प्रणालीकै विरुद्धमा भएको मान्छेको कसरी सेटिङ हुन्छ ?
जनार्दन शर्मा स्थायी कमिटी सदस्य, नेकपाप्रतिनिधीसभा पुर्नस्थापनाको माग राखेर आन्दोलनमा हुनुहुन्छ, त्यही एक थान प्रधानमन्त्री पदका लागि मात्र होइन र, नत्र त खोइ त नयाँ खालको तपाँइहरुको प्रतिवद्धता ?
प्रतिनिधीसभा पुर्नस्थापना भएपछि प्रधानमन्त्री त चाहिन्छ, बनाउँला । त्यो बन्नै पर्छ किनकी सिस्टम भित्रको एउटा कुरा हो । नबनाएर पनि हुँदैन तर केपी ओली जस्तै प्रधानमन्त्री भने हामीले बनाँउदैनौं । एउटा सिमित पार्टी अथवा दुइवटा पार्टीको सरकार बनाएर मात्र अब पुगेन । त्यो सरकारलाई ठिक बाटोमा लैजानका लागि त्यसको पछाडि एउटा वृहत संयुक्त मोर्चाको जरुरी भयो । त्यो मोर्चामा यो परिवर्तनको पक्षमा लडेका नागरिक समाज, सञ्चारकर्मी, वुद्धिजिवी, विज्ञ, विशेषज्ञहरु, लगायत महिला, दलित, जनजाती, आदिवासी, मधेसी, कलाकर्मी लगायतका तमामको एउटा वृहत सम्मेलन गरेर संयुक्त मोर्चा निर्माण गरेर त्यसले १० वर्षसम्म देश यसरी लैजानुपर्छ भन्ने भाव र त्यो खालको नीति निर्माण गरेर जाँदा नै नयाँ हुन्छ । प्रधानमन्त्रीले मनपरी गर्ने वा एउटा पार्टीले मनपरी गर्ने भयो भने यो भ्रष्टाचार रोक्न पनि हामी सक्दैनौं । फेरी अर्को प्रधानमन्त्री आउने र अर्कोले पनि त्यसैगर्ने उही अवस्था अब हुन दिनुहुन्न । त्यसलाई नियन्त्रण गर्न आम जनताको प्रतिनिधीत्व भएको त्यो वृहत संयुक्त मोर्चा आजको आवश्यकता हो । अब हामी त्यही दिशातिर जानुपर्ने हुन्छ । सहअस्थित्वको आधारमा चलेको नेपाली समाजमा पार्टी मात्र छैन, पार्टी भन्दा बहिर ठुलो जनमत छ । धेरै व्यक्तित्वहरु छन् । परिवर्तनको पक्षमा भएको शक्तिलाई केन्द्रीत गरेर राष्ट्रलाई अघि बढाउने कुरा नै अब नयाँ कुरा हो । यसले नै यसलाई ठिक दिशातिर लैजान्छ । र, अब पुरानो कुरा दोहोरिँदैन । जनतालाई विश्वास हुन्छ र नेतृत्वले पनि मनपरी गर्न पाँउदैन ।
पुस ५ गतेको कदमले संविधानमाथी प्रहार भयो भन्नुभएकोे छ तर सडकमा त नेपाली काँग्रेस, जनता समाजवादी लगायतका दल बाहिर रहेर तपाँइहरु मात्रै देखिनुभएको छ नी त ? संयुक्त आन्दोलन किन हुन सकेको छैन ?
सडकमा हामी मात्र छैनौं । हो हामी अग्रपंतिमा छौं । नेपाली काँग्रेस पनि सडकमा छ । समाजवादी पार्टी पनि सडकमा छ । त्यो भन्दा अभझ महत्वपुर्ण कुरा नागरिक समाज पनि सडकमा छ । यसबाहेक विभिन्न संघ–संगठनहरु जोडिने क्रम छ । प्रारम्भिक चरणमै संयुक्त आन्दोलन बनीहाल्दैन । आन्दोलनको एउटा स्टेप हुन्छ । परिस्थिति निर्माण हुनुपर्छ । त्यो परिस्थिति बन्दै जाँदा संयुुक्त आन्दोलन बन्ने हो । अब संयत्त आन्दोलन बन्ने चरणमा पुग्दैछ । कुनै नेता विशेषलाई प्रधानमन्त्रीको लोभ होला, नेता बन्ने लोभ होला । कतै साँठगाँठ होला । ति व्यक्तिका कुरा हुन् । तर अहिले राजनीतिक पार्टी हेरियो भने व्यक्तिको साँठगाँठ र लोभको पछि राजनीतिक पार्टी छैन । पार्टीहरु प्रतिगमन विरुद्ध वा यो असम्वैधनिक कदमकै विरुद्ध भएको मैले पाँउछु । त्यसलाई अब हामी क्रमश जोड्दैछौं ।
त्यसरी बहश सुरु भएको छ ?
वहश–छलफल भइरहेको छ । कुराकानीहरु पनि भैरहेको छ । आन्दोलन संगसैगै जाने क्रममा यस्तो विन्दु भेटिन्छ, त्यो विन्दुले संयुक्त आन्दोलनको रुप लिन्छ । त्यतैतिर गइरहेको हुनाले हामी एक्लै छौं भन्न मिल्दैन, किनभने यो संघियता, लोकतन्त्र, समावेशीतालाई हिजो स्थापना गर्ने शक्तिहरु फेरी जुर्मुराएको छ । त्यो शक्ति आज फेरी सडकमा आएको छ । विगतमा निरंकुशतन्त्र चुलिएर आएपछि जसरी हिजो शान्तिपुर्ण संघर्ष र जनयुद्धको संयुक्त फ्युजन भएको थियो, आज पनि ठिक त्यसैगरी विभिन्न धाराहरु जोडिदैछन् ।
जसले तपाँइहरुको आन्दोलनलाई नागरिक समाजको रुपमा सघाइराखेका छन् उनीहरुले गल्ती तिमिहरुले कहाँ गरेउ ? अब कसरी सच्चिन्छौं ? त्यसको लागि एउटा श्वेतपत्र जारी गर भनेर जोडदारका साथ कुरा उठाइरहेको देखिन्छ नी ?
त्यो कुरा एकदम सहि छ । ठिक ढंगले उठाउनुभएको छ । हामीले गर्दै आएको गल्ती भनेको आन्दोलन गर्दा सिङ्गो जनता र जनताको विभिन्न रुपमा व्यक्त भएका भावना र त्यसलाई प्रयोग गर्ने क्रममा सिमित पार्टी र त्यसमा पनि सिमित नेताहरुको निर्णयमा चल्ने प्रश्ताव नै मुख्य गल्ती हो । त्यस्तै राज्यका संरचनाहरुलाई लोकतान्त्रिकीकरण नगर्नु, त्यसलाई पुरानै संस्कारमा चलाउने प्रयास गर्नु अर्को गल्ती हो । राज्यका संरचनाहरु संविधान अनुहार त चल्न प¥यो नी । त्यसरी चलेको पाइएन । पुरानै ढाँचा र चिन्तनमा हिँडेको पाइयो । राजनीतिक नेताह्रु जो सरकारमा पुगेपछि नयाँ संविधान अनुसार, नयाँ जनताको जनादेश अनुसार र नयाँ लक्ष्य अनुसार हिँड्नुपर्छ भन्ने नबुझेर पुरानै शाषकले चलाए जस्तै गरी शाषन चलाउने, उही कमिशनको खेल गर्ने, उही भ्रष्ट्राचारको बाटो अपनाउने, जनताको सेवक होइन उही पुरानै पारामा जनताको मालिक देखिने गरी हिँड्नु अर्को गल्ति हो । यो राज्य सञ्चालनमा सबैको स्वामित्वलाई स्थापित गरेर लैजानेतिर नसोच्ने पनि अर्को गल्ति हो । विभिन्न विज्ञ छन्, विशेषज्ञ छन् । संस्था र संगठनहरु छन् । नागरिक समाज छन्, सञ्चारकर्मी छ । ति सबैको पनि सुझाव लिने होइन कि बरु उनीहरुलाई पनि सकिन्छ भने दमन गर्ने खालका कानुन बनाउन प्रयत्न गर्ने, जनताका विभिन्न संगठनहरुलाई पनि हिजोका पञ्च शाशकहरुले गरे जस्तो रवैया देखाउने र सत्तामा जाने वित्तिकै अर्कै ग्रहको मान्छे हो जस्तो गरेर जनता र उसको दुरी बढ्ने, जनतासंग प्रत्यक्ष सम्वन्ध नहुने जस्ता गल्ति भए ?
यत्ति मात्र हो त गल्ति ?
अर्को गल्ती विकास निर्माण लगायत यो समग्र कुरामा आम जनताको परिचालन गर्ने, जनताको शक्तिलाई परिचालन गरेर समृद्धिको बाटोमा हामी जानुपथ्र्यो नी । त्यो कुरा नगर्ने । त्यसैगरी राष्ट्रको आवश्यकता र संविधानले निर्देशित गरे अनुरुपको बजेट तथा नीति कार्यक्रम बनाएर तल्लो वर्गलाई माथि उठाउनुपर्ने हो । शिक्षा, स्वास्थ्य र रोजगारमा लगानी गर्नुपर्ने कुरा नगरेर ठुला ठुला डिङ हाँक्ने तर काम केही पनि नगर्ने । यि तमाम–तमाम गल्ति भए । यि गल्तीहरुलाई अबका दिनमा सच्याउनुपर्छ । सच्याउने विधी मैले भनिसके. । त्यो विधीबाट सच्याउनुुपर्छ । यो राज्य अब सिमित पार्टीहरुको र पार्टीका नेताहरुको मात्र हुन सक्दैन र होइन । आम परिवर्तनकामी जनताको हो । त्यसलाई त्यो रुपमा परिभाषित गर्ने, त्यो रुपमा बुझ्ने, त्यो रुपमा सबैलाई साथमा लिएर सबैको क्षमता, विज्ञता उपयोग गरेर जाने नै हो । यही गर्न नसक्नु नै गल्ती थियो ।
यहाँहरुले सडक संघर्ष अन्तर्ग काठमाडौं लगायत विभिन्न शहरहरुमा आमसभा गर्नुभयो, त्यस लगत्तै प्रधानमन्त्री केपी ओली समुहले नारायणहिटी दरबार अगाडि विशाल आमसभा गरेर आधिकारिक नेकपा र ठुलो पार्टी हामी हो भनेर दावी र घोषणा गर्नुभयो, त्यो घोषणालाई के भन्नुहुन्छ ?
उहाहरुको घोषणालाई मान्ने हो भने कहिलेकाँही शालिकको छेउमा बसेर एक दुइ जना मान्छेले हातमा झण्डा लिएर घोषणा गरेका पनि मैले सुनिरहेको छु । कसैले बेला बेलामा रत्नपार्कमा पनि घोषणा गरिरहेका हुन्छन् । विभिन्न सञ्चारमाध्यममा केही व्यक्तिहरुले घोषणा गरेको पनि मैले सुनिरहेको छु । कोही मठ मन्दिरतिर गएर घोषणा गरेको पनि मैले सुनिरहेको छु । ती घोषणाहरुको कुरा भन्दा पनि एउटा विधी छ, पद्दती छ । मान्यता छ, कानुन छ । यि मान्यताहरुले के कुरा स्थापित गर्छ भन्ने प्रश्न मुख्य प्रश्न हो । उहाँले संघीयता र लोकतन्त्रको पक्ष भन्नुभएको छ । उहाँ त्यसमा हुनुहुन्छ भने राम्रो कुरा हो । तर मुखले भन्ने कि संविधान च्यात्ने ?संविधान च्यातेर लोकतन्त्रको पक्ष भइन्छ त ? यि कुराहरु आम जनतालाई थाहा पनि छ । गित कस्तो र कसले गाँउछ भन्ने कुरा गित गाउनेमा भर पर्छ । उहाँले भन्नुभयो होला । भन्न पाइन्न भन्ने होइन । उहाँलाई भन्न् हामीले प्रतिवन्ध लगाउन पनि मिल्दैन । त्यो उहाँको कुरा हो तर तथ्य, प्रमाण र कानुनले स्थापित गर्ने र दलसम्वन्धी ऐन, दलका आफ्नै बहुमत अल्पमतका विधी लगायतका कुराहरु छन् । यि सबै कुराहरु हेर्दा नेकपाको प्रष्टै छ नी । त्यसमा त दावी गरेर यही हो भन्ने पर्दैन । स्वतः छ ।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीको समुहमा पनि उत्तिकै मान्छेहरु आइराखेको छन् नी त ?
अहिले एउटा घटना घट्यो । यो घटना घट्ने वित्तिकै यो घटना के हो भनेर बुझ्ने, विश्लेषण गर्ने क्रममा केही समय त लाग्ने नै भयो । मान्छेहरुले विश्लेषण गर्दैछ । उता सत्ता छ । शक्ति छ । पैसा छ । त्यो सबैको बलमा मानिसहरु आउने कुरा ठुलो कुरा होइन । मान्छेले सही र गलत के गर्छन् भन्ने ठुलो कुरा हो । राष्टको पक्षमा छ की छैन, जनताको पक्षमा छ की छैन, हाम्रो लोकतान्त्रिक मुल्य र मान्यताको पक्षमा छ की छैन भन्दा सरकारले आन्दोलनको घोषणा गर्छ । कस्तो अचम्म ?यो त अर्को नवौं आश्चर्य हो नी त ? सरकारले आन्दोलनको घोषणा गर्छ, सरकारले संविधान च्यातिदिन्छ, अति त्यसको पक्षमा आन्दोलन गर्छ । त्यसलाई अग्रगमन भन्छ । तसर्थ यस्ता कुराको पछि लाग्नुभन्दा पनि के सही के गलत छुट्याउनुपर्छ । मान्छे त विभिन्न तरिकाले आँउछन् । विस्तारै क्लियर हुँदै पनि जान्छन् । मान्छे आउने कुरामा नै सबै कुरा निर्धारण गर्नु हुँदैन ।
काठमाडौंमा दुइपटक ठुला प्रदर्शन गरिसक्नुभयो, फेरी २८ गते आव्हान गर्नुभएको छ, तिनै जनता पटकपटक तपाँइहरुको सभामा आइरहने ?
यो सभा होइन । यसको उद्देश्य उही भाषण दोहोयाएर जनतालाई सुनाइरहनु पर्छ भन्ने पक्षमा म छैन ।
दुइपटक त त्यही दोहोयाउनु भयो नी ?
हो, अब त्यसलाई फेरी दोहोयाउनु पर्छ भन्ने मेरो धारणा होइन । उही भाषण दोहोयाउन जनतालाई यहाँ बोलाउने होइन । हाम्रो संविधान लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनका दृष्टिकोणले हेरियो भने सात दशकको संघर्ष पछिको उपलव्धी समाप्त पार्ने जो प्रयत्न गरिएको छ, त्यसलाई बचाउनका लागि तीन पटक होइन सय पटक पनि जनता सडकमा उत्रिनै पर्छ । यसका अरु पाटा पनि छन् । तर यो उपलव्धी सडकबाट जनताको बलद्धारा नै ल्याइएको हो । तसर्थ यसको रक्षा पनि आज जनताले सडकबाटै गर्नुपर्छ । हुनत कानुनी लडाँइ पनि हामी लडिराखेका छौं । कानुनी लडाँइबाट पनि हामी सावित गर्छौं की संविधानमा नभएको कुरा भएको थियो भनेर प्रधानमन्त्रीले गरेको निर्णय स्वत खारेज हुन्छ, शायद त्यो भोलिका दिनमा अदालतले गर्ला । कानुन निर्माणमा लागेको कारणले, संविधानसभा सदस्य दुइ पटक भएको कारणले मलाई यति भन्ने छुट छ की त्यो प्रक्रिया संविधान अनुसार हुन्छ । तथापि यो अदालतलाई विश्वास गर्ने कुरा हो ।
दोस्रो कुरा हामीले सडकमा जनता ल्याएर यो प्रतिगमनका विरुद्ध एउटा संघर्षमा हामी खडा छौं है भनेर जनताले प्रतिगनतिर जानेहरुलाई चेतावनी र खबरदारी गर्ने कुरा हो यो । तसर्थ त्यहाँ उही भाषण दोहो¥याउनु पर्छ भन्ने होइन । जनतालाई अबको संविधान कार्यान्वयनको सन्दर्भमा कसरी अपनत्व सावित गर्ने, संविधानमा लेखिएका कुरा कसरी जनताले प्राप्त गर्ने भन्ने विषयमा सचेत गराउने हो । संविधानमा उल्लेख अधिकारहरु जनताले कसरी प्राप्त गर्छ भनेर नेतृत्व तहले आश्वस्त गराउन सक्नुपर्छ ।
ओली समुहहरु हामीले सबैतिर मिलाइसकेको हुनाले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता र अदालतबाट पुर्नस्थापनाकै पक्षमा निर्णय आउनेमा आशावादी रहेछ नी ?
कोपी ओलीज्युले आफ्ना साथीभाइहरुलाई भ्रम दिन सफल हुनुभएको छ । मैले भनेपछि सबै हुन्छ भन्ने मनोविज्ञानले उहाँमा घर गरेको छ । त्यो हुने भएको भए नेपालमा संघीयता नै आउने थिएन नी । उहाँले सेटीङ गरेर हुँदैन । जनताको शक्ति नै सर्बोपरी हो । सत्यको पक्षमा दृढतापुर्वक अन्त्यसम्म जनताको पक्षमा उभियो भने मात्रै हुन्छ । तर उहाँ त जनताको विरुद्धमा र संविधानको विरुद्धमा हुनुहुन्छ । प्रणालीकै विरुद्धमा भएको मान्छेको कसरी सेटिङ हुन्छ ? त्यो केवल एकछिनको भ्रम मात्र हो । निर्वाचन आयोगमा को मान्छे गए। कसले नियुक्ति ग¥यो भन्ने कुराले माने राख्दैन । उसले हेर्ने कानुनका पाना र दफाहरु अवश्य छन् ।
ती हेर्ने भए त तपाँइहरुलाई दिइसक्थ्यो नी ?
होला, त्यसमा केही दवावहरु हुनसक्छ । तर ऐनमा उल्लेखित दफाहरुले के भन्छन् त्यो त हेर्नुप¥यो नी । किनकी सबै यही नेपालमा बाँच्नु छ । सबै मिलेर बस्नु छ । सबै मिलेर बस्ने भनेको अर्थृ सबैले कानुन मानेर बस्ने भन्ने हो ।
सुर्य चिन्ह, हसिया हथौडा र पार्टी आधिकारिक तपाँइहरुको नै भयो र वैशाखमा चुनाव भयो भने तपाँइहरु भाग लिने कि नलिने ?
जनतादेखि हामी भागेका छैनौं । बरु संसदीय दल फेस गर्न नसकेर को भाग्यो ?पार्टीबाट को भाग्यो ? आम नेपाली जनताले योगदान र वलिदान गरेको उपलव्धीबाट को भाग्यो ? अहिले जनताको चाहना के हो ?त्यसबाट को भाग्यो ? राजनीतिम स्थायित्वबाट को भाग्यो ? पार्टीको सिस्टमबाट को भाग्यो ?प्रष्टै छ त । तसर्थ हामी जनताबाट भाग्ने कुरा होइन । तर उहााले भनेर यो देशमा न चुनाव हुन्छ, न उहाँ चुनावको वातावरण बनाउन सक्नुहुन्छ । दुइवटै कुरा वाहीयात कुरा हो ।तसर्थ अब अरु दुइ वर्ष अघि चुनाव हुँदैन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply