मधेस तिनीहरूको ठेकेदारी होइन
– सत्यनारायण मण्डल स्थायी समिति सदस्य एवम् सभासद्, नेकपा (एमाले)० सभासद् भएको एक वर्षभित्रै पार्टीको स्थायी कमिटीमा पुग्नुभयो, यो वर्ष त फलिफाप भयो, होइन ?
– फलिफापकै वर्ष रहेछ भन्नुपर्यो । राम्रो भएको छ ।
० स्थायी कमिटीमा पुग्ने मधेसको पहिलो नेता हुनुहुन्छ, यसलाई कसरी लिनुभएको छ ?
– सकारात्मक रूपमा लिएको छु । नेपालको कम्युनिस्ट आन्दोलनको मूलधारका रूपमा रहेको एमालेले अहिले आएर गरेको यो निर्णय अग्रगामी छ । केन्द्रीय कमिटीको चौथो बैठकले पार्टीभित्रका विवाद हल गरेर सर्वसम्मत् पोलिटब्युरो गठन गर्यो । पोलिटब्युरोमा मधेसीहरू छ जना छन् । पहिले–पहिले सांकेतिक रूपमा एक जना मात्र हुन्थे । अहिले यस्तो निर्णय गर्नु समयको पनि माग थियो । समयको आवश्यकतालाई एमालेले बुझ्ने काम गरेको छ । यस्तो निर्णय पहिल्यै गर्नुपर्दथ्यो । मधेसका कतिपय नेता बितेर गइसक्नुभयो । अहिले पनि मधेसमा एमालेका स्थापित नेताको खाँचो छ ।
० जसलाई स्थापित गर्न खोज्यो उही विचलित भएको देखिन्छ, सीतानन्द राय, महेन्द्र राय, जितेन्द्रनारायण देवदेखि रामचन्द्र झापासम्म …
– पलायन भएका छन् । पार्टीले आन्तरिक व्यवस्थापन गर्न नसकेर पनि यो समस्या आएको हो । कतिपय मधेसलाई हेर्ने सवालमा एमालेभित्र पनि एकात्मक शासन व्यवस्थाका तुषहरू थिए । मैले पनि कम्युनिस्ट आन्दोलनमा पाँच दशक पूरा गर्न लागें । तर, कतै पनि एक मिनेट पनि दायाँबायाँ भइनँ ।
० जब नेता बनायो अनि बिच्किने गरेका छन्, कतै तपाईंमा पनि लागू हुने त होइन ?
– अब त के लागू हुन्छ र ? छाड्ने भए आजसम्म छाडेर गइसकेको हुन्थें । मभन्दा धेरै कनिष्ट धेरै अगाडि आइसकेका थिए । चौथो महाधिवेशनका बेला म सिरहाको सचिव थिएँ, त्यहीँ महाधिवेशन आयोजना गरिएको थियो । त्यसपछि कति नेता केन्द्रीय कमिटीमा पुगे तर म आठौं महाधिवेशनबाट मात्र केन्द्रीय कमिटीमा आएँ । मलाई मधेसवादी र दरबारीयाहरूले धेरै प्रलोभन नदिएका होइनन् ।
० दरबारीयाहरूले पनि बोलाएका थिए र ?
– कयौंपटक भने । जेलमा हुँदा पञ्चायतकालमा पनि प्रलोभन दिए । तर, म टसमस भइनँ । जेलबाट छुटेपछि ०३८ सालमा भूमिगत भएँ । एकैचोटि ०४६ सालमा खुला भएँ ।
० मधेसवादी दलमा कसले बढी आग्रह
गरेको थियो ?
– सद्भावनालगायतका दलहरूले यही संविधानसभा निर्वाचनकै बेला पनि टिकटको ‘अफर’ गरेका थिए । मधेसी जनअधिकार फोरमलगायतका पार्टीबाट पनि अनेक ‘अफर’ आएका थिए ।
० भन्न त सबै राजनीतिक पार्टीले आफूलाई समावेशी भन्छन् तर एमाले चाहिँ समावेशी चरित्र देखायो, हैन ?
– हो, समावेशी चरित्र गरेरै देखायो । मधेसका मुद्दालाई सद्भावना नेता गजेन्द्रनारायण सिंहले जसरी उठाउनुभयो, त्यसलाई तत्कालीन शासकहरूले अर्कै ढंगले हेरे । ०४६ को परिवर्तनपछि पनि उहाँले संघीयताको कुरा उठाउनुभयो । संघीयताका सवालमा अहिले सबै दल लगभग उहाँकै विचारको वरिपरि छन् । त्यसबेला कांग्रेस सरकारले उहाँको कुरालाई बेवास्ता गर्यो । ०५० सालमा हाम्रो पार्टीका तत्कालीन महासचिवले गम्भीरतापूर्वक ती कुरालाई लिनुभयो । ०५० सालमा तराई समस्या अध्ययन कार्यदल गठन गर्नुभयो ।
० तर पनि किन एमालेलाई ‘मधेसविरोधी’ पार्टी भनिन्छ ?
– त्यस्तो आरोप लाग्ने गरेको छ । मधेसमा त्यस्तो खालका फटाहा सामन्तहरू पनि छन् । अवसरवादीहरू पनि छन् । तर, जननेता मदन भण्डारीले त्यो कार्यदल गठन गरेको एक डेढ महिनामै उहाँको हत्या भयो । त्यसपछि ती विषय ओझेलमा परे । गजेन्द्रनारायणजीले मधेसका विभेदका कुरा उठाउनुहुन्थ्यो । तर, उहाँ संवैधानिक राजतन्त्र मान्नुहुन्थ्यो । तर, हामी कम्युनिस्टहरू राजतन्त्र मान्दैनथ्यौं । हामी वर्गीय मुक्तिका लागि गणतन्त्रका कुरा गर्दथ्यौं । वर्गीय मुक्ति भनेको मधेसका जनताका लागि पनि हो ।
० अहिले संविधान निर्माणको बहसको केन्द्रमा मधेस नै छ, मधेसलाई कसरी र कति प्रदेशमा विभाजन गर्ने भन्ने बहसलाई कसरी लिनुभएको छ ?
– यहाँ धेरैखालका मान्छेका धेरैथरि विचार आएका छन् । सुरुमा गजेन्द्रनारायणजीले नै समग्र मधेस, एक प्रदेशको कुरा उठाउनुभयो । तर, दोस्रो महाधिवेशनबाटै उहाँहरूले त्यो कुरा छाडिसक्नुभएको थियो । अहिले उहाँबाट प्रशिक्षित कतिपय युवा पुस्ता पनि किन त्यही हठमा छन्, त्यो मैले बुझ्न सकेको छैन ।
० मधेस प्रदेशका बारेमा तपाईंको धारणा चाहिँ के हो ?
– एकात्मक शासन व्यवस्थाले विगतमा मधेसमा ठूलो विभेद गर्यो । हामीलाई ‘मान्छे’ गनिँदैनथ्यो । मधेसीहरूलाई शिवरात्रीमा आउनका लागि पनि भिसा चाहिन्थ्यो । शासकहरूले आत्मीय व्यवहार नै गरेनन् । अहिले पनि राज्यले मधेसमा राम्रो व्यवहार गरेको छैन । पहिले–पहिले नानी रुँदा उसलाई फकाउन आमाहरूले ताली बजाएर ‘सुकि अधैली शान्तिका, बोलो–बोलो महात्मा गान्धीका’ भन्ने गीत गाउँथे । यो अत्यन्तै गम्भीर कुरा हो । यस्तो बनाएको यहाँकै शासकहरूले हो । पारिपट्टिबाट उनीहरूले अलिकति आत्मीयता पाएका थिए । विगतमा शासकहरूले जे गल्ती गरे, अब त्यो गल्ती गर्नुहुँदैन । सुगौली सन्धिले १२ आना उता लगेको छ अब बाँकी चार आनामा मधेसीहरूले पनि झगडा नगरौं । पहाड र हिमालमा मधेसीहरूको हक चाहिँ किन स्थापित नगर्ने ? पहाड–हिमाल भनेको खस गोर्खालीहरूको मात्रै हो र ? जनजाति, मधेसी र खस आर्यको एकताबिना यहाँको अखण्डता टिक्दैन ।
० प्रदेश विभाजन गर्दा उत्तर–दक्षिण गर्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?
– मेरो व्यक्तिगत विचार त्यही हो । यसमा को कति सहमत हुन्छन्, त्यो कसरी भनौं ?
० मधेसवादी दलले त सम्म भाग जति सबै मधेस भनेर मागिरहेका छन् त ?
– त्यस्ता कुरा त्यत्तिकै आएका हुन् । उनीहरू मधेसका ठेकदार होइनन् । मधेसमा हामीजस्ता श्रमजीवी–सर्वहारा मधेसी पनि छन् ।
० सम्म भाग जति मधेसमा राख्नुपर्ने कुरामा तपाईंको पार्टीका अध्यक्ष केपी ओलीले दिनुभएको प्रतिक्रियालाई कसरी लिनुभएको छ ?
– पहिलो प्रस्तुति कस्तो थियो भन्ने कुरा मुख्य हो । उनीहरूले अहिले पनि एमाले र एमालेको अध्यक्षलाई अपमानित गरिरहेका छन् ।
० राजेन्द्र महतो, महन्थ ठाकुरहरू जस्ता जनताबाट पराजितहरूले आफूलाई मधेसको नेता र त्यही मधेसबाट जितेका केपी ओलीहरूलाई मधेसविरोधी कित्तामा उभ्याउन खोजेका छन् नि ?
– राजेन्द्र महतोहरू कसरी मधेसका नेता भए ? मजस्ता सर्वहारा वर्गका नागरिकहरूले महतो, गच्छदारहरूलाई मधेसको नेता मान्दैनौं ।
० गच्छदारले त बरु मधेसबाटै जितेका छन् …
– उनी मधेसमा गएर पहाडियाले यस्तो गर्यो, उस्तो गर्यो भनेर भोट माग्छन्, जनताले थोकमा भोट दिन्छन् । यहाँ आएर खुद्रामा बेच्दा रहेछन् । बाबुराम पोखरेल, गीता राणाजस्ता पहाडियालाई किन भोट बेच्दा रहेछन् ? अनि, त्यस्तालाई मधेसको प्रतिनिधि मान्ने ?
० मधेसवादी भनिएका दल, मधेसको हितका निम्ति खोलिएका होइनन् त ?
– यी भनेका जमिन्दारहरूका पार्टी हुन् । मधेस तिनीहरुको ठेकेदारी होइन । पहाडियाभित्र पनि केही अतिवादीहरू छन् । राष्ट्र निर्माण र समृद्धिका लागि सबैले वकालत गर्ने तर यो ७–८ वर्ष देखिको भुसकुटाई किन ? किन संविधान दिन सक्दैनन् ? झगडा गरेर हुँदैन । सहमतिका निम्ति सबैको सद्बुद्धि आओस् । मुलुक बचाउन मित्रताको आवश्यकता छ । दुईतिरका अतिवादीहरूले यो कुरा बुझेनन्, जनतालाई नभई आफूलाई मात्र धुरीमा राख्न खाजे भने जनताले दु:ख पाइरहन्छन् ।
० मधेसमा कतिवटा प्रदेश उपयुक्त ठान्नुहुन्छ ?
– धेरै प्रदेश बनाउनुहुँदैन । धेरै बनाउँदा यत्रो सानो टुक्रा हुन्छ, त्यसलाई चलाउने कसरी ? समग्र मधेस एक प्रदेशको हठ अहिले पनि मधेसका केही हठवादी नेताहरूमा छ । जसले आफूलाई मात्र मधेसको मसिहा ठान्छन् । उनीहरूको हठलाई थारुवानले चुनौती दिइसकेको छ । भोलि मिथिली, भोजपुरा, अवधहरूले पनि आफ्नो पहिचानका लागि आन्दोलन गर्न थाले भने के हुन्छ ?
० तपाईं एमालेको मधेसको नेता हुनुहुन्छ, अहिले एमाले र मधेसवादी दलको सम्बन्ध बिग्रिएको अवस्था छ, यसलाई कसरी हेर्नुभएको छ ?
– यसमा मधेसवादी दलहरूमा अतिवाद देखिन्छ । मधेसमा यस्तो विष फैलाएका छन् कि मधेसमा मलाई नै मेरो नातीको नाता पर्नेहरूले ‘पहाडियाको सन्तान’ भन्थे । त्यो बेला महासचिव माधव नेपाल हुनुहुन्थ्यो । माधव नेपालको छोरासम्म भन्थे । यस्तो साम्प्रदायिक विभेद उनीहरूले नै गरेका छन् । एमाले अध्यक्षले कुन चाहिँ त्यत्रो अवरोध गर्नुभएको छ र ? उनीहरूले बरु एमाले अध्यक्षको अपमान गरेका छन् । सिंगो मधेसको अपमान गर्ने सद्भावनाका दुई जना हस्तीहरू, पूर्वमन्त्रीहरू अहिले जेलमा छन् । श्यामसुन्दर गुप्ता र सञ्जय शाह राम्रो काम गरेर जेल परेका हुन् ? उनीहरूले सिंगो मधेसको शिर झुकाएका छन् । त्यसमा उनीहरूलाई पश्चात्ताप हुन्छ कि हुँदैन ? त्यो तुलनामा केपी ओलीले के अपराध गरे ? उनीहरूले सत्ताका लागि मात्र राजनीति गरेका हुन् भन्ने कुरा त मधेसका जनताले नै देखाइदिए नि † मधेसका मुद्दालाई यिनीहरूले विनिमयको वस्तु बनाएका छन् ।
० अहिले त संविधान नबनी सरकारमा नजाने कसम नै खाएका छन् त ?
– त्यस्तो कसम कतिले तोडेका छन् । साँच्चै मधेसका नेता हुन् भने श्यामसुन्दर गुप्ताले ती मारवाडीको अपहरण गर्थे ? मधेसी जनताको हत्या गर्न सञ्जय शाहले किन बमकाण्ड गर्नुपथ्र्यो ? राजेन्द्र महतो जस्तै सद्भावना पार्टीकै त हुन् तिनीहरू । सिंगो मधेसकी आमा आनन्ददेवीलाई चीरहरण गर्ने यिनीहरू नै होइनन् र ?
० तपाईं त स्थायीमा बढुवा हुनुभयो तर कार्यविभाजन त अड्कियो नि ?
– संविधान निर्माणमा समय दिनुपर्ने भएकाले अड्केको हो ।
० केही छलफल चलेकै छैन ?
– म एउटा बैठकमा दुई घन्टा बसें । त्यसपछि बैठक बसेको नै छैन ।
० कहिलेसम्म होला त कार्यविभाजन ?
– मैले बुझे अनुसार, बुधबार स्थायी समिति बैठक बस्दैछ । त्यसमा पनि अहिलेको जल्दोबल्दो समसामयिक राष्ट्रिय राजनीतिकै विषयमा कुरा होला । कार्यविभाजन भनेको अलिकति संवेदनशील कुरा पनि हो । त्यसैले माघ ८ अघि त्यसमा प्रवेश पाउन मुस्किल छ ।
० माघ ८ मा संविधान आउला त ?
– एमाओवादी नेतृत्वको गठबन्धनले त ‘हामी प्रतिकार गर्न तयार छौं’ भनेको छ । बाबुरामजीले ‘हामी मर्न पनि तयार छौं’ भन्नुभयो । त्यो भनेको ‘मार्न पनि तयार छौं’ भन्न खोज्या हो । उनीहरू न सहमति गर्छन् न प्रक्रियामा जान दिन्छन् ।
० भनेपछि माघ ८ मा संविधान आउँदैन ?
– आउन गाह्रो छ । तर, नेपाली कांग्रेसले खुट्टा कमाएन भने हामी मस्यौदा भने पनि ल्याउन तयार छौं ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply