भारतसागको सम्बन्ध पारस्परिक लाभमा आधारित हुनुपर्छ
मिलन तुलाधर, परराष्ट्रविद्० प्रधानमन्त्रीको केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको कस्तो महत्त्व देख्नुभएको छ ?
– यो भ्रमण असाध्यै महत्त्वपूर्ण छ । एक त यो नेपालका प्रधानमन्त्रीको लामो समयपछिको भारत भ्रमण हो भने दोस्रो, नेपाल–भारत सम्बन्धमा पछिल्लो समयमा आएका कठिनाइपछि यो भ्रमण हुन लागेको छ । लामो समयसम्मको नाकाबन्दी खुलेपछि नयाँ वातावरणमा प्रधानमन्त्री भारत भ्रमणमा जान लाग्नुभएको छ । यो भ्रमणले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई बलियो बनाउँछ भन्ने लाग्छ । छिमेकीे परिवर्तन गर्न मिल्दैन, सधैं मिलेर नबसी सुखै छैन ।
० दुई छिमेकी मुलुकबीचको सम्बन्धमा पछिल्लो समयमा यो खालको समस्या किन देखा पर्यो भन्ने लाग्छ ?
– अहिलेको अन्तर्राष्ट्रिय परिवेशलाई हेर्ने हो भने पनि यो खालको समस्या आउनु हँुदैनथ्यो । अहिले सबै देश चाहे ती इजरायल र प्यालेस्टाइन हुन्, चाहे अरू कुनै देश हुन्, तिनीहरूको सम्बन्ध सुध्रँदै गएको छ । विभाजित देशहरू एकीकृत हुँदै गएका छन््, नमिलेका देशहरू मिलेर बस्न थालेका छन् । क्युबा र अमेरिकाबीच ६० वर्षपछि पुन: सम्बन्ध स्थापित भएको छ । यस्तो समयमा नेपाल र भारतजस्ता सांस्कृतिक, ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध भएका देशमा कुनै हालतमा पनि सम्बन्ध खराब हुनुहँुदैनथ्यो । तर, खराब भयो, त्यो दु:खद कुरा हो । सबैले चाहे राजनीतिमा होस्, चाहे कूटनीतिमा यथार्थपरक नीति लिने हो भने समस्या हँुदैनथ्यो ।
० यसअघि एमालेकै तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार रहेका बेला पनि भारतसँगको सम्बन्धमा समस्या देखियो । त्यतिबेला तपार्इंं प्रधानमन्त्रीको विदेश सल्लाहकार पनि
हुनुहुन्थ्यो । बेलाबेलामा किन नेपाल सम्बन्धमा यस्ता उतारचढाव देखा पर्ने गर्छन् ?
– यथार्थपरक सम्बन्ध हुनुपर्नेमा त्यो नहुनुले नै समस्या जन्माएको हो । यसमा नेपालको पनि केही कमजोरी होलान् तर मुख्यत: भारतको ब्युरोक्रेसीको नेपाललाई हेर्ने दृष्टिकोणकै कमजोरी ले यो भएको हो । उनीहरूले आफ्ना कमजोरी कतिपटक त स्वीकार पनि गरेका छन् । भारतले सबै छिमेकी देशसँग राम्रो सम्बन्ध राखेर नै आफ्नो देशको विकास गर्न सक्छ । कुनै पनि देशसँग सम्बन्ध खराब गरेर कसैलाई पनि आफ्नो देशको विकासमा कुनै फाइदा पुग्दैन ।
० नेपालको जलस्रोत, ऊर्जालगायतका कतिपय क्षेत्रमा भारतको चासो नेपालले सम्बोधन नगरेकाले बेलाबेलामा यस्तो उतारचढाव आएको हो भनिन्छ नि ?
– नेपालको अर्थतन्त्र भनेकै ऊर्जामा आधारित अर्थतन्त्र हो । ऊर्जाबाटै नेपाल माथि उठ्ने हो । भारतको अहिलेको ऊर्जाको स्थिति हेर्ने हो भने त्यहाँ अहिले कुल ऊर्जाको ६१ प्रतिशत ऊर्जा कोइलाबाट उत्पादन हुन्छ । जलवायु परिवर्तनको मूल कारण यही कोइलाको प्रयोग हो । संयुक्त राष्ट्रसंघमा भारतले कोइला हटाउने प्रतिबद्धता जनाइ पनि सकेको छ । अहिले विश्वव्यापी रूपमै डिजेलको भाउ घटेको हुनाले डिजेलबाट ऊर्जा उत्पादनमा पनि आकर्षण बढेको छ । तर, अन्त्यमा सोलार, हाइड्रो, बायोग्याँसमा नगई सुखै छैन । यसले वातावरणलाई हानि पनि गर्दैन । तर, अहिले भारतको अधिकतम ऊर्जा कोइलामा निर्भर छ । हामी कहाँ भारतबाट आउने ऊर्जा पनि कोइलाबाटै उत्पादित ऊर्जा हो । हामी सबैको चासो भनेको हाइड्रोबाट ऊर्जा उत्पादन गर्ने हो । त्यसका लागि नेपालमा ठूलो सम्भाव्यता छ । नेपालमा हाइड्रोबाट ऊर्जा उत्पादन गर्नु भनेको नेपालका लागि, भारतका लागि मात्र होइन कि विश्वकै वातावरणका लागि पनि फाइदाको कुरा हो । त्यसकारण पनि यो विश्वकै चासोको विषय हो । नेपालले कुनै चीज बेच्छ भने बार्गेनिङ गरेर सकेसम्म बढी फाइदा लिनुपर्छ । बेच्नेले सकेसम्म धेरै फाइदा लिन खोज्छ नै । आफ्नो माल कसैले सित्तैमा दिँदैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै हामी पैसा तिरेर किन्छौं भनेका थिए । विद्युत्मा उनीहरूले आँखा गाडे भनेर टाउको दुखाउनु आवश्यक नै छैन । दुवैलाई विन–विन हुने गरी गयो भने दुवै देशको हित हुन्छ ।
० त्यसो हो भने हाम्रो कूटनीति असफल भएरै यो समस्या आएको हो त ?
– कूटनीति असफल नेपालको भएको हो कि भारतको भन्ने कुरा त बारम्बार बाहिर आएकै छ नि । हामीले कुनै पनि देशसँग आर्थिक सम्बन्ध राख्दाखेरि पारस्परिक लाभ र समानताका आधारमा राख्ने हो । हामी एउटा सर्वभौम देश भएपछि हामीले आफ्नो स्वाधीनता खोज्छौं, समानता खोज्छौं, पारस्परिक लाभ खोज्छौं । भारतले पनि त्यो कुरा खोज्छ, त्यो स्वाभाविक कुरा हो । तर, हाम्रो संवेदनशीलतालाई भारतले बुझ्नुपर्छ । किनभने, हाम्रो देश सानो छ । यसो भन्दैमा हामी पनि साना छौं भनेर मात्र बस्ने होइन । हामी पनि स्मार्ट हुनुपर्छ । स्विट्जरल्यान्ड हामीभन्दा सानो छ । ऊ स्मार्ट भएरै त्यहाँ वरपरका ठूला देशबाट फाइदा उठाइरहेको छ । स्विट्जरल्यान्डको वरपरि जर्मनी, इटाली, फ्रान्सजस्ता ठूला देश छन् । आफ्नो स्मार्टपन देखाएर उसले ती ठूला देशबाट फाइदा लिइरहेको छ । हामीले पनि त्यस्तो स्मार्टपन देखाएर चीन र भारतबाट फाइदा उठाउनुपर्छ । अबको कूटनीति विकासका एजेन्डालाई अगाडि बढाउन केन्द्रित हुनुपर्छ ।
० प्रधानमन्त्रीको यो भ्रमणबाट के कुराको अपेक्षा गर्न सकिन्छ त ?
– नेपाललाई द्रुततर आर्थिक विकासको गतिमा लैजाने भिजनलाई सफल पार्न हाम्रा छिमेकी राष्ट्रको सहयोग नभई हुँदैन । एक त हामीलाई शान्ति चाहिन्छ, सम्बन्धमा सामान्यीकरण चाहिन्छ । हामी कोही देशसँग पनि झगडा गर्न चाहँदैनौं । हामी विकास चाहन्छौं ।
० यो भ्रमणमा विकासको एजेन्डामा पनि छलफल होला त ?
– अवश्य हुन्छ ।
० यो भ्रमणमा दुई देशबीचको सम्बन्ध सुधार्नेबाहेक अरू केही हुँदैन भन्ने सुनिन्छ नि ?
– मुख्य कुरा त्यही नै हो । सम्बन्ध सामान्यीकरण गर्ने, मित्रता बढाउने नै मुख्य एजेन्डा हो । यसो गरेपछि अन्तत: हाम्रो आर्थिक सम्बन्ध पनि पारस्परिक लाभका आधारमा हुनेछन् । यो भ्रमणपछि दुई देशबीचको व्यापारमा देखा परेका समस्या पनि सामान्य बन्दै जानेछन् र भविष्यका लागि विकासको बाटो खुल्छ । भारतका लागि नेपाल नभई हुँदैन । भारतका लागि नेपाल ठूलो मार्केट पनि हो ।
० तर विज्ञ, राजनीतिक दलका नेताहरूले सम्बन्ध सामान्य बनाउनेबाहेक अहिले अरू एजेन्डामा प्रवेश नगर्न सुझाव दिएका छन् भन्ने सुनिन्छ नि ?
– नेपाललाई हानिनोक्सानी हुने खालका कुनै पनि सन्धिसम्झौता हुन्छ कि भन्ने खालको सबैको डर हो । मलाई लाग्छ, प्रधानमन्त्रीले त्यस्तो गर्नुहुनेछैन । सम्बन्ध विकास गर्ने भनेको अन्ततोगत्वा व्यापार वृद्धि र आर्थिक सुधारका निम्ति नै हो ।
० सत्ताको लोभमा परनिर्भरतालाई फाइदा पुग्ने गरी कुनै सम्झौता हुने खतरा देख्नुहुन्न ?
– त्यस्तो सम्भावना मैले देखेको छैन । राष्ट्रियताको मामिलामा उहाँको सरकारले जुन अडान लिएको छ, त्यही अडानका कारण नै नेपालले नयाँ भिजन पनि देखेको छ । इन्धनमा एक देशमा मात्र निर्भर नहुने, भारतबाहेकका अरू देशसँग पनि पारवहन सन्धि गर्ने र नेपाललाई पनि आत्मनिर्भर बनाउने कुरा आएका छन् । यो सकारात्मकपक्ष हो ।
० बाहिर नाका नखुलेसम्म भारत भ्रमणमा जान्नँ भन्ने अनि भित्रभित्रै चाहिँ भारतीय प्रधानमन्त्रीले फोनबाट निमन्त्रणा गर्नासाथ भ्रमणको मिति तय गरेर कूटनीतिक पत्राचार भयो, यही चुके प्रधानमन्त्री पनि भन्छन् नि ?
– दुइटा छिमेकीका बीचमा सम्बन्ध बिगारेर, सधैं झैझगडा गरेर मात्र बसेर कसलाई फाइदा हुन्छ ? त्यसले कसैलाई फाइदा हुँदैन । नहुनुपर्ने घटनाहरू भए त्यसमा दोषी को हो भन्ने सबैलाई थाहा छ । तर, उहाँहरूले गल्ती सच्याइसकेपछि हामीले घरिघरि त्यही कुरा कोट्याइरहनुपर्ने आवश्यक छैन ।
० नाकाबन्दीपछि नेपालमा बढेको भारतविरोधी भावना त प्रधानमन्त्रीले भ्रमण गर्दैमा हराउँदैन होला नि ?
– कुनै पनि देशप्रति कुनै पनि देशलले यस्तो विरोधी भावना राख्ने भन्ने कुरा स्थायी हुँदैन । क्युबा र अमेरिकाबीच त सम्बन्ध सामान्यीकरण भयो । सन् १९६० को दशकमा मिसाइल क्राइसिस भयो । क्युबाले त्यत्रो मिसाइल ल्याएर राख्यो । अमेरिकाले त्यहाँ न्युक्लियर बम नै खसाल्ने हो कि भन्ने कुरा पनि आए । ती देशमा त सम्बन्ध सामान्य भयो भने हामी त झन् सम्बन्ध सामान्य नभई बस्नै सक्दैनौं । सधैं निहुँ खोजेर भारतसँग झगडा गरेर बस्ने होइन । भारतले थिचोमिचो गर्यो भने आफू स्मार्ट बनेर त्यसलाई परास्त गर्नुपर्छ । स्विट्जरल्यान्डमाथि पनि थिचोमिचो भएको थियो । उसले त्यो थिचोमिचोलाई अवसरमा बदल्यो, हामीले पनि अवसरमा बदल्न सक्नुपर्छ ।
० तर हामी त तैले नदिए चीनबाट ल्याउँछौं भनेर घुर्की लगाउँछौं, होइन ?
– त्यस्तो कुरा भइरहन्छ । तर, खासमा हामी सबै देशसँग मिलेरै बस्न चाहान्छौं ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply