरेपछि मध्यावधिमा कति गर्न सकिन्छ र दीर्घकालमा कति गर्न सकिन्छ र अर्थतन्त्रलाई पुरानो ट्रयाकमा कसरी ल्याउने भन्नेमा लागेका छौं ।
० यसै त पछि परेकोमा हाम्रो विकास कहिले होला त ?
– हुन त हामी पुरानो ट्रयाक भन्दा नी अगाडि बढ्न खोजेका थियौं । तर हामीलाई विपद आइलाग्यो । अब या त सूचकहरू ओरालो लाग्छन् । अथवा स्थिर भएर बस्छन् । तसर्थ ओरालो झरेकालाई साविकमा ल्याउन र स्थिर भएकोलाई माथि उकाल्न पर्यो र निश्चित समयपछि त ओरालो लागेकोलाई पनि माथि उकाल्न त फेरि ती सबै कुराको मूल्यांकन गरेर दीर्घकालीन योजना पनि बनाउनुपर्ने हुन्छ ।
हामीले यो आवधिक योजनामा राखेका ती सबै सूचकहरू अब सबै परिमार्जन गर्नुपर्ने हुन्छ । अब पााच वर्षमा यो यो गर्छौंं भनेका छौं, त्यो लक्ष्य हासिल नहुन सक्छ । तर त्यसो गर्दा पुनर्निर्माणमा जानुपर्छ अब पुनर्निर्माण गर्दा नवनिर्माण पनि सँंगै गर्नुपर्छ । त्यसका लागि आवश्यक कानुन बाधक छन् भने अब पनि संशोधन गर्नुपर्ला । हामीकहाँ अहिलेसम्म कानुन कडा तर कार्यान्वयन लुज थियो । अब हामीले नीति लचिलो तर कार्यान्वयन कठोर गर्नुपर्छ । त्यसैले अबको हाम्रो मिसन लचिलो सुशासन, कठोर शासन हुनुपर्छ ।
० वस्ती विकासको सन्दर्भमा हामीकहाँ अहिलेसम्म कुनै योजना नै रहेनछ नि ?
– मान्छेले कि देखेर, कि पढेर र कि भोगेर सिक्छ । हामीले दुबै तरिकाले सिकेनौंं तर यो पटक भोगेर सिक्यौं । वस्ती विकासको सन्दर्भमा अब योजना बनाउनुपर्छ भन्ने कुरामा अब सबैजना एक हुनुभएको छ । तर मोडेल बजेट २०६३ मा मैले यो कुरा उठाएको थिएँ । हाम्रा पहाडका वस्ती व्यवस्थित भएनन्, लागत धेरै लाग्ने भयो तसर्थ मानवीय र भूकम्पीय कुनै हिसाबले सुरक्षित छैनन् भनेको थिंएँ । जग्गा साटासाट वा ल्याण्ड पुलीङ जसरी हुन्छ यो काम गरौंं भन्ने मेरो आग्रह थियो । नेपाल सरकारलाई मैले भनेपछि भौतिक योजना मन्त्रालयले नीतिमा यो कुरा राख्यो तर कार्यान्वयन भएन ।
० तत्काल भूकम्पको असरले अन्य बाढीपहिरोको विपत्ति पनि आउन सक्छ भन्दैछन् नि ?
– हो, अहिले भूकम्प आयो जमिन सुकेको बेला छ । सुख्खा पहिरो पनि धेरै आए । त्यसैले अहिले जमिन धााजा फाटेको छ । त्यो स्थानमा धााजाभित्र पानी पर्न थालेपछि कस्तो विध्वंस निम्तेला । त्यसकारण त्यो कुरा हेर्न भनेर हिजो सचिवहरूलाई कुन कुन ठाउँमा छ हेरेर खतरा देखिएमा तत्काल बस्ती स्थानान्तरण गर्नुपर्छ । बर्षामा पहाडै बगाइदिन सक्छ । त्यसैले यी कुराहरू हेरेर काम गर्न निर्देशन दिइसकिएको छ ।
० आकाशको वासमुनी बसेकाले कहिलेसम्म अस्थायी नै भएपनि भरपर्दौ आवास पाउन सक्छन् ?
– इन्जिनियर्स एसोसिएसनले पनि सरकारसँग मिलेर काम गरिरहेको छ । योजना आयोगको कार्यक्रम अन्तर्गत इन्जीनीयरहरूलमाई तालीम थियो, सकियो । तत्कालै १४ वटा क्षेत्रमा जाँदै हुनुहुन्छ । उहाँहरूले कुन स्थानमा कस्तो घर टहरा बनाउने, कच्चा पदार्थ केके हाल्ने, सरकारले के के दिने स्थानीय साधन कत्तिको उपलव्ध हुन्छ अध्ययन गरेर दिएपछि तत्काल काम सुरु हुन्छ । बढीमा १ बर्षसम्म बस्ने खालका टहरा अहिलेको स्थितिमा काम गर्दा असारको आधाआधीमा सकिन्छ ।
० यस्तो पुनर्निर्माणको काम गर्न कुन संयन्त्र उपयुक्त हुन्छ ?
– यो विषम परिस्थिति हो । यस्तो बेला नीति र संगठन केही हेरफेर नगरे काम हुन्न । हाम्रा कर्मचारीतन्त्रका झन्झट छोट्याउनुपर्छ । त्यसैले सधैलाई नभए पनि कम्तीमा ५ वर्षका लागि प्रधानमन्त्रीकै संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनाउँदा हुन्छ । पाकिस्तानमा २००५ को भूकम्प आएपछि प्रधानमन्त्रीकै अध्यक्षतामा कमिटी बनाएर काम गरे । क्रोएसिया र अमेरिकामा र कोलम्बियामा पनि त्यस्तै गरेको छ । त्यसले नियमित सञ्चालनमा लाने नभई अन्तरिम समस्या समाधान गर्न अन्तका शक्ति पनि सोही समितिमा खिच्नुपर्छ ।
० राजनीतिक हानथापले यस्ता काममा एकरूपता नआउने हो कि ?
– साँचो रूपमा राजनीति गरेमा यसमा समस्या हुन्न । तर यहाँका दलका नेताहरूले राजनीति गरेर समस्या आएको हो । राजनीति होइन गैरराजनीति गरेर समस्या आएको हो । साँचो राजनीतिले त सकारात्मक बाटोमा लाने हो । साँचो राजनीति गरेको भए त सबबैको विपद एकै हो मिलेर सामना गरौंं, हानथाप नगरौंं । राजनीति भन्दा बाहिरको गतिविधि भएमा समस्या आउँछ । यस्तो हुनुहुँदैन । सबै मिलेर पुनर्निर्माणमा लागौंं भन्ने भावना जगाउनुपर्छ एकताको राजनीतिले ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply