प्रधानमन्त्रीले वामदेव गौतमलाई कार्यवाहक अध्यक्ष दिनुपथ्र्यो
महेश बस्नेत, पूर्वमन्त्री तथा नेता, नेकपा (एमाले)० आजभोलि दिनचर्या कस्तो छ ?
– जनताकै काममा समय बित्छ । अलिक बढी भक्तपुर जिल्लाको काममा सक्रिय छु । त्यहाँको विकास निर्माण, सामाजिक गतिविधि र पार्टीका काममा समय बितिरहेको छ ।
० यसअघि मन्त्री हुनुहुन्थ्यो, अहिले मन्त्री पनि हुनुहुन्न, पार्टीको कुनै जिम्मेवारीमा पनि हुनुहुन्न । यस्तो हुँदा त पार्टीका कार्यक्रममा सहभागिता जनाउन पनि असजिलो हुँदो हो नि ?
– सामाजिक मूल्य र मर्यादाका हिसाबले कुनै त्यस्तो अप्ठ्यारो महसुस गर्नुपरेको छैन । जुन खालको माया, सहयोग, सद्भाव विगतमा थियो, त्यो अहिले पनि छँदै छ । क्रियाशीलताबाटै भूमिका स्थापित गर्ने हामीजस्ता मान्छेलाई क्रियाशीलतामा पनि खास समस्या छैन । कहिलेकाही औपचारिक कार्यक्रमहरुमा जाने कुरामा चाहिँ साथीहरुको अनुभूति देख्छु मैले । हुन त पूर्वमन्त्री भन्ने पनि आफैंमा एउटा पद हो, तर पनि साथीहरुले असहज अनुभति गरेको पाउँछु ।
० पूर्वमन्त्री, युवासंघका पूर्व अध्यक्ष, सबैमा पूर्व झुन्ड्याउनुपर्ने भो ?
– त्यस्तो देखिन्छ, तर यसले त्यस्तो ठूलो समस्या नै खडा गरेको अनुभूति भएको छैन ।
० पार्टीको खेलकुद विभागमा राखेको समाचार आउनासाथ तपाईं सामाजिक सञ्जालमार्फत नै त्यसप्रति असन्तुष्टि जनाउनुभयो नि ?
– त्यो विभागमा मलाई राख्ने कुरा ठीक थियो वा थिएन, त्यसको आफ्नो ठाउँमा समीक्षा होला । तर, त्यहाँ राख्दा मसँग कुनै सल्लाह भएन । त्यो विभाग मेरो आवश्यकता हो कि होइन भन्ने पनि भएन । म त्यो विभागको सदस्य हुँ भन्ने कुरा पनि मैले समाजिक सञ्जालमार्फत थाहा पाएँ । बधाई पनि सामाजिक सञ्जालमार्फत नै आउन थाले । त्यसकारण, यसको जवाफ पनि सामाजिक सञ्जालमार्फत नै दिनु उचित ठाने ।
० पार्टीले दिएको जिम्मेवारी त जहाँ दिए पनि पूरा गर्नुपर्ने कर्तव्य होइन र ?
– म त्यसलाई पार्टीले दिएको मान्दिनँ । पार्टीको आ–आफ्नै ढंगले परिभाषा लाउन सकिएला । कोही साथीले निश्चित अवधिका लागि कुनै जिम्मेवारी पाउँदा म नै पार्टी हुँ भन्ने अनुभूति हुन्छ होला । तर, पार्टी भनेको त्यो मात्र होइन । जिम्मेवारी दिने कुरामा पनि विभागको सदस्य नपाएकै कारण असन्तुष्ट भएका धेरै साथीलाई समेट्नुपर्छ । म बस्नै नचाहेको मान्छेलाई जबर्जस्त राख्दा म पनि असन्तुष्ट हुने भएँ, जो बस्न चाहेको थियो, ऊ नपर्दा ऊ पनि असन्तुष्ट हुने भयो ।
० असन्तुष्टचाहिँ किन ? सोधिएन भनेर कि त्यो विभाग आफ्ना लागि उपयुक्त होइन भनेर ?
– पहिलो कुरा त पार्टीले मलाई नियुक्त गरेको नै होइन । सम्बन्धित विभाग प्रमुखले मेरो नाम घुसाइदिनु भएको हो कि ? उहाँले गर्दा पनि सामान्य मर्यादाको ख्याल गर्नुपर्ने हो । तपाईंलाई म मेरो विभागमा राख्दै छु, तपाईंको इच्छा के हो ? भन्नुपर्ने । त्यो पनि मलाई थाहा छैन । मेरो इच्छा के हो ? म सधैं युवा आन्दोलनमा खट्ने हो कि होइन ? युवा आन्दोलनमा सल्लाहकारको भूमिका खेल्ने हो कि ?
० के हो त तपाईंको इच्छा ? विभागको सदस्य नखाने अनि जिन्दगीभर युवासंघको पूर्वअध्यक्ष भनेर हिँडिरहने ?
– मेरो इच्छा त म आफैंले आफ्नो भूमिका बनाउँछु नि । मैले जिम्मेवारी पाइनँ भनेर म आजका मितिसम्म हात पसारेर कतै गएको छैन । मैले जेजे पद प्राप्त गरे, मागेर प्राप्त गरेको छैन । मैले यो पार्टीलाई जे योगदान पु¥याएको छु, त्यसको मूल्यांकन हुन्छ भन्ने लाग्छ । भएनछ भने पनि के भयो र ? म जस्ता हजारौं मान्छे एमालेमा छन् भने मैलेचाहिँ विशेष पाइरहनुपर्छ भन्ने छैन । मैले मन्त्री पाउनु नै मेरा लागि नसोचेको कुरा थियो । अब पनि म बढी भूगोलको कामम केन्द्रित हुन चाहन्छु ।
० बेलै नभई मन्त्री भएकाले अब लामो राजनीतिक यात्रा तपाईंका लागि नै हितकर छैन पनि भनिन्छ नि ?
– कुनै पनि विषयलाई विभिन्न कोणबाट हेर्न सकिन्छ । एउटा कोण त्यो पनि होला । तर, त्यो कोण युवामैत्री होइन । हामीले लोकतान्त्रिक अभ्यास त ग¥यौं, तर त्यो संस्कृतिको विकास गरेका छैनौं । जसका कारण यस्ता कुराहरु प्रश्नका रुपमा उठ्छन् । मन्त्री भएपछि पार्टीका सानातिना जिम्मेवारीमा बस्नुहुन्न भन्ने पनि छैन । ममा त्यो खालको इगो पनि छैन ।
० तर, अहिले विभागमा बस्दिनँ भन्नुलाई इगोकै रुपमा लिने धेरै छन् । कर्ण थापालाई हटाएर मन्त्री भएको र अहिले उहाँ नै प्रमुख भएकोे विभागमा बस्ने कुरासँग यसलाई जाडेर हेरिन्छ नि ?
– सतहमा त्यस्तो कुरा देखिएला, यस्ता कुरा भविष्यले प्रमाणित गर्छ । मैले इगोका रुपमा अस्वीकार गरेको भन्दा पनि कर्णजीले इगोका रुपमा
प्रस्ताव गरेको हो कि भन्ने लाग्छ ।
० जिम्मेवारीका विषयमा पार्टी नेताहरूसँग कुराकानी त गर्नुभएको होला नि ?
– म मलाई यस्तो जिम्मेवारी दिनुप¥यो भनेर पार्टीका नेताहरुलाई भेट्न जादिनँ । म अस्ति भर्खरै प्रधानमन्त्रीज्यूसँग सुनसरी गएँ । प्लेनमा आउदाजाँदा एक घन्टा सँगै सिटमा बसियो । अरु धेरै कुरा गरें, तर मेरो जिम्मेवारीबारे एक शब्द पनि केही भनिनँ । मेरो त्यो स्वभाव नै होइन ।
० तपाईं त प्रधानमन्त्री तथा पार्टी अध्यक्षको विश्वासिलो मान्छे, उहाँले सप्राइज गिफ्ट भनेर मन्त्री बनाउनुभयो, तर अहिले बालुवाटारमा बाक्लो आवतजावत छैन भन्ने सुनिन्छ, किन होला ?
– म जे हो, त्योभन्दा फरक खालको छवि बन्यो बीचको समयमा । त्यो मेरा लागि दुःखद कुरा हो । मन्त्री भएपछि मात्र मैले सिंहदरबारको धेरै कुरा बुझें । नेताका घरमा, सिंहदरबारतिर धेरै धाउने मेरो स्वभाव होइन । बाध्यता,
परिस्थितिले जनताको कामको सिलसिलामा जाने एउटा कुरा भयो, तैपनि म नियमित जान्नँ । योजना बनाएर एक दिन जाँदै धेरै कामको संयोजन गरेर जान्छु । आवश्यकताअनुसार बालुवाटार पनि गएकै छु ।
० मन्त्री भएर सरकार सञ्चालनको तौरतरिका, काम गर्ने शैली आदि पनि बुझ्नुभयो, यो सरकारको कामको समीक्षा कसरी गर्नुभएको छ ?
– नेपालको इतिहासमा यत्तिको प्रधानमन्त्री मुलुकले भोलि पाउँछ कि पाउँदैन, हामीलाई थाहा छैन । उहाँले राष्ट्रियताको सन्दर्भमा एक खालको अडान लिएर भारतको नाकाबन्दीलाई कूटनीतिक र साहसिक ढंगले समाधान गर्नुभयो । हिन्द महासागरसम्मको हाम्रो सम्बन्धलाई पारवहन सन्धिमार्फत प्रशान्त महासागरसम्म जोड्ने काम भयो र विकास निर्माणका सन्दर्भमा पनि महŒवाकांक्षी लाग्ने योजनाहरु यो बजेटमार्फत ल्याउने तयारी भइरहेको मैले बुझेको छु । हाम्रो मुलुकका बारेमा निर्णय गर्ने क्षमता हामीसँग छ भन्ने अनुभूतिचाहिँ प्रवाह गर्नुभएको छ । यसले अन्तराष्ट्रिय रुपमै तरंग पैदा गरेको छ । तर, यो सरकारको नकारात्मक पाटो के रह्यो भने प्रधानमन्त्रीको त्यो स्पिरिटलाई बोक्ने मन्त्रीहरु भए कि भएनन् ? क्याप्टेन सशक्त हुने तर खेलाडीहरु सशक्त नहुँदा पनि टिमले जित्न गाह्रो हुन्छ । एमालेभित्र केपी ओली धेरै जिम्मेवारी नपाएको व्यक्तित्व हुनुहुन्थ्यो । लामो जेल जीवनमा सहयोग गरेका, मृगौला दान गरेका लगायतका भावनात्मक पक्षसँग जोडिएका व्यक्तिहरुलाई पनि उहाँले सहयोग गर्नुपर्ने थियो । क्षमता भएका मान्छेहरुलाई जिम्मेवारी दिँदा केपी ओलीले यस्ता सहयोगी मान्छेलाई जिम्मेवारी दिएन भन्ने अनि ती खालका मान्छेलाई जिम्मेवारी दिँदा क्षमता भएकाहरुलाई जिम्मेवारी दिएन भन्ने प्रश्न उठ्ने । सल्लाहकार ठीक भएन, सचिवालय ठीक भएन भन्ने खालका कुरा सुनिन्छन् । हाम्रो जस्तो आधारभूत वर्गको राजनीति गर्ने वामपन्थी आन्दोलनबाट आएका नेता जसमाथि पनि लाग्ने आरोप
यिनै हुन् ।
० कालोबजारी नियन्त्रणमा सरकार पुरै असफल देखियो नि ?
– भारतले पाँच महिना नाकाबन्दी लगायो । भारतका व्यापारीहरुले अघोषित नाकाबाट लुकीछिपी ल्याएर सामानहरु नेपालतर्फ दिए । रक्सौल नाका बन्द भयो, ठोरी नाका चम्कियो । सरकारले त्यो रोकेको भए यहाँको जनजीवन अझै
अस्तव्यस्त हुन्थ्यो, त्यो कुराले पनि अहिले कालोबजारीलाई मद्दत पुग्यो । सरकारले त्यो बेला कालोबजारी र तस्करी
रोक्न सकेन । त्यसको लाभ अहिले पनि
तस्करहरुले लिइरहेका छन् । त्यो च्यानल सरकारले अझै पनि तोड्न सकेन । केपी ओली जत्तिको एक्सन ओरिएन्टेड प्रधानमन्त्रीले सरकारको समीक्षा गरेर बजेटपछि सरकारको पुर्नगठन गर्नुपर्ने हो कि ? केही मन्त्रीहरुलाई बिदा दिएर, केही ल्याउनुपर्ने हो
कि ? आफ्नो सचिवालय, सल्लाहकारको टिम मिलाउनुपर्ने हो कि ? मलाई त्यो बेला आइसक्यो भन्ने लाग्छ । सम्भवतः प्रधानमन्त्रीले त्यो काम गर्नुहुनेछ ।
० तपाईंको पार्टीले महाधिवेशन भएको दुई वर्ष बित्न लागिसक्यो अझै विभागलाई समेत पूर्णता दिन सकेको छैन, संगठन त अस्तव्यस्त नै
भयो है ?
– पार्टी बहुपदीय संरचनाका जाने जुन कुराको हामीले अभ्यास ग¥यौं, त्यसका प्रभावहरु देखिन थाले । माधव नेपाल महासचिव हुँदाको बेलासम्म संगठनको च्यानल नेताको पहल नहुँदा पनि स्वतःस्फूर्त चल्ने खालको थियो, तर अहिले हामीले बहुपदीय संरचनालाई हामीले दुईटा समूह बनाएर समूहका आधारमा चुनाव लड्ने तरिकाले अभ्यास ग¥यौं । सबै एउटा समूहलाई भोट हाल्न पाइने पनि बनायौं । यो खालको गलत अभ्यासको प्रभाव तलतलसम्म परे । हाम्रो संगठनमा पनि कांगे्रसी सांगठनिक जीवनको प्रभावदेखि थाल्यो । चुनाव र महाधिवेशनमा मात्र जाग्ने । पार्टीका नियमित सांगठनिक गतिविधि पनि हुन छाडे । जितेको नेतालाई पनि हार्नेले गुटको नेताका रुपमा मात्र स्विकार्ने, जित्नेले पनि
हारेकालाई पार्टीभित्रकै प्रतिपक्षीका रुपमा हेर्न थाल्यो । पार्टीभित्रको हरेक बैठकमा छुट्टाछुट्टै समूहको बैठक बसेर तयारी गरेर आउने र लडभीड गर्ने खालको स्थिति बन्यो । आउँदो महाधिवेशनमा यो सिस्टम तोड्नैपर्छ ।
० दिवंगत, सम्मानित नेताका नाममा गुटलाई संस्थागत गर्ने प्रवृत्ति पो देखिन थाल्यो, होइन ?
– हाम्रा सम्मानित नेताका नाममा विभिन्न केन्द्रहरु बन्ने कुरा त राम्रै हो, तर त्यसको दुरूपयोगचाहिँ हुनुभएन ।
यस्तो कामम प्रतिस्पर्धा पनि गर्नुहुँदैन भन्ने लाग्छ । एमालेका पाँच÷सात नेता बसेर यो समस्या यसरी सट्याउने है भने यसमा त्यति ठूलो समस्या पनि देख्दिनँ म ।
० यसमा पहलकदमी त अध्यक्षले लिनुपर्ने होइन र ?
– अध्यक्षले गर्नुपर्ने हो तर उहाँको
वरिपरिका राजनीतिक सल्लाह दिनेहरुले के सल्लाह दिनुहुन्छ ? उहाँ आजका मितिमा यति धेरै व्यस्त हुनुहुन्छ कि उहाँलाई दुई मिनेट बोल्ने फुर्सद
पनि हँुदैन ।
० फुर्सद छैन भने पार्टी कामको लागि कार्यवाहकको जिम्मेवारी दिनुपर्छ भन्ने कुरा त अस्ति केन्द्रीय कमिटी बैठकमा पनि उठ्यो नि ?
– मलाई लागेको पनि त्यही हो । प्रधानमन्त्री भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर जानुपथ्र्यो । वरिष्ठताको हिसाबले वामदेव गौतमलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपथ्र्याे ।
० त्यो खालको सम्झौता भएको भन्ने कुरा पनि बाहिर आएको थियो, तर किन नदिइएको होला ?
– अहिले कार्यवाहक दिँदा आउँदो १०औं महाधिवेशनमा प्राविधिक गडबडी हुन्छ भन्ने केहीकेही नेतालाई लाग्यो होला भन्ने मेरो अनुमान छ । ती नेताले त्यो कुरा प्रधानमन्त्रीलाई भने होलान्, उहाँलाई पनि ठिकै हो भन्ने लाग्यो होला । प्रधानमन्त्रीले पार्टीको काममा पनि आफ्ना समकक्षी वा दोस्रो पुस्ताका साथीहरुलाई जिम्मा दिएर कामको बाडफाँड गर्न लगाउनुपर्छ । त्यो पाटोमा चाहिँ प्रधानमन्त्रीको ध्यान पुगेन कि ? कोही नेता बेरोजगार हुने, कोही नेता पाँच मिनेट फर्सद नहुने स्थिति छ । उमालेका नेता कार्यकर्ताले घरमा सुतेर समय बिताउनु एमालेका लागि अनुत्पादक नै हुन्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply