मलाई कारबाही गर्ने त प्रश्नै उठ्दैन
दीनानाथ शर्मा नेता, एमाओवादी० कांग्रेस–एमालेले संविधानसभामा धाँधली गरेर ठूलो दल भएको आरोप लगाउनुहुन्थ्यो, तपाईंकै जिल्ला बागलुङको उपचुनावको जनमतले त तपाईंहरूको आरोप निराधार रहेछ भने प्रमाणित गर्यो होइन ?
– बागलुङको निर्वाचनबारेमा पार्टीभित्र गम्भीर समीक्षा भएको छैन । केवल बागलुङको बारेमा मात्र होइन, सबै उपनिर्वाचन भएका स्थानहरूमा हाम्रो पहिलेभन्दा स्थिति निकै कमजोर भएको छ । त्यसैले हाम्रो केन्द्रीय समिति बैठकमै यसका बारेमा छलफल हुनुपर्छ । जहाँसम्म बागलुङको परिणाम छ, यो अलि बढी अनपेक्षित छ । यस पटक हाम्रो पहिलेको आफ्नो मत पनि कायम हुन सकेन ।
० किन त्यस्तो भयो त ?
– मेरो व्यक्तिगत धारणामा निर्वाचनका लागि मूलत: दुई वटा चिज हुनुपथ्र्यो । पहिलो, संगठन र दोस्रो– शक्ति र पैसा । बागलुङका सन्दर्भमा हाम्रो संगठन पनि भएन र हामीसँग स्रोत–साधन पनि पर्याप्त भएन ।
० जनआकर्षण घटेको त स्पष्ट देखियो नि ?
– संगठन भन्नासाथ जनमत र जनआकर्षण त जोडिने नै भइहाल्यो । संगठनले जनताका बीचमा जीवन्त काम गर्छ र जनमत बढ्छ । जनताका बीचमा संगठन छैन, कमजोर छ, जनताको बीचमा नेतृत्व पुगेन भने स्वाभाविक रूपमा प्रतिकूल असर त पर्ने नै भयो ।
० बागलुङमा लज्जास्पद पराजय हुनमा तपाईंको भूमिका छैन र ? बिरामी भएको बहानामा मैदान छोडेपछि कार्यकर्ताले आशा मारेको भन्दै विवाद बढेको छ ?
यसको समग्र समीक्षा हुन त बाँकी छ । पार्टीमा प्रधान व्यक्ति होइन, पार्टी नै हो । प्रश्न व्यक्तिको होइन । पहिलो कुरा त मेरो क्षेत्र १ नम्बर होइन, २ नम्बर हो । पार्टीले मलाई त्यहाँ जान खटाएको थियो । तर, मान्छे बिरामी हुन सक्छ, मर्न सक्छ । म बिरामी भएँ । यो त स्वाभाविक कुरा हो । निष्कर्षमा परिणाम त्यस्तो आउँदा समग्र रूपमा त्यस क्षेत्रमा काम गर्ने, त्यस जिल्ला र क्षेत्रको जिम्मेवारी लिएर काम गरेका साथीहरूले नै यस विषयमा आत्मसमीक्षा गर्नुपर्छ ।
० ए, उम्मेदवारको केही भूमिका हँुदैन त ?
– हुन्छ । नहुने होइन । सायद म गएको भए सापेक्ष रूपमा जमानत चाहिँ जफत हुने थिएन होला भन्ने लाग्छ । व्यक्तिगत मतहरू पनि आउँथे होला । फरक त्यत्ति हो ।
० यसको मतलब चुनाव चाहिँ नजितिने तपार्इंंलाई पहिल्यै थाहा थियो होइन ?
– निर्वाचन जित्ने कुरा त जब हाम्रो पार्टी फुट्यो, त्यस बेलादेखि टाढा भइसकेको थियो । वैद्यजीहरू ठूलो शक्ति र संगठन लिएर जानुभएको छ । त्यसपछि संगठनात्मक रूपमा क्षतिपूर्ति गर्ने काम भएन । ऋषि शर्मालाई म आफैंले प्रयत्न गरेर पार्टीमा सामेल गरें । विभिन्न कारण छन्, आरोप–प्रत्यारोपभन्दा पनि मूलत: संगठनकै प्रश्न प्रधान हो ।
० बिरामी भएको कुरा पार्टीकै कार्यकर्ताले पनि पत्याएनन् । अस्पतालबाट फर्केपछि पनि राजनीतिक गतिविधिमा सक्रिय नै देखिनुहुन्थ्यो नि त ?
– अहिले पनि मैले औषधि खाइरहेको छु । तपाईं हेर्न चाहनुहुन्छ भने म देखाइदिन्छु । ‘मुटुको बिरामी भएकाले यति धेरै औषधि खाएपछि जानुहुन्न, रिक्स छ’ भनेर डाक्टरहरूले अनुमति नदिएपछि म जबर्जस्ती जान मिलेन । जिउ रह्यो भने चुनाव पनि हुन्छ, राजनीति पनि हुन्छ । सबै कुरा हुन्छ । अर्को कुरा कुनै एउटा उपनिर्वाचनका लागि मर्ने भन्ने हो भने सकिन्न र त्यो गर्न पनि जरुरी छैन ।
० त्यसो भए टिकट तपाईंको रोजाइ थिएन ?
– टिकट पाइएन भनेर मरिहत्ते गर्ने साथीहरू आउनुभयो । उहाँहरू मरिमेट्नुभयो । साथीहरू टिकट लिएर पनि जानुभयो । आफ्नो कमी–कमजोरीलाई कसैले ढाकछोप तथा आरोपित गर्न जरुरी छैन । दीनानाथ गए जितिन्थ्यो भनेर कसैले अपेक्षा गरेका थिए भने पनि मत दिने त आखिर जनताले नै होला । दीनानाथलाई व्यक्तिगत रूपमा दिने त होइन होला । दीनानाथ सापेक्ष रूपमा पपुलर हो भन्ने कुरा उहाँहरूको भनाइले नै देखाउला, पुष्टि र प्रमाणित गर्ला । तर, मुख्य कुरा पार्टी हो, संगठन हो ।
० स्थानीय जिम्मेवारी लिएकाहरूले सांगठनिक गतिविधि सक्रियतापूर्वक अघि बढाएनन् भन्ने बुझाइ हो तपाईंको ?
– हामी बागलुङ जिल्लाबाट पार्टीमा सबैभन्दा केन्द्रीय समिति सदस्य छौं । तर, जनमतका हिसाबले बागलुङ नै सबैभन्दा कमजोर देखियो । वामपन्थी जनमत बनाउनमा चित्रबहादुर केसी, मलगायतका साथीहरूको ठूलो योगदान छ । अहिले जनमोर्चा, एमाले वा वैद्यजीसँग रहेका कार्यकर्ताहरू मैले बनाएको हुँ, चित्रबहादुर केसीले बनाउनुभएको हो । बागलुङ जिल्लाका सीसीएमहरू अहिले जे जति छौं हामी युद्धकाल, त्यसभन्दा पहिले र अहिले पनि त्यहाँ कुनै प्रकारको जिम्मेवारी पाएका छैनौं । त्यहाँ टेकेका पनि छैनौं र टेक्ने वातावरण पनि छैन । जिल्लामा गएर काम गर्ने वातावरण त्यस जिल्लाका सीसीएमलाई हुँदैन भने त्यसलाई के भन्ने ? अहिले त्यहाँ लीला थापा जिल्ला इन्चार्ज हुनुहुन्छ । एक वर्षसम्म पनि उहाँले त्यहाँ एउटा बैठक बसाउनुभएन, जिल्ला समितिका पदाधिकारी चयन गर्न सक्नुभएन ।
० स्थानीय पार्टीमा निकै विवाद भयो भनेर प्रचण्डसम्म पनि सिकायत आइपुगेछ नि ?
– सिकायत गरेर के गर्नु ? निष्कर्षत: सत्तरी काटिसकेको दीनानाथले जहिलेसुकै राजनीति गर्ने होइन । अबको राजनीति त त्यहीँका स्थानीय साथीहरूले गर्ने हो । यस पटकलाई त दीनानाथलाई आरोप लगाएर होला । अबको दुई वर्षपछिको चुनाव जित्न कसलाई आरोप लगाउनु ? दीनानाथ शर्माले त एउटा युगको राजनीति गरेको छ । ५० वर्षदेखि वाम राजनीतिमा छ । हामी गर्वका साथ के भन्न सक्छौं भने पञ्चायती व्यवस्थाको अन्त्य गरी गणतन्त्र ल्याउनेसम्मको काम गर्यौं । अबको नेतृत्व नयाँ पुस्ताले गर्ने हो । नयाँ पुस्ताले केही गर्न सक्दैन भने पुरानो पुस्तालाई आरोपित गरेर आफू पराजित हुँदा पन्छिएर दोष थोपरेर इतिहासले सुख त दिँदैन ।
० समीक्षापछि तपाईंको दोष देखियो भने कारबाही भोग्न तयार हुनुहुन्छ ?
– कारबाही गर्ने भन्ने त प्रश्नै भएन । किन कारबाही गर्ने ? जिल्लाले मलाई सिफारिस गरेर पठाएको होइन, बोलाएको पनि होइन । जिल्ला समितिका चार जना साथीहरू सिफारिस भएर आउनुभएको थियो । त्यसमध्ये एक जनालाई पार्टीले टिकट दियो । मलाई त केन्द्रबाट तपाईं जानुस् भनिएको थियो । म जान तयार पनि थिएँ । पोस्टर, पम्प्लेट अझै यहीँ छन् । जाने बेलैमा मैले ‘मेरो स्वास्थ्य स्थिति ठीक छैन, त्यसकारण वैकल्पिक व्यवस्था पनि गर्नुपर्छ’ भन्दै गएको थिएँ । मैले यहाँबाट टिकट लिएर गएको पनि होइन । टिकट खोज्ने साथीहरूले मेरो विरोध पनि गरिरहेका थिए । उनीहरूले ‘सिफारिसमा नपरेको दीनानाथ टिकट ल्याउन खोज्दैछ’ भनेर प्रचार गर्दै थिए । पोखरा पुगेपछि मुटुको ईसीजीमा तलमाथि हुने र रोकिने समस्या देखापर्यो । अहिले पनि समस्या त्यही छ । यस्तो अवस्थामा कसले, कसलाई, किन, केको कारबाही गर्ने ? मैले त यहाँबाट आफू जान नपाए पनि सहयोग नै गरेको हुँ ।
० पैसाको समस्याले पार्टी हार्यो भन्नुभयो, अहिले त सबैभन्दा धनी नै एमाओवादी छ नि ?
– त्यो सबै प्रचारबाजी मात्रै हो । विरोधीहरूले ‘माओवादीसँग पैसा छ, स्रोत–साधन छ’ भन्छन् । वास्तवमा माओवादीहरू पछिल्लो संविधानसभामा निर्वाचन हारेको कारण पनि त्यही हो । मलाई नागरिकका सम्पादकले भन्थे– ‘तपाईंहरू आगामी निर्वाचन पनि हार्नुहुन्छ । किनकि एमाले कांग्रेससँग प्रशस्त स्रोत–साधन छ । उनीहरूले त्यसको तारतम्य ठीक ढंगले मिलाएका छन् । तपाईंहरूसँग पैसा छ भन्ने छ । ठूलो पैसा खर्च गर्न सक्नुभएन । आगामी चुनाव पनि हार्नुहुन्छ ।’ त्यो कुरा म सम्झिराख्छु । उनको मूल्यांकन ठीक रहेछ ।
० युद्धकालमा बाबुरामसँगै कारबाहीमा पर्दा पार्टीको पैसा चलाएको आरोप लागेको थियो नि ?
– मैले कहिल्यै पार्टीको पैसा चलाइनँ । चलाउने ठाउँमा पनि भइनँ । विरोधीले मेराबारेमा धेरै भन्छन् । पार्टीभित्र चरम गुटबन्दी र गुट संकीर्णताका कारण गुटका आधारले टीका–टिप्पणी गर्ने चलन छ । एमालेभित्र पनि त्यस्तो चर्चा पटक–पटक आइरहेको छ । मलाई कारबाही भएको विचारका कारणले हो, आर्थिक कारणले होइन ।
० कहिले बाबुराम कहिले प्रचण्डपट्टि लागेर द्वैध चरित्र देखाउनुहुन्छ नि ?
– भन्नेहरूले भन्छन् । युद्धकालमा म आफंै युद्ध खोजेर गएको हँ । म युद्धमा जाने बेलामा पनि पार्टीभित्र बाबुराम र प्रचण्डबीच गुटबन्दी छ भन्ने थाहा पाएर नै उहाँहरू दुवै जनासँग संयुक्त रूपमा कुरा गरेर म गएको हुँ । एकतापछि गएकाहरूलाई हेर्ने दृष्टिकोण त्यहाँ फरक छ । अहिलेसम्म पनि मोटो मशालवालाले आफूलाई ‘संस्थापन’ ठान्ने र पातलो मसालबाट आएकाहरूलाई ‘पछाडि आएका हुन्’ भन्ने सोच छ । तर, नेतृत्वले त्यस्तो आग्रह पालेको छैन । पछिल्लो पटक म निर्णायक मतमा थिएँ । मैले धोबीघाटका सन्दर्भमा खरिपाटीमा अध्यक्षलाई बचाउने काम गरें । नेतृत्वलाई कमजोर पार्ने वा समाप्त गर्नेतिर लाग्नुहुन्न भन्ने मेरो मत थियो । त्यो सिद्धान्त अहिले पनि कायमै छ ।
० तपाईं भूमिगत हुँदा तपाईंका ज्वाइँ शुभशंकर कँडेलमार्फत पार्टीका सूचना बाहिर ल्याएको आरोप पार्टीभत्रैबाट लाग्ने गर्छ नि ?
– शुभशंकर कँडेल एमालेमै हुनुहुन्थ्यो । अहिले पनि हाम्रो पार्टीमा हुनुहुन्न । डेकेन्द्रको हत्याका सन्दर्भमा उहाँले विरोध गरेर लेख्नुभएको थियो । बाबुरामलाई कारबाही गरेको मैले बेठीक हो भनें । त्यसका आधारमा दीनानाथले आफ्नो विचार ज्वाइँलाई लेख्न लगायो भनेर आरोप लगाए । त्यही आरोपका आधारमा मलाई कारबाही गरेका हुन् । उहाँ पहिला मसालमा हुनुहुन्थ्यो, पछि एमालेमा जानुभयो । एमाले छोडेर स्वतन्त्र रूपमा पत्रकार भएर काम गर्न थाल्नुभयो । आफ्नो ब्रह्म–विवेकले देखेको कुरा भन्ने, राख्ने तर कसैको पक्ष–विपक्ष भएर वकालत गरेर नहिँड्ने उहाँको बानी छ ।
० कसरी त्यस्तो कुरा आयो त ?
– पछिल्लो चरणमा आएर उहाँहरूलाई प्रचण्डको पक्ष लियो, उचाल्यो भन्छन् । प्रचण्डलाई उचालेको मन नपर्ने साथीहरूले त्यसको विरोध गर्छन् । प्रचण्डकै नजिक भएका साथीहरूले शुभशंकरसँग प्रतिस्पर्धा गर्न नसकेर पनि विरोध गर्छन् । उनीहरू अगाडि आउन सक्दैनन्, पछाडि बसेर विरोध गर्छन् । अनि शुभशंकरलाई मसँग जोड्छन् र बदनाम गर्छन् । यसैमा अहिले मलाई पार्टीभित्र सबभन्दा ठूलो पीडा हुन्छ । म राजनीतिकर्मी हुँ । पार्टीका लागि काम गर्छु, वर्गका लागि काम गर्छु । मिडियामा बसेर धेर–थोर माओवादी पार्टीलाई सहयोग गर्ने काम शुभशंकरले पनि गर्नुहुन्छ । तर, यो पार्टीभित्र सबभन्दा बढी विरोध हाम्रै हुन्छ । स्वयम् बाबुराम पक्षका पत्रकार भन्नेहरू छन्, उनीहरूले पनि विरोध गर्छन् ।
० कम्युनिस्ट नेताहरू वर्गको कुरा गर्छन् तर आफूचाहि आलिशान महलमा बस्छन् । तपाईको पनि… ?
– मेरो परिवारभित्र काम गर्ने मान्छे छन् । यस्तो घर बन्नका लागि मान्छेले रक्सी खान्न र अन्यथा गर्दैन भने सबैका बन्छन् । सात वर्षसम्म म सभासद् भएँ, मन्त्री पनि भएँ । मैले कुनै भ्रष्टाचार गर्न पर्दैन । दोस्रो कुरा एक जना खरदारले काठमाडौंमा घर बनाउँछ । उसले अन्यथा गरेर घर बनाउला वा जे गर्ला । तर, मेरो परिवारमा सबै श्रम गर्छन् । अनावश्यक खर्च नगरी पार्टीलाई लेबी तिरेर बचाउँदा यत्तिको घर बनाउन सक्ने हैसियत सबैले राख्छन् । यदि कसैले यस्तो हैसियत राख्दिनँ भन्छ भने ऊभित्र कपट छ, बेइमानी गरेको छ भन्ने बुझ्नुपर्छ । उसले देखाउन चाहँदैन ।
घर बनाउँदा ८/१० लाख ऋण त हुन्छ । त्यो परिवारका मान्छेले गरेका छन्, मिस्टर दीनानाथ शर्माले गरेको होइन । दीनानाथ शर्मा हिजै हेडमास्टर थियो, समाजमा सम्मानित थियो । अठार वर्षको जागिर छोडेर क्रान्तिकै लागि, परिवर्तनका लागि हिँड्यौं । घर छोड्यौं, परिवार छोड्यौं र पनि हामी पुन:स्थापित हुन सकेका छैनौं ।
० ३० दलीय मोर्चाको आन्दोलन हरायो नि ?
– मोर्चाको आन्दोलन सकारात्मक रूपमै अगाडि बढेको हो । सरकारले सहमतिका साथ अघि बढ्न सकारात्मक देखायो । त्यसैका आधारमा प्रस्तुत हुनका लागि आमहड्ताल स्थगित गरेर अगाडि बढिएको हो ।
० गणितीय आधारमा संविधान बनाउन अवरोध नगरी मुलुकलाई अनिर्णयको बन्दी हुनबाट रोक्ने धारणा तपाईंकै पार्टीभित्र पनि देखिन थालेको छ नि ?
– संविधान त गणितले नै बनाउने हो । किनभने, हाम्रो संविधानमै दुई तिहाइ बहुमतबाट सहमतिमा संविधान बनाउने भन्ने छ । त्यसो हुनाले सहमति छोडेर गणितले मात्र बनाउँछ भन्ने पनि होइन । गणितलाई अपमान गरेर सहमति मात्र निरपेक्ष भन्ने कुरा पनि होइन । तर, सापेक्ष सहमति गरेर जाँदा नै राष्ट्रका लागि फाइदा हुन्छ । तर, यो वा ऊ बहानामा संविधान बनाउने कुरा अब रोक्नुहुँदैन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply